विकासन्युज

मस्तिष्कलाई क्रियाशील बनाउन फलफूल भोजन

चालिस वर्षदेखि कार्यरत वरिष्ठ मानसिकरोग विशेषज्ञ डा विश्वबन्धु शर्माको अनुभवमा मानसिक रूपमा स्वस्थ रहन हाम्रो भोजनले ठूलो भूमिका खेल्छ । डा शर्माका विचार ‘सामान्य शारीरिक स्वास्थ्यको अवस्था मानसिक स्वास्थ्यको पूर्वाधार भएकाले जस्तो खानपिनले शारीरिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ, त्यो मानसिक स्वास्थ्यको लागि पनि उपयुक्त हुन्छ भन्ने कुरा सामान्य स्थापित मान्यता हो । केही खाद्य वस्तुको विशेष भूमिका रहन्छ ।’ सुक्ष्म पोषण तत्वसहित रेशादार पदार्थ प्रचुर मात्रामा भएको खाना विशेषरूपले मानसिक स्वास्थ्य सबल पार्न मद्दत गर्छ । जति सक्यो कम प्रशोधन गरिएको, शरिरमा एकैचोटी चिनीको मात्रा नबढाउने, ताजा खाद्य पदार्थले मस्तिष्क सक्रिय र प्रभावकारी बनाउन भूमिका खेल्छन् । अर्थात विभिन्न थरिका स्वस्थ भोजनका साथै वनस्पतिजन्य भोजनले मस्तिष्कलाई क्रियाशील बनाउन सक्षम हुन्छ । त्यसैगरी विभिन्न फलफूलजस्तै सुन्तला, जुनार, अम्बा, विभिन्न प्रकारको बेरीहरु जस्तै (काफल, एैसेँलु, स्ट्रबेरी जस्ता) फलफूलमा शरीरमा एन्टिअक्सिडेन्ट (बढौती हुने प्रक्रिया न्यूनीकरण गर्ने) तत्व, रेशादार हुन्छन् । यी तत्वहरुले मानसिक स्वास्थ्य सबल राख्न भूमिका खेल्छन् । त्यसैगरी तरकारी जस्तो ब्रोकाउली, काउली, मुला आदिजस्ता तरकारी पनि महत्वपूर्ण मानिन्छन् । गाढा हरियो पात, रङ्गिन तरकारी जस्तैः फर्सी, चुकन्दर, रातो बन्दा आदिमा पर्याप्त मात्रामा फाइटोकेमिकल (एक रसायन जुन मस्तिष्कको लागि उपयोगी) हुन्छ । मानसिक स्वास्थ्यमा सकरात्मक असर पार्छ । स्वस्थकर खानाको चर्चा गर्दा वैज्ञानिकले महत्वपूर्ण कुरा शुरुवात भएको छ । मानसिक स्वास्थ्य समस्या भएर आएका बिरामीलाई ओखर, विभिन्न बियाँ (आलस, तिल, फर्सीको बियाँ) र रङ्गिन दलहन र कालो दाल, रातो दाल मुगे प्रयोग गर्ने सल्लाह दिइन्छ । डा शर्माको भनाइले स्पष्ट हुन्छ कि प्रायःमानसिक स्वास्थ्य सबल राख्न पनि त्यस्ता भोजनले भूमिका खेल्छन जुन भोजनले मुटु, कलेजो, पाचन प्रणाली स्वस्थ राख्छ । विभिन्न वैज्ञानिक अनुसन्धानले सिद्ध गरेका छन् । डा शर्माको भनाइअनुसार मस्तिष्कको लागि भिटामिन ‘बी’ १२, भिटामिन ‘डी’ आदि पनि महत्वपूर्ण छन् । भिटामिन ‘बी’ १२ को धेरै कमी भए बिर्सने रोगको जस्तै लक्षण देखा पर्ने सम्भावना हुन्छ । ‘चरुवा कुखुराको अण्डा, ताजा पानीका माछा, चरुवा जनावरको मासुको सेवन मस्तिष्क स्वस्थ राख्न उपयुक्त हुन्छ । हुन त कति स्वास्थ्यकर्मीले भिटामिन ‘बी’ १२ शाकाहारी भोजनमा पाइन्न भन्ने ठान्छन् । तर वनस्पतिजन्य भोजन जस्तैः चिज, पनिर, दही, मोहीले शरीरमा भिटामीन ‘बी’ १२ पुग्छ’ भन्ने डा शर्माको अनुभव छ । ‘मष्तिस्कका कोषिकाहरु नष्ट भएपछि पुनर्जीवित हुँदैनन्, त्यसैले नष्ट हुने प्रकिृया न्यूनीकरण गर्न सकेसम्म स्वास्थ्यका भोजनमा ध्यान दिनुपर्छ ।’ विगत केही वर्षदेखि पोषण र मानसिक स्वस्थ अनेक अनुसन्धान भइरहेको र मानसिक रोग विज्ञले मानसिक रूपमा स्वस्थ रहन व्यायाम, निद्रा, सामाजिक सक्रियातालाई पनि महत्वपूर्ण ठान्छन् । मानसिक समस्या भएर विभिन्न औषधि सेवन गर्दा त्यसबाट हुने ‘साइडइफेक्ट’ न्यूनीकरण गर्न पनि पौष्टिक भोजनको जरुरत पर्दछ । कुनै औषधिले कब्जियत गराए पर्याप्त मात्रामा सुप, पानी वा मोही पिउने र विभिन्न थरिका साग, फलफूलजस्ता रेशादार तत्व बढी भएका भोजनको प्रयोग गर्नुपर्छ । त्यसैगरी अनिद्राको कारणले मस्तिष्क र पाचन प्रणालीमा समस्या हुनसक्ने भएकाले यो बेलामा पनि भोजन र जीवनशैलीसम्बन्धी परामर्श दिइन्छ । सुत्ने बेला तातो दूध र बेसारको सेवन गर्ने, रातिको समयमा धेरै क्यालोरी र बोसोजन्य वस्तु आदि नखाने सल्लाह दिइन्छ । पाचन अङ्ग आन्द्रा र आन्द्रामा भएका सुक्ष्म किटाणुले पाचन प्रणालीलाई मजबुत गराउनेछ भने हालै वैज्ञानिक अनुसन्धानले देखाएको छ । मानसिक स्वास्थ्यसँग भोजन जोडिएको छ भन्ने तथ्य त केही चिकित्सकले अगाडिदेखि भन्दै आए पनि यो कुरा आम मानिसले बुझ्न अझै बाँकी छ । पेटभित्रको अङ्गको फरकफरक सञ्चालन प्रकृया छ । आकाश गङ्गामा खर्बै तारा रहे जस्तो पेटभित्र पनि खर्बौं किटाणु छन् । जीवाणु, ढुसी आदि शरीरको विभिन्न भाग (आन्द्र) भूुँडीको साथै फोक्सो आदिमा अवस्थित रहन्छन् । यिनको उपस्थितिले हाम्रो शारीरिक र मानसिक स्वास्थ्यमा भूमिका खेल्न सक्नेबारे अनुसन्धान भइरहेको छ । आधुनिक चिकित्सा विज्ञानले भन्छ, ‘धेरैजसो शारीरिक रोगको जरो पेटमा हुन्छ ।’ आयुर्वेद विज्ञानले पनि पेटको समस्या परेपछि विभिन्न रोग उब्जिन्ने उल्लेख गरेको छ । अहिलेको वैज्ञानिक अनुसन्धानले सिद्ध गरेको छ कि ‘पेटको स्वास्थ्यले मानसिक स्वास्थ्यमा पनि असर पर्छ । सजिलो बुझ्ने भाषामा बुझ्ने हो भने मानसिकरूपमा सबल हुन स्वस्थकर भोजन चाहिन्छ । मानसिक रोगीलाई केबल पेटको स्वास्थ्य राम्रो पारेर मात्रै उपचार गर्न सकिन्छ भन्ने होइन । मानसिक तनाव, डिप्रेसन, छारेरोग, उन्माद हुँदा औषधिको जरुरत पर्छ नै । कतिलाई त लामो समय औषधि जरुरत पर्छ । तर मानसिक रोग लागेका मानिसलाई औषधिको साथै स्वस्थ भोजनको पनि जरुरत पर्छ भन्ने चाहिँ पक्कै हो । जस्तो छारेरोग लागेको मानिसले जाँड रक्सी त छुनै हुँदैन । हाम्रो पेट स्वस्थ भयो भने अर्थात् स्वस्थ खाना खायौँ भने मानसिक स्वास्थ्यको उपचार पनि ठूलो भूमिको खेल्छ । पेट र सम्बन्ध दुईबीचको प्रगाढ सम्बन्ध छ । यतिसम्म कि पेटलाई त दोस्रो मस्तिष्क नै मानिएको छ । यो स्पष्ट छ कि पेटमा रहेको खर्बौँ जीवाणुको स्वास्थ्य पनि हाम्रो भोजनमा नै निर्भर रहन्छ । अनि तीनै जीवाणुले र किटाणुले हाम्रो मस्तिष्क भावना उत्तार चढावमा भूमिका खेल्छ । सरकारको स्वास्थ्यको कार्यक्रममा मानसिक रोगको उपचार र मानसिक स्वास्थ्य अति कम प्राथमिकतामा पर्छ । किनभने जो यो समस्याबाट पीडित छ उसले आफूलाई भएको समस्याको बारेमा बोल्न सक्दो आवाज उठाउन सक्दैन । जसलाई यो समस्या परेको छैन, उसले मानसिक रोगीप्रति हेर्ने दृष्टिकोण सकारात्मक रहेको पाइँदैन । शरीर स्वस्थ रह्यो भने मन स्वस्थ रहन्छ, पेट स्वस्थ भए मन र शरीर दुवै स्वस्थ भन्ने भनाइ पनि छ । विज्ञले भन्नुहुन्छ पेटको स्वास्थ्यसँग छ सम्बन्ध अहिले विभिन्न बिर्सिने रोग, पार्किन्सको समस्याले मानसिक समस्यामा पनि भूमिका खेल्छ । सेराटोनिन नामको तत्व पेटमा ८० प्रतिशत उत्पन्न हुन्छ । सेराटोनिनले मानव मस्तिष्कमा प्रभाव पारेर आनन्दको अनुभूति जगाउँछ । तर मस्तिष्कमा सेराटोनिनको कमि भएपछि उदास हुने समस्या उत्पन्न हुन्छ । जुन तत्व पेटमा उत्पन्न भएर मस्तिष्कको कार्यलाई नियन्त्रण गर्छ । त्यसैले पेट स्वस्थ राख्न भोजन निन्द्रा, व्यायामको कुराले महत्व राख्दछ । रेशादार पदार्थ भएको भोजनको उपयोग गर्दा मनको स्वास्थ्य सबल राख्न पनि मद्दत गर्छ । विश्व स्वास्थ्य सङ्गठनको एक तथ्याङ्कअनुसार