विकासन्युज

महासंघको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा जोड दिएका छन् । ललितपुर उद्योग वाणिज्य महासंघको ५९औं स्थापना दिवसका अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले महासंघभित्र सहमति र सहकार्यमार्फत नेतृत्व चयन गर्नसके संस्थागत एकताको आधार हुने बताए ।  उनले निजी क्षेत्रको साझा संस्था भएकाले यसको नेतृत्व पनि साझा सहमतिमै चयन हुँदा महासंघ अझ सशक्त र प्रभावकारी बन्ने धारणा राखे । अध्यक्ष ढकालले ललितपुरलाई मौलिक उत्पादनको सहरका रूपमा विकास गर्दै यहाँको उत्पादनको गुणस्तर कायम राख्दै उत्पादन पनि बढाउनु पर्नेमा जोड दिए ।  ‘यहाँका परम्परागत सीप, कला र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न सके निर्यात वृद्धि गर्ने ठूलो सम्भावना रहेको छ । तर मौलिक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न गुणस्तरसंगै परिमाण पनि बढाउन आवश्यक छ,’  उनले भने ।   अध्यक्ष ढकालले उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि, प्रविधिको प्रयोग र बजार विस्तारमार्फत निर्यात अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । साथै उनले स्थानीय तह, निजी क्षेत्र र सरकारबीच समन्वय गरी उत्पादनदेखि बजारसम्मको श्रृंखलालाई सुदृढ बनाउनुपर्ने धारणा व्यक्त गरे । साथै उनले उद्यमशीलता विकास, रोजगारी सिर्जना  तथा समग्र आर्थिक विकासका लागि ललितपुर उद्योग संघले निर्वाह गरेको भूमिकाको प्रशंसनीय रहको बताए । अध्यक्ष ढकालले देशमा औद्योगिक वातावरण निर्माणका लागि नीतिगत सुधार अपरिहार्य रहेको उल्लेख गर्दै लगानीमैत्री नीति, सरल कर प्रणाली, पूर्वाधार विकास र प्रशासनिक झन्झट कम गर्नु आवश्यक रहेको बताए । उनले निजी क्षेत्रको आवाजलाई राज्यले गम्भीरतापूर्वक सुन्नुपर्ने र नीति निर्माण प्रक्रियामा निजी क्षेत्रको प्रभावकारी सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिन्दै त्यका लागि निजी क्षेत्रको एउटै आवाज हुनु पर्ने धारणा राखे । अध्यक्ष ढकालले जिल्ला तथा नगरस्तरबाट उठेका माग र सुझावलाई समेट्दै महासंघको विधान संशोधन गरिएको जानकारी दिँदै उनले यसले संगठनलाई थप समावेशी, प्रतिनिधिमूलक र सुदृढ बनाउने विश्वास व्यक्त गरे । संशोधित विधानले जिल्ला नगर तथा  महिला उद्यमीहरूको प्रतिनिधित्व बढ्ने बताए ।

सामाजिक सञ्जालमा फेक आइडी बनाएर गालीगलौज गर्ने भारतीय नागरिक पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा फेक आइडी बनाएर गालीगलौज गर्ने एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।  शनिबार भारत मोतियारीका २४ वर्षीय राजकुमार जैसवाललाई जिल्ला प्रहरी कार्यालय, पर्सासँग समन्वयमा नियन्त्रणमा लिएको मोरङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा नक्कली आइडी बनाएर अश्लील फोटो र भिडियो पोष्ट गर्ने गरेका थिए । ह्वाटसएपमासमेत गालीगलौजसमेत गर्ने गरेको उजुरीका आधारमा प्रकाउ गरिएको मोरङ प्रहरीले बताएको छ । पर्साको वीरगञ्ज महानगरपालिका १५ स्थित बसपार्क एरियाबाट पक्राउ गरिएको प्रहरीले उल्लेख गरेको छ ।  विद्युतीय अपराध मुद्दामा मोरङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रहरी कर्मचारीले मीठो बोली वचनसहित काम गर्नूः महानिरीक्षक कार्की

