विकासन्युज

चीन-रसिया सहकार्यले दादा गिरी प्रवृत्ति रोक्ने, अन्तर्राष्ट्रिय न्यायको रक्षा गर्ने

काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्दै चिनियाँ राष्ट्रपति सी  जिनपिङले चीन र रसियाले विश्वका प्रमुख राष्ट्रका रूपमा विशेष जिम्मेवारी बहन गर्न तयार रहेको बताएका छन् । उनले हालको विश्व परिदृश्यमा एक पक्षीयता, शक्तिको राजनीति र दादा गिरीजस्ता प्रवृत्तिको विरोध गर्दै, दुवै देशले अन्तर्राष्ट्रिय न्याय, निष्पक्षता र संयुक्त राष्ट्रसंघको अधिकारको संरक्षण गर्न मिलेर काम गर्ने बताए ।  सीले चीन-रसिया सम्बन्धलाई इतिहासमा आधारित गहिरो मित्रता भएको भन्दै यसलाई नयाँ युगमा अझ सशक्त, स्थिर र दीर्घकालीन बनाइने बताए ।  उनले द्वितीय विश्वयुद्धको ८०औं वार्षिकोत्सवको सन्दर्भमा ऐतिहासिक तथ्यको रक्षा, विकासशील देशहरूको अधिकारको संरक्षण र समावेशी तथा समान विश्व व्यवस्था निर्माणमा चीन-रसिया मिलेर काम गर्ने प्रतिबद्धता जनाए । ​​​​​​ सीले ऊर्जा, व्यापार, कृषि, अन्तरिक्ष, कृत्रिम बौद्धिकता जस्ता क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिँदै, बेल्ट एण्ड रोड पहल र यूरेशियन आर्थिक संघबीच सहकार्यमार्फत उच्चस्तरीय पूर्वाधार विकास गर्नुपर्ने बताए ।  साथै, शिक्षा, संस्कृति, पर्यटन, चलचित्र, खेलकुदजस्ता जनस्तरका आदानप्रदानहरू बढाएर दुई देशबीचको सम्बन्ध अझ बलियो बनाइने उल्लेख गरे । चीन, चाहे जस्तोसुकै अन्तर्राष्ट्रिय परिस्थिति आए पनि आफ्ना कार्यहरू दृढताका साथ अघि बढाउने र रसीयासँग मिलेर अन्तर्राष्ट्रिय प्रणाली सुधार गर्ने दिशामा काम गर्नेछ।

४३.६१ प्रतिशत बढ्यो प्रभु महालक्ष्मीको जीवन बीमा कोष, नाफा २७ करोड ७ लाख रुपैयाँ

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा ०.६७ प्रतिशत बढेर २७ करोड ७ लाख २३ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतमा कम्पनीले २६ करोड ८९ लाख २० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको खुद बीमा शुल्क १७.८० प्रतिशत बढेर ३ अर्ब ४९ करोड २० लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले २ अर्ब ९६ करोड ४० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।  चैत मसान्तसममा कम्पनीको कुल बीमा शुल्क १६.९२ प्रतिशत बढेर ३ अर्ब ५८ करोड २५ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ६ करोड ४० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।  यस अवधिमा कम्पनीको खुद बीमा दाबी ३ अर्ब ३७ करोड ८० लाख रुपैयाँ भुक्तानी गरेको छ । गत वर्षको चैतमा कम्पनीले २ अर्ब ७८ करोड ३७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।  समीक्षा अवधिमा कम्पनीले ४ अर्ब ५४ करोड रुपैयाँ कुल आम्दानी गरेर ४ अर्ब २६ करोड रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले ३ अर्ब ८९ करोड रुपैयाँ कुल आम्दानी गरेर ३ अर्ब ६२ करोड रुपैयाँ कुल खर्च गरेको थियो ।  ४ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सेयर प्रिमियममा १ करोड ९३ लाख रुपैयाँ, महाविपत्ति कोषमा १० करोड ४७ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ७९ करोड ४५ लाख रुपैयाँ र अन्य इक्विटीमा ११ करोड ७१ लाख रुपैयाँ रहेको छ । कम्पनीको जीवन बीमा कोषको आकार ४३.६१ प्रतिशत बढेर १२ अर्ब ८० करोड १८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा कम्पनीको जीवन बीमा कोषमा ८ अर्ब ९१ करोड ४५ लाख रुपैयाँ थियो ।  समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ७.६४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२१.८९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७१.६९ गुणा रहेको छ ।   

