चलचित्रमा काम गरेर नाटकघर चलाउने मेरो योजना नै थियो : अभिनेता दयाहाङ राई
कामाठमाडौं । भोजपुरको खावा गाउँबाट लाहुर जाने उद्देश्यका साथ काठमाडौं आइपुगेका दयाहाङ राई अहिले रङ्गमञ्च र चलचित्रको परिचित अभिनेता बनिसकेका छन् । काठमाडौंमा साहित्यकारसँगको सङ्गत र आकर्षणले लाहुर जानबाट भुलिएका राईले अभिनेताको परिभाषा नै बदल्न सफल भए । खाइलाग्दो शरीर, अग्लो कद र सुन्दर हुनुपर्छ भन्ने परम्परागत मान्यतालाई भत्काउँदै स्थापित भएका अभिनेता राईले ‘हिरो’ को नयाँ परिभाषा बनाए । उनले ‘मेरो एउटा साथी छ’, ‘दासढुङ्गा’लगायतका चलचित्रमा अभिनय गरे तापनि स्थापित गर्ने काम चलचित्र ‘लूट’ ले गर्यो । त्यो उनले नसोचेको अप्रत्याशित सफलता थियो । चिटिक्क अनुहार र सुकिला वेशभूषा, नृत्य र द्वन्द्व गरेर अभिनय गरिरहेका अभिनेताको भीडमा अभिनेता राईले दर्शकसँग भौतिक दूरी तोडेर नयाँ शैलीको सुरुआत गरे । 'मैले ‘लूट’ मा अभिनय गर्दा त्यस अगाडिका दुई चलचित्रसहित तीन चलचित्रमा काम गरेँ भनेर देखाउन थियो । किनकि मैले भिन्न किसिमका तीन पात्रलाई पर्दामा ल्याएको थिएँ । ‘लूट’ ले मलाई चिनाउँछ भन्ने आशा थियो तर यस्तो सफलता दिन्छ भन्ने सोच भने थिएन । सायद, त्यहाँ दर्शकले आफूलाई पाउनुभएका कारण त्यो चलचित्र मात्र चलेन, त्यहाँका हामी कलाकार पनि चलिरहेका छौँ', अभिनेता राईले भने । चलचित्रमै काम गरिरहँदा सन् २००८ मा रङ्गकर्मीहरूको समूह बनाएर मण्डला नाटकघरको समेत स्थापना गरेका अभिनेता राईले अहिलेसम्म उक्त दायित्व निर्वाह गरिरहेका छन् । आफूलाई अभिनय गर्न, नाटकको अभ्यास गर्न र रङ्गकर्मीलाई एउटा ठाउँ दिन स्थापना भएको मण्डलाले अहिले धेरै कलाकारलाई मञ्चसम्म पुर्याएको छ । अहिले चलचित्रकर्मीका लागि पनि अभिनेता खोज्ने एउटा ठाउँ उक्त नाटक घर बनिसकेको छ । अभिनेता राईसँग उहाँको रङ्ग यात्रा, चलचित्रमा प्रवेश, नाटकघरको परिकल्पनालगायत समसामयिक विषयमा राससका नवीन पौडेल र भेषराज कार्कीले लिएको अन्तर्वार्ताको सम्पादित अंशः तपाइमा रङ्गमञ्चप्रतिको लगाव कसरी भयो ? भोजपुरको माटोमा साहित्य र सङ्गीतको छुट्टै जादु छ, जस्तो लाग्छ । बाल्यकालमा आमाले लोककथा धेरै सुनाउनु हुन्थ्यो । ती कथाका पात्रले मलाई आकर्षित गरिरहेको हुन्थ्यो किनकि उनीहरू रोमाञ्चक थिए । त्यसपछि रेडियो सुन्न थालियो गीतसङ्गीतमा आकर्षण बढ्यो, पुस्तक पढ्न थालेपछि साहित्यप्रति आकर्षित भएँ । त्यसो त म सदरमुकाममा दुई घण्टा हिँडेर चलचित्र हेर्न पुग्थे । चलचित्र हेर्दा किन र कसरी हुन्छ भनेर धेरै कौतुहलता बढ्थ्यो । घरबाट मलाई चाहेको कुरा गर्ने छुट थियो । ‘अरूको चित्त दुखाउने काम नगर्नु’ भनेर अभिभावकले भन्नुहुन्थ्यो । त्यो बाहेक रहर लागेका काम गर्दै हुर्किएँ । रङ्गमञ्चसँग कसरी जोडिनुभयो ? १६ वर्षसम्मा खावा गाविसको गाउँमा जन्मेर खेतीपाती र गाईवस्तु गोठालो गर्दै खावा गाविसको दिल प्राथमिक विद्यालय, पशुपति मावि हुँदै अन्नपूर्ण गाविसका अन्नपूर्ण उच्च माध्यमिक विद्यालय भोजपुरमा एसएलसीसम्म अध्यायन गरेँ । एसएलसीपछि भोजपुर बहुमुखी क्याम्पसमा आइए पढेर भोजपुरबाट काठमाडौं छिरेँ । यहाँ नाटक र साहित्यप्रतिको आकर्षणले मलाई रङ्गमञ्चसँग जोड्यो । म नाटक, साहित्य, चित्रकला प्रदर्शनीका कार्यक्रममा पुग्ने र त्यहाँ आएका कलाकारलाई भेट्ने गर्थें । मैले नाटक महोत्सवमा पनि पुगेर कसरी गरिन्छ भन्ने अवलोकन गरेको छु । त्यही क्रममा नाचघर जमलमा अभिनय सिक्न पाइन्छ भन्ने थाहाँ पाएँ । म पुग्दा एकवर्षे अभिनय कक्षा सकिन लागेको रहेछ, तर तत्कालीन महाप्रबन्धक हरिहर शर्मालाई अभिनयप्रतिको लगाव सुनाएँ । भोजपुरदेखिका कथा सुनाएँ । त्यसपछि अनुभवी कलाकारलाई दिइने कार्यशालामा मैले सहभागी हुने अवसर पाएँ । त्यहाँ अनुप बराल, वीरेन्द्र हमालसँग कार्यशाला लिएँ । त्यसपछि रङ्गकर्मीसँग सामीप्यता पनि बढ्यो, विस्तारै काम पाउन थाले । नाटकघर खोल्ने सोच कसरी आयो नि ? मैले केही चलचित्रमा काम गरिसकेको थिएँ । अभिनय गर्ने लालसा झन् बढ्दै थियो । त्यो समयमा नाचघर, प्रज्ञा प्रतिष्ठान र गुरुकुलमा नाटक हुन्थ्यो । त्यहाँको आर्थिक भार उठाउन सक्ने हैसियत मसँग थिएन । नाट्यकर्मी साथीहरू राजन खतिवडा र सिर्जना सुब्बासँग छलफल गरेर नाटक गर्ने सोच बनाइरहेका थियौँ । तर, अभ्यास गर्न नै हामीले स्कुलको बिदाको समय चाहिने, छलफल गर्न चिया पसलमा घन्टौं बस्नुपर्ने बाध्यता थियो । हाम्रो कारणले अरुलाई असर गरिरहेको महसुस हुन्थ्यो । त्यसकारण एउटा ठाउँ चाहिन्छ भन्ने भयो । त्यही क्रममा हामीले काठमाडौ चहारेपछि अनामनगरमा छ आना क्षेत्रफलमा मण्डलाको स्थापना गर्यौँ । तीन जनाबाट सुरू भएको समूह विस्तारै १५ जनाको बनिसकेको छ । यसले हामीलाई जिम्मेवारी पनि दिएको छ । त्यहाँ अभिनय सिक्न पाउनु हुन्छ, आफूलाई बुझ्न आउनु हुन्छ । हाम्रो सपनासँगै अहिले धेरैको सपना जोडिएको छ । चलचित्रको छायाङ्कनमा पुग्दा अभिनयदेखि अन्य प्राविधिक पक्षमा पनि मण्डलाका विद्यार्थी देख्दा सन्तुष्ट हुन्छु । फेरि यो कसैको दबाब होइन, मैले देखेको सपना नै हो । चलचित्रमा काम गरेर नाटकघर चलाउने योजना नै थियो । नयाँ पुस्तामाको भविष्य रङ्गमञ्चमा कस्तो देख्नुभएको छ ? अनि रङ्गमञ्च साक्षरताको अवस्था के छ ? नयाँ पुस्तालाई हामीले अग्रजबाट पाएको ज्ञान हस्तान्तरण गर्नु नै छ । हामीले त्यो गरिरहेका छौँ । हामीभन्दा अघिल्लो पुस्ताको सङ्घर्ष हाम्रो लागि प्रेरणादायी रह्यो । त्यसबाट प्रभावित भएर हामीले उहाँहरूसम्म पुग्न नसकेता पनि एउटा स्थान बनाउन सफल भयौँ । हामी पछाडिको नयाँ पुस्ता प्राविधिक युगको हुनहुन्छ । ज्ञान आर्जन गर्न विभिन्न माध्यम छन् तर इमान्दारिता, धैर्यता र समपर्ण चाहिन्छ । त्यही हामीले बुझाइरहेका छौँ । नयाँ पुस्ताले रङ्गमञ्चमा देखाउनुभएको सम्भावना प्रसंशनीय छ । रङ्गमञ्च साक्षरता बढ्न वा बढाउन समाजनै अध्ययनशील हुनुपर्छ । त्यसपछि हामीले गरिरहेको कामको प्रभाव देखिन्छ । त्यसका लागि विद्यालय वा विश्वविद्यालय जहाँ हामीले शिक्षा आर्जन गर्छौँ, त्यहाँ रङ्गमञ्चसम्बन्धी अध्यन गराउने र छलफल चलाउने हुनुपर्छ । अध्यनबाट सुरुआत भयो भने त्यसले रङ्गमञ्चलाई निकै उचाइमा पु¥याउँछ जस्तो मलाई लाग्छ । रङ्गमञ्चबाट जीविकोपार्जन गर्न सकिन्छ त ? केहीले गरिरहेका छन्, धेरैले सोचे जस्तो जीवनशैली पाउन सकेका छैनन् । रङ्गमञ्च धानिएकै लगाव र इमान्दारिताले हो । किनकी नाटकलाई अझै व्यावसायिक बनाउन सकिएको छैन, हामीले प्रयास गरिरहेका छौँ । यहाँ रङ्गकर्मीकै लगानी छ, जबसम्म ‘कर्पोरेट हाउस’हरु आकर्षित हुँदैनन्, रङ्गकर्मीले सङ्घर्ष गर्नै पर्छ । हामीले चलचित्रमा पाएको पारिश्रमिकले आफ्नो सपना पूरा गर्न रङ्गमञ्च चलाइरहेका छौँ । चलचित्र झैँ यहाँ पनि टिकेट नै आयस्रोत भएकाले हाम्रो सीमितता छ । हामीसँग सिमित सिट छ, सिमित समय छ । तर, हामी धेरै दर्शकसम्म पुग्ने प्रयास गरी नै रहेका छौँ । चलचित्र जस्तै विदेशमा नाटक लान वा देखाउन प्रस्ताव आउँछ ? प्रस्ताव आइरहेका छन् । विदेशबाट आएर नाटक हेरेर प्रतिक्रिया दिने नाटक प्रेमी पनि धेरै हुनुहुन्छ । उहाँहरूले विदेश ल्याउनुस् भन्नुहुन्छ । तर, म हतार नगर्नुस्, पहिला सबै बुझ्नुस् भन्छु । किनकी हामिले छोटोमा पनि सात जनासम्मको समूह बनाउनु पर्छ । नाटकलाई सुन्दर बनाउने काम कलाकारसँगै ध्वनी, प्रकाशसहितको ‘स्टेज’ ले गरिरहेको हुन्छ । हामीले विदेशमा मञ्चन गर्दा प्राविधिक रुपमा ती गर्न सक्छौँ वा सक्दैनौँ रु भन्ने प्रश्न आफैँलाई आउने गर्छ । किनकी