विकासन्युज

भारत भ्रमण जाँदै गर्दा मुख्यमन्त्री साहले भने - आतंकवाद नेपाललाई स्वीकार्य छैन

काठमाडौं । भारत सरकारको निमन्त्रणामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर साह मंगलवार भारतको औपचारिक भ्रमणमा गएका छन् । भ्रमणमा निस्कनुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री साहले सुदूरपश्चिमसँग सीमा जोडिएका भारतीय क्षेत्रहरूमा संस्कृति, पर्यटन, व्यापार लगायत विषयमा छलफल हुने जानकारी गराए । उनले भने, 'प्रदेश सरकारलाई कुनै आधिकारिक सम्झौता गर्ने अधिकार छैन, तर सम्बन्ध सुदृढीकरणका लागि संवाद र सहकार्य हुनेछ ।' उनले असोजमा आयोजना हुन लागेको सुदूरपश्चिम प्रदेशको लगानी सम्मेलन सम्बन्धी विषयमा पनि भारत भ्रमणका क्रममा छलफल हुने जानकारी दिए । हालै भारतको जम्मु–कश्मीरमा भएको आतंककारी हमलाप्रति गहिरो दुःख व्यक्त गर्दै मुख्यमन्त्री साहले भने, 'कुनै किसिमको आतंककारी गतिविधि नेपाल, नेपाली सरकार वा जनताका लागि स्वीकार्य छैन । यस्तो घटनाको हामी घोर निन्दा गर्दछौं । सबैले सचेत भएर एकता कायम राख्दै अघि बढ्न जरुरी छ ।' मुख्यमन्त्री साहले नेपाल–भारत सम्बन्ध ऐतिहासिक, धार्मिक, सांस्कृतिक र भौगोलिक आधारमा अटुट रहेको उल्लेख गर्दै यस भ्रमणले प्रदेश तथा स्थानीय सरकारबीचको सम्बन्ध सुदृढ गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे । उनका अनुसार भ्रमणका क्रममा राजनीतिक भेटवार्ता भने नहुने भए पनि, सरकार–सरकारबीच पर्यटन, कृषि, व्यापारलगायत क्षेत्रमा सहकार्यबारे संवाद हुने छ । उनले उत्तराखण्ड र उत्तर प्रदेशसँगको सीमावर्ती सहकार्यलाई प्रभावकारी बनाउने अवसरको रूपमा भ्रमणलाई उपयोग गरिने बताए ।

राष्ट्रपतिबाट शुक्रबार आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत हुने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख देवराज घिमिरेले त्यससम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभासमक्ष वाचन गरेर जानकारी दिएका हुन् ।  नेपालको संविधानको धारा ९५ मा राष्ट्रपतिले सङ्घीय संसद्का दुवै सदनका संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्ने व्यवस्था छ ।  सभामुख घिमिरेले शुक्रबार अपराह्न  २ः ४५ भित्र निर्धारित पोशाकमा सदनमा उपस्थित भइसक्न सांसदहरुलाई आग्रह गरेका छन् ।   

लुम्बिनी ग्याष्ट्रो एण्ड लिभर अपडेट २०२५ सम्पन्न, १०० भन्दा बढी विशेषज्ञ चिकित्सकको सहभागिता