टिओडी मिटरका आधारमा महसुल उठाउनुपर्ने, नियमन आयोगले विवाद छिनोफानो गर्ने हो: मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘डेडिकेटेड र ट्रङ्कलाइन’मा देखिएको विवाद समाधान गर्ने जिम्मेवारी विद्युत् नियमन आयोगको भएको बताएका छन् । विद्युत् नियमन आयोगको छैटौँ वार्षिकोत्सवका कार्यक्रममा मन्त्री खड्काले ‘टिओडी मिटर’का आधारमा विद्युत् महसुल उठाउनुपर्ने बताए ।  ‘टिओडी मिटरका विषयलाई लिएर धेरै विवाद भयो, तिर्नुपर्ने रकम नतिर्ने, विद्युत् प्राधिरकणले बक्यौता उठाउन नसक्ने, यसको छिनोफानो गर्ने जिम्मेवार निकाय आयोग हो । बिल ठीक छ की छैन भनेर हेर्ने निकाय विद्युत् नियमन आयोग नै हो,’ उनले भने ।  ऊर्जा क्षेत्रमा फैलिएको विचौलिया संस्कृति, कानुनी छिद्र प्रयोग गर्ने प्रवृत्ति र प्रशासनिक ढिलासुस्तीले समस्या भएको उनको भनाइ छ ।  ‘हिजो झोलामा खोला भन्ने प्रचलन थियो, अहिले त्यो मोडिफाइ भएको छ, १०० मेगावाट उत्पादन हुने आयोजना पाँच मेगावाटको दर्ता गरी थोरै पैसा तिरेर कानुनी छिद्र खोज्ने प्रवृत्ति देखिन्छ, अब यस्ता प्रवृत्तिमाथि निर्मम हुनुपर्छ,’ मन्त्री खड्काले भने ।  नियमन आयोगले गर्नुपर्ने थुप्रै काम रहेको भन्दै मन्त्री खड्काले उक्त कामलाई पूरा गर्न विज्ञ, निजी क्षेत्र र सम्बन्धित सबै निकायको साथ र सहयोग आवश्यक भएको बताउनुभयो । निजी क्षेत्रसँग हातेमालो गरेर अगाडि बढेमात्र देशको विकास हुने उनको भनाइ छ । ऊर्जा विकास मार्गचित्रको लक्ष्यलाई कार्यान्वयन गर्दै गर्दा आगामी १० वर्षमा ऊर्जा क्षेत्रमा ६४ खर्ब रुपैयाँसम्म लगानी परिचालन हुने भएकाले उक्त लगानीले पुल, विद्यालय, मोटरबाटो, निर्माण सामग्री, श्रमिकदेखि इञ्जिनियरसम्म सबैले रोजगारी पाउने मन्त्री खड्काले बताए । उनले बिचौलियाको संलग्नता र स्वार्थ नमिल्दा मिडियाबाजी गर्ने प्रवृत्तिप्रति गम्भीर चिन्ता थपिँदै गएको बताए । ‘सबै क्षेत्रमा विचौलिया छन्, नकारात्मक प्रचारबाजीसँग डराउनु हुँदैन, हामीले कानुनसम्मत रूपमा काम गर्नैपर्छ, उनले भने । अबको दशकलाई परिवर्तनको दशक बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने मन्त्री खड्काको भनाइ छ । ऊर्जा सचिव सुरेश आचार्यले सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले उक्त लक्ष्यलाई पूरा गर्न आयोगको भूमिका अझ बढेर गएको बताए । उत्पादक, प्रसारक र उपभोक्तालाई नियामक गर्न आयोगले अझै प्रभावकारी भूमिका खेल्नुपर्ने उनको भनाइ छ । विद्युत् नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धितालले आयोगले नेपालको विद्युत् क्षेत्रको दिगो विकासका लागि पारदर्शी, स्वतन्त्र ढङ्गले काम गर्दै आएको बताए । उनले विद्युत् विकासका क्षेत्रमा देखिएको समस्या समाधान गर्दै आयोग अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आयोगले एक वर्षमा धेरै उपलब्धि मूलक काम गरेको भन्दै आगामी दिनमा यसलाई निरन्तरता दिन आग्रह गरे । डेडिकेटेड तथा ट्रङ्कलाइन विवादलाई आयोगले निर्क्यौल गर्न समेत उनले आग्रह गरे ।  सरकारका पूर्वमुख्यसचिव विमल कोइरालाले निजी क्षेत्र ढिलै भए पनि विद्युत् विकासमा संलग्न हुनु खुसीको कुरा भएको बताए । विद्युत् नियमान आयोग र विद्युत् प्राधिकरणमा व्यापक सुधारको खाँचो रहेको उनको भनाइ छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) नेपालका अध्यक्ष गणेश कार्कीले सरकारले राखेको समृद्ध मुलुकको लक्ष्यलाई पुरा गर्न उर्जा क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए । उनले २३ महिनादेखि जलविद्युतको आईपीओ रोकिँदा व्यवसायीहरू समस्यामा परेको बताए । वर्तमान सरकारले नेपालको ऊर्जा क्षेत्रमा धेरै राम्रो काम गरेको उनको भनाइ छ । 

