घुस रकमसहित पक्राउ परे प्रहरी नायब निरीक्षक
काठमाडौं । रूपन्देहीमा एक प्रहरी नायब निरीक्षक (सइ)लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ । रूपन्देहीको हाटीबनगाई (दुर्गौलिया) प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर खड्कालाई ३० हजार रुपैयाँ घुसको रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले जनाएको छ । बिहीबार दिउँसो भन्सार छली र चोरी तस्करी गर्न सहजीकरण गरीदिने भन्दै घुस रकम लिइसकेको अवस्थामा अख्तियारको टोलीले प्रहरी नायब निरीक्षक खड्कालाई पक्राउ गरेको अख्तियारको बुटवल कार्यालय प्रमुख बिनिता भट्टराईले जानकारी दिए । कार्यालय प्रमुख भट्टराईका अनुसार, रुपन्देहीको मर्चवार क्षेत्रस्थित मायादेवी गाउँपालिका-६ मकरीचोकबाट घुस रकमसहित पक्राउ परेका प्रनानि खड्कालाई घुस प्रकरणमा आवश्यक कारबाहीका लागि थप अनुसन्धान भइरहेको छ । पक्राउ परेका खड्का हाटीबनगाई (दुर्गौलिया) प्रहरी चौकीका प्रमुख हुन् ।
डर भनेको मेरा लागि अनुशासन हो : अभिनेता आचार्य
काठमाडौं । कलाकार हरिवंश आचार्यको पहिचान नै हास्य व्यङ्ग्यात्मक प्रहसन र प्रस्तुति रहँदै आएको छ । तर, विसं २०७९ मा प्रदर्शन भएको चलचित्र ‘महापुरुष’ मार्फत राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेता घोषणा भएर पुरस्कृत भएपछि उहाँले आफूलाई नियमितभन्दा फरक भूमिकामा प्रस्तुत गर्दै आएका छन् । ६७ वर्ष पुगिसक्दा पनि आफ्ना कामलाई उनले गम्भीरतापूर्वक लिन्छन् र नयाँ कलाकारझैँ मेहनत गरेर आफ्नो कर्म गर्छन् । हालै आयोजना गरिएको एक अन्तरक्रियामा अभिनेता आचार्यले अनुशासनले सफलतालाई दीर्घायु बनाउने बताए । ‘चलचित्रमा अभिनय गर्दा होस् वा प्रहसन गर्दा अहिले पनि मेरो मुटु ढुकढुक हुन्छ, मनमा डर उत्पन्न हुन्छ । त्यो डर भनेको मेरा लागि अनुशासन हो । त्यसले मलाई मेहनत गर्न प्रेरित गर्छ, त्यही कारण मेरो कलाकारिताको यात्रा यहाँसम्म आइपुगेको होजस्तो लाग्छ,’ उनले भने । स्वास्थ्य शरीर, शान्त मानसिक अवस्थासँगै आफ्नो सोच ३७ वर्षको युवाजस्तो भएका कारण काम गर्ने ऊर्जा उजलाई प्राप्त हुन्छ । नकारात्मकता आफूमा रहन नदिएकै कारण उनले गर्ने कर्मले कलाकारितासँगै समाजमा एउटा स्थान बनाएको छ । उनीसँगै मह जोडीका म अर्थात् मदनकृष्ण श्रेष्ठ कलाकारितासँगै सामाजिक रूपमा समेत उच्च स्थान बनाएका कलाकार हुन् । रङ्गमञ्चमार्फत आफ्नो कलाकारिता सुरू गरेका अभिनेता आचार्यले नाटक नगरेको लामो समय भइसकेको छ । यद्यपि मञ्चमा गरिने प्रहसन र नाटक उस्तै भएको अभिनेता आचार्यले बताए । ‘नाटक र प्रहसन उस्तै हो, खासै अन्तर छैन । किनकि दुवैमा दर्शकको अगाडि मञ्चमा कलाकारले आफूलाई प्रस्तुत गर्छन्, मैले यसै वर्ष पनि केही प्रहसन गरेँ । त्यसकारण म आफूलाई नाटकबाट टाढा रहेको जस्तो लाग्दैन,’ उनले भने । कला क्षेत्रका लागि रङ्गमञ्च आमाको काखझैँ भएकाले यहाँ सिकिने कलाकारिता दिगो हुने अनुभव उनले