व्यावसायिक दायित्व धेरै थपेर हामीले नाटक गर्न सक्दैनौँ । त्यसकारण आएका प्रस्तावलाई पर्खिन आग्रह गरेका छौँ । नाटकघर सञ्चालन गर्दा के-कस्ता दायित्व थपिने रहेछन् ? पहिला हामीले आफ्नो लागि भनेर स्थापना गरेका थियौँ, अब यो कलाकारिता गर्ने धेरै युवाको सपना बनेको छ । त्यसले हामीलाई दायित्व थपेको छ । केही समय मलाई आर्थिक रुपमा निकै कठिनाइ परेको थियो । तर, अहिले भने सहज रुपमै नाटक घर सञ्चालन गर्न सकेका छौँ । तपाई चलचित्रमा देखिन थालेपछि नाटकमा कम समय दिनुभएको छ, अभिनय नगर्नुभएको पनि धेरै भयो । कहिले तपाईलाई दर्शक रङ्गमञ्चमा देख्न पाउने छन् ? म कसरी पवित्र रङ्गमञ्च छाड्न सक्छु रु मञ्च छुटेकै हो तर रङ्गमञ्च कहिल्यै छाडिनँ । रङ्गमञ्च त्यस्तो ज्ञानशाला हो, जहाँ बृहत् विद्या, कला र शिल्पको संयोजन हुन्छ । मैले पछिल्लो समय झन्डै छ वर्ष अगाडि अनुप बरालको निर्देशनमा तयार भएको नाटक ‘महाभोज’मा काम गरँे । त्यसमा म र कलाकार बुद्धी तामाङ ‘डबल कास्ट’ थियौँ । हामी जहाँ भएपनि एक जना नाटक गर्न आउने सहमति भएको थियो । एकपटक पोखरामा छायाङ्कन हुँदा प्लेन नउडेर आउन सकिन । म आफैँ निराश भएँ । त्यो भन्दा अगाडि मैले ‘र।।। माइलो’ नामक नाटक गरेको थिएँ । चलचित्र र नाटकको धपेडीले एउटा शोमा सोफाको आड लिएर अभिनय गरेँ । शो सकिने बितिकै डाक्टरको निगरानीमा उपचार गराउनुपर्यो । त्यसकारण रहरले मात्र नहुने रहेछ भन्ने लाग्यो । अहिले पनि हामीले २०८२/८३ का लागि नयाँ नाटक निर्देशन घोषणा गरेका छौँ । मैले पनि गर्ने भन्ने तयारी थियो । म निर्देशन गर्ने तयारीमा रहँदा पनि समय व्यवस्थापन नभएपछि अर्को वर्ष वा कुनै समयमा गरौँला भनेर व्यवस्थापनको जिम्मेवारीमा छु । मानसिक र शारीरिक रुपमा स्वतन्त्र भइएन भने आफू सन्तुष्ट हुने काम गर्न सकिदैन । काम गर्नैका लागि किन गर्ने भन्ने हो । तर, मञ्च छुटेता रङ्गमञ्च छाडेको छैन । यो मेरो घर हो । घर नफर्की कहाँ जानु र ! तपाईले नाटक हेर्ने शुल्क बढाउनु भएको छ, यसको प्रभाव कस्तो पर्ला ? हामीले शुल्क न बढाएको झन्डै छ वर्षभयो होला । हामीले नाटकघर सञ्चालन गरिरहेको जग्गाको भाडा, बढ्दो महङ्गीले हामीले आर्थिक भारअनुसार नै टिकट मूल्य बढाएका छौँ । एउटा नाटक मञ्चन भएको पहिलो दुई साता विद्यार्थीलाई ? तीन सय र त्यसबाहेक व्यक्तिलाई पाँच सय रुपैयाँ तथा तेस्रो र चौथो साता विद्यार्थीलाई रु पाँच र त्यस बाहेककालाई एक हजार रुपैयाँ शुल्क तय गरेका छौँ । हामीले पहिले पनि केही सिटलाई एकहजार मूल्य राखेका थियौँ, त्यसलाई परिमार्जन गरेका हौँ । यसले हामीलाई पनि दायित्व बढाएको छ । हामीले पनि लिएको शुल्कअनुसारको मेहनत नाटकमा गर्नुपर्ने दायित्व थपिएको छ । ‘लूट’ मार्फत तपाईले अभिनेताको परिभाषा नै बदल्नुभयो नि ? त्यो चलचित्रको बनोट शैली नै नियमितभन्दा भिन्न थियो । त्यसका म लगायतका पात्र टोल, छरछिमेकमा भेटिने नै थिएँ । दर्शकले त्यहाँ आफूलाई पाउनुभयो । त्यही कारण त्यसले नसोचेको नतिजा दियो । हामी रङ्गकर्मी अहिले चलचित्रमा काम गरिरहेका छौँ । हामी दर्शकको सोच र स्वाद फेर्न सफल भयौँ । तर, म त्यो चलचित्रमा आफ्नो विविधता देखाउन अभिनय गरेको थिएँ । मैले ‘दासढुङ्गा’ र ‘मेरो एउटा साथी छ’मा गरेको काम भन्दा भिन्न थियो । अभिनयमा मलाई निरन्तरता दिन मद्दत गर्छ भन्ने लागेको थियो तर यो सफलता पाउँछु भन्ने आशा थिएन । नाटकघर स्थापनासँगै चलचित्र निर्माणमा पनि जोडिनुभयो । ‘कबड्डी’ निर्माणमा सहकार्य गर्ने सोच कसरी आयो ? चलचित्रमा काम गरेर भएको आर्जनले नाटकघर चलाउने हाम्रो सोच नै थियो । ‘लूट’ को सफलताले दर्शकले एउटा विश्वास गर्नुभएको थियो । हामी मण्डला स्थापनाकै समय भेटघाट हुँदै गर्दा निर्देशक रामबाबु गुरुङले