पुँजीगत लाभकरको दर परिवर्तन गर्न आईक्यानका ५ सुझाव
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था (आईक्यान)ले नेपालमा वैदेशिक लगानी भित्र्याउन आयकर ऐन २०५८ का विभिन्न ५ वटा व्यवस्थामा परिवर्तन गर्नुपर्ने सुझाव दिएको छ । आईक्यानले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत आयकर ऐन २०५८ मा नेपालमा लगानी गर्ने विदेशी कम्पनीलाई १५ प्रतिशत मात्रै पुँजीगत लाभकर लगाउनुपर्ने सुझाव दिएको हो । सरकारले विदेशी लगानी भित्र्याउन लगानी सम्मेलनदेखि विदेशी लगानीका कम्पनीहरूको दर्ताको लागि एकद्वार प्रणाली लागू गर्ने, लगानी बोर्डको गठन महत्त्वपूर्ण प्रयासहरू गरेको छ । तर पनि पछिल्लो ५ वर्षको अवधिमा औसत वार्षिक ४ अर्ब हाराहारी मात्रै विदेशी लगानी भित्रिरहेको देखिन्छ । तर, सोही अवधिमा बंगलादेश र श्रीलंकामा वार्षिक औसत क्रमश: ३ खर्ब र १.५ खर्ब रुपैयाँ बराबर विदेशी लगानी भित्र्याइरहेका छन् । जबकी नेपाल जस्तै अल्पविकसित एसियाली राष्ट्र लाओस, कम्बोडिया, अफगानिस्तान, म्यानमारले नेपालको भन्दा धेरै विदेशी लगानी भित्र्याइरहेका छन् । आईक्यानका अनुसार विदेशी लगानीमैत्री कर प्रणाली नहुनु, विदेशी लगानीबाट आर्जित मुनाफा फिर्ता लैजाने तथा लगानीकर्ताले चाहेको बेलामा लगानी समेत फिर्ता लाने प्रक्रिया झन्झटिलो हुँदा वैदेशिक लगानी आउन नसकेको आईक्यानले जनाएको छ । ‘नेपालको करको दर दक्षिण एसियाली मुलुकहरूको दाँजोमा धेरै फरक छैन । तर, दक्षिण पूर्वीय राष्ट्रहरूको तुलनामा औसतमा १० प्रतिशत विन्दुले बढी छ । नेपालमा गरेको लगानीलाई बिक्री गर्दा लाग्ने पुँजीगत लाभकरको दर दक्षिण एसियामै सबैभन्दा बढी छ,’ आईक्यानले बजेटमा सुझाव दिँदै भनेको छ, ‘विदेशी लगानीकर्ताले गरेको लगानी निसर्ग गर्दा लाग्ने करलाई धेरै महत्त्वका साथ लिने गर्दछन् । विदेशी कम्पनी वा गैरवासिन्दा व्यक्तिले नेपालमा रहेको उसको लगानी बिक्री गर्दा २५ प्रतिशत लाभकर लाग्ने व्यवस्था छ । साथै आयकर ऐनले लाभकर गणना गर्दा मुद्रास्फीतिको समायोजन गर्ने व्यवस्था गरेको छैन । त्यसैले नेपालको लाभकरको दर अन्य राष्ट्रको तुलनामा धेरै छ ।’ आईक्यानका अनुसार भारतमा दीर्घकालीन लगानीको लाभकर १० प्रतिशत र अल्पकालीन लगानीको लाभकर २० प्रतिशत तोकिएको छ । यस्तै, म्यानमारमा १० प्रतिशत, मलेसियामा १० प्रतिशत, भियतनाममा २० प्रतिशत, मंगलादेशमा १५ प्रतिशत, पाकिस्तानमा ६ वर्षभन्दा बढीको लगानीमा लाभकर नलाग्ने र सोभन्दा कम समयको लगानीमा लाभकर १५, १२.५, १०,७५, ५ वा २.