विकासन्युज

बजेटको आकार संशोधन, ९१ प्रतिशतमात्रै खर्च हुने (पूर्णपाठसहित)

काठमाडाैं । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को लक्ष्यको भेटाउन नसकिने बताएको छ । बिहीबार बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन प्रतिनिधिसभामा प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको लक्ष्य भेटाउन नसकिने बताएका हुन् । उनले बजेटकाे आकार संशाेधन गरेका छन् । सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबर बजेट ल्याएको थियो । उक्त बजेटको १६ खर्ब ९२ अर्ब ९३ करोड ३५ लाखमात्र खर्च हुने अनुमान उनले गरेका हुन् । उनका अनुसार चालु खर्च तर्फ १० खर्ब २९ अर्ब ३० करोड अर्थात् लक्ष्यको ९०.२४ प्रतिशत, पुँजीगततर्फ अब २ खर्ब ९९ अर्ब ५० करोड अर्थात् लक्ष्यको ८५ प्रतिशत र वित्तीय व्यवस्थार्फत ३ खर्ब ६३ अर्ब ९३ करोड अर्थात् लक्ष्यको ९९.०९ प्रतिशत हुने अनुमान गरिएको छ ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकाे छ । अख्तियार अनुसन्धान दुरुपयाेग आयाेगले बिहीबार पौडेलसहित २ जना विरुद्ध घुस लिई भ्रष्टाचार गरेको आराेपमा आरोपपत्र दायर गरेकाे हाे । आयाेगले पौडेलले कार्यकारी निर्देशक पदमा रहँदा सुरक्षा उपकरणहरू र नेटवर्क सामग्रीको आपूर्ति, डेलिभरी र स्थापना गर्दा खरिदमा संलग्न कम्पनीहरूबाट ३ करोड ८ लाख रुपैयाँ घुस खाएको आरोप लगाएको छ । आयाेगले पाैडेलले भ्रष्टाचार गरेकाे भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उनी र एफ फाइभ कम्पनीका प्रतिनिधि भारतीय नागरिक दिपक आनन्दसँग मिली रकम घोटाला गरेकाे आराेप लगाएकाे छ । अख्तियारले पाैडेलविरुद्ध ३ कराेड ८ लाख ५० हजार ४०० बिगाे दाबी गरेकाे छ । [pdf id=538636]

