एन्फा साधारणसभामा पूर्वअध्यक्ष गणेश थापालाई प्रवेशमा रोक, धुलिखेलमा विवाद
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभामा पूर्वअध्यक्ष गणेश थापालाई प्रवेशमा रोक लगाइएपछि शुक्रवार धुलिखेलमा विवाद उत्पन्न भएको छ । थापालाई साधारण सभास्थलको गेटमै सुरक्षाकर्मीले रोकेपछि केही समय वातावरण तनावपूर्ण बनेको हो । यद्यपि भित्र साधारणसभा भने सञ्चालन भइरहेको छ । साधारण सभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष टंकलाल घिसिङले गरे । एन्फाले प्रवेश पास नभएको भन्दै थापालाई रोक लगाएको बताएको छ । उल्लेख्य संख्यामा सुरक्षाकर्मीहरू पनि घटनास्थलमा खटाइएको छ । थापाले भने आफू उच्च अदालत पाटनको आदेशअनुसार सभामा सहभागी भएको बताए । उनले अदालतको आदेश मान्दिनँ भन्न वा साधारण सभामा प्रवेश दिन एन्फालाई आग्रह गरे । उनले भने, ‘कि अदालतको निर्णय मान्दिनँ भन्नुपर्यो कि साधारणसभामा प्रवेश दिनुपर्यो, नत्र रोकेर राख्न मिल्छ ? हिजो अन्तरिम आदेश दियो, मलाई र गौरव थापालाई साधारण सभामा नरोक्नु भनेर । एन्फाको तर्फबाट मेरो खारेजी गर्न अध्यक्षजी स्वयं आउनुभयो । बहस भयो तर खारेजी भएन तर अहिले उहाँहरू छिर्न दिनुहुन्न ।’ थापाले एन्फाले आफूलाई रोक्न सक्ने सङ्केत पाएपछि उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । वैशाख २१ मा न्यायाधीश सुदर्शनदेव भट्टको इजलासले थापाको पक्षमा अन्तरिम आदेश दिएको थियो । सो आदेशअनुसार उनी साधारणसभामा सहभागी हुन पुगेका थिए । तर एन्फाका प्रवक्ता सुरेश साहले अदालतको आदेशबारे औपचारिक जानकारी नआएको जिकिर गरे । उनले भने, ‘अफिसियल्ली हिसाबले निर्णय भन्नुभएको छ । त्यो सचिवालयलाई थाहा होला, हामीलाई थाहा छैन । हामीले बुझ्नुपर्ने कुरा के हो भने, एन्फामा अहिले २५-३० वटा मुद्दा छन् । कुन आदेश सचिवालयमा आयो/आएन भन्ने जानकारी सचिवालयबाट आउनुपर्छ ।’ सन् २०१५ अप्रिल १६ मा फिफाले भ्रष्टाचार र आचारसंहिता उल्लंघनको आरोपमा थापालाई १० वर्षका लागि निलम्बन गरेको थियो । सो निलम्बन सन् २०२५ अप्रिल १५ मा सकिएको थियो । प्रतिबन्ध फुकुवा भएपछि थापा फुटबल गतिविधिमा सक्रिय हुन थालेका छन् ।
झापामा थपिए ७ सय ७६ घरेलु उद्योग, ९ महिनामा सवा २ करोड राजस्व सङ्कलन
झापा । झापा जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा ७७६ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार उक्त अवधिमा उद्योगतर्फ ४३१ र वाणिज्यतर्फ ३४५ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका हुन् । सोही अवधिमा उद्योगतर्फ एक हजार १६८ र वाणिज्यतर्फ एक हजार २७३ उद्योग नवीकरण भएका छन् । जिल्लामा चालु आवको नौ महिनामा उद्योगतर्फ ३९४ र वाणिज्यतर्फ १२८ गरी ५२२ उद्योग खारेज हुँदा २३ उद्योगको ठाउँसारी तथा १३० उद्योगले व्यवसाय विस्तार गरेका छन् । सूचना अधिकारी भट्टराईले झापामा उद्योग बन्द गर्ने भन्दा नयाँ थपिनेको सङ्ख्या बढ्दै गएको जानकारी दिइन् । घरेलु तथा साना उद्योग कार्यालयले चालु आवको नौ महिनामा २ करोड २१ लाख ८८ हजार ९५० राजस्व सङ्कलन गरेको छ ।