चलचित्र बनाउने कुरा गर्नुभयो । उहाँले सुनेको कथा (आइडिया) राम्रो लाग्यो । सोही क्रममा निर्देशक निश्चल बस्नेतसँग पनि सहकार्य गर्ने सल्लाह भयो । हामीसँग पर्याप्त पैसा नभए पनि जोडजाम गरेर चलचित्र बनाउने निधो गरेर काम गर्यौं । ‘कबड्डी’ को कथा नयाँ थियो, यसले नयाँ शैलीलाई परिचित गरायो । त्यसबाट हामीले व्यावसायिक रुपमा समेत लाभ लिन सक्यौं । चलचित्र ‘कबड्डी’ मा तपाईले निर्वाह गर्नुभएको ‘काजी’ को राम्रै चर्चा भयो । त्यो प्रेम कथाको शैली कहाँबाट आयो ? ‘कबड्डी’ एउटा प्रेम कथानक चलचित्र हो । त्यसको काजी नामक पात्रले एकोहोरो माया गर्नेको कथा हो । उसले मन पराएको मान्छेलाई इमान्दारिताको साथ प्रेम गर्छ तर शैली मिलाउन सक्दैन । सोही कारण उसको शैलीमा दर्शकले ‘ह्युमर’ पाउनुभयो । यस्तो प्रेम गर्ने पनि छन्, हुन्छन् । हामीले नियमित भन्दा फरक काम गर्ने कोशिसकै सिलसिलामा काजी पात्रको उदय भएको हो । कलात्मक र पूर्ण व्यावसायिक (मसालेदार) दुवै चलचित्रमा काम गरिरहनुभएको छ, के छ यिनमा भिन्नता ? मसालेदार चलचित्रमा दर्शकको प्रिय बन्न पात्रको बनोट हुन्छ । हाम्रो कोसिस त्यहि हुन्छ । तर, कलात्मक चलचित्रमा हामीले स्वतन्त्र भएर काम गर्न पाउँछौ, किनकी यी चलचित्रलाई अन्तरराष्ट्रिय बजार केन्द्रित गरेर तयार गरिएको हुन्छ । दर्शकले पनि दुवै चलचित्रको भिन्नता महसुस गरिसक्नुभएको छ । किनकी उहाँहरू मनोरञ्जन मात्र लिने की नयाँ केही हेर्ने भन्ने सोच बनाएर नै चलचित्र भवनसम्म आउनुहुन्छ । नाटक निर्देशन गर्नुभयो, चलचित्रतर्फ के छ सोच ? म निर्देशन अवश्य गर्छु । तर, यो समयमा भन्ने सोचेको छैन । अहिले नाटकघरसँगै अभिनयमै व्यस्त छु । कुनै समय अभिनयबाट विश्राम लिनुपर्यो भने मैले गर्ने भनेकै नाटक र चलचित्र निर्देशन हो । तर, अहिले के कसरी गर्ने भन्ने तय छैन । यद्यपि केही पटकथा (स्क्रिप्ट) हेरिरहेको छु । तय भएपछि म आफैँ यसबारेमा जानकारी दिन्छु । तपाईको प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘महाभोज’ मा कस्तो भूमिका निर्वाह गर्नुभएको छ ? यो हाम्रै गाउँ/समाजको कथा हो । यसमा पाँच जना प्रमुख पात्र छन्, जसमध्येको म एक हुँ । त्यहाँ एकजना विदेशबाट गाउँ फर्किएका छन्, एक जना काठमाडौँबाट । ती युवाहरुको सोचको कथा नै ‘महाभोज’ हो । यसमा मैले धेर वर्षपछि निर्देशक दिनेश राउत र अभिनेता आर्यन सिग्देलसँग सहकार्य गरेको छु । मैले झन्डै सत्र वर्ष अगाडि चलचित्रमा सुरुआत गरेको थिएँ । त्यसक्रममा ‘मेरो एउटा साथी छ’ मा अभिनेतामा सिग्देल र मुख्य सहायक निर्देशकमा राउत हुनुहुन्थ्यो । केही समयदेखि कुरा गर्ने भनिएको सल्लाह अहिले बल्ल काममा परिणत भएको छ । यो जेठ १५ गते प्रदर्शन हुँदैछ, यसको विषयले हामीलाई रमाइलो मात्र बनाउँदैन । समाजका केही विषयमा सोच्न बाध्य बनाउँछ । नेपाली चलचित्र क्षेत्रमा गएको वर्षको व्यावसायिक उपलब्धिले कस्तो प्रभाव पार्ला ? अघिल्लो वर्ष हामीले धेरै विविधतामूलक कथालाई पर्दामा हेर्न पायौं । धेरै भिन्न र फरक किसिमका कथा भएकै कारण धेरै देशक चलचित्र भवन आउनुभयो । तर, हाम्रो चुनौती नै ‘फलोअर्स’ बन्नबाट जोगिनु हो । हामीले त्यस्तो चलचित्र चल्यो भनेर त्यही शैलीलाई पछ्याउनु हुँदैन । आफैँ ‘क्रिएटर’ बन्न सक्नुपर्छ । हिजो ‘लूट’ होस् वा ‘कबड्डी’, गएको वर्षकै ‘पूर्णबहादुरको सारङ्गी’ बनाउनुको उदेश्य अर्काको देखासिखी थिएन । त्यो बनाउन मन लागेको शैली र कथामा चलचित्र बनेका थिएँ । तर, अब त्यो चल्यो, त्यो जस्तै बनाउन भनेर आउनुभयो भने गत वर्ष चलचित्र भवन आएका दर्शकलाई हामीले नयाँ केही दिन सक्दैनौँ । त्यसकारण हामीले आफ्नो रचनात्मक पक्षलाई अझैँ बढाउनु आवश्यक छ । चलचित्रको बजार हामीले देखिसकेका छौँ, राम्रो चलचित्र बनाउने दायित्व हामीलाई छ । रासस
नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप
काठमाडौं । नबिल बैंकले नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्डको योजनाको म्याद थप गरेको छ । ग्राहकको उत्साहजनक सहभागिता तथा प्रतिक्रियापछि योजनाको म्याद थप गरिएको बैंकले जनाएको छ । नयाँ वर्षको अवसरमा सुरु गरिएको यो योजना अब असारमसान्तसम्म लागू हुनेछ । यस योजनाअन्तर्गत क्रेडिट कार्ड लिनका लागि कुनै पनि प्रवेश शुल्क, वार्षिक शुल्क तथा सदस्यता शुल्क तिर्नुपर्दैन । क्रेडिट कार्ड लिनका लागि ग्राहकले घर वा कार्यालय जहाँबाट पनि आवेदन दिन सक्नेछन् भने आफुलाई पायक पर्ने घर वा कार्यालयमा प्राप्त गर्ने सक्नेछन् । यो योजनाले आधुनिक बैंकिङलाई प्रवर्द्धन गर्नुका साथै वर्षैपिच्छे लाग्ने सेवा शुल्कबाट ग्राहकलाई मुक्त गर्नेमा बैंक विश्वस्त रहेको छ । बाइ नउ प्ले लेटर मार्फत ग्राहकले क्रेडिट कार्डको प्रयोग गरेर शुन्य ब्याजदरमा सामान खरिद गर्र्न सक्नेछन् भने विभिन्न आउटलेटमा छुट पनि प्राप्त गर्न सक्नेछन् । ग्राहकले नबिल बैंकको शाखामा गइ यसबारे थप जानकारी लिन तथा लाइफटाइम प्रिन्ट क्रेडिट कार्डका लागि आवेदन दिन सक्नेछन् । साथै अनलाइनमार्फत पनि आवेदन पनि दिन सक्ने जनाइएको छ ।
एक्सलाई ८ हजारभन्दा बढी खाता ब्लक गर्न भारतको निर्देशन
काठमाडौं । भारतले एक्सलाई आठ हजारभन्दा बढी खाता ब्लक गर्न आदेश दिएको प्लेटफर्मले बिहीबार जानकारी दिएको छ । साथै प्लेटफर्मले सरकारद्वारा लागू गरिएको ‘सेन्सरसिप’ भनेर वर्णन गरेको कुरासँग अनिच्छापूर्वक पालना गरिरहेको जनाएको छ । यो कदम भारतको व्यापक कारबाहीको हिस्सा जस्तो देखिन्छ, जसले आणविक–सशस्त्र छिमेकीहरू बीच बढ्दो तनाव र घातक झडपहरूका बीचमा पाकिस्तानी राजनीतिज्ञ, सेलिब्रिटी र मिडिया संस्थानहरूका सामाजिक मिडिया खाताहरूलाई लक्षित गरेको छ । एक्सका अनुसार अन्तर्राष्ट्रिय समाचार संस्थाहरू र अन्य प्रमुख प्रयोगकर्ताहरूलाई ब्लक गर्न माग गरेको यो आदेश मेटाले नयाँदिल्लीको अनुरोधमा इन्स्टाग्राममा एक प्रमुख मुस्लिम समाचार पेज भारतमा प्रतिबन्धित गरेको एक दिन पछि आएको हो । 'कम्पनीका स्थानीय कर्मचारीहरूलाई उल्लेखनीय जरिवाना र कारावासको सम्भावित दण्डसहित एक्सले भारत सरकारबाट कार्यकारी आदेशहरू प्राप्त गरेको छ जसमा एक्सले भारतमा आठ हजारभन्दा बढी खाता ब्लक गर्न आवश्यक छ', साइटको विश्वव्यापी सरकारी मामिला टोलीले एक विज्ञप्तिमा भनेको छ । धेरैजसो मामिलामा सरकारले खाताहरूबाट कुन पोस्टहरूले भारतीय कानून उल्लङ्घन गरेको छ भनेर निर्दिष्ट गरेको थिएन र अन्य धेरैमा यसले ब्लकहरूका लागि कुनै प्रमाण वा औचित्य प्रदान गरेको थिएन । एलन मस्कको स्वामित्वमा रहेको प्लेटफर्मले मागहरूसँग असहमति जनाएको तर भारतमा निर्दिष्ट खाताहरू रोक्ने प्रक्रिया सुरु गरेको बताएको छ । 'सम्पूर्ण खाताहरू अवरुद्ध गर्नु अनावश्यक मात्र होइन, यो विद्यमान र भविष्यका सामग्रीको सेन्सरसिप बराबर हो, र अभिव्यक्ति स्वतन्त्रताको मौलिक अधिकारको विपरित हो', विज्ञप्तिमा भनिएको छ, 'यो सजिलो निर्णय होइन, यद्यपि प्लेटफर्मलाई भारतमा पहुँचयोग्य राख्नु भारतीयहरूको सूचना पहुँच गर्ने क्षमताका लागि महत्त्वपूर्ण छ ।' काश्मीरको विवादित मुस्लिम बहुल क्षेत्रमा भारतद्वारा शासित क्षेत्रमा पर्यटकहरूमाथि घातक आक्रमणलाई समर्थन गरेकामा नयाँदिल्लीले इस्लामाबादलाई दोष दिएको दुई हप्तापछि भारत र पाकिस्तानबीचको भीषण लडाइँका बीच यो कदम आएको हो । पाकिस्तानले उक्त आरोप अस्वीकार गरेको छ । भारतले बुधबार ‘आतङ्कवादी शिविरहरू’ लाई लक्षित गरेको भन्दै हवाई आक्रमण सुरु गरेदेखि बढ्दो हिंसामा सीमाको दुवै छेउमा कम्तीमा ४८ जनाको मृत्यु भएको छ । दुवै देशले बिहीबार एकअर्कामाथि ड्रोन आक्रमणको आरोप लगाएका छन् । एक्सले कानूनी प्रतिबन्धहरूका कारण भारतीय कार्यकारी आदेशहरू सार्वजनिक गर्न नसक्ने बताएको छ, तर यसले प्रभावित प्रयोगकर्ताहरूलाई ‘अदालतहरूबाट उपयुक्त राहत खोज्न’ प्रोत्साहित गरेको छ । यसले प्रभावित प्रयोगकर्ताहरूको नाम उल्लेन गरेन, तर हालैका दिनहरूमा भारतीय मिडियाले भारतले पाकिस्तानी राजनीतिज्ञ बिलावल भुट्टो जरदारी र पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा क्रिकेट कप्तान इमरान खानका एक्स खाताहरू ब्लक गरेको रिपोर्ट गरेको छ । भारतले पाकिस्तानी समाचार संस्थाहरूसहित ‘उत्तेजक’ सामग्री फैलाएको आरोपमा एक दर्जनभन्दा बढी पाकिस्तानी युट्युब च्यानलहरूलाई पनि प्रतिबन्ध लगाएको छ । पाकिस्तानी बलिउड चलचित्रका नियमित कलाकार फवाद खान र आतिफ असलम पनि भारतमा सीमित थिए । साथै स्टार ब्याट्सम्यान बाबर आजम र मोहम्मद रिजवान र सेवानिवृत्त खेलाडी शाहिद अफ्रिदी र वसीम अकरमसहित विभिन्न प्रकारका क्रिकेटरहरू पनि भारतमा सीमित थिए । दक्षिण एसियाली यी दुई छिमेकीबीच बढ्दो शत्रुताले अनलाइन गलत सूचनाको बाढी ल्याएको छ । सामाजिक मिडिया प्रयोगकर्ताहरूले डिपफेक भिडियोदेखि असम्बन्धित द्वन्द्वहरूको पुराना छविहरूसम्म सबै कुरा प्रसारित गरिरहेका छन्, जसलाई गलत तरिकाले चलिरहेको लडाइँसँग जोडिएको छ ।
प्रधानमन्त्रीसँग भारतीय राजदूतको भेट, के भयो कुराकानी ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच शुक्रबार भेट भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणका कारण भारत-पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए । उनले आक्रमण भएको ठाउँमा भारतले जवाफी कारवाही गरेको तर जेट हमला गरेको भन्ने प्रचार सत्य नभएको स्पष्ट गरे । राजदूत श्रीवास्तवले उक्त घटनाका सम्बन्धमा नेपाल सरकारबाट बिहीबार सार्वजनिक भएको वक्तत्वप्रति धन्यवाद व्यक्त गरेका थिए । सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्तिका पक्षमा रहेको उल्लेख गर्दै सबै प्रकारका आतङ्कवादविरुद्ध आफ्नो दृढ अडान अनुरूप उक्त आतङ्कवादी हमलाको भर्त्सना गरे । उनले नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई आफ्ना छिमेकी राष्ट्रहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने स्पष्ट गरेका थिए ।
सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरें : अभिनेता हमाल
काठमाडौं । अभिनेता राजेश हमाल आठवर्षको अन्तरालपछि चलचित्रमा देखिँदै छन् । आफूले सुहाउँदो र अनुकूल भूमिका पाएकै कारण चलचित्र अभिनयमा पुनः फर्किएको अभिनेता हमालले बताए । चलचित्र ‘नरसिंहा अवतार’ को श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गर्दै अभिनेता हमालले विगतका वर्षमा चलचित्रमा अभिनय गर्ने प्रस्ताव आए तापनि चित्त बुझ्दो र सुहाउँदो भूमिका नपाएकाले ठूलो पर्दामा नदेखिएको स्पष्ट गरे । 'मलाई चलचित्रमा काम गर्ने प्रस्ताव धेरै आइरहेका थिएँ । तर, मैले आफ्नो पात्रलाई सुहाउँदो भूमिका पाइनँ र अन्य काममै व्यस्त भएँ । यस चलचित्रमा प्रस्ताव गर्दा पनि म अभिनय गर्ने मनस्थितिमा थिइनँ, तर निर्देशकले पटकथा सुनाउनुभएपछि मैले खोजेको जस्तो भूमिका पाएँ । चलचित्रको विषयवस्तु, म सुहाउँदो भूमिका र विश्वास गर्न सकिने निर्देशक, निर्माताको समूहले गर्दा म चलचित्रमार्फत ठूलो पर्दामा पुनः आएँ', अभिनेता हमालले भने । उनले चलचित्रले मनोरञ्जनसँगै सामाजिक घटनालाई उजागर गरेको जानकारी दिए । निर्देशक दिवाकर भट्टराईले स्थापित अभिनेता हमाललाई पुनः चलचित्रको पर्दामा ल्याउनु आफ्ना लागि अवसर र चुनौती रहेको बताए । 