विकासन्युज

नेपाल लाइफको ‘प्रोजेक्ट केयर’ अभियान : सगरमाथा सफाइका लागि राउण्ड टेबल नेपालसँग गर्‍यो सहकार्य

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सगरमाथामा थुप्रिएको फोहोर संकलन गर्ने उद्देश्यले ‘प्रोजेक्ट केयर’ अभियान अन्तर्गत राउण्ड टेबल नेपालसँग सहकार्य गरेको छ । काठमाडौंको ग्लोबल कलेजमा आयोजित समारोहमा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुली र राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालले सम्झौतापत्रमा हस्ताक्षर गरे । कार्यक्रमको उद्घाटन दीप प्रज्वलन गरी सीईओ पराजुली, नायव सीईओ अमित कुमार कयाल, राउण्ड टेबल नेपालका अध्यक्ष अग्रवाल, निवर्तमान अध्यक्ष नितेश कुमार अग्रवाल तथा सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रतिनिधि छिरिङ शेर्पाले संयुक्त रूपमा गरे । नेपाल लाइफका सीईओ पराजुलीका अनुसार सगरमाथा नेपालको मात्र नभई विश्वकै गहना भएकाले यसको संरक्षण अपरिहार्य छ। यसै सन्दर्भमा कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो अभियान अघि बढाएको हो । राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालका अनुसार, यस वर्ष ५,००० किलो फोहोर संकलन गर्ने लक्ष्य राखिएको छ भने आगामी दिनमा २५,००० किलो फोहोर व्यवस्थापन गरिने योजना छ । उनले राउन्ड टेबल नेपालले शिक्षा, स्वास्थ्य र वातावरण क्षेत्रमा निरन्तर काम गर्दै आएको उल्लेख गर्दै यो अभियानलाई दीर्घकालीन रूपमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । राउण्ड टेबल नेपालका निवर्तमान अध्यक्ष नितेश कुमार अग्रवालले सगरमाथामा आरोहीहरूको संख्यासँगै फोहोरको मात्रा तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै, नेपाल सरकारले सफाइका विभिन्न प्रयास गरे तापनि प्रभावकारी हुन नसकेको बताए । यस अभियान अन्तर्गत कुहिने फोहोरलाई आधार शिविरभन्दा तल पुर्ने र नकुहिने फोहोरलाई ३० किलोको झोला बनाई काठमाडौं ल्याइने योजना छ । सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रतिनिधि छिरिङ शेर्पाले यो अभियान ढिलो भए पनि सुरुआत हुनु सकारात्मक कदम भएको बताए। उनले अन्तर्राष्ट्रिय सञ्चार माध्यममा सगरमाथाको फोहोरबारे नकारात्मक समाचारहरू आइरहेको अवस्थामा, यो अभियानले समस्या समाधानमा महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे । नेपाल लाइफका नायव सीईओ अमित कुमार कयालका अनुसार, त्यागिएका टेन्ट, अक्सिजन सिलिन्डर, खाद्य सामग्रीको प्याकेजिङ, मानव फोहोर र पर्वतारोहण उपकरणहरूका कारण सगरमाथा ‘विश्वकै सबैभन्दा अग्लो फोहोर थलो’ बन्न नदिन यो अभियान महत्त्वपूर्ण हुनेछ । नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत देशव्यापी रूपमा विभिन्न अभियानहरू सञ्चालन गर्दै आएको छ । यसै सन्दर्भमा सगरमाथा सफाइ अभियानलाई सहयोग पुर्याउँदै नेपाललाई स्वच्छ, हरियाली र वातावरणमैत्री बनाउन योगदान दिन कम्पनी प्रतिबद्ध रहेको जनाएको छ । यस कार्यक्रममा नेपाल लाइफका कर्मचारी, राउन्ड टेबल नेपालका पदाधिकारी तथा विभिन्न सञ्चार माध्यमका पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