५ प्रतिशत, चीनमा २० प्रतिशत र सूचीकृत संस्थाको लगानीमा लाभकर नलाग्ने र जापानमा १५ प्रतिशत तोकिएको छ । नेपालमा ५० प्रतिशत वा सोभन्दा बढी स्वामित्व परिवर्तन हुँदा सम्बन्धित निकायलाई समेत दफा ५७ अन्तर्गत आयकर लाग्ने अवस्था रहेको छ । बहराइन, सिंगापुर, जमैका, न्यूजील्याण्डजस्ता धेरै देशमा लाभकर लाग्दैन । यसर्थ नेपालमा लाभकर, अन्तर्राष्ट्रिय अभ्यासभन्दा धेरै रहेको देखिन्छ । यो विदेशी लगानीको प्रमुख बाधक रहेकाले पुनरावलोकन आवश्यक रहेको आईक्यानको सुझाव छ । आईक्यानले आयकर ऐन २०५८ को दफा ९५ क को उपदफा २ (क) र (ख) लाई संशोधन गर्दै अन्यको हकमा लाभ रकमको १५ प्रतिशतका दरले लाग्ने व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ । नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको तथा नभएको निकायको हितको निःसर्गबाट प्राप्त भएको हकमा धितोपत्र विनिमय बजारको कार्य गर्ने निकायले बासिन्दा प्राकृतिक व्यक्तिको हकमा ३६५ दिनभन्दा बढि अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकममा ७.५ प्रतिशत, बासिन्दा निकायको हकमा लाभ रकमको १० प्रतिशत र अन्यको हकमा लाभ रकमको २५ प्रतिशतका दरले लाग्ने व्यवस्था छ । उक्त व्यवस्थालाई संशोधन गर्दै अन्यको हकमा लाभ रकमको १५ प्रतिशतका दरले लाग्ने व्यवस्था गर्नुपर्ने आईक्यानले सुझाएको हो । यसका साथै आयकर ऐन २०५८ को अनुसूची १ को दफा २ मा उपदफा ९ थप्न आईक्यानले सुझाव दिएको छ । आईक्यानका अनुसार सो व्यवस्थामा प्रचलित कानुन बमोजिम दर्ता भई धितोपत्रको खरिद-बिक्रीको कारोबार गर्ने बासिन्दा निकायबाहेक अन्य कुनै निकायलाई कुनै बासिन्दा निकायमा रहेको हितको निसर्गबाट लाभ हुन गएमा दफा ३७ बमोजिम गणना गरिएको त्यस्तो लाभमा कर लग्नुपर्नेछ । धितोपत्र बोर्डमा सूचीकृत भएको निकायको हितको निसर्गबाट प्राप्त लाभको हकमा ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभको रकममा १५ प्रतिशत र ३६५ दिन भन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभको रकममा २० प्रतिशत, धितोपत्र बोर्डमा सूचीकृत नभएको निकायको हितको निसर्गबाट प्राप्त लाभको हकमा ३६५ दिन भन्दा बढि अवधि स्वामित्वमा रहेको हितको लाभको रकममा २० प्रतिशत र ३६५ दिन भन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभको रकममा २५ प्रतिशत हुनुपर्ने आईक्यानको सुझाव छ । आयकर ऐन, २०५८ को अनुसूची १ को उपदफा (८) गैरबासिन्दा प्राकृतिक व्यक्तिको कुनै आय वर्षको करयोग्य आयमा २५ प्रतिशतको दरले कर लाग्नेछ । तर, गैरवासिन्दा प्राकृतिक व्यक्तिको हकमा बोर्डमा सूचीकृत भएको निकायको हितको निसर्गबाट प्राप्त लाभको हकमा ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभको रकममा १५ प्रतिशत र ३६५ दिन भन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभको रकममा २० प्रतिशत र सूचीकृत नभएको निकायको हितको निसर्गबाट प्राप्त लाभको हकमा ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभको रकममा २० प्रतिशत र ३६५ दिन भन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभको रकममा २५ प्रतिशत । दफा ६७ मा नेपालमा रहेको सम्पत्ति भन्नाले जग्गा जमिन वा भवनहरू, गैरबासिन्दा व्यक्तिको बासिन्दा निकायमा रहेको हित तथा बासिन्दा व्यक्तिको कुनै विदेशी राष्ट्रमा रहेका जग्गा जमिन वा भवन बाहेकका सम्पत्ति वा सो व्यक्ति दफा ६९ बमोजिम नियन्त्रित विदेशी निकायसँग सम्बद्ध रहेमा सो निकायमा रहेको निजको हितसमेत सम्झनु पर्ने व्यवस्था राख्नुपर्ने उल्लेख छ ।