सुनाए । राष्ट्रिय नाचघरमा गुरु हरिप्रसाद रिमालसँग नाटक, कलाकारले बोल्ने संवादको शैली सिकेको स्मरण गर्दै अभिनेता आचार्यले अभिनयमा रूचि राख्नेले आफूलाई रङ्गमञ्चमा प्रस्तुत गर्नुपर्ने धारणा व्यक्त गरे । ‘मैले गुरु रिमालसँग आँखाले अभिनय गर्छ भन्ने सिकेँ, त्यहाँ मैले मदन दाइसँग गरेको नाटक विज्ञापनलाई नेपालसँगै विदेशमा समेत प्रस्तुत गरेँ । हामीले त्यो नेपालमा मात्र चार सयको हाराहारीमा मञ्चन गरेका थियौँ । हाम्रो अभिनयको सुरुआत नै रङ्गमञ्चबाट भएको हो,’ उनले भने । उनले अभिनय गरेको पहिलो चलचित्र ‘कुमारी’ हो । उक्त चलचित्रमा कलाकार चाहिएको सूचना गोरखापत्र दैनिकमा देखेपछि अभिनेता आचार्यले आफू अभिनय गर्न इच्छुक रहेको निवेदन दिएक थिए । उक्त चलचित्रका निर्देशकको अगाडि एउटा चलचित्रको दृश्यलाई राम्रोसँग प्रस्तुत गरिएता पनि आफू उक्त भूमिकाका लागि छनोट नभएको अभिनेता आचार्यले बताए । स–साना भूमिकामा देखिए पनि उहाँले ‘जीवनरेखा’ र ‘बासुदेव’ पछि राम्रो र बढी समय पर्दामा देखिने भूमिका प्राप्त गरे । त्यसपछि अभिनयमा सक्रिय रहेका अभिनेता आचार्यले अहिले पनि उस्तै रूपमा निरन्तर काम गरिरहेका छन् । आफैँ लेखक र निर्देशकसमेत रहेका अभिनेता आचार्य अरुका चलचित्रमा कलाकारका काम गर्न रुचाउँछन् । ‘अरुले निर्माण गर्नुभएको पात्रमा कलाकार भएर काम गर्न पाउँदा मलाई सहज महसुस हुन्छ, आफैँले लेखन वा निर्देशन गरेको पात्रलाई निर्वाह गर्दा अलि बढी मेहनत गर्नुपर्छ,’ उनले भने । उनले अभिनय गर्नुभएको चलचित्र ‘भूठान’ र ‘हरिबहादुरको जुत्ता’ आउँदो वर्ष विसं २०८२ मा प्रदर्शन हुनेछ ।
३० करोडको लागतमा अस्पताल भवन निर्माण, १ सय श्ययाको बनाउने
काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित मध्यविन्दु प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको करिब १२ करोड रुपैयाँ लागत र नेपाल हिल्फे संस्थाको १८ करोड रुपैयाँको लागतमा उक्त भवन निर्माण गरिएको हो । साँघुरो भवनका कारण सहज रूपमा सेवा दिन कठिन भइरहेको अवस्थामा नयाँ भवन निर्माणसँगै अब सहज हुने सो अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रमेशप्रसाद आचार्यले बताए । नयाँ भवनबाट केही दिनमा सेवा दिन थालिने छ । १५ श्ययाको अस्पतालले पुरानो भवनबाट ८० श्ययाको सेवा दिँदै आएको छ । बिरामीको चाप धेरै भएकाले आफूहरूले स्वीकृत दरबन्दीभन्दा धेरै श्यया सञ्चालन गर्नुपरेको मेडिकल सुपरिटेन्डेन्ट डा आचार्यले बताए । स्वीकृत दरबन्दी पन्ध्र शैय्याको मात्र हुँदा जनशक्ति अभाव झेल्नु परेको उनको भनाइ छ । हाल अस्पतालमा स्थायी, करार र अन्य गरी १६४ कर्मचारी कार्यरत छन् । सामुदायिक रूपमा सञ्चालित सो अस्पताललाई २०७५ सालमा जिल्ला अस्पतालमा परिणत गरिएको थियो । उक्त समय गण्डकी प्रदेश सरकारले १५ श्ययाको जिल्ला अस्पताल कायम गरेको थियो । प्रदेश सकारको २०८१ पुस ९ गतेको मन्त्रिपरिषद्को निर्णयले यस अस्पताललाई