ग्लोबल आइएमई बैंक र आईएफसीबीच डिजिटल बैंकिङ प्रवर्द्धनका लागि सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच डिजिटल वित्तीय सेवा तथा एम्बेडेड फाइनान्स मोडललाई प्रवर्द्धन गर्न एड्भाइजरी सेवा उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भएको छ। सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी र आईएफसीका एफआईजी, एशिया तथा प्यासिफिक क्षेत्रका क्षेत्रीय निर्देशक एलेन फोर्लेमुले हस्ताक्षर गरेका छन् । यस साझेदारीअन्तर्गत, आईएफसीले बैंकको डिजिटल रूपान्तरण तथा डाटा म्याच्युरिटी मूल्यांकन गर्ने, आवश्यक सुधारका क्षेत्र पहिचान गर्ने तथा डिजिटल बैंकिङ क्षमता अभिवृद्धिका लागि रणनीतिक सुझाव दिनेछ । साथै, फिनटेक सम्भाव्यता अध्ययन गरी एम्बेडेड फाइनान्स मोडल प्रवर्द्धन गर्न सल्लाह प्रदान गर्नेछ । सम्झौतापछि बैंकले नवीन प्रविधिमैत्री सेवा विकास गर्न थप सहज हुने विश्वास लिएको छ । सीईओ रेग्मीले भने, ‘डिजिटल बैंकिङ र फिनटेक साझेदारीमा आईएफसीको अन्तर्राष्ट्रिय अनुभवले नेपालको बैंकिङ क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउनेछ ।’ ग्लोबल आइएमई बैंकले हालै ग्लोबल फाइनान्सको ‘बेस्ट बैंक अवार्ड २०२४’ तथा ‘युरोमनी अवार्ड फर एक्सिलेन्स २०२४’  प्राप्त गरिसकेको छ । नेपालभर ७७ वटै जिल्लामा बैंकको ३५५ शाखा, ३८५ एटिएम, २३७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरसहित १,१०० भन्दा बढी सेवा केन्द्र छन् ।

एचआईडीसीएलले माग्यो सीईओ, कति चाहिन्छ योग्यता ?

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मागेको छ । कम्पनीले रिक्त रहेको सीईओ पदका लागि दरखस्ता आवह्न गरेको हो । उक्त पदको लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १५ दिनभित्र आवेदन दिनुपर्नेछ । जनप्रशासन, व्यवस्थापन, व्यापार, वित्त, अर्थशास्त्र, इन्जिनियरिङ, कानूनमा वाणिज्य वा कम्पनी कानून विषय लिई प्रथम श्रेणीमा स्नातकोत्तर गरेको, बैंकिङ, वित्तीय, कोष व्यवस्थापन, इन्जिनियरिङका क्षेत्रमा कम्तीमा अधिकृत द्वितीय वा वरिष्ठ प्रबन्धक तह र नेपाल सरकारको राजपत्राङ्कित द्वितीय श्रेणी वा सो सरहको पदमा कम्तीमा ७ वर्षको अनुभव प्राप्त गरेको हुनुपर्नेछ । यस्तै, प्रथम श्रेणीमा स्नातक उपाधि हासिल गरी चार्टर्ड एकाउन्टेन्सी उत्तीर्ण गरी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको सदस्यता प्राप्त गरेको र नेपाल सरकारको वा सङ्गठित संस्थाको अधिकृत स्तरको पदमा चार्टर्ड एकाउन्टेन्सी सम्बन्धी काममा कम्तीमा १० वर्षको कार्य अनुभव हासिल गरेको व्यक्तिले आवेदन दिन सक्नेछन् । उम्मेदवारले दरखास्तसाथ दरखास्त दस्तुर बापत २ हजार ५ सय रुपैयाँको भौचर पेस गर्नुपर्नेछ ।