'अभिनेता हमालको प्रशंसक (फ्यान) का बारेमा मैले बोल्नै पर्दैन । त्यसैले उनलाई दर्शकको भावनाअनुरुप चलचित्रमा प्रस्तुत गर्नु मेरा लागि ठूलो चुनौती थियो । उनलाई हेर्न चलचित्र भवनसम्म आउनुहुने दर्शकले निराश हुनु पर्दैन, आफूले गरेको कामप्रति विश्वस्त छु । हाम्रो चलचित्रको मुख्य आकर्षण कथा नै हो, त्यहाँ परिवेशअनुसार सबै ‘पात्र’लाई सुहाउँदो भूमिकामा प्रस्तुत गरेको छु', निर्देशक भट्टराईले भने । उनले पछिल्लो समय प्रदर्शन भएका चलचित्रभन्दा ‘नरसिंहा अवतार’ फरक रहेकाले चलचित्र भवन पुग्ने दर्शकको समय र पैसाको सदुपयोग हुने दाबी गरे । उक्त चलचित्रमा अभिनेता हमालसँगै राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, दीपा शाही, उषा खड्गी र बाल–कलाकारहरु एभेलिना खड्का र समाइरा थापाले अभिनय गरेका छन् । आगामी जेठ ९ गते नेपालभर प्रदर्शन हुने चलचित्र ‘नरसिंहा : अवतार’ लाई नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
ट्रम्पको ट्यारिफ असरः वर्षभरिमा २१ प्रतिशत नाफा घट्ने टोयोटाको अनुमान
काठमाडौं । टोयोटा मोटरले बिहीबार भनेअनुसार यो आर्थिक वर्षमा कम्पनीको नाफा पाँचौं भागले घट्ने अपेक्षा गरिएको छ । अमेरिकाको डलर कमजोर हुनु र राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको शुल्कको प्रभावले विश्वकै सबैभन्दा ठूलो कार निर्माता कम्पनीलाई असर गरेको छ । टोयोटाले मार्च २०२६ सम्मको वर्षमा सञ्चालन नाफा ३.८ ट्रिलियन येन (२६ अर्ब डलर) हुने अपेक्षा गरेको छ, जुन अघिल्लो वर्षको ४.८ ट्रिलियन येन भन्दा कम हो । व्यापार तनावले नाफामा कस्तो असर पारिरहेको छ भन्ने यो पछिल्लो उदाहरण हो । टोयोटाको नतिजाले देखाउँछ कि यी शुल्कहरूले कम्पनीहरूलाई एकैपटक धेरै पक्षबाट असर गर्न सक्छन् । कम्पनीले अप्रिल र मे महिनामा १८० अर्ब येन प्रत्यक्ष खर्च भएको अनुमान गरे पनि विदेशी विनिमय दरको उतारचढाव नै पुरै वर्षको नाफा अनुमानमा सबैभन्दा ठूलो असर पार्ने मुख्य कारण भएको जनाएको छ, जसको असर ७४५ अर्ब येनको हुने बताइएको छ । ट्रम्पको शुल्क र तिनको अन्तर्राष्ट्रिय व्यापारमा पर्ने प्रभावको अनिश्चितताले डलर कमजोर बनाएको छ। टोयोटाका लागि कमजोर डलरको अर्थ भनेको अमेरिकी बजारबाट कमाइ भएको नाफा स्वदेश फर्काउँदा घाटा हुनु हो । प्रमुख कार्यकारी कोजी साटोले पत्रकार सम्मेलनमा भने, 'यी शुल्क स्थायी हुन् कि होइनन् र के हुनेछ भन्ने कुरा हामीले निर्णय गर्न सक्दैनौं ।' उनले यी शुल्क व्यवस्थापन गर्न थप जटिल भएको बताए । विश्लेषकहरूले शुल्कका कारण अमेरिकामा र अन्यत्र पनि उपभोक्ताका लागि मूल्यवृद्धि हुन सक्ने बताउँदै आएका छन् । मार्च महिनासम्मको तीन महिनामा सञ्चालन नाफा लगभग स्थिर रह्यो जसमा ०.३ प्रतिशतले वृद्धि भई १.१२ ट्रिलियन येन पुगेको छ । अटो विश्लेषक क्रिस्टोफर रिक्टरले यदि यी शुल्कहरू कायम रहे टोयोटाले नयाँ नाफा लक्ष्य हासिल गर्न गाह्रो पर्ने बताए । 'अहिले त अमेरिकामा बजार राम्रो देखिन्छ किनभने ग्राहकहरू हतारमा कार किन्न दौडिरहेका छन् । तर यदि यी शुल्कहरू यथावत रहे भने के हुन्छ ? तपाईंले मूल्य बढाउनुपर्छ,' उनले भने । अन्य अन्तर्राष्ट्रिय अटो कम्पनीहरू जस्तै टोयोटाले पनि अमेरिकामा उत्पादन विस्तार गर्न खोजेमा उच्च श्रम लागत र लगानी खर्च बढ्ने सम्भावना छ । टोयोटाको चीनमा कार बिक्री अन्य जापानी ब्रान्डहरूको तुलनामा कम घटेको भए पनि विश्वकै सबैभन्दा ठूलो अटो बजारमा चिनियाँ ब्रान्डहरूसँगको तीव्र प्रतिस्पर्धाका कारण बिक्री गिरावट रोक्न संघर्ष गरिरहेको छ । जापान एक मात्र सकारात्मक बजार रह्यो, जहाँ चौथो त्रैमासिकमा नाफा १८ प्रतिशतले वृद्धि भएको थियो । तर यसको सबैभन्दा ठूलो बजार उत्तर अमेरिकामा सञ्चालन घाटा अघिल्लो वर्षको २८ अर्ब येनबाट बढेर १०० अर्ब येन पुगेको छ । इन्डियानाको उत्पादन प्लान्टमा भएको अस्थायी बन्दका यस्तो अवस्था आएको हो । टेस्लामाथि वैश्विक दबाबः चिनियाँ प्रतिस्पर्धी र युरोपको असन्तुष्टि मस्क बिनाको टेस्ला, निल्नु न ओकल्नुको अवस्थामा बोर्ड