कुुनै पनि समाजमा १५ प्रतिशत मानिस विभिन्न किसिमका मानसिक समस्याबाट पीडित हुन्छन् र दुई प्रतिशत मानिसमा अति कडा खालका मानसिक समस्या रहेको छ । यस अर्थमा नेपालमा पनि झण्डै ४० लाख मानिस विभिन्न किसिमका मानसिक समस्याबाट पीडित छन् र झण्डै छ लाख मानिसमा कडा किसिमको मानसिक समस्या रहेको छ । यस्ता मानसिक समस्यामध्ये सुस्त मनस्थिति, विभिन्न किसिमका लागूऔषधिहरु प्रयोग गरेर विक्षिप्त भएका मानिस, विभिन्न किसिमका सामाजिक समस्या परेर मानसिक अपराध र डिप्रेसन, प्रसवपछि मानसिक समस्या परेका आदि व्यक्ति पनि पर्छन् । अहिलेको बदलिँदो सामाजिक अवस्थाले गर्दा बढ्दै गरेका मानसिक समस्या अझ थपिएका छन् । विश्व स्वास्थ्यको तथ्याङ्कलाई हेर्ने हो भने संसारभरमा मानिसलाई सबभन्दा बढी अशक्त भार पर्ने १० वटा रोगमध्ये पाँच वटा त मानसिक रोग नै छ । त्यसमा पनि डिप्रेशन (मानसिक अवस्था) दोस्रो स्थानमा छ । बढ्दो मानसिक रोगको समस्याको दिगो समाधानका लागि समयमै औषधोपचार गर्नुको साथै उचित खानपानमा पनि ध्यान दिन आवश्यक छ । यसबारेमा जनस्तरमै चेतना अभिवृद्धि हर्नुपर्ने देखिन्छ । रासस (लेखक जनस्वास्थ्य तथा पोषणविद् हुन्)

सर्वसाधारणलाई उद्यमी बनाइरहेको ‘कोशेली घर’, कीर्तिपुरवासीमा खुसीयाली

काठमाडौं । कीर्तिपुरवासी निर्मला महर्जन दुई वर्षअघिसम्म स्वीटर बुन्ने काम गर्थिन् । बुन्ने मात्रै नभएर उनले ज्यालामा २०/२५ जनालाई रोजगारीसमेत दिँदै आएकी थिइन् । झण्डै २५ वर्ष यस पेशामा आवद्ध भएकी उनले स्वास्थ्यमा समस्या भएपछि स्वीटर बुन्ने कामलाई निरन्तरता दिन सकिनन् । गरिरहेको सीपलाई निरन्तरता दिन नसकेपछि अरू कुनै व्यापार/व्यवसाय गर्न पाए हुन्थ्यो भन्ने सोंचमा थिइन् उनी । खाजा पसल सुरु गर्ने कि भन्ने सोंच भएपनि ठाउँ अभाव हुँदा अन्योलमा थिइन् निर्मला । त्यसै सन्र्दभमा कीर्तिपुर नगरपालिकाले लघु उद्यमी/व्यवसायीले उत्पादन गरेको वस्तुलाई बजारीकरणमा सहज होस् भन्ने हेतुले सञ्चालन भएको कोशेली घरमा सटर खाली हुँदै छ भन्ने जानकारी पाइन् । त्यहाँ उनकै आफन्तले सञ्चालन गर्दै आएको झोलाको पसल अन्तै सर्ने भएपछि त्यही सटरमा सुरु गर्ने भन्ने निर्णय गरिन् । अन्ततः निर्मलाले नगरपालिकासँग समन्वय गरेर एक जना साथीसँग मिलेर खाजा पसल सुरु गरिन् । सुरुमा बारा र परौठा मात्रै सुरु गरेको खाजा पसलमा उनले विस्तारै नेवारी खाजाका परिकारदेखि सबै खाजा राख्न थालिन् । अहिले उनले सबै खालका खाजा उपलब्ध गराउँदै आएको बताइन् । स्कुल/कलेज नजिक भएकाले विद्यार्थीहरू त्यही खाजा खान आइपुग्छन् । उनका अनुसार नगरपालिकाका कर्मचारीहरूसमेत त्यही खाजा खाना आइपुग्छन् । ‘पसल ठीकठीकै चलिहेको छ, नगरपालिकाले पनि सहयोग गरेको छ । विभिन्न तालिम हुँदा यही खाजा अर्डर गर्नुहुन्छ, कर्मचारीहरू पनि यही खाना आउनहुन्छ । कतिपय अफिसबाट खाजा अर्डर आउँछ,’ निर्मलाले सुनाइन् । आफ्नो पसलको बजारीकरणको लागि नगरपालिकाबाट सहयोग पुगेको बताउँछिन् उनी । साथै नगरपालिकाले पसलको लागि सस्तो मूल्यमा सटर उपलब्ध गराउँदा त्यसबाट राहत पुगेको बताउँछिन् । कीर्तिपुर वडा न ४ निवासी अजित दुलालले नगरपालिकाद्वारा सञ्चालित कोशेली घरमा जुत्ता तथा चप्पलको पसल राख्दै आएका छन् । अहिले उनले आफनो पसललाई कौशल फुटवयर नाममा दर्ता गरेर सञ्चालन गरिरहेका छन् । जहाँ उनले स्थानीय महिला तथा दाजुभाईले उत्पादन गरेका स्वदेशी जुत्ता तथा चप्पललाई आफ्नो