पूर्वी पहाडका तीन जिल्लामा विद्युत् सेवा अवरुद्ध
पाँचथर । पहिरोले काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति भएपछि पूर्वी पहाडका तीन जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ । पहिरोले काबेली करिडोर एक सय ३२ केभी प्रसारण लाइनको इलामको महामाईमा रहेको ५१ नम्बरको टाबर ढलेको छ । टावर ढलेपछि इलाम, पाँचथर र ताप्लेजुङमा विद्युत् सेवा अवरुद्ध भएको हो । यसैबीच, नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक माध्यमबाट बत्ती बाल्ने प्रयास जारी रहेको जनाएको छ । काबेली करिडोर एक सय ३२ केभी प्रसारण लाइन निर्माण भएपछि पूर्वी पहाडमा उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारणमा जोड्ने तथा यी क्षेत्रमा विद्युत् सेवा वितरणको कार्य सोही करिडोरको माध्यमबाट हुँदै आएको थियो । रासस
नेशनल लाईफले गर्यो गण्डकी प्रदेशका अभिकर्ताहरूलाई सम्मान
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले पोखराको होटल ल्याण्डमार्कमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमाशुल्क संकलन गरी गण्डकी प्रदेशबाट योग्य भएका २२५ जनाभन्दा बढी अभिकर्ताहरू, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरूलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्वीप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सम्मान कार्यक्रममा गण्डकी प्रदेशबाट सिइओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरूलाई सिइओ क्लब सदस्यता वितरण गरिएको थियो । प्रदेशबाट आफ्नो कोडमा र सञ्जलमा प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कृत पनि गरिएको थियो । समारोहमा सिइओ क्लब सदस्य र नेशनल रत्नबाट सम्मानित हुन सफल बिजनेश लिडरहरूले प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताएका थिए ।
विमानस्थल खुले, खुलेनन् नाका, दशैंमा टिकट महँगिने
काठमाडाैं । मौसमअनुकूल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठवटा विमानस्थलबाट हवाई सेवा सञ्चालन भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आज राति १० बजेसम्म ‘इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स’ (आइएफआर) प्रणालीमा उडान अनुमति दिइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान भइरहेका छन् । प्रतिकूल मौसमका कारण शुक्रबार र शनिबार चार सयभन्दा बढी उडान रद्द भएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक एक सय ५० देखि एक सय ६० उडान हुने गरेका छन् । सुर्खेत विमानस्थलबाहेक सबै विमानस्थलबाट उडान भइरहेको छ । यसअघि प्राधिकरणले प्रतिकूल मौसमका कारण शुक्रबार साँझ ७ः०० बजेदेखि शनिबार दिउँसोसम्म सबै आन्तरिक उडान स्थगन गरेको थियो । विमानस्थल सञ्चालनमा आएपनि काठमाडौं उपत्यकाबाट आवागमन भने प्रभावित भएको छ । काठमाडौं भित्रिने क्रममा रहेका गाडीहरु भने बीचबाटोमै अलपत्र छन् । पश्चिमतर्फबाट काठमाडौं भित्रिने मुख्य नाका नागढुंगाको अवस्था सबैभन्दा खराब छ । झ्याप्ले खोलानेर ठूलो पहिरो झर्दा केही गाडीहरू पुरिएका छन् । त्यहाँको पहिरो पन्छाउने काम भइरहेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता विश्वराज खड्काले धादिङ र काठमाडौं दुवैतिरबाट नागढुंगाको पहिरो पन्छाउने काम भइरहेको जानकारी दिए । उनका अनुसार पहिरोमा परेर केही गाडी पनि पुरिएका छन् । सवारीसाधनको आवागमन प्रभावित भएसँगै अब दशैंमा घर जानेहरूले महँगो मूल्यमा हवाइ टिकट काटेर जानुपर्ने बाध्यता देखिएको छ । यसले यात्रुलाई थप आर्थिक भार हुने भएको छ ।
साढे २ करोड लगानीमा म्याग्दीको मालिकामा स्वास्थ्यचौकी भवन निर्माण