सांसद कोष होइन, सांसदलाई अधिकार सम्पन्न बनाउनुपर्छः विनोद चौधरी
काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले सांसदहरूलाई अधिकार सम्पन्न बनाइदिनुपर्ने बताएका छन् । शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सांसदलाई कोष नभइ आफ्नो क्षेत्रका अधुरा परियोजनाहरूलाई पूरा गर्न अधिकार सम्पन्न बनाउनु महत्त्वपूर्ण रहेको दोहोर्‍याए । चौधरीले भने, ‘सांसद कोषको कुरा हुने गर्छ, सांसदलाई फण्ड होइन, अधिकार सम्पन्न बनाउने हो । कुनै सांसदले आफ्नो क्षेत्रका अधुरा प्रोजेक्टहरूलाई पुरा गर्न सांसदलाई अधिकार सम्पन्न बनाइनुपर्छ ।’ उनले निर्वाचन क्षेत्रमा ट्याङ्की बनेको १० वर्ष पुग्दा पनि पाइपको अभावले जनताले पानी खान नपाएको बताउँदै यस्ता कैयौं उदाहरणहरू रहेको जिकिर गरे । सांसद चौधरीले कुनै निर्वाचित सांसदले आफ्नो क्षेत्रमा भएका विकास निर्माणका योजनाहरूलाई मूल्याङ्कन, अनुगमन र बजेट अभावको खण्डमा संवद्ध मन्त्रालयले हात बलियो नपारिइदिए शृङ्खलावद्ध ढङ्गबाट विकासको प्रक्रिया अगाडि बढ्न नसक्ने धारणा राखे । उनले रोजगारीको लागि दैनिक तीन हजारको सङ्ख्यामा नेपालीहरू विदेशीएको तर्फ चिन्ता व्यक्त गर्दै सरकारको गम्भीर ध्यानाकर्षणसमेत गराए ।
एन्फा साधारणसभामा पूर्वअध्यक्ष गणेश थापालाई प्रवेशमा रोक, धुलिखेलमा विवाद
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभामा पूर्वअध्यक्ष गणेश थापालाई प्रवेशमा रोक लगाइएपछि शुक्रवार धुलिखेलमा विवाद उत्पन्न भएको छ । थापालाई साधारण सभास्थलको गेटमै सुरक्षाकर्मीले रोकेपछि केही समय वातावरण तनावपूर्ण बनेको हो । यद्यपि भित्र साधारणसभा भने सञ्चालन भइरहेको छ । साधारण सभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष टंकलाल घिसिङले गरे । एन्फाले प्रवेश पास नभएको भन्दै थापालाई रोक लगाएको बताएको छ । उल्लेख्य संख्यामा सुरक्षाकर्मीहरू पनि घटनास्थलमा खटाइएको छ । थापाले भने आफू उच्च अदालत पाटनको आदेशअनुसार सभामा सहभागी भएको बताए । उनले अदालतको आदेश मान्दिनँ भन्न वा साधारण सभामा प्रवेश दिन एन्फालाई आग्रह गरे । उनले भने, ‘कि अदालतको निर्णय मान्दिनँ भन्नुपर्यो कि साधारणसभामा प्रवेश दिनुपर्यो, नत्र रोकेर राख्न मिल्छ ? हिजो अन्तरिम आदेश दियो, मलाई र गौरव थापालाई साधारण सभामा नरोक्नु भनेर । एन्फाको तर्फबाट मेरो खारेजी गर्न अध्यक्षजी स्वयं आउनुभयो । बहस भयो तर खारेजी भएन तर अहिले उहाँहरू छिर्न दिनुहुन्न ।’ थापाले एन्फाले आफूलाई रोक्न सक्ने सङ्केत पाएपछि उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । वैशाख २१ मा न्यायाधीश सुदर्शनदेव भट्टको इजलासले थापाको पक्षमा अन्तरिम आदेश दिएको थियो । सो आदेशअनुसार उनी साधारणसभामा सहभागी हुन पुगेका थिए । तर एन्फाका प्रवक्ता सुरेश साहले अदालतको आदेशबारे औपचारिक जानकारी नआएको जिकिर गरे । उनले भने, ‘अफिसियल्ली हिसाबले निर्णय भन्नुभएको छ । त्यो सचिवालयलाई थाहा होला, हामीलाई थाहा छैन । हामीले बुझ्नुपर्ने कुरा के हो भने, एन्फामा अहिले २५-३० वटा मुद्दा छन् । कुन आदेश सचिवालयमा आयो/आएन भन्ने जानकारी सचिवालयबाट आउनुपर्छ ।’ सन् २०१५ अप्रिल १६ मा फिफाले भ्रष्टाचार र आचारसंहिता उल्लंघनको आरोपमा थापालाई १० वर्षका लागि निलम्बन गरेको थियो । सो निलम्बन सन् २०२५ अप्रिल १५ मा सकिएको थियो । प्रतिबन्ध फुकुवा भएपछि थापा फुटबल गतिविधिमा सक्रिय हुन थालेका छन् ।