पसलमा लिई बजारीकरणमा ठूलो भूमिकासमेत निभाउँदै आएका छन् । साढे तीन वर्षंअघि नगरपालिकाले महिलाहरूलाई जुत्ता चप्पल बनाउने तालिम दिएको थियो । तालिम लिइसकेपछि आफूले उत्पादन गरेका जुत्ता तथा चप्पल कहाँ लगेर बेच्ने अन्यौलता ती दिदीबहिनीमा भइरहेको कुरा अजितले नजिकैबाटै नियालिरहेको थिए । उनी आफै पनि नयाँ व्यवसाय केही गर्ने कि भन्ने सोंचमा थिए । त्यस्तैमा उनले नगरपालिकाले सञ्चालन गरिरहेको कोशेली घरबारे सूचना पाए । व्यवसाय पनि हुने र बजारीकरणमा सहयोग पनि पुग्ने भएपछि उनले जुत्ता चप्पलको पसल राखेको बताए । अजितका अनुसार सुरुमा कोशेली घरमा स्थानीय उत्पादन मात्रै राख्नुपर्ने व्यवस्था थियो । स्थानीय उत्पादनले मात्रै व्यापार नहुने भएपछि पछिल्लो समय बाहिरबाट सामान ल्याएर बेच्न थालेको उनी सुनाउँछन् । उनले पसलमा मखमलो चप्पल, स्कुल कलेजको जुत्तादेखि सबै खालका जुत्ताको व्यापार गर्दै आएका छन् । पसल राख्नको लागि बाहिर सटर महँगो हुने बताउँदै कोशेली घरमा कम शुल्कमा पाएकोमा त्यसले नवउद्यमीलाई राहत पुगेको बताउँछन् उनी । त्यस्तै, कोशेली घरमा नगरपालिकाबाटै हेयर कटिङको तालिम लिएर दुई जना दिदीबहिनीले हेयर शैलुन सञ्चालन गर्दै आएका छन् । उक्त शैलुनलाई नगपालिकाकले ६ महिनासम्म निःशुल्क सटर उपलब्ध गराएको छ । खाजा पसल, जुत्ताचप्पल, हेयर शैलुनमात्रै नभएर कोशेली घरमा अन्य व्यवसाय पनि सञ्चालनमा रहेका छन् । जहाँ अजित र निर्मलाजस्तै १२ उद्यमीले व्यवसाय सञ्चालन गर्दै आएका छन् । जहाँ आफूले उत्पादन गरेको वस्तुदेखि बाहिरबाट ल्याएर सामान बिक्री गर्दै आएका छन् । यसरी सुरु भयो कोशेली घर स्थानीय उत्पादन र प्रवर्द्धनकाे लागि सरकारले जोड दिँदै आएपनि वास्तविक रूपमा स्वदेशी उत्पादनको बजारीकरणमा ठूलो समस्या छ । धेरै जना नवउद्यमीहरूले आफ्नो उत्पादनले बजार नपाउँदा निरन्तरता दिन नसकेको गुनासो गर्ने गरेका छन् । यस्ता समस्यालाई मध्यनजर गरेर आजभन्दा पाँच वर्षअघि कीर्तिपुर नगरपालिकाले लघु उद्यमीहरूले उत्पादन गरेको वस्तु तथा सेवाको बजारीकरणको लागि सहज वातावारण बनाउने लक्ष्यसहित कोशेली घर सुरु गरेको हो । ‘स्थानीय उत्पादन बिकाउन सकेन भन्ने उद्यमीहरूको गुनासोलाई मध्यनजर बजारीकरणको लागि नगरपालिकाले ठाउँ उपलब्ध गराउने लक्ष्यसहित कोशेली भर सुरु भएको हो,’ नगरपालिका उपप्रमुख शुभलक्ष्मी शाक्यले बताइन् । कोशेली घर सञ्चालनको सुरुवातमा स्थानीय उद्यमीलाई आफूले उत्पादन गरेको वस्तुको बिक्री वितरणको लागि निःशुल्क सटरको व्यवस्था गरेको थियो । तर, नगरपालिकाले जुन लक्ष्यले कोशेली घर सुरु गरेको थियो, त्यही अनुरूप चल्न सकेन । कोशेली घर अव्यस्थित हुँदै जान थाल्यो । उद्यमीहरूले मनलाग्दी सटर खोल्ने र बन्द गर्ने गर्न थालेपछि गुनासो बढ्दै जान थाल्यो । पहिलेको जनप्रनिधिले सुरु गरेको कोशेली घरको व्यवस्थापनको जिम्मेवारी नयाँ जनप्रतिनिधिको काँधमा आएसँगै त्यसलाई के गर्ने भनेर छलफलमा जुटेको नगरपालिका उपप्रमुख शाक्यले सुनाइन् । व्यवस्थित बनाउन शुल्क नगरपालिकाद्वारा सञ्चालित कोशेली घर अव्यस्थित बन्दै गएपछि समस्या के रहेछ भनेर त्यहाँ व्यवसाय गर्दै आइरहेका सबै उद्यमीलाई छलफलमा बोलाएको उपप्रमुख शाक्यले बताइन् । छलफलमा सबै उद्यमीले स्थानीय उत्पादन मात्रै बेच्दा व्यापार नभएको गुनासो राखे । साथसाथै उनीहरूले स्थानीय उत्पादनसँगै बाहिरी वस्तु राखेर व्यापार गर्नुपर्ने अवस्था