विदेशी मुद्रा अपचलन र राजस्व चुहावट, ३ करोड रुपैयाँ असुल र कैद सजायको माग

काठमाडौं । राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन र राजस्व चुहावटसम्बन्धी कसुरमा रुपन्देही र कपिलवस्तुका व्यवसायीमाथि मुद्दा दायर गरेको छ । विभागले कपिलवस्तुमा विदेशी मुद्रा अपचलन गरेको आरोपमा चार जनालाई र रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका-७ मा भाञ्जा स्टोर्स एण्ड हाउसका सञ्चालक बरकत अलि मियाँ विरुद्ध राजस्व चुहावटसम्बन्धी कसुरमा आज मुद्दा दायर गरिएको राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले जानकारी दिए ।  कपिलवस्तुको शुद्धोधन गाउँपालिका-६ बिमिहाका राजेशकुमार वर्मा, राकेशकुमार वर्मा, जङ्गबहादुर वर्मा (सोनार), मायादेवी गाउँपालिकाका-१ इमिलियाका हमीद मुसलमानबाट बरामद भएको भारतीय मुद्रा २१ लाख ३८ हजार रुपैयाँ नेपालसम्म ओसारपसार गर्दै गरेको अवस्थामा बरामद गरिएको जनाइएको छ । उनीहरू विरुद्ध विदेशी मुद्रा अपचलनसम्बन्धी कसुरमा अनुसन्धान  गरी कपिलवस्तु जिल्ला अदालतमा मुद्दा दायर गरिएको अधिकृत घिमिरेले जानकारी दिए । प्रतिवादीहरुका साथबाट बरामद ३४ लाख २४ हजार रुपैयाँ बिगो कायम गरी विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ (संशोधन सहित) को दफा १७ (१) बमोजिम हदैसम्मको जरिवाना र बरामद भएको प्रतिबन्धित भारतीय रुपैयाँ जफतको माग गरिएको छ । साथै उक्त रकम ओसारपसारमा प्रयोग गरिएको युपि ५५ एएम ०४५९ नम्बरको भारतीय गाडीसमेत नियन्त्रणमा लिइएकाले जफत गरी हदैसम्मको कारबाहीको माग गरिएको प्रमुख अनुसन्धान अधिकृत घिमिरेले जानकारी दिए । यस्तै बुटवल उपमहानगरपालिका-७ स्थित भाञ्जा स्टोर्स एण्ड हाउसका सञ्चालक मियाँविरुद्ध आजै राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधनसहित) को दफा २० (६) बमोजिम उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरिएको छ । मियाँ विरुद्ध मूल्य अभिवृद्धि कर असुल नगरेको, बिक्री बिजक जारी नगरी बिक्री गरेको तथा  कस्मेटिक्सजन्य मालवस्तुहरुको खरिद बिल बिजक तथा भन्सार पैठारीको स्रोतबिना चोरी पैठारी गरी ल्याइ बिक्रीवितरण गरेको कसुरमा मुद्दा दायर गरिएको उनले जानकारी दिए ।  मियाँविरुद्ध बिगोसहित ३ करोड ११ लाख ३२ हजार रुपैयाँ असुलउपर र हदैसम्मको कैद सजायको माग दाबी गरिएको छ ।