काठमाडौं । ग्याष्ट्रो सेन्टर बुटवल र भारतको बीएलके म्याक्स हस्पिटल दिल्लीको संयुक्त आयोजनामा लुम्बिनी ग्याष्ट्रो एण्ड लिभर अपडेट २०२५ सम्मेलन सम्पन्न भएको छ । रुपन्देहीको तिलोत्तमा–१४ स्थित टाइगर प्यालेसमा आयोजित सम्मेलनको उद्घाटन लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारुले गरे । उद्घाटन समारोहमा बोल्दै मन्त्री सारुले स्वास्थ्य क्षेत्रमा निजी क्षेत्र र राज्यबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै चिकित्सकहरूले आफ्नो पेशागत मर्यादा कायम राख्नुपर्ने धारणा व्यक्त गरे । साथै, अनुसन्धान र अन्तर्राष्ट्रिय अनुभवहरूको आदान–प्रदान स्वास्थ्य सेवामा गुणात्मक सुधार ल्याउने उनले बताए । सम्मेलनमा लुम्बिनी प्रदेशका १०० भन्दा बढी विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहेको थियो । चिकित्सकहरूले नवीनतम प्रविधि, अनुभव र अनुसन्धानमा आधारित कार्यपत्रहरू प्रस्तुत गरे । बीएलके म्याक्स हस्पिटलका डा. गौरव ब्रोडले कलेजो प्रत्यारोपणसम्बन्धी नवीनतम अनुसन्धान प्रस्तुत गरे । लुम्बिनी प्रादेशिक अस्पतालका डा. नन्दु पाठकले जनावरबाट सर्ने रोग र फोक्सोमा पर्ने असरबारे कार्यपत्र प्रस्तुत गरे । त्यस्तै, वरिष्ठ ग्याष्ट्रोलोजिस्ट डा. संदिपराज कुवँरले पेट र इन्डोस्कोपी विधिबारे, डा. शोभित सिंहले रेडियोलोजीको प्रयोग, डा. पुकार थापाले औषधि र रिब्सले कलेजोमा पार्ने असर, डा. मोहन भुसालले जण्डिस र बेहोसीसम्बन्धी समस्या, तथा डा. रविन हमालले एक्यूट प्याङ्क्रियाटाइटिस र समाधानबारे कार्यपत्र प्रस्तुत गरे । कार्यक्रममा नेपाल चिकित्सक संघ लुम्बिनी प्रदेशका अध्यक्ष डा. कृष्ण खरेल, लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटीका अध्यक्ष डा. विष्णु पौडेल, प्रादेशिक अस्पतालका मेसु डा. ईन्द्र ढकाल लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो । ग्याष्ट्रो सेन्टर बुटवलका सञ्चालक तथा कार्यक्रम संयोजक डा. मोहन भुसालका अनुसार यो सम्मेलन रुपन्देही, गुल्मी, पाल्पा, अर्घाखाँची, दाङ, प्युठान, नवलपरासी, कपिलवस्तु लगायतका जिल्लाका विशेषज्ञ चिकित्सकहरूको ज्ञान आदान–प्रदानको साझा मञ्च बनेको थियो ।

भन्सार विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं । सरकारद्वारा प्रस्तावित भन्सार विधेयक मंगलबार प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयक पारित गर्न प्रस्ताव पेश गरेका थिए, जसलाई बहुमतले स्वीकृति दिइएको हो । उक्त विधेयक अघिल्लो सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले २०८० असोज १८ गते प्रतिनिधिसभामा दर्ता गराएका थिए । त्यसपछि २०८० चैत १८ गते अर्थ समितिमा दफावार छलफलका लागि पठाइएको यो विधेयक २०८१ वैशाख १४ गते समितिबाट पारित भई पुनः सभामा पुगेको थियो । अब यो विधेयक राष्ट्रिय सभामा पठाइनेछ। राष्ट्रिय सभाले पनि पारित गरेपछि प्रतिनिधिसभामा पुनः प्रमाणीकरणका लागि पेश गरिनेछ । त्यसपछि सभामुखमार्फत राष्ट्रपतिसमक्ष पुगी राष्ट्रपतिको प्रमाणिकरणपछि कानुनको रूपमा कार्यान्वयनमा आउनेछ ।

सेयर बजार २६३१ अंकमा झर्‍यो, कारोबारमा पनि गिरावट

काठमाडौं । मंगलबारको सेयर कारोबारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । नेप्से परिसूचक १५ अंकले घटेर २६३१ बिन्दुमा झरेको हो ।  आजको कारोबारमा ५७ कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ कम्पनीको मूल्य घटेको छ । समग्रमा, ३११ कम्पनीका १ करोड ८४ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कारोबारका आधारमा सबैभन्दा अगाडि सानीमा माइ हाइड्रोपावर रह्यो, जसको सेयरमा मात्रै ८२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यसपछि न्यादी ग्रुपमा ६२ करोड, राधी विद्युत कम्पनीमा ४६ करोड, एनआरएन इन्फ्रास्ट्रक्चरमा २५ करोड, र हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीमा २३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको हो । मंगलबारको सेयर बजारमा सबै सेक्टरका सूचकहरू ओरालो लागेका छन् । तीमध्ये फाइनान्स समूहको सूचक सबैभन्दा धेरै अर्थात् १.२२ प्रतिशतले घटेको छ । त्यसपछि विकास बैंक ०.९०, लगानी ०.८३, माइक्रोफाइनान्स ०.७८, अन्य समूह ०.७५, होटल तथा पर्यटन ०.६३, बैंकिङ ०.५७, जीवन बीमा ०.५४, व्यापार ०.५१, निर्जीवन बीमा ०.३२, उत्पादन ०.३४, र हाइड्रोपावर ०.२० प्रतिशतले घटेका छन्। यस्तै, मूल्य वृद्धिको पक्षमा भने नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीका सेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किटमा पुगेका छन् ।    

डिजिटल युगमा गोपनीयता : निजी संवाद कसरी सुरक्षित राख्ने ?