देखिएको सुझाव दिए । उद्यमीहरूमार्फत् यस प्रकारको गुनासो आएपछि नगरपालिकाले नयाँ ढंगबाट कोशेली घर सञ्चालन गर्ने निर्णयमा पुगेको उपप्रमुख शाक्यले बताइन् । शाक्यका अनुसार त्यसपछि भने नगरपालिकाले शुल्क लिएर व्यवसायीलाई सटर उपलब्ध गराएको र बाहिरी वस्तु पनि राख्न अनुमति दिएको हो । उनका अनुसार टेन्डर नै खुलाएर सटर दिने व्यवस्था गरेको थियो । न्यूनतम पाँच हजार शुल्क लिनेगरी नगरपालिकाले टेन्डर खुलाएको थियो । त्यतिबेला धेरै जना स्थानीय व्यवसायीले आवेदन दिएपनि १२ जनालाई छनोट गरी सटर उपलब्ध गराइएको थियो । अहिले धेरैजसो पुरानो उद्यमीहरूले सटर छाडेकोमा नयाँ उद्यमीहरूले सञ्चालन गरिरहेको छन्, केही पुरानै उद्यमीले त्यही सटरमा आफ्नो व्यवसायलाई निरन्तरता दिँदै आएका छन् । कोशेली घर स्थापना भएको सुरुवाती चरणबाटै संलग्न हुँदै आएकी नगरपालिकाको उद्यम विकास केन्द्रकी उद्यम विकास सहजकर्ता अप्सरा भट्टराईले तीन वर्षयता नगरपालिकाले एक उद्यमी बराबर मासिक पाँच हजार रुपैयाँ शुल्क लिँदै आएको बताउँछिन् । कोशेली घर सञ्चालनको सुरुवाती चरणमा स्थानीय व्यवसायीलाई निःशुल्क रूपमा व्यवसायको लागि सटर उपलब्ध गराउँदा लापरबाही बढ्न गएकोले व्यवस्थित बनाउने हिसाबले शुल्क लिन थालेको उद्यम विकास सहजकर्ता भट्टराईले थप प्रष्ट्याइन् । उनले भनिन्, ‘दुई वर्षजति हामीले उद्यमीलाई व्यवसाय सञ्चालनको लागि निःशुल्क सटर उपलब्ध गरायौं, निःशुल्क रूपमा चलाउन दिँदा उहाँहरूले मनपरी गर्न थाल्नुभयो । कहिले खोल्ने, कहिले १५ दिनसम्म बन्द गरिदिने । यसले कोशेली घर अव्यवस्थित देखियो । बाध्य भएर शुल्क लिने निर्णय लिनुपर्यो ।’ उद्यमीहरूलाई शुल्कसहित सटर उपलब्ध गराउँदा कोेशेली घर पहिलेभन्दा व्यवस्थित बन्दै गएको र राम्रै व्यापार भयो भन्ने प्रतिक्रिया उद्यमीमार्फत् आउने गरेको भट्टराईले बताइन् । पहिले व्यवसाय दर्ता बिना नै धेरैले व्यवसाय गर्दै आएकामा अहिले उद्यम दर्ता गर्न आउनेहरूको संख्या बढ्दै गएको उनी सुनाउँछिन् । ‘पहिला उद्यमीहरूको पसल दर्ता गरेको थिएनन्, दर्ता नगरी काम गर्न असजिलो हुने भएकोले दर्ता गर्न क्रमशः आइरहनुभएको छ । अहिले त्यहाँ होटलदेखि रेडिमेड सामान, स्थानीय उत्पादन पनि राख्नुभएको छ । हेयर शैलुन पनि यसै सालबाट सुरु गर्दैछ,’ भट्टराईले भनिन् । पछिल्लो समय कोशेली घरमा सटर चाहियो भनेर निवेदन दिने नयाँ उद्यमीको संख्या बढ्दै गएको उनी सुनाउँछिन् । ‘हामीसँग अहिले १२ सटर मात्रै उपलब्ध छन्, तर, नगरपालिकामा सटर चाहियो भनेर धेरै जनाले निवदेन दिनुभएको छ । कसैले छोडिहाल्यो भने भन्नु है भन्नुहुन्छ, त्यसैले हामीले सटर बढाउने कि भनेर सोच बनाएका छौं ।’ तालिमपछि उद्यमी, त्यसपछि बजारीकरण नगरपालिकाले नव तथा साना उद्यमीको उत्पादन भएको वस्तुको बजारीकरण मात्रै नभएर विभिन्न तालिमहरू पनि दिने गरेको अधिकारी बताउँछिन् । जुत्ता चप्पल बनाउने तालिमदेखि पार्लर, ड्राइभिङलगायत विभिन्न सीप चरणबद्ध रूपमा सिकाउँदै आएको छ । सीप सिकिसकेपछि पनि बजारीकरणमा नगरपालिकाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । नगरपालिकाले कतिपय तालिम आन्तरिक स्रोतबाट र गरिबी निवारणको लागि लघु उद्यम विकास (मेड्पा) मार्फत दिँदै आएको छ । नगरपालिकाद्वारा तालिम लिएर कोशेली घरमा भर्खरै सुरु भएको एक व्यवसाय हो– हेयर कटिङ शैलुन । नगरपालिकाका अनुसार दुई जना महिलाले ६ महिना तालिम लिएर यो व्यवसाय