सार्वजनिक सम्पत्तिमा क्षति पुर्याए ५ लाख रुपैयाँ जरिवाना

काठमाडौं । सिरहाको नवराजपुर गाउँपालिकाले आफ्नै आर्थिक विधेयक, २०८१ बुधबारदेखि लागू गर्दै जथाभाबी फोहर गर्ने देखि सार्वजनिक जग्गा अतिक्रमण गर्नेसम्मलाई आर्थिक कारबाही गर्ने व्यवस्था गरेको छ । गाउँपालिकाले सार्वजनिक जग्गा, पोखरी अतिक्रमण गरी गैरकानुनी भोगचलन गर्ने, जथाभाबी फोहर फाल्ने, पशु चौपाया छाडा छाड्ने, सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने तथा अन्य कानुन विपरीतका कार्य गर्नेलाई जरिवाना र दण्ड सजायको व्यवस्था गरेको छ ।  गाउँपालिकाले सूचना जारी गर्दै आर्थिक विधेयक, २०८१ को अनुसूची १३ अनुसार, सार्वजनिकस्थल तथा सडकमा जथाभाबी फोहरमैला फालेमा ५ सय रुपैयाँदेखि २ हजार ५ सय रुपैयाँसम्म, छाडा छाडिएका पशु चौपायाले हानी नोक्सानी पुर्‍याएमा सो बराबरको क्षतिपूर्ति तिराउने व्यवस्था गरिएको छ ।  सार्वजनिक जग्गा अतिक्रमण गरेमा प्रथम पटक १० हजार रुपैयाँ र अर्को पटक १० हजार रुपैयाँदेखि  ५० हजार रुपैयाँसम्म जरिवाना लाग्ने उक्त सूचनामा उल्लेख छ । साथै सार्वजनिक जग्गा अतिक्रमण गरी भौतिक संरचना निर्माण गरेमा सो हटाउने खर्च सम्बन्धित व्यक्तिबाटै भराउने व्यवस्था गरेको छ । उनीहरुको आवास व्यवस्थापन नहुन्जेलसम्म बसोबास स्थलबाट नहटाउने अनुसूचीमा उल्लेख गरिएको छ । सार्वजनिक पोखरी अतिक्रमण गरी गैरकानुनी भोगचलन गरेमा र सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएमा ५० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म जरिवाना तोकिएको छ । गाउँपालिकाले व्यक्तिगत घटना दर्ता ३५ दिनभित्र गराउँदा निःशुल्क हुने र समय नाघेर दर्ता गराउनेलाई ५० रुपैयाँ जरिवाना गरिने व्यवस्था गरेको छ । गाउँपालिका क्षेत्रभित्र सार्वजनिक जग्गा र सडक अतिक्रमणको समस्या बढी भएको उल्लेख गर्दै गाउँपालिकाका अध्यक्ष शिव उद्‍गार यादवले लागू गरिएको यस आर्थिक कार्यविधिले यो समस्या समाधान हुने विश्वास व्यक्त गरे । 

आतङ्कवाद विरुद्धको लडाइँमा नेपाल सबै पक्षसँग उभिने, भारत-पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त

काठमाडौं । नेपाल सरकारले भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेको छ । भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणबाट एक नेपाली नागरिकसहित २६ भारतीय पर्यटकले ज्यान गुमाउनुपरेको थियो ।  उक्त घटना पश्चात् भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्तिमार्फत् चिन्ता व्यक्त गरेको हो । यस दुःखद घडीमा नेपाल र भारत साझा दुःख र पीडामा एकताबद्ध भई ऐक्यबद्धतामा उभिएका विज्ञप्तिमा उल्लेख छ । नेपालले सबै प्रकारका आतङ्कवाद विरुद्ध आफ्नो दृढ अडान अनुरूप उक्त बर्बर आतङ्कवादी हमलाको तत्काल र निस्सन्देह रूपमा भर्त्सना गरेको थियो ।  'आतङ्कवाद विरुद्धको लडाइँमा नेपाल सबै पक्षसँगै उभिएको छ । आफ्नो सैद्धान्तिक अडान अनुरूप, नेपालले कुनै पनि शत्रूतापूर्ण शक्तिलाई आफ्ना छिमेकी राष्ट्रहरू विरुद्ध आफ्नो भूमि प्रयोग गर्न दिने छैन,’ मन्त्रालयलको विज्ञप्तिमा उल्लेख छ ।  मन्त्रालयले उक्त तनाव कम हुने आशा गर्दै यस क्षेत्रमा दिगो शान्ति र स्थायित्वका लागि आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ ।