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीहरूले आफ्नो उच्च व्यावसायिकता प्रदर्शन गर्दै काम गर्नुपर्ने बताएका छन् ।    बुधबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तुमा प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा उनले अनुशासित, निष्ठावान एवं इमानदार भइ बोली बचनलाई आत्मसात गरी नागरिकको अपेक्षा अनुरूप जिम्मेवारी बहन गर्न निर्देशन दिएका हुन् । उनले निर्वाचनलाई शान्तिपूर्ण, भयरहित एवम् निष्पक्ष वातावरणमा सफलतापूवर्क सम्पन्न गराउन सम्पूर्ण प्रहरी कर्मचारीहरूले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको र यसले संगठनमा महत्त्वपूर्ण योगदान पुगेको बताए । धर्म र कर्म नै प्रहरी कार्य भएको उल्लेख गर्दै उनले आ-आफ्नो जिम्मेवारी क्षेत्रको विस्तृत जानकारी राखी योजनावद्ध रूपमा सुरक्षा व्यवस्थापनलाई थप मजबुद बनाउँदै लैजानुपर्नेमा जोड दिए । महानिरीक्षक कार्कीले आ-आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन सूचना संकलन तथा विश्लेषणलाई प्राथमिकतामा राखि प्रहरी कर्मचारीहरू सदैव तयारी हालतमा रहनुपर्ने पनि बताए ।  सीमा नाकामा हुनसक्ने आपराधिक गतिविधि, फरार प्रतिवादी पक्राउ, हातहतियार बरामद लगायतमा विशेष सुरक्षा योजना अपनाई कार्यान्वयन गर्न उनले निर्देशनसमेत दिए । 

सरकारले ल्याउने दीर्घकालीन परियोजनामा कोषको लगानी आवश्यक

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सरकारले ल्याउने दीर्घकालीन परियोजना कोषले लगानी गर्नुपर्ने बताएका छन् । कोषको ३६औं वार्षिकोत्सवमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अर्थमन्त्री खनालले बुढीगण्डकी जलविद्युत आयोजना अघि बढाउने  सरकारले स्वीकृत गरिसकेको हुँदा उक्त परियोजनामा लगानी कोष जस्तै अन्य संस्थाले पनि लगानी गर्नुपर्ने बताए । दोहोरो कर हटाउन आवश्यक रहेकोमा जोड दिँदै उनले भने, ‘कर प्रणालीमा समानता र नीतिगत सहजता आवश्यक रहेको छ । दोहोरो करको विषय आफ्नो कार्यकालमा समाधान नभए पनि अबको सरकारले यसतर्फ काम गर्ने विश्वास छ ।’  १५–२० वर्षे अवधिको ऋणपत्र जारी गर्ने तयारी अन्तिम चरणमा रहेको बताउँदै उनले त्यस्ता ऋणपत्रले पनि अधिक तरलता न्यूनीकरणमा सहयोग गर्ने बताए । सार्वजनिक निजी साझेदारीबाट पनि नयाँ परियोजना, कृषि परियोजनाको लागि भूमिको हदबन्दी हटाउने जस्ता कार्य गरेर अघि बढ्न सकिनेमा उनको जोड छ । २०४७ सालमा अन्तरिम सरकारको समयमा खुलेको कोष अहिलेको जेनजी आन्दोलनपछि ३६औं वर्षमा प्रवेश गरेको स्मरण गराउँदै उनले ७२ औ वर्षसम्मको शुभकामना दिए ।  कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले कोषले सात वटा योजना सञ्चालन गरिरहेको बताउँदै कोषमा उपलब्ध फन्डलाई पूर्वाधार निर्माणका क्षेत्रमा लगानी गर्न र भेन्चर क्यापिटलमार्फत लगानी विस्तार गर्न आवश्यक कार्य गरिरहेको बताए । यसका लागि ऐन, नियम र कानुन संशोधन प्रक्रियामा अघि बढाइएको समेत उनको भनाइ छ । कोषले यान्त्रिकीकरण र अटोमेसनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए ।  ब्याजदरमा आएको गिरावटले कोषको आम्दानी प्रभावित भएको उनको भनाइ छ । उपदान कोष भुक्तानीमा करसम्बन्धी अन्योलता रहेकोले त्यसमा समानता ल्याउनु पर्ने बताउँदै उनले भने, ‘सरकारले दिने सामाजिक भत्ताको कार्य कोषले सञ्चालनमा ल्याएको नागरिक पेन्सन योजनाले दिन सक्छ । तर, त्यसको लागि सरकारले करका दर रेटमा समायोजन गर्नुपर्छ ।’ नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले कोषले लगानीका नयाँ उपकरण र नयाँ परियोजनामा लगानी गर्नुपर्ने बताए । उनले बैंकले प्रवाह गर्ने कर्जा असुलीमा समस्या आएको धारणा राखे ।  कोषका पूर्व अध्यक्ष डा.महाश्रम शर्माले आर्थिक, सामाजिक रुपान्तरणमा कोष अघि बढिरहेको बताए ।  सो अवसरमा नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष अच्युतम पौडेलले कर्मचारीको वृत्ति विकास र सेवा सुविधामा वृद्धि गर्नुपर्ने धारणा राखे । नागरिक लगानी कोष कर्मचारी युनियनका अध्यक्ष नेत्र विक्रम थापाले अब आउने बजेटमा कर सहुलियतको व्यवस्था गर्नुपर्ने, करार कर्मचारीलाई सीमित प्रतियोगिताको अवसर दिनुपर्ने बताए । कार्यक्रममा उत्कृष्ट कर्मचारी र जेनजी आन्दोलनमा कोषमा कार्यरत सुरक्षाकर्मीहरूलाई सम्मान गरिएको थियो ।

