२१ दिनका लागि बजारबाट ५० अर्ब खिच्न शुरु
काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्ब खिच्न शुरु गरेको छ । २१ दिनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको माध्यमबाट तरलता व्यवस्थापनका लागि बजारबाट निक्षेप उठाउन शुरु गरेको हो । निक्षेप संकलन खरिदका लागि बुधबार बिहानदेखि दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न सिस्टम शुरु भइसकेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई बोलकबोलमा सहभागि हुन आह्वान गरिसकेको छ । घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । यसरी खरिद गरेको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले जनाएको छ ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेमश चौधरी पक्राउ, यस्तो छ कारण
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । उनी काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलबाट पक्राउ भएका हुन् । बुधबार जनमत पार्टी र नाउपाको पार्टी एकता घोषणा कार्यक्रम थियो । सोही कार्यक्रममा चौधरी पक्राउ परेका हुन् । नाउपाका सांसद अरुण चौधरीले रेशम चौधरी पक्राउ परेको जानकारी विकासन्युजलाई दिए । उनले रेशम पक्राउ पर्नुको कारणबारे पार्टीका नेताहरूलाई जानकारी नभएको बताए । रेशमलाई पक्राउ गरी डिल्लीबजार कारागार लगिएको छ । टीकापुर घटनाका मुख्य अभियुक्तका रूपमा कैद सजाय पाएका उनी राष्ट्रपतिको आममाफी पाएर कैदमुक्त भएका थिए । तर चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध टीकापुरमा भएको हिंसात्मक घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा कडायतले सर्वोच्चमा रिट दर्ता गराएकी थिइन् । सो रिटमा सर्वोच्चले आममाफीको फैसला उल्टाइदिएपछि रेशम पक्राउ परेको बुझिएको छ । एकता कार्यक्रम कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा कार्यक्रम आयोजना गरिएको छ ।
हल बुक नभएपछि नेताहरू प्राङ्गणमै, एकीकरण कार्यक्रम अनिश्चित (तस्बिरहरू)
काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीचको एकीकरण घोषणा कार्यक्रम तोकिएको समयमै सुरु हुन सकेन । आज बिहान ११ बजे कमलादीस्थित प्रज्ञा भवनमा कार्यक्रम हुने भनिए पनि हल बुकिङ नभएकाले ढिलो भएको हो । प्रतिष्ठान प्रशासनले हल प्रवेशको मूल गेट बन्द राखेपछि दुबै पार्टीका कार्यकर्ता भवन परिसरमै रोकिएका छन् ।
अब सवारी चालक अनुमतिपत्र १० वर्षसम्म मान्य, संसदबाट विधेयक पारित
काठमाडौं । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) १० वर्षसम्म मान्य हुने भएको छ । यसका लागि प्रतिनिधि सभाले ‘केही नेपाल ऐन संशोधन विधेयक’ पारित गरेको छ । अहिलेसम्म सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार लाइसेन्सको अवधि ५ वर्ष थियो । तर, दफा ५४ को उपदफा ३ संशोधन गर्दै अब ‘पाँच वर्षसम्म’ भन्ने शब्दको सट्टा ‘दश वर्षसम्म’ भन्ने व्यवस्था गरिएको हो । नयाँ व्यवस्था अनुसार लाइसेन्स नविकरण गर्दा पनि सीधा १० वर्षका लागि मान्य हुनेछ । यो विधेयक अघिल्लो सरकारले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको कार्यकालमा ल्याएको थियो । प्रतिनिधि सभामा २०८० वैशाख २६ मा दर्ता गरिएको यो विधेयक विषयगत समितिमा छलफलपछि २०८१ वैशाख १४ मा पुनः सभामा आएको थियो र अन्ततः मंगलबार प्रतिनिधि सभाबाट पारित भएको हो । अब विधेयक राष्ट्रिय सभामा जानुपर्ने, त्यहाँबाट पारित भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण गरी कार्यान्वयनमा ल्याइनेछ ।
