‘सी स्ट्राइक्स’ महिला क्रिकेटमा सानिमा रिलायन्स विजयी, सूर्य नेपाल पराजित
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले तेस्रो संस्करणको ‘सी स्ट्राइक्स’ कर्पोरेट महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो पटक उपाधि जित्न सफल भएको छ । शनिबार सम्पन्न फाइनल खेलमा सानिमाले सूर्य नेपाललाई २८ रनले पराजित गर्दै उपाधि रक्षा गरेको हो । मुलकोटस्थित एक रिसोर्टमा सम्पन्न फाइनल खेलमा, सानिमा रिलायन्सले पहिले ब्याटिङ गर्दै ५ ओभरमा ४ विकेट गुमाएर ६० रनको योगफल बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको सूर्य नेपालले पूरै ५ ओभरमा १ विकेट गुमाउँदै ३२ रन मात्र बनाउन सक्यो । सानिमा रिलायन्सको जितमा कप्तान स्वस्तिका कार्कीको विशेष भूमिका रह्यो । उनले फाइनल खेलमा प्लेयर अफ दि म्याच तथा सम्पूर्ण प्रतियोगिताको प्लेयर अफ दि टुर्नामेन्ट बन्ने गौरव हासिल गरिन् । कार्कीले प्रतियोगिताभर तीन खेलमा प्लेयर अफ दि म्याच उपाधि जितेकी हुन् । रक्षा रानाले पनि एक खेलमा प्लेयर अफ दि म्याच पुरस्कार हात पारिन् भने सबैभन्दा बढी छक्का प्रहार गर्ने खेलाडीको रुपमा पनि स्वस्तिका कार्की नै घोषित भइन् । एन इभेन्ट्सको आयोजनामा सम्पन्न प्रतियोगिता वैशाख १२ र १३ गते सञ्चालन भएको थियो । प्रतियोगितामा कुल ९ टिम सहभागी थिए र प्रत्येक पारी ५ ओभरको खेलाइएको थियो ।
फिल्डस्तरको सेवा सुधारका लागि नेतृत्व तालिम, २०८ कर्मचारी सहभागी
काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले फिल्डमा कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धि र नेतृत्व विकासका लागि चितवनमा दुई दिने प्रशिक्षण तालिम सम्पन्न गरेको छ । तालिममा प्रदेश १ र २ मा कार्यरत २०८ जना कर्मचारीको सहभागिता रहेको थियो। संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले प्रशिक्षण समापन समारोहमा बोल्दै कर्मचारीको सुझाब र गुनासो सुन्ने र व्यवस्थापन गर्न यस्तो तालिम सहयोगी हुने विश्वास व्यक्त गरे। साथै, गुणस्तरीय सेवा प्रवाहमा सुधार ल्याउन र संस्थालाई अझ सक्षम बनाउने दिशामा प्रशिक्षण प्रभावकारी हुने धारणा व्यक्त गरे । तालिममा अन्तर्राष्ट्रिय मोटिभेशनल स्पीकर सौनक भट्ट, लघुवित्त विज्ञ शिवहरि देवकोटा, श्रवणकुमार सपोर्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रकाश पोखरेल, तथा संस्थाका तालिम विभाग प्रमुख उमेशमान डंगोलले सहजीकरण गरेका थिए । संस्थाका अनुसार वैशाख महिनाभर विभिन्न स्थानहरूमा कर्मचारीहरूलाई तालिम दिइँदै आएको छ, जसबाट संस्थागत दक्षता र फिल्डस्तरको सेवा प्रवाहमा गुणस्तरीय सुधार आउने अपेक्षा गरिएको छ ।
