विकासन्युज

ग्लोबल आइएमई बैंकले पत्रकारलाई क्यामरा किन्न विना धितो कर्जा दिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे) का सदस्यहरुलाई क्यामरा खरिदको लागि विना धितो कर्जा उपलब्ध गराउने भएको छ । यस सम्बन्धी सम्झौतामा बैकका हेड ट्रान्जेक्सन बैंकिङ्ग विभागका प्रमुख प्रकाश पौडेल र एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । बैंकले क्यामरा खरिदको लागि २ लाख देखि ५ लाख रुपैयाँसम्म विना धितो कर्जा प्रवाह गर्ने समझदारी भएको हो । बैंकले फोटो पत्रकारहरूलाई क्यामेरा खरिद गर्न ६ महिनादेखि १८ महिनासम्म सरल किस्ताबन्दी सुविधा सहित कर्जा उपलब्ध गराउने छ । कर्जाको लागि फोटो पत्रकारहरुले आवश्यक कागजातहरू र आवेदन फारमसहित एनएफपिजेको सिफारिसमा कर्जाको लागि बैंकमा सम्पर्क गर्नुपर्नेछ । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

झन् गहिरिँदै अमेरिका र चीनबीचको ‘व्यापार युद्ध’

काठमाडौं । अमेरिका र चीनबीचको व्यापार युद्ध झन् गहिरिँदै गएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ उत्पादनमा थप १० प्रतिशत ट्यारिफ लगाएका छन् । यसको प्रतिक्रियास्वरूप चीनले पनि अमेरिकी उत्पादनहरूमा १५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेको छ । यसले आउने दिनमा दुवै देशबीच सम्बन्ध अझ बिग्रने सम्भावना छ । अमेरिका विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र हो । यता चीनले २१ औं शताब्दीमै अमेरिकालाई पछि पार्ने सपना देखेको छ । यस बीच अमेरिकाले चीनबाट गरेको आयात कुल आयातको १३.५ प्रतिशतमा झरेको छ जुन २१ वर्षमा सबैभन्दा कम हो । सन् २०१८ देखि यसमा ८ प्रतिशत कमी आएको छ भने यसै अवधिमा क्यानडा र मेक्सिकोबाट आयात बढेको छ । यसले यो कुरा स्पष्ट छ कि अमेरिकी अर्थतन्त्र चीनमा निर्भर हराउँदै गएको छ । दुवै देशबीच तनाव बढेपछि अमेरिकी कम्पनीहरूले चीनबाहेक अन्य स्रोत खोज्न थालेका छन् । तथ्यांकअनुसार २०१८ पछि अमेरिकाले अन्य देशहरूबाट आयात बढाएको छ। अमेरिकाले सबैभन्दा बढी आयात भियतनामबाट गरेको छ । यसबाहेक मेक्सिको, ताइवान, युरोप, कोरिया, थाइल्याण्ड, भारत र क्यानाडाबाट पनि आयातमा वृद्धि भएको छ । मेक्सिकोबाट आयात २ प्रतिशतको उछालसहित १५.५ प्रतिशतको ऐतिहासिक उचाइमा पुगेको छ । अमेरिकाले क्यानाडा र मेक्सिकोमा लगाएको २५ प्रतिशत ट्यारिफ अहिले एक महिनाको लागि स्थगित गरिएको छ । विश्लेषकहरूको भनाइ छ कि चीनले लगाएको ट्यारिफले अमेरिकामा ठूलो प्रभाव पार्ने छैन । किनभने अमेरिकाले चीनमा आफ्नो निर्भरता निकै घटाएको छ । तर चीनलाई यसले ठूलो आर्थिक क्षति पुग्न सक्छ । कारण अमेरिका नै चीनको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । २०२४ मा अमेरिकासँग चीनको ट्रेड सरप्लस १ ट्रिलियन डलर नजिक पुगेको थियो । अर्कोतिर अमेरिकाले चीनलाई निर्यात गर्ने मात्रा घट्दैछ । चीनले ट्यारिफ लगाएका वस्तुको निर्यात २०२४ मा २३.६ अर्ब डलरमा सीमित भएको थियो । अर्थात यस युद्धमा चीनको नै बढी नोक्सानी हुने देखिन्छ । मेक्सिको, क्यानडा र चीनविरुद्ध अमेरिकाको ‘ट्रेड वार’ अमेरिकी ट्यारिफले विश्वभर तनाव, आर्थिक परिवर्तनदेखि कूटनीति र सुरक्षासम्म असर