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि, ९ महिनादेखि अटेरी र बेवास्ता

काठमाडौं । म्याग्दीको राहुघाट बेसिनमा निर्माणको अन्तिम चरणमा पुगेका चारवटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय प्रणालीमा आबद्ध गराउन प्राविधिक हिसाबले त्रुटि पूर्ण प्रसारण लाइन बनाएका छन् । जलविद्युत् आयोजनाले डाँडाखेत-राहुघाट १३२ केभी क्षमताको भन्दा मुनी २२० केभी क्षमताको प्रसारण लाइनको तार पर्ने र दुइवटा प्रसारण लाइनको तारको दूरी मापदण्डभन्दा कम हुने गरेर ‘क्रसिङ’ बनाएका हुन् । रघुगङ्गा गाउँपालिका-३ पिप्लेमा उत्तरबाट दक्षिणतर्फ आउने आयोजनाको र पश्चिमबाट पूर्व दिशातर्फ जाने डाँडाखेत-राहुघाटको प्रसारण लाइन एकापसमा ‘क्रसिङ’ हुन्छ । प्राविधिक हिसाबले बढी क्षमताको प्रसारण लाइनको तार कम क्षमताको लाइनभन्दा माथि हुनुपर्छ । क्रसिङ हुने ठाउँमा १३२ केभीको लाइनको माथिल्लो तारदेखि २२० केभीको तलको तार बीचको दूरी चार दशमलव पाँच मिटर हुनुपर्ने मापदण्ड छ । म्याग्दी नदी र सहायक खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युतलाई केन्द्रीय ग्रिडमा जोड्न नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका-७ डाँडाखेतबाट रघुगङ्गा गाउँपालिका-३ अम्बाङ जोड्ने २५ किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेसन निर्माण अन्तिम चरणमा पुर्याएको छ । डाँडाखेत-राहुघाट प्रसारण लाइनको ‘एपीटु’ र ‘एपीथ्री’ नम्बरको टावरको बीचमा जलविद्युत् आयोजनाले बनाएको प्रसारण लाइन क्रसिङ हुन्छ । सन् २०२१ देखि निर्माण सुरू भएको डाँडाखेत-राहुघाट प्रसारण लाइन निर्माणमा ढिलाइ भएपछि एक सय ३० दशमलव आठ मेगावाट क्षमताका चारवटा आयोजनाले अम्बाङको सबस्टेशनका विकल्पमा २२० केभी क्षमताको दाना-खुर्कोट प्रसारण लाइनमा जोड्न पिप्लेबाट तिल्केनीचौरसम्म वैकल्पिक प्रसारण लाइन बनाएका हुन् ।​​​​​​​ राहुघाट बेसिनमा ३७.५ मेगावाटको चिमखोला-राहुघाट-मङ्गले, ४८.५ मेगावाटको अपर राहुघाट, २१.३ मेगावाटको ठूलोखोला र २३.५ मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना परीक्षण उत्पादनको तयारीमा छन् । डाँडाखेत-राहुघाट प्रसारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले जलविद्युत् आयोजनाहरूले समन्वय नगरी मापदण्डविपरीत जथभावी टावर बनाएर प्राविधिक हिसाबले त्रुटि पूर्ण प्रसारण लाइन बनाएका बताए । ‘जलविद्युत् आयोजनाले हाम्रो लाइन मुनी बनाएको लाइन हटाउन नौ महिनादेखि पत्राचार गरे पनि अटेरी र बेवास्ता गरेका छन्,’ उनले भने, ‘१३२ केभीभन्दा माथि तार पर्ने गरेर अर्को टावर बनाएर लाइन तान्ने सहमति पनि कार्यान्वयन नगर्दा उनीहरूलाई समस्या पर्ने अवस्था आएको हो ।’ यस विषयमा ठूलोखोलाका प्रतिनिधि गोपाल निउरे, अपर राहुघाट र चिमखोला-मङ्गले-राहुघाटको प्रवर्द्धक तुदी पावरका प्रतिनिधि इन्द्र ढकाल सम्पर्कमा आएनन् । तुदी पावरका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाले सहमतिअनुसार १३२ केभीको भन्दा २२० केभीको तार माथि पर्ने गरेर अग्लो टावर बनाउने तयारी गरेको प्रतिक्रिया दिए ।

देशका पहाडी भागमा बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । मुलुकका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपात पनि हुन सक्ने छ ।