बीमासम्बन्धी सचेतनामूलक भिडियो ‘समय’ सार्वजनिक

काठमाडौं । क्यापिटल न्युज नेटवर्कले जीवन बीमासम्बन्धी सचेतनामूलक श्रव्यदृश्य सामग्री समय सार्वजनिक गरेको छ। सर्वसाधारणलाई जीवन बीमा, बचत र छोराछोरीको शिक्षाका लागि अभिभावकले गर्नुपर्ने पूर्ववित्तीय तयारीको महत्वबारे सन्देश दिन खोजिएको छ। त्यसमा एउटा सामान्य व्यापारीको परिवारको छोरी १२ कक्षाको नतिजापछि उच्च शिक्षाका लागि विदेशिने ध्याउन्नमा हुन्छिन्। उनको भिसादेखि लिएर शिक्षासम्मको खर्चको जोहो गर्नका लागि अभिभावकलाई धौधौ पर्छ। केही समययता देखिएको आर्थिक शिथिलताले बैंकको कर्जा सेवा, व्यापारदेखि लिएर आपसी व्यवहारसम्ममा पारेको प्रभावलाई झल्काउँदै अप्ठेरो परेका बेला कर्जा वा सापटी हात पार्न असहज भएको अवस्थालाई मर्मस्पर्शी ढंगबाट झल्काइएको छ। सापटीका लागि अनेक प्रयास गर्दा पनि केही उपाय नलागेपछि अन्ततः ७ महिनाको पर्खाइपछि ती व्यापारीले छोरीको उच्च शिक्षाका लागि बैंकबाट शैक्षिक कर्जा पाउँछन् र छोरीलाई विदेश पठाउने सपना साकार पार्न सहज हुन्छ। छोरी विदेशिने भएपछि खुसी साट्न खाना खाने निम्तोमा आएको छोरीको साथीको अभिभावकले छोरी जन्मिएलगत्तै जीवन बीमा गरिदिएकाले उच्च शिक्षाका लागि चाहिने पैसाको जोहो गर्न कुनै तनाव नभएको सुनाउँदा ती व्यापारी पिता समय छँदै आफूले जीवन बीमा नगरेकोमा पछुतो मान्छन्। ढिलै भए पनि उनी जीवनको उत्तराद्र्धका लागि पनि जीवन बीमा चाहिन्छ भन्ने निष्कर्षसँगै बीमा गर्न तत्पर हुन्छन्। यो श्रव्यदृश्य सामग्रीले छोराछोरीको उच्च शिक्षाका लागि नेपालको निम्न मध्यम वर्गीय परिवारका अभिभावकले भोग्नुपरिरहेको साझा समस्या र चुनौतीको प्रतिनिधित्व गर्ने प्रयास गरेको छ। जीवन बीमालाई लिएर आमनागरिकमा अझै पनि विद्यमान अज्ञानता, आर्थिक रुपमा सम्पन्न भए पनि भविष्यका लागि आवश्यक पर्ने पैसाको जोहोका लागि समय रहँदै बचत, लगानी गर्नुपर्छ भन्ने चेतना र अभ्यासको पनि अभाव रहेको परिवेशलाई दर्शाइएको छ। क्यापिटल न्युज नेटवर्कका अध्यक्ष केशवप्रसाद भण्डारीले बीमाको सचेतनाका माध्यमबाटै संकटको समयमा काँध थापिदिने विश्वासिलो सहयात्री बीमाको सुरक्षा छातामुनि सबैलाई समेट्न सम्भव हुने बताए । यो सामग्रीको पटकथा लेखन तथा निर्देशन रोमियो गुरुङको रहेको छ भने छायांकन ईश्वर बल्लभ उप्रेतीले गरेका हुन्। भण्डारीको परिकल्पनामा बनेको यस पटकथाको व्यवस्थापन आकाश कुँवर गरेका हुन्। विशेष सिलवाल र पुष्कर महत्वनको संगीत तथा सन्तोष दवाडी र रोमियो गुरुङको सम्पादनमा रहेको छ। यस श्रव्यदृश्य सामग्रीमा सन्दीप डंगोल, निरु खड्का, रोशिका पौडेल, राधा गिरी, प्रभाष लिम्बू र ईश्वर बल्लभ उप्रेतीको अभिनय रहेको छ। विशेष भूमिकामा कृष्ण मल्ल देखिएका छन्।

भारतमा बिक्रीको पहिलो स्थानमा मारुति सुजुकी

काठमाडौं । भारतीय कार बजारका लागि सन् २०२५ को पहिलो महीना जनवरी राम्रो रह्यो । पछिल्लो महिना ४.६५ लाखभन्दा धेरै कार बिक्री हुँदा मारुति सुजुकी पहिलो स्थानमा छ । शीर्ष १० मा सामिल कम्पनीले ९५ प्रतिशतभन्दा धेरै कार बेचे । बितेको जनवरी महीनामा महिन्द्राले टाटा मोटर्सलाई पछाडि पारेको छ। यसले हुन्डाईलाई पनि कडा टक्कर दिएको छ । तर, होन्डा जेएसडब्ल्यू एमजी, स्कोडा र फक्सवागन कम्पनीका कारहरूको बिक्री डिसेम्बर २०२४ को तुलनामा मासिक रूपमा घटेको देखियो । त्यसैगरी, कियाको कार बिक्रीमा १७९ प्रतिशतको मासिक वृद्धि देख्न सकिन्छ । २०२५ मा भारतीय अटो बजारमा तीव्र प्रतिस्पर्धा देखिएको छ, जहाँ स्वदेशी कम्पनीहरूले अन्तर्राष्ट्रिय ब्रान्डहरूलाई कडा टक्कर दिइरहेका छन् । मारुति सुजुकीको शानदार प्रदर्शन मारुति सुजुकीको जनवरीमा कुल १ लाख ७३ हजार ५९९ कार बिक्री भएको छ । डिसेम्बर २०२४ को १ लाख ३० हजार ११५ युनिटको तुलनामा यो ३३ प्रतिशत मासिक वृद्धि हो । जनवरी २०२४ को १ लाख ६६ हजार ८०२ युनिटको तुलनामा ४.१ प्रतिशत वार्षिक वृद्धि हो । दोस्रो स्थानमा हुन्डाई हुन्डाईले ५४ हजार ००३ कार बिक्री गरेको छ । यसले २७.९ प्रतिशत मासिक वृद्धि गरेको हो । टाटालाई पछि पार्दै तेस्रो स्थानमा महिन्द्रा महिन्दाको एसयूभी ५० हजार ५०,६५९ बिक्री भएको छ । यसको २२ प्रतिशत मासिक वृद्धि र १७ प्रतिशत वार्षिक वृद्धि रहेको छ । टाटा टाटाको बिक्री रिपोर्ट उल्लेख छैन । टोयोटा टोयोटाको कार २६ हजार १७८ बिक्री भयो । यसको ५.२ प्रतिशत मासिक वृद्धि र १३ प्रतिशत वार्षिक वृद्धि रहेको छ । किया कियाले २५ हजार २५ कार बिक्री गरेको छ । यसको मासिक वृद्धि १७९ प्रतिशत रहेको छ भने वार्षिक वृद्धि ५.३ प्रतिशत रहेको छ । होन्डा होन्डाले ६ हजार १०३ कार बिक्री गरेको छ । यसमा मासिक र वार्षिक रूपमा बिक्रीमा गिरावट आएको छ । जेएसडब्ल्यू एमजी जेएसडब्ल्यू एमजीको पनि बिक्री घटेको छ । यसले ४ हजार ४५५ कार बिक्री गरेको छ । स्कोडा स्कोडाको बिक्रीमा राम्रो वृद्धि भएको छ । यसले ४ हजार १३३ कार बिक्री गरेको छ । यसमा ७४ प्रतिशतले वार्षिक वृद्धि भएको छ । फक्सवागन फक्सवागनको बिक्री घटेको छ । यसले जनवरीमा ३ हजार ३४४ कार बिक्री गरेको छ । यसमा ३० प्रतिशत मासिक गिरावट (डिसेम्बर २०२४ मा ४ हजार ७८७ युनिट बिक्री) आएको छ ।