प्रादेशिक अस्पतालका रुपमा अघि बढाएको हो । अस्पतालले जग्गाको भोगाधिकार समेत प्राप्त गर्न सकेको छैन । जमिन भोगाधिकारका लागि पहल भइरहेको भए पनि अस्पतालको नाममा आउन नसकेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण घिमिरेले बताउनुभयो । जमिनको भोगाधिकार नहुँदा अन्य दातासँग सहयोग लिन र नयाँ काम गर्न समस्या हुँदै आएको उनले बताए । अस्पतालको वार्षिकोत्सव कार्यक्रममा गत फागुन २८ गते गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सो अस्पताललाई १ सय श्ययाको बनाउने आश्वासन दिएको अध्यक्ष घिमिरेले बताए ।
नेवार समुदायले दसैँपछिको ठूलो पर्वका रूपमा पाहाँचह्रे पर्व मनाउँदै
काठमाडौं । काठमाडौं उपत्यकाका नेवार समुदायले दसैँपछिको ठूलो पर्वका रूपमा मनाउने पाहाँचह्रे पर्व आज देशभर छरिएर रहेका संस्थाका प्रतिनिधिले विभिन्न कार्यक्रम गरी देशभरा मनाउँदै छन् । यसलाई पासाचह्रे पनि भन्दछन् । नेवार भाषामा पाहाँको अर्थ पाहुना हो भने पासाको अर्थ साथी । चह्रे चन्द्रमासको भित्तेपात्रोअनुसार चौधौँ दिनलाई भनिन्छ । यस चाडका दिन खाइने मुख्य खाद्यवस्तु लसुन भएकाले कसैकसैले यसलाई ‘लसुने चाड’ पनि भन्ने गरेको संस्कृतिविद्को भनाइ छ । यो चाडलाई काठमाडौंमा नेवार सम्प्रदायले दसैँ र तिहारजस्तै मनाउँदै आएका छन् । यस दिन बालबालिका, युवायुवती, वृद्धवृद्धा बिहानै सूर्योदयभन्दा अघि उठी मध्याह्नसम्म हर्षोल्लासका साथ भद्रकाली, रक्तकाली, श्वेतकाली, कङ्केश्वरी आदि पीठका देवी, भैरव, गणेश आदि देवताको दर्शन तथा पूजा गर्छन् । मानिसहरूले दिउँसोदेखि बेलुकीसम्म आआफ्ना घरमा परिवारसँग बसी विविध प्रकारका खानेकुरा खान्छन् । पाँहाचह्रेका दिन मुख्यतया समयबजी खाइन्छ । यसमा चिउरा, बोडी, अन्डा, बारा, साग, अचार, आलु, माछा, भटमासलगायत परिकार खाइन्छ । विभिन्न स्थानमा अन्य देवीदेवताको खट जात्रा गरी पाँहाचह्रे पर्व मनाउने चलन छ । यस पर्वको पहिलो दिन बिहान विभिन्न शक्तिपीठमा पूजा गरी बेलुकी भष्मासुरको डरले लुकेर बसेका महादेवको पूजा गरिन्छ । लुकु महाद्यः भन्दै महादेवको एउटा आकृतिलाई जमिनमुनि लुकाएर पूजा गर्ने परम्परा छ । घरघरमा खाल्टोमा राखिएका महादेवलाई लसुन, मुलाको पहेँलो र सेतो फूल राखेर पूजा गर्ने गरिन्छ । यस अवसरमा कङ्केश्वरीदेवीलगायत विभिन्न शक्तिपीठ देवदेवीका मूर्तिको खटजात्रा गर्ने परम्परा छ । पाहाँचह्रे पर्वको दोस्रो दिन अर्थात् घोडेजात्राका दिन दुई वर्षसम्मका बालबालिकालाई मरःजा खुवाइन्छ । चौरासी व्यञ्जनसहितको उक्त परिकार खुवाउँदा बालबालिका निरोगी हुने र भूतप्रेतले नसताउने जनविश्वास छ । पाहाँचह्रेको अन्तिम दिन आइतबार दिउँसो असनमा देवीको खट जुधाउने जात्रा गरिन्छ । रातो, नीलो र पहेँलो गरी तीनवटा रङका टोपी र टिसर्ट लगाएकाहरू असनको मुख्य चोकमा भेला हुन्छन् । भद्रकाली (लुँमरी अजिमा) र कङ्केश्वरी (चामुण्डार कङ्ग अजिमा) को खट बोक्नेहरूले चिराग साट्ने