सुरु गरेको हो । उद्यम विकास सहजकर्ता अधिकारीका अनुसार मेड्पाले वार्षिक रूपमा यस तालिमको लागि भन्दै १२ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ । योअन्र्तगत ६/७ चरणमा तालिमहरू सञ्चालन हुन्छ । केही गर्न चाहने स्थानीय नागरिकले नगरपालिकाद्वारा सञ्चालित तालिममा सहभागी हुन सक्छन् । नगरपालिकामा आवेदन परेकाहरूमध्ये छनोटमा परेका ५० जनाले तालिम लिन पाउँछन् । तालिम दिइसकेपछि पनि सम्भव भएसम्म प्रविधिसमेत हस्तान्तरण गर्ने गरेको अधिकारी बताउँछिन् । थप व्यवस्थित बनाइँदै नगरपालिकाले कीर्तिपुर हाल नयाँ बजार चोकमा कोशेली घर सञ्चालन गर्दै आइरहेको छ । अहिले सञ्चालन भइरहेको ठाउँ उपयुक्त नभएको हुँदा लक्ष्यअनुरूप कोशेली घर सञ्चालन नभएको हुँदा यसलाई अझै व्यवस्थित बनाउने योजना रहेको उपप्रमुख शाक्य सुनाउँछिन् । ‘अहिलेको ठाउँ व्यापारिक हिसाबले उद्यमीहरूलाई ठीकठीकै छ । स्थानीय उत्पादनले मात्रै व्यापार नभएपछि उहाँहरूले बाहिरबाट सामान ल्याएर पनि बेच्नुभएको छ, यसले राम्रै गरिरहनुभएको छ । हाम्रो उद्देश्य स्थानीय उत्पानलाई जोड हो । तर, त्योअनुसार हुन सकेको छैन,’ उनले भनिन् । कोशेली घरलाई थप व्यवस्थित बनाउन नगरपालिकाले सञ्चालन गरेको पर्यटन सूचना केन्द्रमा सार्ने योजना बनाएको उनले सुनाइन् । ‘अहिले हामीले कोशेली घर नजिकै पर्यटन सूचना केन्द्र बनाएका छौं । त्यसको तल्लो तलामा कोशेली घरलाई सार्ने कि भन्ने योजना बनाएका छौं,’ उनले बताइन् । पर्यटन सूचना केन्द्रमा सबै उद्यमी व्यवसायीले उत्पादन गरेको वस्तु राख्नुभन्दा उनीहरूको नम्बर र वस्तुबारे जानकारी दिने गरी व्यवस्थित बनाउन लागेको उपप्रमुख शाक्य बताउँछिन् । त्यसका लागि केन्द्रकै कर्मचारीले सहजीकरणको भूमिका खेल्नेछन् ।

तोलामा १६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६८ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य प्रतितोला १ हजार ६ सय रूपैयाँ बढेको हो । साथै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूलेय १ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

क्यान इन्फोटेक मेला आजदेखि सुरु

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को ३०औं संस्करणको क्यान इन्फोटेक मेला बिहीबारदेखि शुभारम्भ भएको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा कार्यक्रमको उद्घाटन गरेसँगै मेला सुरु भएको हो । कम्युटर एशोसिएसन नेपाल (क्यान) भृकुटीमण्डपमा आयोजना भएको मेला ३० औं सस्करण हो । आजदेखि सुरु भएको क्यान इन्फोटेक माघ २८ गतेसम्म चल्ने छ । क्यान इन्फोटेकमा सूचना सञ्चार प्रविधि क्षेत्रका भित्रिएका नवीनतम प्रविधि तथा सेवाको विशेष प्रदर्शनि राखिएको छ । ३०औं क्यान इन्फोटेकको मुख्य प्रायोजकमा एचएमसी नेपाल हिक्सेमी र सह-शीर्ष प्रायोजकमा मर्कन्टाइल अफिस सिस्टम रहेको छ । क्यान इन्फोटेक २०२५ को गोल्ड स्पोन्सरमा नेबुला मोबिलिटी प्रालि (गोगोरो), सिल्भर स्पोन्सरहरूमा एस-पावर बीपीई प्रालि र अनलिमिटेड टेक्नोलोजी प्रालि (ज्याप) रहेका छन् । प्रदर्शनीको टिकेटिङ पार्टनरमा टिकट सञ्जाल, इन्टरनेट पार्टनरमा वर्ल्डलिंक कम्युनिकेसन्स प्रालि, एसएमएस पार्टनर जानकी टेक्नोलोजी प्रालि, डिजिटल एड्रेस पार्टनरमा एड्रेसग्राफ नेपाल प्रालि र इनर्जी पार्टनरमा एग्जिबिसन लाइट हाउस रहेका छन् ।

लामिछानेसहितको मुद्दामा दोस्रो दिनको बहस सुरु