आईपीओ निष्काशनका लागि विकास हाइड्रोले पायो धितोपत्र बोर्डबाट अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले विकास हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्काशनका लागि अनुमति दिएको छ । धितोपत्र बोर्डले मंगलबार कम्पनीलाई सर्वसाधारण लगानीकर्ताहरूलाई सेयर बिक्री गर्न अनुमति दिएको हो । यससँगै कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर बिक्री गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर निष्काशन गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आवेदन खुला गर्नेछ । गोरखाको दार्चे गाउँपालिकामा निर्माणाधिन अपर माछा खोला स्मल हाइड्रोपावर आयोजना मार्फत विकास हाइड्रोपावरले ४.५५ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ ।
गार्डियन माइक्रो लाइफको नाफा ३ हजार ८१२.८४ प्रतिशत बढ्यो, अन्य सूचकमा पनि उछाल
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१÷८२ को तेस्रो त्रैमासमा खुद नाफा ३ हजार ८१२.८४ प्रतिशत बढेर २ करोड ७४ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको चैतमा ७ लाख १ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । चैत मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क ९९०.४४ प्रतिशत बढेर १९ करोड ४८ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ करोड ७८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । तेस्रो त्रैमाससम्म कम्पनीको कुल बीमाशुल्क ९०९ प्रतिशत बढेर २० करोड ६७ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतमा २ करोड ४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १ हजार २११ प्रतिशत बढेर १३ करोड ५३ लाख रुपैयाँ गरेको छ । गत वर्षको चैतमा कम्पनीले १ करोड ३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । ७५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको महाविपत्ति कोषमा २९ लाख ३५ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा १ करोड ९० लाख रुपैयाँ र अन्य इक्विटीमा ३२ लाख ५६ हजार रुपैयाँ रहेको छ । कम्पनीको जीवन बीमा कोष १ हजार १ प्रतिशत बढेर १२ करोड ५९ लाख रुपैयाँ रहेको छ । गत वर्षको चैतमा जीवन बीमा कोषमा १ करोड १४ लाख रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ४.८८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०२.९३ रुपैयाँ र पीई रेसियो ५०७.९१ गुणा रहेको छ । यस अवधिमा कम्पनीले ४५ करोड ५० लाख रुपैयाँ दीर्घकालीन र ३० करोड रुपैयाँ अल्पकालीन लगानी गरेको छ ।
डोटीमा सवारी दुर्घटना एकको मृत्यु, ६ जना घाइते
काठमाडौं । धनगढीबाट बैतडीको पुर्चौडी गइरहेको सूपप्र ०२००१ ज ०५६७ नम्बरको जिप डोटीको जोरायल गाउँपालिका-२ मेलखोला स्थित भीमदत्त राजमार्गमा गए राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माका अनुसार दुर्घटनामा ४५ वर्षीय हर्कबहादुर नेगीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका नेगीलाई धनगढीस्थित माया मेटो अस्पतालका डाक्टरले उपचार गर्नुपूर्व नै मृत घोषणा गरेका थिए । बैतडी डिलासैनी गाउँपालिका-४ का २७ वर्षीय धीरेन्द्र नेगी, ४४ वर्षीय जगदीश जोशी, ५३ वर्षीय रामबहादुर नेगी, ६५ वर्षीया धना नेगी, २८ वर्षीय वीरबहादुर नेगी र चालक २४ वर्षीय अशोक बम घाइते भएका छन् । घाइतेमध्ये ६५ वर्षीया धना र चालक बमको अवस्था गम्भीर छ । घाइतेहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