परिवारसहित क्लब आउने वातावरण एलओडीले बनायो : भूपेन कुँवर
काठमाडौं । ‘यो क्लबको मेरुदण्ड भनेको यहाँका कर्मचारीहरू हुनुहुन्छ । उहाँहरू नभए आज हामी यसरी तपाइहरूको अगाडि उभिन सक्दैन थियौं । उहाँहरूको मेहनत र जाँगरले हामीलाई तपाईंहरूको अगाडि उभिन सफल बनाएको छ,’ एलओडी क्लबका निर्देशक भूपेन कुँवर दार्शनिक सुनिए । दैनिकजसो क्लबमा आउने पाहुना सौभाग्यको एक अंश लाग्थ्यो । हामीले यहाँ आएका पाहुनालाई निराश होइन, कसरी खुसी बनाएर पठाउन सकिन्छ त्यसैमा घोत्लिन्थे उनी । ठमेल धेरै नेपालीका लागि सपनाको गल्ली हो । जहाँ जोसुकै सहजै पुग्दैनन् । साप्ताहिक विदा विशेष कार्यक्रममा मात्र पुग्छन्। ठमेल किन कोही किन आउँछन होला ? यो प्रश्नले कुँवरलाई धेरै समयसम्म घोँचिरह्यो । ठमेल, रात्रीकालीन जीवन वा जीवनका बारेमा सबैका आ–आफ्ना अनुभव छन् । अझ भनौं तीता–मिठा अनुभव सबैसँग हुन्छन् । मानिससँग कति अनुभव र तनाव छ । तीनै तनावका कथाले भूपेनलाई पनि छोपेको थियो । सोमबार साँझ ठमेलस्थित एलओडी क्लबले विश्वकै ४४ औं उत्कृष्ट बनेको अवसरमा उत्सव मनायो । जहाँ उनले कोही किन ठमेल आउने र एलओडीमै किन जाने बताइरहेका थिए । एलओडीले यो ठाउँमा जग गाडेर ६ वटा वसन्त पार गरिसकेको उनले बताए । ‘हाम्रा पाहुनाहरूलाई संगीतको आनन्द र विभिन्न खालका मनोरञ्जन प्रदान गरेर सुमधुर वातावरण बनाउने प्रयास गरिरहेका छौं,’ कुँवरले भने, 'हामीबाट टाढा गएका पाहुना तथा कहिले नआएका पाहुनाहरूलाई यहाँसम्म ल्याउनु नै हाम्रो कर्म रहेको छ ।’ क्लबको पहिलो प्राथमकिता एकपटक आइसकेका पाहुनालाई पुनः फर्काउने हो । क्लबको अनुशासित वातावरण र कर्मचारीको आतिथ्यता तथा सत्कार पहिलो गहना बनेको छ । मृदुभाषी कर्मचारी र पाहुनाहरूलाई सुरक्षित राख्‍न सक्नु क्लबको दायित्त्व हो । डिजे म्युजिकले संगीतका पारखीलाई मजाले आकर्षण गरेको छ । भूपेनका अनुसार क्लबमा १५० जना भन्दा बढी कर्मचारीहरू छन् । यो क्लबको मेरुदण्ड कर्मचारीहरू हुन् । कर्मचारीको निरन्तरको मेहनतले क्लबलाई यहाँसम्म ल्याइ पुर्याएको कुँवर बताउँछन् । रात्रीकालीन व्यवसायका धेरै चुनौती रहेको कुँवरले सुनाए । 'व्यवसायमा उतारचढाव आइरहँदो रहेछ, यसलाई व्यवसायीले सिकाइको रूपमा र थप मजुबत हुने अवसरको रुपमा लिनुपर्ने रहेछ,’ उनले भने । क्लबप्रति हाम्रो मुलुकमा वा नेपाली समाजमा सकारात्मक धारणा बन्न नसकेको उनले गुनासो गरे । क्लब जाने मानिस बिग्रने विकृति ल्यायो जस्ता धारणा बन्ने गरेको उनले दुःखेसो पोखे । निर्देशक कुँवरले एलओडी क्लबले क्लबप्रतिको धारणालाई कता–कता चिर्न सकेको दाबी गरे । जहाँ क्लब जानु भनेको नराम्रो मानिने समाजमा हाम्रो जीवन रहेको उनको बुझाइ छ । उनले विचार र नियत राम्रो भए जहाँसुकै पनि राम्रो भइने धारणा व्यक्त गरे । ‘नियत खराब भए त कसको के लाग्छ र ? आज म दाबीको साथ भन्छु परिवारसहित क्लब आउने वातावरणको सुरुवात एलओडीले बनाएको भन्दा फरक नपर्ला,’ उनले अगाडि थपे, 'यहाँ परिवारसहित आएर आनन्दले नाँचेर मनोरन्जन गर्न सक्नुहुन्छ । अहिले काठमाण्डौँ आउने देशी तथा विदेशी पाहुनाहरूको पहिलो लिस्टमा एलओडी प्राथमिकतामा पर्न थालेको छ । यो मुलुकका लगि गौरवको विषय बनेको छ ।’ कुँवर ठमेल पर्यटकीय क्षेत्र रहेकाले यहाँ आन्तरिक पर्यटक आउन हिच्किचाउने गरेको विगत सुनाउँछन् । उनका अनुसार क्लब सामाजिक न्यायमा सदा अडिग छ । लैंगिक समानतालाई पनि उत्तिकै महत्त्व दिएर महिला र पुरुष कर्मचारी बराबर संख्यामा छन् ।