चितवन । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा बिहीबार दोस्रो दिनको थुनछेक बहस सुरु भएको छ । जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार अहिले नेपाल सरकारका तर्फबाट छिमेकी जिल्लाबाट आएका न्यायाधिवक्ताहरुले बहस थालेका छन् । बाराका जिल्ला न्यायाधिवक्ता शम्भुकुमार बस्नेत, पर्साका न्यायाधिवक्ता भोलानाथ निरौला र धादिङका जिल्ला न्यायाधिवक्ता दशरथ पङ्गेनीले क्रमशः बहस गर्ने छन् । चितवन सरकारी वकिल कार्यालयबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, सहायक न्यायाधिवक्ता अमृत सुवेदी र बुद्धवहादुर थापाले बुधबार बहस गरिसकेका छन् । बुधबारै जाहेरवालाका तर्फबाट अधिवक्ता रमेश काफ्लेले बहस गरेका थिए । बहसमा जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ, अधिवक्ता सुनिता अधिकारी र शम्भु बर्तौलाले वकालत गर्ने तालिका रहेको छ ।  यस्तै लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, धर्मराज आचार्य, अधिवक्ता डा नारायणदत्त कँडेल, चुडामणी सापकोटा, रामचन्द्र देवकोटा, सुवर्ण सापकोटा, गोपिलाल देवकोटा, केदारराज पन्त, दीपकराज तिमिल्सेना र सञ्जय गोले गरी १० जनाले बहसका लागि वकालतनामा दर्ता गरेका छन् । बुधबार बहस जारी भएपछि लामिछानेलाई न्यायिक हिरासतका लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको थियो । न्यायाधीश दयाराम ढकालको इलाजासमा थुनछेक बहस जारी छ । विश्वकर्माका अनुसार सरकारी वकिल कार्यालयले मङ्गलबार लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गराएको थियो । व्यक्तिबाहेक  छ वटा संस्थाविरुद्ध पनि अदालतमा मुद्दा दर्ता गरिएको छ ।

फिलिपिन्सका उपराष्ट्रपतिविरुद्ध महाभियोग

काठमाडौं । फिलिपिन्सका उपराष्ट्रपति सारा डुटेर्टेलाई बुधबार प्रतिनिधि सभाले महाभियोग लगाएको छ । हाउसले २१५ हस्ताक्षरहरू प्राप्त गरेको छ । जुन डुटेर्टेलाई महाभियोग लगाउन आवश्यक पर्ने सदन सदस्यताको एक तिहाइ भन्दा बढी हो । जसले गर्दा प्रक्रियालाई सिनेटमा पुर्याइएको हो । संविधान अन्तर्गत सिनेटसँग महाभियोगका सबै मुद्दाहरूको प्रयास गर्ने र निर्णय गर्ने एकमात्र अधिकार छ । जसमा सिनेटरहरू न्यायाधीशहरू हुन् । सर्वोच्च अदालतका प्रधानन्यायाधीशले मुद्दाको अध्यक्षता गर्छन् ।

पाथीभरा केवलकारको विषय बैंकसँग नजोडौं : गुरु पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले पाथीभरा केवलकार विवादको विषयलाई बैंकसँग नजोड्न आग्रह गरेका छन् । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुखसमेत रहेका पौडेलले पाथीभरा केवलकारको विषयसँग जोडेर विभिन्न व्यक्तिले बैंक डुब्दैछ भनेर हल्ला फैलाइरहेकाले त्यस्तो कार्य नगर्न अनुरोध गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पाथीभरा केवलकार निर्माणको विषयलाई लिएर नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’ वर्गको वाणिज्य बैंक- ग्लोबल आईएमई बैंकमाथि गरिएको प्रहार गलत हो, कसैको उक्साहटमा त्यस्ता उच्छृखल गतिविधिमा संलग्न नहुँदा राम्रो ।’ बैंकिङ प्रणालीमाथि भिडियो आक्रमण र राष्ट्र बैंकको मौनता

आफ्नो अस्तित्वको रक्षामा ‘निसान’, ६० अर्ब डलरको ‘मर्जर वार्ता’ रद्द गर्ने निर्णय