म्याग्दी । मालिका गाउँपालिका–२ चिमखोला गाउँमा सुविधासम्पन्न स्वास्थ्यचौकी भवन निर्माण भएको छ । संघीय सरकारको अनुदानमा मालिका गाउँपालिकाले दुई करोड ६४ लाख १४ हजार दुई सय ६२ रुपैयाँको लागतमा उक्त भवन निर्माण गरेको हो । हाल कच्ची भवनको साँघुरो कोठाबाट सेवा प्रवाह हुँदै आएको स्वास्थ्यचौकी चाँडै सुविधासम्पन्न भवनमा सारिने मालिका गाउँपालिका–२ का वडाध्यक्ष उदयबहादुर बुढाथोकीले बताए ।
चांगानले पोखरामा सार्वजनिक गर्यो दिपल ईभी, ७१ लाख ९९ हजारमा किन्न सकिने
पोखरा । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले नेपालले छोटो समयमा निकै रुचाइएको दिपल ईभीहरुलाई पोखरामा सार्वजनिक गरेको छ । शुक्रबार पोखरामा आयोजित विशेष कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापा, नेपाली क्रिकेट लेजेन्ड तथा दिपल ईभीका ब्रान्ड एम्बास्डर पारस खड्का, चांगानको पोखरा डिलर हिमालय अर्गनाइजेसनकी संस्थापक मिलन थापा तथा डाइरेक्टर सौरभ थापाले फ्युचरिस्टिक डिजायन र कटिंग एज टेक्नोलोजीले भरिएको दिपल एस०७ र एल०७ ईभी सार्वजनिक गरेका हुन् । दिपल ईभी सार्वजनिक गर्दै मन्त्री थापाले पोखरामा चांगानको सफलताको कामना गरे। साथै, उनले चांगान र अन्य ब्रान्डहरुले बिक्री मात्र नभइ बिक्रीपछिको सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्नुपर्ने बताए । त्यसैगरी, दिपल ईभीका ब्रान्ड एम्बास्डर खड्काले दिपल ईभी भ्यालु फर मनि भएको बताए । ‘यसमा यति धेरै फिचरहरु छन् कि जुन अझै पनि अन्य ब्रान्डका ईभीमा उपलब्ध छैन’, उनले भने, ‘म दिपलको पर्फमेन्सबाट पूर्णरुपमा सन्तुष्ट छु । म पोखरालाई आफैँ आएर दिपलको प्रविधि र फिचरको फस्ट ह्यान्ड अनुभव गर्न आग्रह गर्न चाहन्छु ।’ चांगान पोखराकी संस्थापक मिलन थापाले दिपल ब्रान्डलाई लिएर आफू निकै उत्साहित रहेको बताए । ‘औपचारिक रुपमा पोखरामा सार्वजनिक हुनुभन्दा पहिले नै हामीले बजारबाट निकै राम्रो प्रतिक्रिया पाउन थालिसकेका छौँ,’ उनले भने । त्यसैगरी, चांगान नेपालका मार्केटिंग हेड रमेश दनेखूले एमएडब्लु ग्राहक सन्तुष्टिमा प्रतिबद्ध रहेको बताए । ‘चांगान चीनको सबैभन्दा पुरानो अटोमोबाइल कम्पनी हो जसको एकसय ६२ वर्ष लामो विरासत छ । र नेपालमा यसलाई प्रतिनिधित्व गर्न पाउँदा एमएडब्लु गर्व गर्छ,’ उनले भने, ‘नेपालमा सार्वजनिक भएको पाँच महिनामै पाँच सयभन्दा दिपल बिक्री भएका छन् र उहाँहरु सबैजना यसको डिजाइन र टेक्नोलोजीका कारण सन्तुष्ट छन् ।’ दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउट डोर स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम फिचरहरु छन् जसका कारण यो ईभी नेपाल बजारमा छोटो समयमै लोकप्रिय बन्न सफल भएको छ। एमएडब्लु वृद्धिले अर्को साता पोखराकै सबैभन्दा ठूलो एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्यामको आयोजना गर्दैछ जहाँ ग्राहकले दिपल, सेरस र नामीले नाडा अटो सोमा जारी गरेको विशेष अफर उपयोग गर्न सक्नेछन्, जसअन्तर्गत दिपल एस ०७ बजेटअघिको मूल्य ७१ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन् । साथै, नयाँ सेरेस ३ लाई ४५ लाख ४९ रुपैयाँमा खरिद गर्न सक्नेछन् भने नामी ईभीमा ७ किलोवाटको चार्जर पाउनेछन्। ग्राहकले हरेक टेस्ट ड्राइभ र पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउनेछन् । यसबाहेक ‘अनस्पट फाइनान्सिङ’ र ‘अनस्पट डेलिभरी’ पनि लिन सक्ने कम्पनीले जनाएको छ।
विपद्को घडीमा एनसेलको निःशुल्क डेटा प्रदान, शनिवार देखि नै यस सेवा लागू