नगरकोटमा दुई दिने सहकारी पत्रकारिता तालिम सुरु
काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) र सहकारी विभागको सहकार्यमा नगरकोटमा सहकारी पत्रकारिता तालिम सुरु भएको छ । समाजले सहकारी क्षेत्रमा कलम चलाउने २५ जना सहकारी पत्रकारका लागि दुई दिने सहकारी पत्रकारिता तालिम सुरु गरेको हो । समाजका अध्यक्ष काजी श्रेष्ठको संयोजकत्वमा सुरु भएको प्रशिक्षण कार्यक्रममा सहकारीको सैद्धान्तिक एवं कानुनी आधार, कार्यान्वयन तथा व्यवहारिक पक्ष, आर्थिक तथा सहकारी पत्रकारिता र वित्तीय क्षेत्रको नियामनको विषयमा विभिन्न प्रशिक्षकहरूले प्रशिक्षण गर्नेछन् । शुक्रबार सुरु भएको प्रशिक्षण कार्यक्रममा पहिलो सेसनअन्तर्गत सहकारी विभागका उपरजिष्ट्रार शशिकुमार लम्साल र दोस्रो सेसनअन्तर्गत समाजका संस्थापक अध्यक्ष यादव हुमागाईंले प्रशिक्षण गरेका छन् । लम्सालले सहकारीको सैद्धान्तिक तथा कानुनी आधार र त्यसको कार्यान्वयन तथा व्यवहारिक पक्षको विषयमा प्रशिक्षण गरेका थिए । उनले सहकारी विभागले हाल गर्दै आएका काम कारवाही विभिन्न कानुनी अड्चनसँगै सहकारीको वर्तमान स्थिति र सहकारीमा सम्पत्ति शुद्धिकरण लगायत विषयमा प्रशिक्षण गरेका छन् । यस्तै, सहकारी पत्रकारिताको सम्भावना, भूमिका र चुनौतीको विषयमा प्रशिक्षण दिँदै हुमागाईंले पत्रकार र सञ्चार माध्यमले सहकारी बिटलाई दिने प्राथमिकता, यसको दायरा तथा सीमा, समाचारका विषयवस्तु र अवसरका विषयमा पनि जानकारी गराएका छन् । यस्तै, शनिबार आर्थिक पत्रकारिताका विषयमा नेपाल आर्थिक पत्रकार संघका निवर्तमान अध्यक्ष मोदनाथ ढकालले प्रशिक्षण दिनेछन् भने नेपाल राष्ट्र बैंकले सहकारी संस्थाका लागि जारी गरेको मापदण्ड तथा निर्देशन, सहकारीमा राष्ट्र बैंकको नियमन तथा सुपरीवेक्षण लगायतका विषयमा राष्ट्र बैंकका निर्देशक इन्द्रा चम्लागाईंले प्रशिक्षण दिनेछिन् । सीजेएनले विभागको सहकार्यमा आफ्ना सदस्यहरुको सीप विकास तथा क्षमता अभिवृद्धिका लागि हरेक वर्ष प्रशिक्षण तथा.तालिम आयोजना गर्दै आएको छ ।
नेपाल लाइफले खोल्यो इन्भेष्टमेन्ट कम्पनी, ५ अर्बको लगानी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो पूर्ण स्वामित्वमा स्थापना गरिएको सहायक कम्पनी ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेड’ को औपचारिक शुभारम्भ गरेको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघाई र नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले संयुक्त रूपमा कम्पनीको केन्द्रीय कार्यालय उद्घाटन गरे । नेपाल लाइफले पाँच अर्ब रुपैयाँको लगानीमा सहायक कम्पनीका रूपमा नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी स्थापना गरेको हो । बीमा बजारमा २५ वर्षमा प्रवेश गर्दै गरेको अवसरमा कम्पनीले यो नयाँ यात्रा सुरु गरेको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघाईले नेपाल लाइफले २५ औं वर्ष प्रवेश गर्दै गर्दा सर्वाधिक विश्वासिलो र करिव ३० प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको बताएका छन् । नेपाल लाइफले प्रत्येक परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्न जीवन बीमाको माध्यमबाट महत्वपूर्ण भूमिका खेल्दै आएको छ भन्दै उनले उच्च प्रतिफल प्रदान गर्न तथा बजारका चुनौतीहरूलाई न्यूनीकरण गर्न कम्पनीले नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी स्थापना गरिएको बताए । ‘लगानी विविधिकरण हाम्रो मूल उद्देश्य हो, यही उद्देश्यका साथ हामीले सहायक कम्पनी स्थापना गरेका हौं,’ उनले स्पष्ट पारे । संघाईले नियामक निकायका नियमहरू अनुसार अगाडि बढ्दै कम्पनीले स्थापना गरेको नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीले उदाहरणीय कम्पनीको रूपमा आफूलाई स्थापित गर्न सक्ने विश्वास व्यक्त गरे । साथै, संस्थागत सुशासन कायम राख्दै उच्चतम प्रतिफल प्रदान गर्न सकिनेमा पनि उनले आशा व्यक्त गरे । नेपाल लाइफ इन्स्योरेन्सले लगानीको विविधिकरण गर्दै सुरु गरेको नयाँ प्रयासप्रति नेपाल बीमा प्राधिकरणले प्रशंसा व्यक्त गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले उक्त प्रयासलाई बीमा क्षेत्रको दीर्घकालीन सुदृढीकरणका लागि एक महत्त्वपूर्ण कदम भएको बताएका छन् । कार्यक्रममा सम्बोधन गर्दै सुवेदीले जनताको बचत र सम्पत्तिबाट संकलित बीमा कोषको सही संरक्षण र सदुपयोग बीमा कम्पनीहरूको गम्भीर जिम्मेवारी भएको उल्लेख गरे । नेपाल लाइफद्वारा स्थापना गरिएको लगानी कम्पनीमार्फत ५ अर्ब रुपैयाँको अतिरिक्त लगानी जिम्मेवारी उठाउनु सकारात्मक भए पनि चुनौतीपूर्ण रहेको भन्दै उनले भने, 'यो रकम स्थिर राख्न मिल्दैन, यसलाई वृद्धि गर्नुपर्छ । यसको लागि उत्कृष्ट उपकरण, नवीनतम प्रविधि र रणनीति आवश्यक पर्छ ।' कम्पनीका सञ्चालक समितिका सदस्य कमलेशकुमार अग्रवालले नेपाल लाइफ इन्स्योरेन्स विगत २५ वर्षको अवधिमा देशकै उत्कृष्ट बीमा कम्पनीको रूपमा स्थापित भइसकेको उल्लेख गर्दै, लगानीकर्तादेखि बीमित र कर्मचारीसम्म सबैको योगदानले कम्पनीलाई यो स्थानमा पु¥याएको बताए । उनका अनुसार नेपाल लाइफले हालसम्म २ खर्ब २५ अर्ब रुपैयाँको जीवन बीमा कोष निर्माण गरिसकेको छ । कम्पनीसँग हाल १७ लाखभन्दा बढी बीमित र १ लाख ८६ हजार लगानीकर्ता रहेका छन् । कम्पनीले आगामी पाँच वर्षभित्र जीवन बीमा कोष ५ खर्ब रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ । उक्त लक्ष्य हासिल गर्न