ज्योति विकास बैंकको स्वतन्त्र सञ्चालकमा रेग्मी नियुक्त, राष्ट्र बैंकमा २५ वर्षको अनुभव

काठमाडौं । ज्योति विकास बैंकको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको स्वतन्त्र सञ्चालकमा रेशमराज रेग्मीलाई नियुक्त गरेको छ । उनी बिहीबारदेखि लागु हुनेगरी बैकको स्वतन्त्र सञ्चालकमा नियुक्त भएका हुन् । वरिष्ठ अधिवत्ता रेशमराज रेग्मीको नेपाल राष्ट्र बैंकमा करिब २५ वर्ष विभिन्न कार्यक्षेत्रमा कार्य अनुभव पनि छ । कानून विषयमा स्नातकोत्तर गरेका रेग्मीले नेपाल सरकार अन्तर्गत विभिन्न क्षेत्रमा पनि कानूनी सल्लाहकारका रूपमा योगदान दिँदै आएका छन् । उनले अध्यापकको रूपमा पनि विभिन्न शैक्षिक संस्थाहरूमा आवद्ध छन् । नेपाल मध्यस्ता परिषदको आजीवन सदस्य रहेका रेग्मीले संस्थागत सुशासन, एएमएल तथा समग्र बैंकिङ्ग क्षेत्रको विषयमा विशेषज्ञता हासिल गरेका छन् । रेग्मीले बैंकिङ्ग कानून तथा संस्थागत सुशासन सम्बन्धि पुस्तक प्रकाशित गर्नुका साथै विभिन्न रिसर्च पेपरहरु एवम् जर्नलहरुमा आलेख प्रकाशित गरेका छन् । रेशम राज रेग्मीको लामो कार्य अनुभव तथा विषयगत कुशलता र दक्षताले यस बैंकलाई थप सबल तथा सफलता उन्मुख मार्गदर्शन प्रदान गर्ने विश्वास बैंकले लिएको छ । संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोट प्रति प्रतिबद्ध रहेको छ ।  

अदालतले धरौटीमा छोडिसकेपछि संसदबाट रविलाई निलम्वन गर्नु हुँदैन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अदालतले धरौटीमा छोडिसकेपछि संसदबाट गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको निलम्वन न्यायपूर्ण नभएको बताएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले अदालतहरुले धरौटीमा छोडिसकेपछि संसदबाट राष्ट्रिय स्वतन्त्र पार्टीकासभापति रवि लामिछानेको निलम्वन न्यायपूर्ण नभएको बताएका हुन् । उनले सहकारीबाट पैसा ल्याउन प्रत्यक्ष कतै नजोडिए पनि लामिछानेलाई देशको सबैभन्दा ठूलो सहकारी ठगका रुपमा देशभर दौडाइएको बताए । विगतमा प्रधानमन्त्री बनाउन अफर गर्नेहरुले आज न्यायपालिकालाई धम्क्याएर डाइछाड्ने षड्यन्त्रमा लागेको बताए । सहकारी ठगीमा सरकारको मापदण्ड अन्यायपूर्ण मात्र नभइ अपराधपूर्ण रहेको जानकारी दिए । ‘सरकार बलियो तब देखिन्छ, जब प्रतिशोध लिनुपर्ने हुन्छ । त्यसको सबैभन्दा ठूलो उदाहरण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हुनहुन्छ । सहकारीबाट पैसा ल्याउन प्रत्यक्ष कतै नजोडिएका उहाँलाई आज देशको सबैभन्दा ठूलो सहकारी ठगका रुपमा देशभर दौडाइएको छ ,’ उनले भने । अध्यक्ष दाहालले प्रतिशोध लिने कुरामा सरकार बलियो देखिएको जानकारी दिए ।