सूर्तीजन्य पदार्थको बट्टामा घातक चित्र छाप्नुपर्ने निर्देशिका स्वीकृत

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अङ्कित गर्ने निर्देशिका २०८१’ स्वीकृत गरेको छ । मन्त्रालयले उक्त निर्देशिका स्वीकृत गर्दै चेतावनीमूलक सन्देश र घातक रङ्गीन चित्र नभएका सूर्तीजन्य पदार्थ उत्पादन, दरिखबिक्री गर्न नपाउने जनाएको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निर्देशिका स्वीकृत गर्दै आगामी भदौ १ गतेदेखि सूर्तीजन्य पदार्थको बट्टामा अनिवार्य रूपमा सतप्रतिशत घातक चित्र छाप्नुपर्ने नियम कार्यान्वयनमा आएको बताउँदै सबैले उक्त नियम पालन गर्न÷गराउन समन्वय गर्नुपर्नेमा जोड दिए । स्वीकृत भएको मितिले एक सय ८०औँ दिनदेखि लागू हुने निर्देशिकामा उल्लेख छ । यसअघि भएको ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश छाप्नुपर्ने व्यवस्था थियो । विभिन्न अध्ययनले कतिपय देशमा यस्ता चेतावनीमूलक सूचनाले सूर्ती तथा चुरोट छाड्नेको सङ्ख्या वृद्धि हुने देखाएकाले नेपालमा पनि सतप्रतिशत चेतावनीमूलक सन्देश र चित्र छाप्ने व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए । उनले नेपालमा यस्तो चेतावनीले काम गरिरहेकामा संशोधित निर्देशिकाले सूर्ती तथा चुरोटको प्रयोगकर्ता घट्ने र क्यान्सर तथा अन्य घातक रोगमा कमी आउने अपेक्षा गरिएको बताउनुभयो । उहाँका अनुसार नेपालको तथ्याङ्क हेर्ने हो भने वार्षिक ३७ हजारको सूर्तीजन्य पदार्थको सेवनबाट ज्यान जाने गर्दछ । सूर्तीजन्य पदार्थ सेवनको असरबाट भएको घातक, रङ्गीन चित्र प्रष्ट रूपमा बुझ्ने र देख्नेगरी नेपाली भाषामा छाप्नु तथा अङ्कित गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । घातक रङ्गीन चित्र र चेतावनीमूलक सन्देशमूलक चुरोट, बिँडी, खैनी, सूर्ती र गुट्खा जस्ता सूर्तिजन्य पदार्थको भित्री र बाहिरी बट्टा, प्याकेट, ¥यापर्स, पेटी, पार्सल र प्याकेजिङ्गमा छाप्नु तथा अङ्कित गर्नुपर्नेछ ।