लुम्बिनीमा आयोजना बैंक सञ्चालनमा ल्याउने तयारी

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले प्रदेश आयोजना बैंक सञ्चालनमा ल्याउने तयारी थालेको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश आयोजना बैंक (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८२ पनि स्वीकृत गरी आयोजना बैंक सञ्चालनको प्रक्रिया थालेको हो ।  उक्त निर्देशिकामार्फत प्रदेशका प्राथमिकता प्राप्त आयोजना छनोट, व्यवस्थापन र कार्यान्वयनलाई व्यवस्थित बनाउने उद्देश्य राखिएको प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले जानकारी दिए । बैठकले हालै विभिन्न तहमा बढुवा भएका कर्मचारीहरुको पदस्थापन तथा प्रदेश सचिवहरुको जिम्मेवारी हेरफेर गर्ने निर्णयसमेत गरेको मन्त्री सारुले बताए ।  उनका अनुसार बैठकबाट आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवको थप जिम्मेवारी विनोद लामिछाने, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सचिवको थप जिम्मेवारी नारद गौतम र सामाजिक विकास मन्त्रालयको सचिवको जिम्मेवारी दिवाकर भण्डारीलाई दिने निर्णय गरिएको छ । त्यस्तै प्रदेश स्वास्थ्य सेवातर्फ रोशनलाल चौधरीलाई प्रदेश स्वास्थ्य निर्देशनालयको प्रमुख जनस्वास्थ्य प्रशासकका रूपमा पदस्थापन गरिएको छ । डा. राजेन्द्रकुमार गिरीलाई प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र रुपन्देहीमा प्रमुख जनस्वास्थ्य प्रशासकका रूपमा पदस्थापन गरिएको छ ।  त्यस्तै डा. मोहम्मद नुरुल होदालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, डा पदमराज अधिकारीलाई गुल्मी जिल्ला अस्पतालमा पदस्थापन गरिएको छ । डा. शकुन्तला कुमारीलाई रामपुर अस्पतालमा प्रमुख कन्सल्टेन्ट मेडिकल जनरलिस्टका रूपमा जिम्मेवारी दिइएको मन्त्री सारुले जानकारी दिए । बैठकले डा. अनुप थापालाई लुम्बिनी प्रादेशिक अस्पतालमा प्रमुख कन्सल्टेन्ट अब्स्टेट्रिक्स एण्ड गायनोकोलोजिस्ट, डा भुवन पौडेललाई सोही अस्पतालको प्रमुख कन्सल्टेन्ट सर्जन तथा डा. सुरेन्द्र कुँवरलाई प्रमुख कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट, डा पुष्पराज जोशीलाई प्रमुख कन्सल्टेन्ट जनरल फिजिसियन, डा. कृष्णहरि सुवेदीलाई प्रमुख कन्सल्टेन्ट पेडियाट्रिसियन तथा डा. प्रभात पोख्रेल प्रमुख कन्सल्टेन्ट डर्माटोलिष्टिका रूपमा पदस्थापन गरिएको छ ।  त्यस्तै डा. गोपालप्रसाद ज्ञवालीलाई प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जनका रूपमा लुम्बिनी प्रादेशिक अस्पतालमा जिम्मेवारी दिइएको छ । प्रदेश इञ्जिनियरिङ सेवातर्फ अनिल मरासिनीलाई यातायात पूर्वाधार निर्देशनालयमा सुपरिटेन्डेन्ट इञ्जिनियरका रूपमा पदस्थापन गरिएको छ । प्रदेश वन सेवातर्फ ईश्वरीप्रसाद पौडेललाई वन महानिर्देशकको जिम्मेवारी दिइएको छ ।   