जनकपुरबाट अल्ट्रालाइट वायुयान उडान परीक्षण

जनकपुर । एभियाक्लब पोखराले सगरमाथा हिमाल, त्यस वरपरका चुचुरा र कोसी टप्पु क्षेत्रको दृश्यावलोकन गर्नेगरी जनकपुरबाट अल्ट्रालाइट वायुयानको उडान परीक्षण गरिएको छ । परीक्षणका लागि बिहीबार जनकपुर विमानस्थलबाट एभियाक्लबको अल्ट्रालाइट वायुयानले राजविराजका लागि उडान भरेको हो । भारतीय पर्यटकको हिमाल तथा कोसी नदी क्षेत्रको दृश्यावलोकनप्रति बढ्दै गएको रुचिलाई दृष्टिगत गरी मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अल्ट्रालाइट वायुयान सञ्चालन गराउन नागरिक उड्ड्यन प्राधिकरणलाई आग्रह गरेका थिए । प्राधिकरणका सहनिर्देशक देवचन्द्रलाल कर्णले एभियाक्लबको अल्ट्रालाइट वायुयानले सगरमाथाको चुचुरो देखिने गरी जनकपुरबाट राजविराजका लागि आज उडान भरेको जानकारी दिए । उनले सो उडान सफल र व्यावसायिक रूपमा नाफामूलक देखिएमा भविष्यमा राजविराज विमानस्थललाई केन्द्र बनाई सगरमाथा दर्शनका लागि परिचालन गरिने उल्लेख गरे । हेलिकोप्टरबाट सगरमाथाको दृश्यावलोकन महँगो भएको र जहाजबाट दृश्यावलोकनको पूर्ण आनन्द प्राप्त गर्न नसकिने हुँदा तुलनात्मक रूपमा अल्ट्रालाइट वायुयान पर्यटकका लागि सस्तो र आकर्षक हुने कर्णले विश्वास व्यक्त गरे । एक यात्रु लिएर उड्ने अल्ट्रालाइट वायुयानबाट सगरमाथा दर्शन गर्न प्रतिव्यक्ति १५ हजार रुपैयाँसम्म खर्च लाग्ने अनुमान गरिएको छ ।

बजार घटे पनि कारोबार रकममा वृद्धि

काठमाडौं । साताको अन्तिम कारोबारको दिन अर्थात बिहीबार सेयर बजारमा गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.६४ अंकले घटेर २६९९.८१ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ७४ कम्पनीको सेयर मूल्य बढ्दा १६० कम्पनीको सेयर मूल्य घटेको छ । ९ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आज सेयर घटे पनि काराेबार भने बढेकाे छ । ३१५ कम्पनीको १ करोड ८६ लाख कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार साहस ऊर्जाको भएको छ । साहसको ३१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै नेपाल रिइन्स्योरेन्स कम्पनीको २२ करोड, बरुण हाइड्रोपावरको १८ करोड, सानिमा माइ हाइड्रोपावरको १६ करोड र युनाइटेड मोदी हाइड्रोपावरको १६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज फाइनान्सबाहेक सबै सेक्टरका सूचक घटेका छन् । फाइनान्स १.५८ प्रतिशतले बढेको छ । विकास बैंक सबैभन्दा धेरै १.५३ प्रतिशत घटेको छ । बैंकिङ ०.३५, होटल तथा पर्यटन ०.३७, हाइड्रोपावर ०.३८, लगानी ०.३९, जीवन बीमा ०.१६, उत्पादन तथा प्रशोधन ०.४०, माइक्रोफाइनान्स ०.५९, निर्जीवन बीमा ०.४५, अन्य १.०५ र व्यापार ०.११ प्रतिशतले घटेको छ । आज अप्पर लाहोरे खोला हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यसैगरी, उपकार लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।

आईटी क्षेत्रलाई उद्योगको रूपमा विकास गर्न सरकार प्रतिवद्ध छ : मन्त्री गुरुङ

काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आईटी क्षेत्रलाई उद्योगको रूपमा विकास गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको क्यान इन्फोटेक २०२५ को ३०औं संस्करणको उद्घाटन कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । साथै उनले सरकारले आजको दिनसम्म आइटी क्षेत्रमा केही गर्न नसकेको स्वीकारेका छन् । उनले भने, ‘सरकारले आइटी क्षेत्रमा केही गरेको छैन । हिजो जति गरेको छ त्यसमै सीमित छ । अब आइटी क्षेत्रमा सरकारले धेरै कुरा गर्नुछ ।’ मन्त्री गुरुङले सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकारले अध्यादेशमार्फत महत्त्वपूर्ण कानुन बनाउने योजना अघि सारेको उल्लेख गरे । उनले भने, ‘हामीले आईटी क्षेत्रलाई उद्योगको रूपमा विकास गर्न सरकार प्रतिवद्ध छ । नेपाली आईटी कम्पनीहरूलाई विदेशमा शाखा सञ्चालन गरेर व्यवसाय विस्तार गर्न आवश्यक कानुनी व्यवस्था अध्यादेशमार्फत गरिएको छ ।’ आइटी सेक्टरले नेपालको डिजिटल अर्थतन्त्रमा ठूलो भूमिका निर्वाह गरेको उल्लेख गर्दै मन्त्री गुरुङले आउँदा दिनमा एआई प्लाटफर्मलाई सरकारको तर्फबाट गर्नु सकिने सहयोग रहने कुरा अघि सारे । आजदेखि सुरु भएको क्यान इन्फोटेक विद्यार्थी, उद्यमी, अनुसन्धानकर्तादेखि सवै वर्गलाई महत्वपूर्ण प्लाटफर्म रहेको हुँदो यसको भरपूर उपयोग गर्न बताए । पाथीभरामा यातायातको सुविधामात्र दिन खोजेको हो, मविरुद्ध नकारात्मक सन्देश फैलाइयो: ढकाल क्यान इन्फोटेक मेला आजदेखि सुरु