हेटौंडा उपमहानगरले नगरभित्र फोहोर संकलन नगर्ने

काठमाडौं । हेटौंडा उपमहानगरपालिकाले नगर क्षेत्रभित्र फोहर संकलन रोकेको छ । उपमहानगरपालिकाले बिहीबार सार्वजनिक सूचना नै जारी गरेर फोहर संकलन रोक्ने जनाएको हो । उच्च अदालत पाटन हेटौंडा इजलासले माघ २२ गते हेटौंडा- १० राप्ती खोला तटमा बनाइएको डम्पिङ साइटमा फोहोर नफाल्न र हेटौंडा उपमहानगरको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि उपमहानगरले फोहोर संकलन नगर्ने निर्णय गरेको जनाएको छ । अर्को आदेश वा व्यवथा नभएसम्मको लागि उपमहानगरपालिकाले फोहोरको संकलन र व्यवस्थान कार्य स्थगित भएको हो ।

१९ बुँदे माग राखी ग्यास उद्योग संघले घोषणा गर्‍यो विभिन्न चरणका आन्दोलन

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। संघले १९ बुँदे माग राखी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हाे । बिहीबार पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गर्दै संघले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हाे । विगत ६ वर्षदेखि डिलर कमिसन, ढुवानी, ओभरहेड खर्च वृद्धि नभएकोले तत्कालै वृद्धि हुनु पर्ने र हरेक वर्ष मुद्रास्फीती दर अनुसार समायोजन गर्ने व्यवस्था गर्नुपर्ने माग संघको छ । यसैगरी, उद्योगी र डिलरहरूको मुनाफा प्रतिशतमा कायम गरी ५ प्रतिशत नघट्ने व्यवस्था हुनु पर्ने माग छ । पेट्रोलियम ऐन/नियम/कानुनको निर्माण गरी एउटा छुट्टै पेट्रोलियम बोर्ड प्राधिकरण नियमन निकाय खडा गर्नुपर्ने र सोका लागि निजी क्षेत्र तथा विज्ञको सहभागितामा सुझाव आयोग गठन गर्नुपर्ने माग पनि संघको छ । संघले फाल्गुण १८ गतेदेखि ५९ वटै एलपी ग्यास उद्योगहरूका माग सम्बोधन नभएमा अनिश्चितकालीन बन्द गर्ने चेतावनी दिएको छ । देशभरका ५९ वटै एलपी ग्यास उद्योगहरूले नेपाल आयल निगमबाट प्रोडक्ट डेलिभरी अडर (पीडीओ) खरिद नगर्ने भएका छन् । यसैगरी, संघले फाल्गुण ६ गतेदेखि भारतको इन्डियन आयलका नेपालका लागि लोड हुने एलपी ग्यासको ग्यास बुलेट कुनै पनि लोड नगर्ने पनि भएको छ । फागुन १२ गतेदेखि नेपालका लागि लोड भएर आयका कुनै पनि ग्यास बुलेटहरू कुनै पनि भन्सार नाकाबाट नछुटाउने, यसैगरी फागुन २२ गते शनिवारदेखि देशभरका ग्यास बिक्रेता डिपोहरूले सम्पूर्ण बन्द गरिदिने पनि  संघले जनाएकाे छ ।  

ग्लोबल आइएमई बैंकले पत्रकारलाई क्यामरा किन्न विना धितो कर्जा दिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे) का सदस्यहरुलाई क्यामरा खरिदको लागि विना धितो कर्जा उपलब्ध गराउने भएको छ । यस सम्बन्धी सम्झौतामा बैकका हेड ट्रान्जेक्सन बैंकिङ्ग विभागका प्रमुख प्रकाश पौडेल र एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । बैंकले क्यामरा खरिदको लागि २ लाख देखि ५ लाख रुपैयाँसम्म विना धितो कर्जा प्रवाह गर्ने समझदारी भएको हो । बैंकले फोटो पत्रकारहरूलाई क्यामेरा खरिद गर्न ६ महिनादेखि १८ महिनासम्म सरल किस्ताबन्दी सुविधा सहित कर्जा उपलब्ध गराउने छ । कर्जाको लागि फोटो पत्रकारहरुले आवश्यक कागजातहरू र आवेदन फारमसहित एनएफपिजेको सिफारिसमा कर्जाको लागि बैंकमा सम्पर्क गर्नुपर्नेछ । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।