गर्छन् । यसलाई स्थानीय भाषामा ‘द्य ल्वाकेगु’ भनिन्छ । पहिले असनमा सात खट जात्रा गरी ‘द्य ल्वाकेगु’ जात्रा हुने गरे पनि पछिल्लो समय दुई देवीको मात्र जात्रा हुने गरेको छ । खट तीनवटा भए पनि दुईवटा खट भद्रकाली (लुँमरी अजिमा) र एउटा खट कङ्केश्वरी (चामुण्डार कङ्ग अजिमा) को हुन्छ । “असनमा खट जुधाउने भनिए पनि खट नै जुधाइँदैन ।” रातो, नीलो र पहेँलो गरी तीनवटा रङका टोपी र टिसर्ट लगाएकाहरू असनको मुख्य चोकमा भेला हुन्छन् ।
नाडा अटो शोजस्तै पोखरामा पनि वाडा अटो शो, ३० ब्राण्डले राखे स्टल
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) ले बिहीबारबाट पोखरामा ‘वाडा अटो शो‘ को आयोजना गरेका छन् । अमरसिंह मैदानमा आयोजना गरिएको वाडा अटो शोमा ३० वटा अटो ब्राण्डहरू राखिएको वाडाका उपाध्यक्ष एवं अटो शो संयोजक निरन केसीले विकासन्युजलाई जानकारी दिए । राजधानीको भृकुटीमण्डपमा हुने अटो शोमा जस्तै गरी पोखरामा पनि विद्युतीय गाडीहरूकै बाहुल्यता रहेको उनको दावी छ । संयोजक केसीले भने, ‘पोखरामा पहिलोपटक ‘वाडा अटो शो’ को आयोजना गरेका छौं । स्टलमा नयाँ नयाँ ब्राण्डका गाडीहरू राखेका छौं । यसअघि काठमाडौंमा मात्रै नाडा अटो शो हुने गरेको थियो । अब पोखरामै आयोजना भएपछि हामी निकै खुसी छौं । दर्शकहरू उत्साहित देखिन्छन् ।’ मन्दीले डिलरहरू मर्कामा परेको भए पनि अटो शोले यसमा उत्साह थप्ने विश्वास व्यक्त गर्दै अटोमोबाइल उद्योगमा हुने नयाँ प्रविधिको बारेमा यसबाट जानकारी लिन सकिने ‘अटो शो’ उनले बताए । उनले विभिन्न गाडीमा अफरैअफर रहेको पनि जानकारी दिए । यस्तै, नाडाका अध्यक्ष करण चौधरीले नाडाको पहलमा पहिलो पटक काठमाडौं बाहिर यो स्तरको अटो शो गर्न पाउँदा आफूलाई निकै खुसी लागेको बताए । उनले अटोमोबाइल व्यवसायीका लागि अटो शो ठूलो पर्वका रूपमा विकास हुँदै गएको दाबी गरे । अध्यक्ष चौधरीले भने, ‘यो नाडा अटो शो स्तरकै शो बाहिर गर्न पाउँदा हामी खुसी छौं । यो वाडा अटो शोले अब हुने नाडा अटो शोलाई ठूलो सहयोग पुग्नेछ । यस्ता शोहरू हामी आयोजना गरिराख्नुपर्छ ।’ उनले राजस्वमा २३ प्रतिशतको योगदान पु¥याउँदै आएको यो क्षेत्र उत्पादक क्षेत्र भएकाले सशक्त बनाउँदै जानुपर्ने आवश्यकता औंल्याए । पोखरामा अटो शोका लागि नाडाले ढोका खोलेको र आगामी दिनमा समेत यसलाई निरन्तरता दिनका लागि भने वाडा जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ । यस्तै, पोखरामा पहिले पटक वाडा अटो शो हुदाँ आफूहरू निकै उत्साहित भएको बारही अस्पतालका प्रबन्ध निर्देशक भैरव पौडेल बताउँछन् । उनले भने, ‘हामी पोखरेलीहरू निकै उत्साहित छौं । चहलपल बढेको छ । नयाँ नयाँ ब्राण्डका गाडीहरू स्टलमा छन् । म पनि कुन ब्राण्ड राम्रो छ भने बुझ्दैछु जुन राम्रो लाग्यो त्यही किन्ने तयारीमा छु । ’ पोखरामा पहिलो पटक आयोजना गरिएको ‘वाडा अटो शो’ मा विद्युतीय चार पाँग्रेतर्फ बीवाईडी, एक्स्पेङ्ग, दीपल, हुन्डाई, टाटा, एमजी, स्काइवेल, रिडारा, सेरेस, ओमोडा एन्ड जेको, सिट्रोन, जीकर, किया लगायतका ब्रान्डका गाडी राखिएका छन् भने आईसतर्फ टोयोटा, सुजुकी, किया, इसुजु, निशान, महिन्द्रा, हुन्डाई, टाटा, कियाले इभीसँगै आइस गाडी पनि स्टलमा राखिएका छन् । यस्तै, दुईपाँग्रेतर्फ एथर, टीभीएस, यामाहा, बजाज, ट्राइम्प, रोयलइन्फिल्ड लगायतका ब्राण्डले दर्शकलाई आकर्षित गराएको जनाइएको छ । त्यसैगरी स्काइवर्थ, हाइगर र डङफेङ लगायतका लाइट कमर्सियल गाडीहरुको स्टल पनि अटो शोमा राखिएको वाडा अटो शो संयोजक केसीले बताए । अटो सोमा दुई पाङग्रे, चार पाङग्रेसहित लाइट कमर्शियल, वित्तीय संस्था, इन्स्योरेन्स, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरण, फुटकोट लगायत कम्पनीहरुको स्टल पनि राखिएको बताइएको छ। गाडी खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी स्पट एक्स्चेन्ज तथा फाइनान्सिङको सुविधा पनि उपलब्ध गराएको वाडाले जनाएको छ । कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज गुरुङले गरेका थिए । गाडी खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी स्पट एक्स्चेन्ज तथा फाइनान्सिङको सुविधा पनि उपलब्ध रहेको छ । गाडी बुकिङ गर्ने पहिलो ग्राहकलाई सलिको इन्स्योरेन्सले गाडीको इन्स्योरेन्स बापत १० लाख रुपैयाँ इन्स्योरेन्समा छुट दिने समेत बताएको छ । अटो शोलाई बी एण्ड बी ग्रुपले सहप्रायोजन गरेको छ भने सपोर्टिङ पार्टनर अटोमेकानिका, बैंकिङ पार्टनरमा ग्लोबल आइएमई बैंक, इन्सुरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनी लिमिटेड, टिकेटिङ पार्टनरमा खल्ती, डोर प्राइज स्पोन्सरमा बन्दीपुर केबलकार, हस्पिटालिटी पार्टनरमा होटल शारा, इन्टरनेट पार्टनरमा पोखरा इन्टरनेट, फायर सेफ्टी पार्टनरमा हिट्को प्रालि, ट्राभल पार्टनरमा स्विफ्ट होलिडेज, हस्पिटल पार्टनरमा मनिपाल हस्पिटलले सहयोग गरिरहेका छन् । यसैगरी प्रदर्शनी अवलोकन गर्न आउने ग्राहकहरुलाई टिकटमा गोला प्रथाद्वारा बन्दीपुर केबुलकारको टिकट प्राप्त गर्न सकिने जनाइएको छ । आज पहिलो दिन तीन हजारले अवलोकन गरेको वाडा अटो शो ले जनाएको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले प्रबर्द्दक रहेर साथ दिएको छ । चार दिनसम्म चल्ने ‘वाडा अटो शो’ लाई ३५ हजार आगन्तुकहरूले अवलोकन गर्ने आयोजकले विश्वास लिएको छ । पहिलो दिनमै उत्साहित रुपमा स्टल बुकिंग गरिएको आयोजकले जनाएको छ ।
हितेन्द्रको पहिलो गासमै ढुङ्गा, पदभार लगत्तै गरेको निर्णय कार्यान्वयन नगर्न कर्मचारीको चेतावनी