सरकारमा केही समस्या छैन, गभर्नर नियुक्त छिट्टै हुन्छ : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा केही समस्या नभएको दाबी गर्दै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त छिट्टै हुने बताएका छन् । शुक्रबार देउवा निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकमा उनले यस्तो बताएका हुन् । बैठकमा सहभागी एक पदाधिकारीले बाहिर हल्ला भएजस्तो सरकार कुनै समस्या नरहेको सभापति देउवाले उल्लेख बताए । पछिल्लो समय गभर्नर नियुक्तिको विषयलाई लिएर सरकारको चौतर्फी आलोचना हुँदै आइरहेको छ । कांग्रेस र एमालेबीचमा सहमति हुन नसक्दा गभर्नर नियुक्त हुन नसकेको हो । एमालेले गर्दा गभर्नर नियुक्त हुन नसकेको हल्लालाई देउवाले बारम्बार खण्डन गर्दै आइरहेका छन् । साथै बैठकमा टीआरसी र शिक्षा विधेयकमा पनि छलफल भएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
सिटिजन्स बैंक र म्यानेजमेन्ट एसोसिएसन अफ नेपालबीच सम्झौता
काठमाडौं । सिटिजन्स बैंक र म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (एमएएन)बीच नेपालमा व्यवस्थापन संकायअन्तर्गत एमबिएमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान गर्ने र प्रोत्साहन दिने उद्देश्यले ‘एमएएन–सिटिजन्स एस्पायरिङ अवार्ड’ स्थापना गर्ने सहमति भएको छ । बिहीबार एमएएनको कार्यालयमा आयोजित एक कार्यक्रमबिच सहमतिपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र एमएएनका अध्यक्ष मोहनराज ओझाले हस्ताक्षर गरेका हुन् । यो पुरस्कार पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत एमबिएमा उत्कृष्टता प्रदर्शन गरेका विद्यार्थीलाई हरेक वर्ष प्रदान गरिने बताइएको छ । पुरस्कारको रकम ५१ हजार रुपैयाँ हुनेछ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड यस पुरस्कारको प्रायोजक हुने र वार्षिक रूपमा पुरस्कारको लागि आवश्यक रकम उपलब्ध गराउने बताइएको छ । सिटिजन्स बैंक, पूर्वाञ्चल विश्वविद्यालय र म्यानेजमेन्ट एसोसिएसन अफ नेपालका पदाधिकारीको समिति गठन गरी उत्कृष्ट विद्यार्थीको चयन गरिनेछ । पुरस्कार हरेक वर्ष माघ महिनामा एमएएनको म्यानेजमेन्ट कन्भेन्सनको अवसरमा प्रदान गरिने बताइएको छ ।
डा. सुधन लम्सालले पाए वर्ल्ड बुक अफ रेकर्डबाट ‘इमिनेन्स अवार्ड’