लगानी सम्मेलपछि कोशीले आर्थिक छलाङ मार्नेछ, लगानीको गन्तव्य बन्छ : मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले कोशी प्रदेशलाई लगानी मैत्री गन्तव्य बनाउने सपना अब यथार्थमा परिणत हुने विश्वास व्यक्त गरेका छन् । लगानी सम्मेलनको तयारीबारे राससलाई जानकारी दिँदै उनले आर्थिक समृद्धिको मूल आधार बनाउने दृढ विश्वासका साथ कोशी प्रदेश सरकार अघि बढेको र अथाह सम्भावनासहित तयारी अवस्थामा रहेको बताए । कोशी प्रदेश सरकारले यही १८ गतेदेखि विराटनगरमा आयोजना गर्न लागिएको ऐतिहासिक लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै मुख्यमन्त्री कार्कीले अबका दिनमा कोशी प्रदेशले आर्थिक छलाङ मार्ने विश्वास बढेको बताए । मुख्यमन्त्री कार्कीका अनुसार कोशी प्रदेश सरकारले ऊर्जा, पूर्वाधार, कृषि, पर्यटन, उद्योग तथा सूचना प्रविधिलाई प्राथमिक लगानी क्षेत्रका रूपमा पहिचान गर्दै सम्मेलनमा प्रस्तुत गर्ने तयारी गरेको छ । ‘हामीले लगानीकर्ताका लागि सहुलियत, सुरक्षा र सहजीकरण सुनिश्चित गरेका छौँ । सम्मेलनपछि कोशी प्रदेशमा प्रत्यक्ष वैदेशिक र आन्तरिक लगानी प्रवाह तीव्र हुनेछ,’ उनले भने । मुख्यमन्त्री कार्कीले सम्मेलनलाई प्रदेश विकासको ‘टर्निङ प्वाइन्ट’ का रूपमा चित्रण गर्दै भने, ‘यो केवल सम्मेलन मात्र होइन, दीर्घकालीन आर्थिक नीतिको यात्राको थालनी हो । हामीले नीति, संरचना र मनोवृत्तिमा आमूल परिवर्तन ल्याउने अठोट गरेका छौँ ।’ कोशी प्रदेशले सम्मेलनमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू, निजी क्षेत्रका अग्रणी व्यवसायी, बैंक तथा वित्तीय संस्था, विदेशी नियोग, विकास साझेदार र विभिन्न मुलुकका सम्भावित लगानीकर्ताको सहभागिता रहने जनाएको छ । प्रदेश सरकारले सम्मेलन सफल पार्न व्यापक प्रचारप्रसार, नीति सुधार र समन्वयात्मक पहलहरू अघि सारेको बताइएको छ ।
नियमित रोजगारीमा श्रमिक सङ्ख्या घट्दो, आउटसोर्सिङ बढ्दै
काठमाडौं । नियमित रोजगारीमा रहेका श्रमिकको सङ्ख्या घटेको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले श्रम अडिट प्रतिवेदन २०८१ सार्वजनिक गर्दै नियमित रोजगारीमा रहेका श्रमिकको सङ्ख्या अघिल्लो वर्षको तुलनामा १०.८४ प्रतिशतले घटेको विश्लेषण छ । विसं २०८० मा गरिएको श्रम अडिट प्रतिवेदनमा प्रतिष्ठानको प्रत्यक्ष रोजगारीमा रहेका श्रमिकमध्ये नियमित रोजगारीमा रहेका श्रमिक सङ्ख्या ५९.७२ प्रतिशत रहेको थियो । तर २०८१ सालमा श्रम अडिट गरिएका प्रतिष्ठानमा ५३.३५ प्रतिशत श्रमिक नियमित रोजगारीमा कार्यरत रहेका छन् । जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले श्रम आपूर्तिकर्तामार्फत कार्यरत श्रमिक सङ्ख्या बढेको बताए । नियमित रोजगारीमा श्रमिकको सङ्ख्या घट्नुको मुख्य कारण श्रमिक आपूर्ति (आउटसोर्स) भएको जिफन्टको दाबी छ । यस्तै वैदेशिक रोजगारको आकर्षणका कारण पनि नियमित रोजगारी घटेको हुनसक्ने बताइएको छ । विसं २०८० मा श्रमिक आपूर्तिकर्ता (आउटसोर्स) कम्पनीमार्फत काम गर्ने श्रमिक ९.