आईएमई लाइफका बीमित, अभिकर्ता र कर्मचारीलाई लुम्बिनी केवलकारमा छुट
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी र लुम्बिनी केवलकार प्रालिबीच सहकार्य भएको छ । सहकार्यपछि अब बीमित, अभिकर्ता तथा कर्मचारीहरूलाई लुम्बिनी केवलकारको टिकट खरिदमा २० प्रतिशत छुट प्रदान गरिने भएको छ । सम्झौताअनुसार बीमितहरूले कम्पनीको मोबाइल एपमा रहेको बीमालेख देखाएर, तथा अभिकर्ता र कर्मचारीहरूले आधिकारिक परिचयपत्र प्रस्तुत गरेर छुट सुविधा प्राप्त गर्न सक्नेछन् । टिकट भने लुम्बिनी केवलकारको काउन्टरमा नै खरिद गर्नु पर्नेछ । कम्पनीका अनुसार यस प्रकारको सहकार्यले ग्राहक, अभिकर्ता र कर्मचारीहरूलाई थप सकारात्मक अनुभव र ऊर्जा दिने अपेक्षा गरिएको छ । भविष्यमा छुट सुविधालाई अझ प्रभावकारी र प्रविधिमैत्री बनाउन प्रिभिलेज कार्ड प्रणाली सुरु गर्ने लक्ष्य लिइएको छ ।
केई अटो सम्मेलनमा लक्ष्मी ई-मोबिलिटी र जिओ अटोमोबाइल्स सम्मानित
काठमाडौं । लक्ष्मी ई-मोबिलिटी प्रालि र जिओ अटोमोबाइल्स प्रालिले चीनको यिबिनमा सम्पन्न 'केई अटो ग्लोबल कन्फरेन्स २०२५' मा ‘मोस्ट प्रमिसिङ पार्टनर अवार्ड’ प्राप्त गरेका छन् । नेपालमा केई मोटर्सका आधिकारिक वितरकद्वयले पाएको यो अवार्डले ५० भन्दा बढी अन्तर्राष्ट्रिय वितरकहरूमध्ये उत्कृष्ट साझेदारका रूपमा उनीहरूको पहिचान बलियो बनाएको छ । कार्यक्रममा अन्तर्राष्ट्रिय सहकार्य, रणनीतिक छलफल र व्यवसायिक सञ्जाल विस्तारका अवसरहरू प्रस्तुत गरिएका थिए । केई ब्रान्डलाई नेपाली बजारमा सफल रूपमा प्रवर्द्धन गर्ने, ग्राहक सन्तुष्टि हासिल गर्ने र नविनतम मोडेलहरूको तयारीमा अग्रसर रहने प्रतिबद्धताका लागि यो अवार्ड दिइएको हो । केई नेपाल अब नेपाली उपभोक्ताको आवश्यकता र रुचिअनुसार डिजाईन गरिएका नयाँ मोडेलहरू सार्वजनिक गर्ने तयारीमा रहेको छ । ती सवारी साधनहरू आधुनिक प्रविधि, मजबुत प्रदर्शन र उचित मूल्यमा उपलब्ध गराइने लक्ष्य छ । अवार्डले नेपालभर नवप्रवर्तनशील र भरपर्दो मोबिलिटी समाधान उपलब्ध गराउने प्रतिबद्धतालाई अझ बलियो बनाएको कम्पनीले जनाएको छ ।
उच्च शिक्षा सुधारका लागि अन्तर्देशीय शिक्षामा ध्यान केन्द्रित गर्न सुझाव
काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले अन्तर्देशीय शिक्षा (ट्रान्सनेशनल एजुकेसन-टीएनइ) को वर्तमान अवस्था र सम्भावनाबारे केन्द्रित अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनले नेपालमा टीएनइ विस्तार गर्दा देखिने अवसर, चुनौती र आवश्यक नीतिगत सुधारहरूबारे महत्वपूर्ण सुझावहरू प्रस्तुत गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा प्रतिवेदन सार्वजनिक गर्दै ब्रिटिस काउन्सिल नेपालका कन्ट्री डाइरेक्टर रुस्तम मोदीले नेपालको उच्च शिक्षामा गुणस्तर, पहुँच र नवप्रवर्तनलाई सुदृढ गर्न टीएनइको भूमिका प्रभावकारी हुने बताए । कार्यक्रममा नेपालका लागि बेलायती राजदूत रोब फिन, दक्षिण एसियाका क्षेत्रीय निर्देशक हेलेन सिल्भेस्टर, शिक्षा क्षेत्रका विज्ञ, नीति निर्माता, शिक्षक तथा सरोकारवाला व्यक्तिहरूको उपस्थिति थियो । प्रतिवेदनले नीति सरलीकरण, गुणस्तर प्रत्याभूति संयन्त्र सुदृढीकरण, पाठ्यक्रम अद्यावधिक, शैक्षिक पहुँचमा रहेका असमानता न्यूनीकरण, र स्थानीय सन्दर्भअनुसार शिक्षण मोडल विकास गर्न सिफारिस गरेको छ । यसअघि पहिलो सम्मेलन जुम्लामा सम्पन्न गरिएको थियो भने, प्रतिवेदनको पूरा पाठ ब्रिटिस काउन्सिलको वेबसाइटमा उपलब्ध छ ।