काठमाडौं । देशभर भारी वर्षाका कारण बाढी र पहिरोले गर्दा लाखौं नेपालीहरूले सामना गर्न परेको क्षतिप्रति एनसेल चिन्तित भएको बताउँदै उसले शनिबार बिहानदेखि नै बाढी र पहिरोबाट प्रभावित क्षेत्रका आफ्ना ग्राहकहरूलाई निःशुल्क डेटा उपलब्ध गराइसकेको जनाएको छ । यस पहलले एनसेलले आफ्ना ग्राहकलाई परिवार, आफन्तजन, साथीभाइसँग सम्पर्कमा रहन, महत्वपूर्ण जानकारी प्राप्त गर्न, तुरुन्तै आवश्यक सहयोगको लागि सम्पर्क गर्न र सुरक्षित रहन सहयोग पुर्याउने कम्पनीले जनाएको छ । एनसेलकाअनुसार निःशुल्क डेटा उपलब्ध गराउनुका साथै हालको अवस्थाको मूल्यांकन गरिरहेको र क्षतिको विस्तृत जानकारी प्राप्त गरेपछि राहतका कार्यमा थप योगदान गर्ने छ। नेपाली जनताको सुरक्षालाई सुनिश्चित गर्न र नेपाल सरकारको प्रयासमा सहयोग गर्न एनसेल विभिन्न विपद् व्यवस्थापनमा काम गर्ने निकायहरुसँग समन्वय र सहकार्य गरिरहेको छ । ग्राहकलाई अनलाइन राख्न मात्र भई आवश्यक सहयोग लिन पाउन, राहत तथा उद्धार कार्यका लागि समन्वय गर्न पाउन र आफ्ना परिवार तथा प्रियजनहरुसँग सम्पर्कमा रहिरहुन् भन्ने उदेश्यले निशुल्क डेटा सुविधा उपलब्ध गराएको एनसेलले जनाएको छ। एनसेलले हाल देशभरका १ करोड ३० लाख भन्दा बढी ग्राहकलाई सञ्चार सेवा प्रदान गरिरहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
नाडाले बाढी पहिरोको विपदमा परेकालाई गर्यो सहयोग
काठमाडौं । अटोमोवाइल्स् एशोसिएशन अफ नेपाल (नाडा)ले बाढी पहिरोको विपदमा परेकालाई सहयोग गरेको छ । नाडाले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा अतिरिक्त प्रहरी महानिरिक्षक किरण बज्रचार्यलाई भेटगरी चाउचाउ ५० कार्टुन र जुस ८० कार्टुन हस्तान्तरण गरेको छ । अहिले देश अनपेक्षित अविरल वर्षाको चपेटामा परेको अवस्थामा नाडाका अध्यक्ष करण चौधरीले सो राहत सामग्रीहरु हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा नाडाका उपाध्यक्ष राजन बाबु श्रेष्ठ र प्रहरी कार्यालयका तर्फबाट प्रहरी वरिष्ठ उपरिक्षक बिनोद घिमिरे समेतको उपस्थिति रहेको थियो । विगतकाल देखि नै आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता राहत सामाग्रीहरु सम्बन्धित निकायहरुलाई वितरण गर्दै आएको नाडाले जनाएको छ ।
७० वर्षपछि सुनकोशी र रोशीमा भयानक बाढी
काठमाडौं । रोशी र सुनकोशीको बाढीबाट सिन्धुली सर्वाधिक प्रभावित भएका छन् । जिल्लाका गाउँबस्ती, फाँट, सडक, विद्यालय भवन, विद्युत् आयोजना, ठूला–साना पक्की र झोलुङ्गे पुलमा धेरै हानी भएको छ । सत्तरी वर्षअघि यस्तै बाढी देखेको स्थानीय ज्येष्ठ नागरिकहरूले बताएका छन् । बाढीबाट खुर्कोट बसपार्क डुबेको छभने रामेछाप जाने खुर्कोटको पक्की पुल पनि बगेको छ । बाढीले गाउँबस्तीलाई बगरमा परिणत गरेको छभने धानबाली नष्ट भएको छ । सुनकोशीको बाढीले दुम्जाफाँट, खुर्कोट, मुलकोट, दिङ्दिङबेँसी, कुखुरेटार, च्याकुटार, सुम्नाङबेँसी, खाङ्साङलगायत गाउँबस्तीका साथै अन्य स्थानका भौतिक पूर्वाधारमा क्षति भएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले बताए । बाढी प्रभावित क्षेत्रमा स्थानीय र सुरक्षाकर्मीको सहयोग तथा समन्वयमा खोजी र उद्धार जारी रहेको तथा वर्षा रोकिएसँगै अवरुद्ध बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग सञ्चालनको प्रयास आजदेखि प्रारम्भ गरिने उनले बताए । बिपी राजमार्गअन्तर्गत सिन्धुलीदेखि मुलकोटसम्म अवरोध नरहेका तथा दुम्जा क्षेत्रमा भत्किएको सडक मर्मत गर्न सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी र सडक विभागको सहकार्यमा यथाशीघ्र बाटो खोलिने उनले बताए । प्रभावित क्षेत्रका विपद्मा परेका नागरिकलाई राहत र उद्धारका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय भइरहेको छ । भत्किएको सडक र पुल मर्मत गरी यथाशीघ्र यातायातका साधन सञ्चालनका लागि संघ र प्रदेश सरकारसँग बजेट र अन्य सहायताका निम्ति अनुरोध गरिएको गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले बताए ।