कांग्रेसको केन्द्रीय समिति बैठक शुक्रबार बस्ने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । आम निर्वाचन २०८२ को परिणामपछि बस्न थालेको बैठक चैत ६ गते शुक्रवार दिउँसो १ बजेका लागि बोलाइएको हो । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद दुलालले सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूको उपस्थिति रहने जानकारी दिए ।  बैठकमा चुनावको समीक्षासहितका एजेण्डामा छलफल हुने उनको भनाइ छ ।

प्रहरी वृत्त नयाँ बानेश्वरलाई सर्वोत्तम र जगदम्बा सिमेन्टले गरे विभिन्न सामग्री हस्तान्तरण

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टले काठमाडौंको तिनकुनेस्थित सुविधानगरमा भर्खरै निर्माण भएको नेपाल प्रहरी वृत्त, नयाँ बानेश्वरलाई विभिन्न अत्यावश्यक कार्यालय सामग्रीहरू सहयोग स्वरूप प्रदान गरेका छन् ।  कम्पनीका निर्देशकद्वय टीकाराम न्यौपाने तथा दिवस न्यौपानेले संयुक्त रूपमा प्रहरी नायब उपरीक्षक राजकुमार सिंहलाई ती सामग्रीहरू हस्तान्तरण गरे । हस्तान्तरण गरिएका सामग्रीहरूमा कम्प्युटर, एयर कन्डिसनर, प्रिन्टर, फ्रिज तथा क्यामेरा लगायतका उपकरणहरू रहेका छन् । समाजप्रति उत्तरदायी रहँदै सुरक्षा निकायको कार्यक्षमता अभिवृद्धि गर्न र दैनिक प्रशासनिक कार्यलाई थप सहज बनाउन यी सामग्रीहरू प्रदान गरिएको कम्पनीले जनाएको छ ।  यस सहयोगले प्रहरी कार्यालयको सेवा प्रवाहलाई अझ प्रभावकारी र प्रविधिमैत्री बनाउन महत्त्वपूर्ण मद्दत पुग्ने विश्वास दुवै कम्पनीले लिएका छन् ।  सर्वोत्तम र जगदम्बा सिमेन्टले विगतदेखि नै विभिन्न सामाजिक तथा सामुदायिक गतिविधिहरूमा सक्रिय सहभागिता जनाउँदै आएका छन् र आगामी दिनहरूमा पनि यस्ता सकारात्मक पहलहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्राविधिक रूपमा सबल सर्वोत्तम सिमेन्ट अत्याधुनिक युरोपियन भीआरएम प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो उद्योग हो, जसले ४३ र ५३ ग्रेडका ओपिसी र पिपिसी सिमेन्टहरू नेपालभर बिक्री गर्नुका साथै भारतमा समेत निर्यात गर्दै आएको छ ।  त्यस्तै, सन् २००१ मा स्थापित जगदम्बा सिमेन्टले पनि विश्वस्तरीय प्रविधि र उच्च गुणस्तरको कच्चा पदार्थ प्रयोग गरी ग्राहकहरूको माग र सन्तुष्टि पूरा गर्दै नेपालको सिमेन्ट बजारमा आफ्नो बलियो उपस्थिति कायम राखेको छ।

ग्लोबल मनी विकअन्तर्गत ५७ जना व्यवसायीहरूका प्रभु बैंकको  ‘अकाउन्टिङ फर ग्रोथ’ कार्यक्रम

काठमाडौं । प्रभु बैंक लिमिटेडले स्मार्ट मनी टक्स भन्ने नाराका साथ ‘ग्लोबल मनि विक–२०२६’ अन्तर्गत सोमबारदेखि देशका विभिन्न स्थानहरूमा वित्तीय साक्षरता कार्यक्रम आरम्भ गरेको छ ।  बैंकले सूक्ष्म, साना र मझौला उद्यम (एमएसएमई र एसएमई) व्यवसाय गर्ने ४७ जना व्यवसायीहरूलाई वित्तीय सेवा लिँदा आवश्यक पर्ने प्रकृया तथा कागजात सम्बन्धी विषयको जानकारीका साथै वित्तीय संस्थाबाट वित्तपोषणको लागि आवश्यक योग्यताहरुको बारेमा समेत जानकारी गराई व्यवसायीहरुलाई वित्तीय सहजता हुने अपेक्षा गरी होटल अनुत्तरा, बौद्धमा एक दिने अकाउन्टिङ फर ग्रोथ कार्यक्रम सञ्चालन गरिएको छ ।  यस बैंकका नेपालभर रहेका ३१२ शाखा कार्यालयहरू, २८५ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रदान गरिरहेको प्रभु बैंकले गुणस्तरीय सेवा प्रवाह गर्दै अघि बढिरहेको छ ।