काठमाडौं । निसानले प्रतिद्वन्द्वी होन्डासँगको मर्जर वार्ता रद्द गर्ने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यस निर्णयले विश्वकै तेस्रो ठूलो अटोमोबाइल निर्माता बन्ने योजना विफल पार्ने र निसान एक्लै कसरी आफूलाई पुनरुत्थान गर्नेछ भन्ने प्रश्न उठाएको छ । दुई जापानी कम्पनीहरूबीच बढ्दो मतभेदले ६० अर्ब डलरभन्दा बढीको संयुक्त उद्यमलाई परित्याग गर्‍यो । निक्केई बिजनेस दैनिकले निसानले वार्ता त्याग्ने प्रतिवेदन पछि टोकियो स्टक एक्सचेन्जमा निसानको सेयर ४ प्रतिशतभन्दा बढी घटेको थियो भने होन्डाको सेयर ८ प्रतिशतभन्दा बढी बढेको थियो । यो घटनाले निसानले बाह्य सहयोग बिना कसरी आफ्नो पुनर्गठन गर्छ भन्ने प्रश्न उठाएको छ । निसानले ९ हजार कर्मचारी र विश्वव्यापी क्षमताको २० प्रतिशत कटौती गर्ने लक्ष्य राखेको छ । टोयोटापछि जापानको दोस्रो ठूलो कार निर्माता होन्डा र तेस्रो ठूलो निसानले डिसेम्बरमा चिनियाँ कम्पनी बीवाइडी र अन्य इलेक्ट्रिक वाहन प्रतिस्पर्धीहरूको चुनौतीको बीच विश्वको तेस्रो ठूलो कार निर्माता बन्ने वार्ता सुरु गरेका थिए । होन्डाले आफ्नो सहायक कम्पनी बन्ने प्रस्ताव राखेपछि निसानले वार्ता रद्द गर्न सक्ने आँकलन उतिबेलै गरिएको थियो । निसान र होन्डाले छुट्टै वक्तव्यमा निक्केईको प्रतिवेदन कम्पनीले सार्वजनिक गरेको जानकारीमा आधारित नभएको र फेब्रुअरी मध्यसम्म अन्तिम निर्णय गरी घोषणा गर्ने लक्ष्य रहेको जनाएका छन् । होन्डाको बजार मूल्य ७.९२ खर्ब येन (५१.९० अर्ब डलर) छ भने निसानको १.४४ खर्ब येन मात्र छ । अर्को स्रोतले होन्डा निसानको पुनर्गठन प्रगतिबाट चिन्तित रहेको बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोमा लगाउने ट्यारिफले निसानलाई होन्डा र टोयोटाभन्दा धेरै प्रभाव पार्न सक्ने विश्लेषकहरूले बताएका छन् । निसानले भोगेको चुनौती निसानको असफलता इलेक्ट्रिक सवारीसाधन (ईभी) को बजारमा प्रतिस्पर्धा गर्न नसक्नु र २०१८ मा कार्लोस घोस्नको गिरफ्तारीपछि उत्पन्न संकट हो । सीएलएसएका विश्लेषक क्रिस्टोफर रिच्टरले भने, ‘निसानले होन्डाको सहायक बन्न नचाहेको खबरले नियन्त्रण नै मुख्य मुद्दा हो भन्ने संकेत गर्छ ।’ निसानको लामो समयदेखिको साझेदार रेनल्टले मर्जरमा सिद्धान्ततः सहमति जनाउने संकेत गरेको थियो । निसानको अर्को साझेदार मित्सुबिसीले पनि मर्जर वार्तामा सामेल हुन सक्ने अनुमान गरिएको थियो । तर अब मित्सुबिसी पछि हट्न सक्ने सम्भावना रहेको स्रोतले जनाएका छन् । मर्निङस्टारका विश्लेषक भिन्सेन्ट सनले भने, ‘निवेशकहरू निसानको भविष्य र पुनर्गठनबाट चिन्तित हुन सक्छन् । साथै अमेरिका–मेक्सिको ट्यारिफले निसानलाई होन्डा र टोयोटाभन्दा बढी जोखिममा राख्छ ।’ सान्दर्भिक सामग्री : होन्डासँगको मर्जरले निसान ‘नरसंहार’ को शिकार हुनसक्ने मस्कको राजनैतिक प्रभाव ! बेलायत र युरोपेली बजारमा टेस्लाको बिक्री घट्दो विद्युतीय सवारीमा फड्को मार्दै फरारी, अक्टोबरमा ६ नयाँ मोडल सार्वजनिक गर्ने १९ हजार करोड कर छलिको आरोप लगाएपछि भारतीय अधिकारीविरुद्ध फक्सवागनको मुद्दा एसियाली अटो निर्माताहरूको सेयरमा गिरावट, ट्रम्पको शुल्कका कारण अटो क्षेत्र उथलपुथल २०२५ मा ईभी कारको बिक्री २ करोड नाघ्ने निसान-होन्डा मर्जरमा मित्सुबिशी सहभागी नहुने बीवाईडीको इन्डोनेसिया प्लान्ट यस वर्षको अन्त्यमा सम्पन्न हुने, बर्सेनि डेढ लाख ईभी उत्पादन हुने अटो उद्योगको निद्रा बिथोल्ने बीवाईडी, जसको रोकिने नामोनिशान छैन स्टेलान्टिस र सीएटीएलले स्पेनमा ईभी ब्याट्री प्लान्ट निर्माण गर्ने, ४.३ बिलियन डलरको लगानी