काठमाडौं । वर्ल्ड बुक अफ रेकर्डले नेपालका डा. सुधन लम्साललाई 'इमिनेन्स अवार्ड' प्रदान गरेको छ । कजाकिस्तानको अल्माटीमा आयोजित विशेष समारोहमा सो अवार्ड प्रदान गर्दै लम्साललाई सम्मान गरेको हो । उनलाई यो सम्मान ज्ञान प्रवर्द्धन, आलोचनात्मक सोचको विकास, र समग्र व्यक्तित्व विकासमा पुर्याएको उल्लेखनीय योगदानको आधारमा प्रदान गरिएको हो । उक्त समारोहमा विभिन्न राष्ट्रका विशिष्ट प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । जसले कार्यक्रमको अन्तर्राष्ट्रिय महत्वलाई झल्काउने गर्दछ । लण्डन, बेलायतमा मुख्यालय रहेको वर्ल्ड बुक अफ रेकड्र्सले विश्वभर असाधारण उपलब्धी हासिल गरेका व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ । 'इमिनेन्स अवार्ड' उत्कृष्टता प्रदर्शन गर्दै समाजमा सकारात्मक प्रभाव पार्न सफल व्यक्तिहरूलाई प्रदान गरिन्छ । विश्वस्तरको प्रतिष्ठित व्यक्तित्वहरुले पाउने सम्मान नेपालबाट आफुलाई पदान गरेकोमा उनले खुशी व्यक्त गरे । नेपालको शिक्षाक्षेत्र तथा युवा विकासमा रहेको अग्रणी भूमिकालाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न पाउनु नै गर्वको कुरा रहेको उनी बताउँछन् । जापान, इजिप्ट, दुवै, टर्की, सिंगापुर, मलेसिया, थाइल्याण्ड, चीन, काजकिस्तान लगायतका देशहरुमा गएर उनले थुप्रै तालिम र कार्यशालाहरू सञ्चालन गरिसकेका छन्, जसमा शिक्षा, कर्पोरेट, र अन्तर्राष्ट्रिय संस्थाहरू समावेश छन् । लम्साल एक प्रतिष्ठित कार्यक्रम, तालिम र संचार निर्देशक पनि हुन् । उनले इमोशनल इंटेलिजेन्स, एप्रिसिएटिव इन्क्वायरी, पर्सनालिटी डेवलपमेन्ट, क्यारियर काउन्सिलिङ, र जीवनको दृष्टिकोण व्यवस्थापनसम्बन्धी युवा प्रोत्साहन कार्यक्रमहरू गर्दै आएका छन् । उनी विभिन्न प्रवृत्तिका कार्यक्रमहरू डिजाइन गर्दै सामुदायिक विद्यालय र नेतृत्व प्रशिक्षण कार्यशालाहरू, जसले आधुनिक शिक्षा प्रणालीलाई प्रवर्द्धन गर्दै युवा सशक्तिकरणको लागि नयाँ दृष्टिकोण ल्याउनको लागि काम गर्दैछन् । डा. लम्सालको उपलब्धि समर्पण, सृजनशीलता र उत्कृष्टताको प्रेरणादायी प्रतीक बन्न पुगेको छ ।
महालक्ष्मी विकास बैंककाे ‘स्क्यान टु क्यास’ सेवा सुरु, डिजिटल भुक्तानीमा नयाँ आयाम
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले नेपालमा पहिलो पटक विकास बैंकको हैसियतमा ‘स्क्यान टु क्यास’ सेवा सुरु गरेको छ । फोन पेको सहकार्यमा सञ्चालनमा ल्याइएको यस सुविधामार्फत ग्राहकहरूले कुनै पनि बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरेर टेलर काउन्टरमा क्यूआर स्क्यान गरेर नगद निकाल्न सक्ने छन् । सेवाको प्रारम्भिक चरणमा दरबारमार्ग र थापाथली शाखाबाट सुरू गरिएको यो सेवा छिट्टै देशभरका शाखाहरूमा विस्तार गरिने बैंकले जनाएको छ । यस सुविधाले परम्परागत चेक वा एटीएम कार्ड प्रयोगको झन्झट हटाउने र नगद झिक्ने प्रक्रियालाई अझ सहज र डिजिटल बनाउने विश्वास बैंकले लिएको छ । डिजिटल बैंकिङ्गमा अग्रसर महालक्ष्मी विकास बैंकले यसअघि नेपाल क्लियरिङ हाउस लिमिटेडको सहकार्यमा अलिपे प्लस नेटवर्कमार्फत क्रस(बोर्डर क्यूआर भुक्तानी सेवा पनि सुरु गरिसकेको छ । यस सेवामार्फत चीन, सिंगापुर, दक्षिण कोरिया लगायतबाट आएका पर्यटकहरूले नेपालमा नेपालपे क्यूआर स्क्यान गरी आफ्नै देशको डिजिटल वालेटमार्फत सजिलै भुक्तानी गर्न सक्ने छन् । ग्राहक अनुभवलाई थप सहज बनाउन बैंकले 'महालक्ष्मी स्मार्ट साथी' मोबाइल एप्लिकेसन पनि सार्वजनिक गरिसकेको छ । जसले डिजिटल बैंकिङ्ग सेवामा नयाँ परिष्कार ल्याएको छ ।