काठमाडौं । डिजिटल प्रविधिमा निर्भरता बढेसँगै हाम्रो निजी जीवन झनै अनलाइन हुँदै गएको छ । इन्टरनेटमार्फत गरिने कुराकानी, खोजी वा सूचना आदानप्रदान कति सुरक्षित छ भन्ने प्रश्न उठ्न थालेको छ । आफ्ना व्यक्तिगत संवाद तथा विवरणलाई सुरक्षित राख्नका लागि सचेत रहनुपर्ने आवश्यकता झनै तीव्र बनेको छ । हालै उद्यमी एलन मस्क र उनको टोलीले विभिन्न अमेरिकी सरकारी निकायमा हस्तक्षेप गरेपछि पत्रकारहरूले संघीय कर्मचारीहरूलाई सिग्नलजस्ता एपमार्फत सम्पर्क गर्न आग्रह गरेका छन् । सिग्नल : भरपर्दो र नाफारहित सन्देश एप सिग्नल एक नाफारहित संस्थाले विकास गरेको सुरक्षित म्यासेजिङ एप हो । यसमा पठाइने सन्देशहरू ‘एन्ड-टु-एन्ड’ इन्क्रिप्ट हुन्छन्, जसले सन्देश पठाउने र पाउने बाहेक अरू कसैले पनि ती पढ्न सक्दैनन् । यो एपले प्रयोगकर्ताको डाटा वा सम्पर्क विवरणसमेत ट्र्याक गर्दैन । सामान्य संवाददेखि कानुनी वा संवेदनशील जानकारी आदानप्रदानसम्म सिग्नल सुरक्षित विकल्प बन्न सक्छ । आफ्नै उपकरण र नेटवर्क प्रयोग गर्ने कार्यालयका फोन वा कम्प्युटर प्रयोग गर्दा सबै गतिविधि निगरानीमा पर्न सक्छ । त्यसैले व्यक्तिगत कुरा वा इन्टरनेट खोजी गर्दा आफ्नै मोबाइल, ल्यापटप र डेटा प्रयोग गर्नु उचित हुन्छ । कार्यालयको वाइफाइ प्रयोग गर्दा समेत सावधानी अपनाउनु आवश्यक छ । गायब हुने सन्देश : छोटो अवधिका संवादहरूका लागि उपयुक्त सिग्नल वा ह्वाट्सएपमा रहेको ‘गायब हुने सन्देश’ सुविधा प्रयोग गर्दा सन्देशहरू निर्धारित समयपछि आफै मेटिन्छन् । यसले फोन हराएमा वा अरूको पहुँचमा परे पनि निजी कुराकानी लुकाउन सहयोग गर्छ । टोर ब्राउजर : गहिरो गोपनीयताको विकल्प भीपीएनले केही गोपनीयता प्रदान गरे पनि सेवा प्रदायकले तपाईंको इन्टरनेट गतिविधि ट्र्याक गर्न सक्छ । त्यसको सट्टा टोर ब्राउजर प्रयोग गर्दा तपाईंको ट्राफिक विश्वभरका नोडमार्फत घुम्ने भएकाले तपाईंको वास्तविक स्थान र परिचय लुकाउन सहज हुन्छ । टोर ब्राउजरले वेबसाइटहरूलाई तपाईंको आईपी ठेगाना देख्न दिँदैन । थप सावधानी कतिपय कम्पनीले सन्देशमा पानीको छाप (वाटरमार्क) वा भिन्न संस्करण पठाउने प्रविधि प्रयोग गर्छन्, जसबाट स्रोत पहिचान गर्न सकिन्छ । प्रिन्टर डट्समार्फत कागजात कहिले र कहाँ छापिएको हो भनेर पनि थाहा पाउन सकिन्छ । गोपनीयता सम्झौताको उल्लंघनले कानुनी झमेलामा पार्न सक्छ, त्यसैले सूचना बाँड्नुअघि सोचविचार गर्न जरुरी हुन्छ । नागरिक अधिकारकर्मी ड्यानियल कान गिलमर भन्छन्, 'हाम्रो गोपनीयताको रक्षा सामूहिक प्रयास हो । चाहे तत्काल उपयोग नहोस्, तर यी सावधानीहरू अभ्यासमा ल्याउनु भविष्यका लागि सजगता हो ।' – एजेन्सी