काठमाडौं । ठूलो रस्साकस्सीका बीच नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनेको हितेन्द्रदेव शाक्यलाई सुरुवातमै धक्का लागेको छ । उनले चैत १२ गते प्राधिकरण पुगेर पदभार ग्रहण गरे लगत्तै सञ्चालक समितिको बैठक बसेर गरेका निर्णय कार्यान्वयन नगर्न प्राधिकरणको कर्मचारी संगठनले आग्रह गरेको छ । शाक्यले पहिलो बैठकमै पीपीए खुल्ला गर्ने, डिमान्ड शुल्कमा छुट दिने निर्णय गरेका थिए । प्राधिकरणका कर्मचारी संगठनले ती निर्णयको विरोध गर्दै कार्यान्वयन नगर्न आग्रहसँगै चेतावनी पनि दिएका छन् । कर्मचारी संगठनले विज्ञप्ति जारी गर्दै ती दुई निर्णय कार्यान्वयन नगर्न आग्रह गरेका हुन् । सरकारले कोटा निर्धारण गरी लेऊ वा तिर ‘टेक अर पे’ प्रावधानमा न्यूनीकरणको नीति बनाएर जानुपर्नेमा वित्तीय जोखिमको ख्यालै नगरी पीपीए खोलेको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । प्राधिकरणले श्वेतपत्र पनि जारी गर्ने निर्णय गरेको छ ।
भारतबाट थप ६ सय मेगावाट विद्युत ल्याइँदै, ‘लोडसेडिङ हुने हल्ला मात्रै’
काठमाडौं । भारतले थप ६ सय मेगावाट विद्युत दिने भएको छ । ऊर्जा मन्त्रालयका अनुसार इण्डियन इनर्जी एक्सजेञ्जबाट थप ६०० मेगावाट विद्युत दिने स्वीकृत दिएको हो । नेपालमा ६ सय मेगावाट विद्युत ढल्केवर-मुजफ्फरपुर प्रशारण लाइनबाट नेपाल आउने भएको’ मन्त्रालयको सचिवालयले जनाएको छ । भारतसँग थप विद्युत सहयोग माग गरेअनुसार भारतले उर्जा उपलब्ध गराएको भएकाे हाे । यसअघि भारतले इण्डियन इनर्जी एक्सचेञ्जबाट एक हजार ४ मेगावाट विद्युत विद्युत उपलब्ध गराउँदै आएको थियो । ऊर्जा मन्त्रालयले देशमा लोडसेडिङ हुने हल्लामात्र भएको पनि जनाएको छ । भारतको राजधानी नयाँ दिल्लीमा आयोजित ‘नेपाल-भारत इनर्जी समिट’मा सहभागी भारतका ठूला व्यावसायीक घरानाले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्नका लागि तयार भएकाे जनाएका छन् । जसमा भारतीय ठूला कम्पनी व्यापारिक घरानाले लगानी र प्रतिफलको नीतिगत सुरक्षासहित तीनवटा ठूला समस्या समाधानमा सरकारको साथ खोजिरहेका छन् । नेपालमा नीतिगत सुरक्षामार्फत भारतीय लगानीको सुरक्षा हुनुपर्ने, प्रतिफलको ग्यारेन्टी हुनुपर्ने, सहज रूपमा लगानी फिर्ता लिनपाउनुपर्ने लगायत जलविद्युत आयोजनाले सामना गर्नुपरेका तीन-चारवटा समस्या समाधानका लागि सरकारले सहजीकरण गरिदिएमा आफूहरु नेपालमा लगानी गर्न उत्साहित रहेको बताएका हुन् । ‘प्रतिफलको ग्यारेन्टी’ भएमात्र ‘भारत’ नेपालको जलविद्युतमा ‘लगानी’ गर्न तयार
‘टीम म्यानेज’मा लागे हितेन्द्र, चन्दनकुमारलाई हटाएर शिल्पकारलाई दिए प्रवक्ताको जिम्मेवारी
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य प्राधिकरणमा टिम म्यानेजमा लागेका छन् । उनले आफू निकटलाई जिम्मेवारी दिने र हाल जिम्मेवारीमा रहेकालाई अन्तै सरुवा गरेर टिम व्यवस्थापनमा लागेका हुन् । शाक्यले विगतमा कुलमानले पत्याएका प्रवक्ता चन्दनकुमार घोषलाई प्रवक्ताको जिम्मेवारीबाट हटाएर नयाँ प्रवक्ता चयन गरेका छन् । उनले कार्यकारी निर्देशकको सचिवालय प्रमुखको रुपमा कार्यरत राजाभाइ शिल्पकारलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् । शिल्पकारलाई कार्यकारी निर्देशकको सचिवालय प्रमुखका रुपमा कार्यरत छन् । उनी सिभिल इन्जिनियर हुन् ।