पफर्मेन्स कमजोर भन्दै पदमुक्त, ‘केही महिनाभित्रै मर्जर’

काठमाडौं । पर्फमेन्स कमजोर भएपछि पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रविचन्द्र गुरुङ पदमुक्त भएका छन् । सीईओ गुर’ङले गरेको काम चित्त नबुझेपछि माघ २३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले बिहीबारदेखि लागू हुने गरी पदमुक्त गरेको हो । पछिल्लो समय कम्पनीले प्रवाह गरेको कर्जा असुली नभएपछि खराब कर्जा (एनपीएल) उच्च हुन पुगेको छ । गत पुससम्म कम्पनीको खराब कर्जा ३३.४४ प्रतिशत पुगेको छ । एनपीएल उच्च भएपछि नेपाल राष्ट्र बैंकले खराब कर्जा असुलीमा दबाब दिँदै आएको छ । तर, सीईओ गुरुङको पफर्मेन्समा खासै सुधार नभएपछि पदमुक्त गरिएको स्रोतले बतायो । ‘एनपीएल धेरै भएपछि राष्ट्र बैंकले दबाब दिन थाल्यो । कर्जा समयमा असुल भएको भए समस्या हुँदैनथ्यो । राष्ट्र बैंकले आफ्नो निर्देशिका अनुसार गर्न लगाउँछ, गरेन भने कारवाही गर्छु भन्न थाल्यो,’ फाइनान्स स्रोतले भन्यो, ‘सीईओको पफर्मेन्स राम्रो देखिएन । त्यसपछि सञ्चालक समितिले कारवाही स्वरूप पदमुक्त गरेको हो ।’ पछिल्लो समय कम्पनीको वित्तीय अवस्था कमजोर अवस्थामा पुगेपछि मर्जर तथा एक्विजिशनका विभिन्न बैंक तथा वित्तीय संस्थासँग छलफल गरिरहेको छ । चालु आर्थिक वर्षभित्रै मर्जर गर्ने गरी सञ्चालक तीलबहादुर गुरुङको संयोजकत्जमा मर्जर कमिटी गठन गरिएको छ । उक्त कमिटीमा सञ्चालक प्रतीक गुरुङ सदस्य रहेका छन् । ‘चालु आर्थिक वर्षभित्रै मर्ज गर्ने प्रबल सम्भावना छ । मर्जर कमिटीले प्रयास गरिरहेको छ । मर्जर कमिटी जति सक्रिय भयो त्यति नै छिटो मर्ज हुन्छ,’ फाइनान्सका एक उच्च अधिकारीले भने, ‘मर्जर कमिटीले आन्तरिक रूपमा छलफल गरिरहेका छ । विभिन्न बैंकसँग छलफल भइरहेको छ ।’ सीईओ गुरुङ पदमुक्त भएपछि नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) राजुमोहन भट्टराईलाई फाइनान्सको कायम मुकायम कार्यकारी प्रमुख (कामु सीईओ)को जिम्मेवारी दिइएको कम्पनी सचिव निर्मलकुमार कार्कीले बताए । गत पुस मसान्तसम्म फाइनान्सको खुद नाफा ६५ करोड ३१ हजार रुपैयाँ ऋणात्मक छ । १ अर्ब ८ करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको फाइनान्सको जगेडा कोष १ अर्ब ५ करोड ३७ लाख रुपैयाँ छ । सञ्चित नाफा १ अर्ब ५५ करोड २० लाख रुपैयाँ ऋणात्मक छ । गत पुस मसान्तसम्ममा फाइनान्सले १० अर्ब ५५ करोड ९१ लाख रुपैयाँ निक्षेप संलकन गरी ६ अर्ब ४० करोड ४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । पोखरा फाइनान्समा समस्या, स्पष्टिकरण लिने राष्ट्र बैंकको निर्णय