औद्योगिक विकास र रोजगारीमा टेवा : कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट
काठमाडौं । एसियन थाई फुड्सले लुम्बिनी प्रदेशको कपिलवस्तु नगरपालिका–६, गोबरी रामनगरमा दोस्रो उत्पादन युनिट सञ्चालनमा ल्याएको छ । बुधवार आयोजित विशेष समारोहमा जाजु ग्रुपका अध्यक्ष तथा कम्पनीका प्रबन्ध निर्देशक महेश जाजुले वैदिक विधिअनुसार पूजा गर्दै उक्त युनिटको औपचारिक शुभारम्भ गरे । यसअघि मोरङको विराटनगरमा पहिलो युनिट स्थापना गरिसकेको कम्पनीले दुई दशकको सफल अनुभवलाई आधार बनाएर कपिलवस्तुमा दोस्रो युनिट स्थापना गरेको हो । नयाँ युनिटबाट ‘प्रीति’, ‘टुपीएम’, ‘रमपम’ लगायतका लोकप्रिय चाउचाउ ब्रान्डका उत्पादन सुरु गरिने छ । साथै, केही नयाँ ब्रान्ड पनि उत्पादनमा ल्याउने योजना कम्पनीले सार्वजनिक गरेको छ । उत्पादन सामग्री भारतसहित तेस्रो मुलुकमा निर्यात गरिनेछ । सुरुआती चरणमा चाउचाउ उत्पादन केन्द्रित भए पनि आगामी दिनमा अन्य स्न्याक्स उत्पादन लाइनहरू थप्ने तयारी कम्पनीको रहेको छ । करिब अढाई बिघा क्षेत्रफलमा फैलिएको यस युनिटले लुम्बिनी प्रदेशमा रोजगारी सिर्जना र औद्योगिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
१० मेगावाट सौर्य परियोजना : सूचीकरण प्रक्रिया अघि बढाउँदै अर्गा भगवती
काठमाडौं । अर्गा भगवती भेन्चर्स र कुमारी क्यापिटल लिमिटेडबीच एक महत्वपूर्ण सहकार्य सम्झौता सम्पन्न भएको छ । जसअन्तर्गत अर्गा भगवतीको १० मेगावाटको नविकरणीय सौर्य ऊर्जा परियोजनालाई पूँजी बजारमा सूचीकरण गर्न आवश्यक सम्पूर्ण प्रक्रियाको परामर्श तथा व्यवस्थापन कुमारी क्यापिटलले वे टु लिस्टिङ कार्यक्रम अन्तर्गत प्रदान गर्नेछ । उक्त सम्झौता अनुसार कम्पनी कनभर्जनदेखि लिएर सार्वजनिक निष्कासन, नियामक निकायहरूसँगको समन्वय लगायतका सम्पूर्ण कार्यहरू कुमारी क्यापिटलले जिम्मा लिनेछ । अर्गा भगवतीले अर्घाखाँची जिल्लामा निर्माणाधीन १० मेगावाटको सौर्य परियोजना छोटो समयमा सम्पन्न गरी उत्पादनलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य लिएको जनाएको छ । कम्पनीले वातावरणीय शुद्धता र ऊर्जा आत्मनिर्भरता सँगसँगै आर्थिक समृद्धिमा योगदान पुर्याउने दाबी गरेको छ । यसअघि कम्पनीले प्राइम कमर्सियल बैंक लिमिटेडमार्फत वित्तीय व्यवस्थापन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । सहकार्य सम्झौतामा अर्गा भगवती भेन्चर्सका अध्यक्ष कुशल थापा र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्मा बीच हस्ताक्षर भएको हो ।