९३ प्रतिशत थियो । तर यो वर्ष अर्थात २०८१ सालमा सार्वजनिक प्रतिवेदनले श्रम अडिट गरिएका उद्योग/प्रतिष्ठानमा आउटसोर्स कम्पनीबाट काम गर्ने श्रमिक १४.९१ प्रतिशत रहेको देखाएको छ । ‘श्रम ऐन नियम कार्यान्वयनमा हरेक वर्ष चुनौती थपिँदै गएको छ,’ उनले भने । अध्यक्ष श्रेष्ठले आउटसोर्स कम्पनी श्रम शोषण गर्ने मुख्य केन्द्रको रूपमा देखिएको बताए । प्रतिवेदनअनुसार श्रमिक आपूर्तिकर्ता (आउटसोर्स) कम्पनीमार्फत काम गर्ने श्रमिकलाई न्यूनतम पारिश्रमिक र ओभरटाइम आदि आधारभूत सुविधा नदिने कम्पनी ७२.६ प्रतिशत रहेको थियो भने यो वर्ष ७७.२ रहेको छ । उत्पादनमूलक उद्योग/प्रतिष्ठान, गार्मेन्ट, जुट, टेक्सटायल, होटल, ट्रेकिङ, ट्राभल्स, प्रिन्टिड्ग प्रेस, सहकारी, स्वास्थ्य क्षेत्रका निजी अस्पताल, निजी विद्यालय, निर्माण तथा श्रमिक आपूर्तिकर्ता कम्पनी गरी जम्मा ३२७ वटा प्रतिष्ठानको श्रम अडिट प्रतिवेदनबाट श्रम कानुन कार्यान्वयनको अवस्था अध्ययन विश्लेषण गरी जिफन्टले यस प्रतिवेदन तयार गरेको बताएको छ । श्रम तथा रोजगार कार्यालयले श्रम निरीक्षण गर्दै आएको छ । जिफन्टले पनि श्रमिकसँग छलफल गरी अध्ययन विश्लेषण गरी श्रम अडिट प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । श्रम कानुन कार्यान्वयनको अवस्था विश्लेषण गरिएको यस प्रतिवेदनका अनुसार कार्यगत रोजगारीमा गत वर्ष ६.१९ प्रतिशत श्रमिक कार्यरत रहेको देखिएको थियो । यस वर्षको प्रतिवेदनले श्रम अडिट गरिएका उद्योग/प्रतिष्ठानमा कार्यगत रोजगारीमा ५.५१ प्रतिशत रहेका छन् । त्यस्तै समयगत रोजगारीमा कार्यरत श्रमिक सङ्ख्या गत वर्ष ५.५२ प्रतिशत रहेको थियो । यो वर्ष समयगत रोजगारीमा कार्यरत श्रमिक सङ्ख्या ८.५८ प्रतिशत रहेको छ । आंशिक समय रोजगारीमा गत वर्ष १.७३ प्रतिशत श्रमिक कार्यरत रहेका थिए । यो वर्ष आंशिक समय रोजगारीमा कार्यरत श्रमिक सङ्ख्या १.४८ प्रतिशत रहेको छ । यसैगरी आकस्मिक तथा अन्य रोजगारीमा कार्यरत श्रमिक गत वर्ष ३.९७ प्रतिशत थियो । यो वर्ष ४.६६ प्रतिशत रहेको छ । रोजगार सम्झौता गरेर वा नियुक्तिपत्र दिएर श्रमिकलाई काममा लगाउने उद्योग/प्रतिष्ठान सङ्ख्या गत वर्ष ६५ प्रतिशत रहेको थियो भने यसवर्ष ६०.१ प्रतिशत रहेको छ । यो वर्ष रोजगार सम्झौता गरेर श्रमिकलाई काममा लगाउने उद्योग÷प्रतिष्ठान करिब ५ प्रतिशतले घटेको छ । ‘यस विश्लेषणले श्रम निरीक्षण अनुगमन गर्ने निकाय श्रम प्रशासन फितलो बन्दै गएको पुष्टि हुन्छ,’ अध्यक्ष श्रेष्ठले भने ।
कोशी, बागमती, गण्डकी र कर्णालीमा वर्षा र हिमपात, लुम्बिनीको तराईमा हुरी चल्ने
काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि प्रभाव रहेको छ । महाशाखाले आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली हुने जनाएको छ । देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हुरी चल्न सक्ने छ । त्यसैगरी, आज राति देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।