चमसुर किलोको ७० रुपैयाँ, यस्तो छ सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो ३०, आलु रातो प्रतिकिलो ३५, आलु रातो (भारतीय) प्रतिकिलो ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो ५५, गाजर (लोकल) प्रतिकिलो ५०, गाजर (तराई) प्रतिकिलो ४०, बन्दा (लोकल) प्रतिकिलो १५, बन्दा (तराई) प्रतिकिलो १५, बन्दा (नरिवल) प्रतिकिलो २०, काउली (स्थानीय) प्रतिकिलो ४०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो ५०, मूला रातो प्रतिकिलो ५०, मूला सेतो (लोकल) प्रतिकिलो १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २०, भन्टा लाम्चो प्रतिकिलो ३५ तथा भन्टा डल्लो प्रतिकिलो ५०, तने बोडीको मूल्य प्रतिकिलो ९० कायम गरिएको छ । यसैगरी, मटरकोसा प्रतिकिलो ८०, घिउ सिमी (लोकल) प्रतिकिलो ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ८०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, टाटे सिमी प्रतिकिलो ७०, तितो करेला प्रतिकिलो १२०, लौका प्रतिकिलो ६०, परबर (लोकल) प्रतिकिलो ९०, परबर (तराई) प्रतिकिलो ९०, चिचिण्डो प्रतिकिलो ९०, घिरौला प्रतिकिलो ८०, झिगुनी प्रतिकिलो ८०, फर्सी पाकेको प्रतिकिलो ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ३०, सलगम प्रतिकिलो ६० तथा भिण्डी प्रतिकिलो १४० कायम गरिएको छ । यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो ५०, पिँडालु प्रतिकिलो ९०, स्कूस प्रतिकिलो ४०, रायो साग प्रतिकिलो ८०, पालुङ्गो साग प्रतिकिलो ७०, चमसुरको साग ७०, तोरीको साग प्रतिकिलो ५०, मेथीको साग प्रतिकिलो ७०, प्याज हरियो प्रतिकिलो ५०, बकुला प्रतिकिलो ५०, तरुल प्रतिकिलो ९०, च्याउ (कन्य) प्रतिकिलो १३०, च्याउ (डल्ले) प्रतिकिलो २५० तथा कुरिलो प्रतिकिलो ६०० निर्धारण गरिएको छ । निगुरो प्रतिकेजी १२०, ब्रोकाउली प्रतिकिलो ५०, चुकुन्दर प्रतिकिलो ६०, सजीवन प्रतिकिलो २००, कोइरालो प्रतिकिलो १८०, रातो बन्दा प्रतिकिलो ५०, जिरीको साग प्रतिकिलो ६०, ग्याठकोभी प्रतिकिलो ६०, सेलरी प्रतिकिलो १५०, पार्सले प्रतिकिलो ३००, सौफको साग प्रतिकिलो ७०, पुदिना प्रतिकिलो ३००, गान्टे मूला प्रतिकिलो ७०, इमली प्रतिकिलो १७०, तामा प्रतिकिलो १००, तोफु प्रतिकिलो १२० र गुन्द्रुक प्रतिकिलो ३५० तोकेको छ । समितिले स्याउ (झोले) प्रतिकिलो २५०, स्याउ (फूजी) प्रतिकिलो ३५०, केरा (दर्जन) १६०, कागती प्रतिकिलो २७०, अनार प्रतिकिलो ३५०, अङ्गुर (हरियो) प्रतिकिलो २००, अङ्गुर (कालो) प्रतिकिलो २५०, भारतीय सुन्तला २५०, तरबुजा हरियो प्रतिकिलो ७०, मौसम प्रतिकिलो २००, जुनार प्रतिकिलो २००, भुइँकटहर प्रतिगोटा २००, काँक्रो (लोकल) प्रतिकिलो ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो ३३, रुख कटहर प्रतिकिलो १००, निबुवा प्रतिकिलो ५०, नासपाती (चाइनिज) प्रतिकिलो २६०, मेवा (नेपाली) प्रतिकिलो ५०, मेवा (भारतीय) प्रतिकिलो १२०, अम्बा प्रतिकिलो १२०, लप्सी प्रतिकिलो १३०, उखु प्रतिगोटा १००, स्ट्रबेरी (भुइँऐसेलु) २५०, किबी प्रतिकिलो ४५० तथा आभोकाडो प्रतिकिलो ६५०, अमलाको मूल्य प्रतिकिलो १०० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो १२०, खुर्सानी सुकेको प्रतिकिलो ४००, खुर्सानी हरियो प्रतिकिलो ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ८०, खुर्सानी हरियो (माछे) प्रतिकिलो ९०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो २५०, भेडे खुर्सानी प्रतिकिलो १००, लसुन हरियो प्रतिकिलो ६०, हरियो धनिया प्रतिकिलो १००, लसुन सुकेको चाइनिज प्रतिकिलो ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो ३००, छ्यापी सुकेको प्रतिकिलो १६०, छ्यापी हरियो प्रतिकिलो ६०, ताजा माछा (रहु) प्रतिकिलो ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो २६०, ताजा माछा (छडी) प्रतिकिलो २४०, रुख टमाटर प्रतिकिलो १८०, राजा च्याउ प्रतिकिलो ३०० र सिताके च्याउको मूल्य प्रतिकिलो ८०० तोकेको छ ।

नागरिक उड्डयन प्राधिकरणले माग्यो ११६ जना कर्मचारी

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदका लागि ११६ जना कर्मचारी मागेको छ । प्राधिकरणलले सहायकदेखि प्रबन्धकसम्मका पदका लागि कर्मचारीहरू मागेको हो । प्राधिकरणले प्रबन्धक पदमा १ जना, उपप्रबन्धक पदमा ४ जना, वरिष्ठ अधिकृत पदमा ५६ जना, अधिकृत पदमा ५ जना, वरिष्ठ सहायक पदमा १८ जना, सहायक पदमा ३२ जना कर्मचारी मागेको हो । इच्छुक तथा योग्य नेपाली नागरिकहरूले २०८२ बैशाख ४ गतेसम्म र दोब्बर दस्तुर तिरेर बैशाख ११ गतेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न सक्नेछन् । दरखास्त शुल्क विभिन्न पदअनुसार फरकफरक निर्धारण गरिएको छ ।    

गणतन्त्रवादी र राजावादीको प्रदर्शनले सुनसान बन्यो काठमाडौं (फोटोफिचर)

काठमाडौं । आज काठमाडौंमा गणतन्त्रवादी र राजावादीहरूले छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् । गणतन्त्रवादीहरुले प्रदर्शनीमार्गमा र राजावादीहरुले तिनकुनेमा प्रदर्शनका तयारी गरेका छन् । गणतन्त्रवादीको नेतृत्व समाजवादी मोर्चा (माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा)ले गरेका छन् । माओवादी केन्द्रले बबरमहल, कुपण्डोल, त्रिपुरेश्वर, सो¥हखुट्टे जुलुस प्रदर्शन गर्नेछ भने एकीकृत समाजवादीले मैतिदेवी डिल्लीबजार हुँदै आउनेछ । विप्लव नेतृत्वको नेकपाले सुन्धाराबाट प्रदर्शन गर्नेछ भने नेसपाले न्युरोड गेटबाट प्रदर्शन गर्नेछन् । अपरान्ह् १२ बजेबाट सुरू हुने जुलुस प्रदर्शनी मार्गमा पुगेर सभामा परिणत हुनेछ । काठमाडौंमा हुने दुइटै पक्षका प्रदशनले बिहानैदेखि सुनसान बनेको छ । साथै सुरक्षा व्यवस्थामा समेत सुरक्षा निकायहरू सतर्क बन्दै चुस्त बनाएका छन् ।

कोशी र गण्डकी प्रदेशमा चट्याङसहित वर्षा हुने, स्थानीय वायुको आंशिक प्रभाव

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आज बिहान कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागको मौसम मूख्यतया सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ । आज दिउँसो ती दुवै प्रदेशका हिमाली क्षेत्रमा हल्का हिमपात तथा पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा मौसम आंशिक बदली रहने महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागमा आज राति हल्का हिमपात र पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशलगायत सुदुरपश्चिमको तराईका केही भू-भागमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।

नेको इन्स्योरेन्सको साढे १५ करोड बढीको सेयर बिक्रीमा, मूल्य २६० रुपैयाँ

काठमाडौं । नेको इन्स्योरेन्सको साढे १५ करोड बढीको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीका संस्थापक सेयरधनीहरूले संस्थापक समूहको ६ लाख कित्ता सेयर बिक्रीमा राखेका हुन् । कम्पनीको उक्त सेयरको मूल्य प्रतिकित्ता २६० रुपैयाँ तोकेको छ । यस आधारमा कम्पनीको १५ करोड ६० लाख रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखिएको हो । कम्पनीको सेयरमा सर्वसधारण लगानीकर्ताहरूले समेत आवेदन दिन पाउँछन् । खरिद गर्न इच्छुक लगानीकर्ताहरूले आज चैत १५ गतेदेखि चैत २९ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल रहेको छ ।