सुप्रिम हेल्थ केयरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई

काठमाडौं । सुप्रिम हेल्थ केयर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासनको तयारी थालेको छ । कम्पनीले प्रति सेयर अंकित मूल्य १०० रुपैयाँका दरले १२ लाख ५० हजार कित्ता साधारण सेयर सार्वजनिक निष्कासन गर्न लागेको हो । यस प्रयोजनका लागि सुप्रिम हेल्थ केयर लिमिटेडले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । यस सम्बन्धमा सोमबार ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालय, नक्सालमा आयोजित एक विशेष कार्यक्रममा दुवै पक्षबीच सम्झौता सम्पन्न भएको हो । कार्यक्रममा सुप्रिम हेल्थ केयरका कार्यकारी सञ्चालक मुकेश शर्मा र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । विसं २०६६ सालमा स्थापना भएको सुप्रिम हेल्थ केयर लिमिटेड विगत ६ वर्षदेखि निरन्तर नाफा कमाउँदै आएको कम्पनी हो । बारा जिल्लाको परवानीपुरमा रजिष्टर्ड कार्यालय रहेको यस कम्पनीको सम्पर्क कार्यालय काठमाडौंको गहनापोखरीमा रहेको छ ।

हनुमानढोका दरबार क्षेत्रमा पर्यटकको चाप बढ्दा आम्दानी १५ करोड नाघ्यो

काठमाडौं । अघिल्लो आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षमा हनुमान ढोका दरबार संरक्षण कार्यक्रमको आम्दानीमा वृद्धि भएको छ ।  गत आवको वैशाख पहिलो हप्तासम्ममा १४ करोड छ लाख ६३ हजार रुपैयाँ पर्यटनबाट शुल्क सङ्कलन गरेको उक्त कार्यक्रमले चालु आवको सोही अवधिमा १५ करोड २६ लाख ३५ हजार रुपैयाँ सङ्कलन गरिसकेको कार्यक्रमका प्रमुख चन्द्रगोपाल प्रधानले जानकारी दिए ।   प्रमुख प्रधानका अनुसार पर्यटन सेवा शुल्कसँगै अन्य सेवा शुल्क र अन्य प्रशासनिक सेवा शुल्क गरी आयमा वृद्धि भएको हो । कार्यालयले चालु आवका लागि १७ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको र सहज रुपमा लक्ष्यमा पुग्न सकिने उनको भनाइ छ । गत आवमा भने उक्त कार्यालयले १५ करोड रुपैयाँको मात्र लक्ष्य लिएको थियो ।    सो कार्यालयको विशेषगरी हनुमानढोका घुम्न आउने पर्यटकबाट प्रवेश शुल्कबाट लिइने रकम नै आम्दानी हो । हाल यहाँ उक्त ऐतिहासिक स्थान घुम्न आउने पर्यटक सार्क राष्ट्रका लागि ५०० रुपैयाँ निर्धारण गरिएको छभने अन्य मुलुकबाट आउने पर्यटकका लागि एक हजार रुपैयाँ निर्धारण गरिएको प्रधानले जानकारी दिए । नेपालीलाई प्रवेशका लागि शुल्क नलागे पनि सङ्ग्रहालय अवलोकनमा भने शुल्क लाग्ने गरेको छ । हनुमानढोका घुम्नका लागि पर्यटकीय मौसममा दैनिक ७००  सम्म पर्यटक आउने गरेका छन् । विशेषगरी भदौ, असोज र कात्तिकमा पर्यटक बढी आउने गरेको प्रधानले जानकारी दिए । उनका अनुसार गत आवमा सार्क राष्ट्रबाट ४७ हजार ३९९ पर्यटक अवलोकनका लागि आएका थिए भने अन्य देशबाट एक लाख ५३ हजार २६२ पर्यटक अवलोकनका लागि आएका बताइएको छ ।  त्यस्तै  चालु आवको हालसम्मको अवधिमा सार्क राष्ट्रबाट ३५ हजार ७८५ र अन्य देशबाट भने एक लाख ४५ हजार ६२५ ले हनुमान ढोकाको अवलोकन गरिसकेका छन् । विगतको वर्षमा जस्तो नभई यस वर्ष वैशाखमा पनि पर्यटकको सङ्ख्यामा कुनै कमी नभएको बताइएको छ । इन्द्रजात्राको समयमा अन्य समयभन्दा अत्यन्तै धेरै पर्यटक आउने गरेका छन् । रासस