र बीमित तथा लगानीकर्तालाई अझ उत्कृष्ट प्रतिफल दिन ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी’ स्थापना गर्नु अपरिहार्य रहेको अग्रवालले बताए । नेपाल लाइफको मुख्य उद्देश्य बीमा सेवा प्रदान गर्नु हो भने उच्च प्रतिफल सुनिश्चित गर्न विशेषज्ञ र विशिष्टीकृत संस्था आवश्यक भएको अग्रवालको भनाइ छ । नयाँ लगानी कम्पनीमार्फत कम्पनीले रियल इस्टेट, कृषि, पर्यटन, होटल, केवलकार, नविकरणीय ऊर्जा, जलविद्युत्, सौर्य ऊर्जा लगायतका क्षेत्रमा लगानी गर्न सक्नेछ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो साढे दुई दशकको यात्रा पार गर्दै बीमा बजारमा मार्केट लिडरको रुपमा स्थापित भइसकेपछि, अब संस्थागत रुपमा लगानी विविधिकरणलाई थप गति दिन ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी’ स्थापना गरिएको प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले प्रष्ट पारेका छन् । उनका अनुसार लगानी एक पटकमा हुने प्रक्रिया होइन, जहाँ जोखिम पनि सँगै आउँछ । त्यसैले लगानीको राम्रो व्यवस्थापन, नियमित अनुगमन र सटिक निर्णयको लागि छुट्टै दक्ष जनशक्ति र विशेषज्ञ टिम आवश्यक हुने देखिएपछि कम्पनीले छुट्टै संस्था स्थापना गरेको हो । नेपाल लाइफले हेटौंडा र इटहरीमा भवन निर्माणका लागि आवश्यक जग्गा खरिद भइसकेको र विराटनगरमा पनि प्रक्रिया अगाडि बढिरहेको उनले जानकारी दिए । यस आर्थिक वर्षभित्र कम्तीमा ६ स्थानमा जग्गा खरिदको योजना रहेको उनले बताए ।
नेपालमा नोबेल ब्राण्डको औपचारिक सुरुवात
काठमाडौं । होम एप्लायन्सेस प्रदायक नोबेल इलेक्ट्रोनिक्स नेपाल र एनबीएससीले नेपालमा नोबेल ब्राण्डको औपचारिक सुरुवात गरेको छ । दक्षिण एसियामा पहिलो पटक प्रवेश गरेको मेजर एण्ड स्मल डोमेस्टिक एप्लायन्स, कन्जुमर इलेक्ट्रोनिक्स एप्लायन्स र बिल्ट-इन एप्लायन्सहरूको उत्पादनमा परिचित ब्राण्ड हो । नोबेलका ब्राण्डले २६ भन्दा बढी देशहरुमा आफ्ना उपभोक्तालाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको कम्पनीको दाबी छ । ‘परिवारलाई एकसाथ ल्याउने’ नारासहित नोबेलले सधैं गुणस्तर,भरपर्दो सेवा र उपभोक्ताको सन्तुष्टिलाई प्राथमिकता दिने गरेको नोबेल इलेक्ट्रोनिक्सकी महाप्रबन्धक सञ्चिता कार्कीले जानकारी दिइन् । उनले आधुनिक परिवारको आवश्यकता पूरा गर्ने अत्याधुनिक प्रविधि, भरपर्दो सेवा र उचित मूल्य संयोजन गर्ने दाबीसमेत गरे । नोबेल होम एप्लायन्सेस विश्वभर २६ भन्दा बढी देशहरूमा आफ्ना उपभोक्तालाई गुणस्तरीय, भरपर्दो सेवा र नवप्रवर्तनका रूपमा परिचित छ ।
पौडी पोखरीमा पानीको गुणस्तर सुनिश्चित गरेर खुला गर्न कामपाको निर्देशन
काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजु पौडी पोखरीमा पानीको गुणस्तर सुनिश्चित गरेर मात्र खुला गर्न र इनडोर पोखरी बनाउन निर्देशन दिएको छ । आज कामपाको उपप्रमुख सुनिता डङ्गोलले उक्त पोखरीको अनुगमन गर्दै निर्देशन दिएका हुन् । पौडी पोखरी, उद्यानको पूर्वाधार, त्यस क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यावरणीय अवस्थाको सुधारसँगै बालाजुलाई उत्कृष्ट गन्तव्य बनाउने काम एकैसाथ अगाडि बढाइने उनको भनाइ छ । शहरी योजना आयोगका उपाध्यक्ष डा सुमननरसिंह राजभण्डारीका अनुसार उद्यानको गुरुयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । 'पुनःनिर्माणको पहिलो चरणमा १८ लाख लिटर पानी अट्ने क्षमता भएको ५० मिटर लम्बाइ र १८ मिटर चौडाइ भएको पोखरी बनाइएको हो', पुनःनिर्माण कार्यका बारेमा जानकारी दिँदै सार्वजनिक निर्माण विभागका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठले भने, 'पौडीपोखरी गहिराइ ३ फिटदेखि १० फिटसम्म छ । पोखरी पुनःनिर्माणसँगै पानी प्रशोधन प्लान्ट, शुद्धीकरण प्लान्ट, १५० जना क्षमताको दर्शक बस्ने ठाउँ निर्माण गरिएको छ ।' पौडी सञ्चालन गर्न सङ्घसँग सम्झौता पौडी पोखरी सञ्चालन गर्न कामपाले उद्यान तथा हरियाली प्रवर्द्धन आयोजनाले नेपाल पौडी सङ्घसँग सम्झौता गरेको छ । सम्झौताबमोजिम सङ्घले एकजना वरिष्ठ जीवनरक्षक, एकजना महिला अनिवार्यसहित तीनजना जीवनरक्षक, एकजना पानी प्रशोधन प्राविधिकसहित पाँचजना जनशक्ति उपलब्ध गराउने छ । कामपाले तोकेको पोखरी सञ्चालन हुने दिनमा सेवाग्राही आउनुभन्दा १० मिनेट अगाडि नै जनशक्ति पोखरीमा पुगिसक्नुपर्नेछ । समय सकिएपछि कार्यालय प्रमुखलाई दैनिक कामको विवरण दिएर फर्किनु पर्नेछ । धार्मिक तथा प्राकृतिक दुवै कोणबाट पवित्र मानिने नागार्जुन डाँडाको फेदमा बालाजु बाइसधारा उद्यान छ । मन्नादी देवीसँगै उद्यान क्षेत्रमा शीतलामाई देवी, बुद्ध, गणेश, रत्नचुडेश्वर महादेवको मन्दिर तथा उद्यानको पूर्वतिर रहेको सानो कुण्डका शेषनागमाथि सुतेका बालनीलकण्ठ रहेका छन् । उद्यान १५८ रोपनी क्षेत्रफलमा फैलिएको छ । तत्कालीन राजा जयप्रकाश मल्लको पालामा २१ वटा धारा निर्माण भएका थिए । पछि रणबहादुर शाहले बीचको एउटा ठूलो धारा निर्माण गराएपछि यसको नाम बाइस धारा रहन गएको हो । विसं २०१८ सालमा राजा महेन्द्रको पालामा बालाजु बाइसधारा उद्यान निर्माण गरिए पनि २०२१ सालदेखि सर्वसाधारणलाई खुला गरिएको हो । विसं २०७२ को भूकम्पले पोखरीको चर्किएपछि चुहिने भएको थियो । रासस
काठमाडौं महानगरबाट ५२ हजारभन्दा बढीले लिए निःशुल्क कानुनी सेवा
काठमाडौं । काठमाडौं महानगरपालिकाबाट हालसम्म ५२ हजार ७४० जनाले निःशुल्क कानुनी सेवा लिएका छन्। कानुन दिवसका अवसरमा विशेष अदालतले आज यहाँ आयोजना गरेको कार्यक्रममा उपप्रमुख सुनिता डङ्गोलले कानुनी सेवालाई सबैका लागि पहुँचयोग्य र सर्वसुलभ बनाउनुपर्छ भन्ने उद्देश्यसहित महानगरले निःशुल्क कानुनी सेवा दिँदै आएको बताए। उनले भने, ’कानुनी राज्य स्थापना गर्न कानुनी सेवालाई सबैको पहुँचमा पु¥याउनुपर्छ । यसैका लागि हामीले निःशुल्क कानुनी सेवाको सुरुआत गरेका छौं । हालसम्मको तथ्याङ्कअनुसार ५२ हजारभन्दा बढीलाई सेवा दिएका छौं ।’ उपप्रमुख डङ्गोलले महानगरले हालसम्म ८३ पटक सुनुवाइ गरी ६८५ वटा विवादमध्ये ३२६ वटा निर्णय गरिसकेको र ९० वटा मेलमिलापबाट समाधान गरिएको जानकारी दिए । उनले निःशुल्क कानुन सेवासँगै काठमाडौँमा मेलमिलापको सङ्ख्यामा पनि वृद्धि भएको जानकारी दिए । ’हामीले कानुनी सेवालाई पहुँचयोग्य बनाउन ३२ वटै वडामा मेलमिलाप केन्द्र र महिला सञ्जालको स्थापना गरेका छौं । लैङ्गिकताका आधारमा हुने हिंसालाई सम्बोधन गर्न, सरल, सहज अनि समयमै न्यायको अनुभूति गर्ने अवस्था बनोस् भनेर सञ्जाल बनाएका छौं । जसका कारण न्यायका लागि न्यायिक समितिसम्म पुग्नुुपर्ने अवस्था अन्त्य भएको छ ।’ उपप्रमुख डङ्गोलले कानुनबारे अझै पनि अनभिज्ञ रहेको भन्दै नागरिकसम्म पहुँच पुग्नेगरी अघि बढ्न आवश्यक रहेको उल्लेख गरे । उनले संविधानको भाग–७ को धारा २१७ मा स्पष्टसँग न्यायिक समितिको परिकल्पना गरेको भन्दै न्यायिक समितिलाई अझै फराकिलो र बलियो बनाएर लैजानुपर्नेमा जोड दिए ।
डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह
काठमाडौं । पानी पर्न थालेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढ्नेसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जम्मा भएको पानीले डेङ्गी सङ्क्रमण बढाउने खतरा रहेकाले सतर्क रहन आग्रह गरेका हुन् । उनले भने, 'पानी जम्मा हुँदा त्यसमा डेङ्गी सार्ने लामखुट्टेको विकास हुने गर्दछ । यसका लागि १५ देखि २० दिन लाग्छ । त्यसैले अबको १५ देखि २० दिन डेङ्गी सङ्क्रमण हुने खतरा रहेको छ । सबैले आवश्यक सतर्कता अपनाउन आग्रह छ ।' पानी जम्ने ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोकेर डेङ्गी रोग लाग्ने गर्दछ । शाखा प्रमुख डा दाहालले गत वर्ष धेरै डेङ्गी सङ्क्रमण भएका ३५ स्थानीय तहमा सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न पत्राचार गरिसकिएको बताए । उनका अनुसार पुस १७ यता ९६८ जनामा सङ्क्रमण देखिएको छ । सन् २०२४ मा देशका ७६ जिल्लामा डेङ्गी सङ्क्रमण फैलिँदा ४१ हजार ८६५ सङ्क्रमित र १५ जनाको मृत्यु भएको थियो ।
नाडाको पहलमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी दुई दिने तालिम सम्पन्न
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले ‘इन्स्योर’ परियोजनासँगको सहकार्यमा वैशाख २४ र २५ गते ललितपुरमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी दुई दिने तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त तालिमको उद्देश्य अटोमोबाइल वर्कशपहरूमा कार्यरत प्राविधिक तथा कर्मचारीहरूलाई सुरक्षा, स्वास्थ्य र कल्याणका विषयमा व्यवहारिक चेतना र दक्षता विकास गराउनु रहेको थियो । कार्यक्रममा जोखिम व्यवस्थापन, कार्यस्थलका संभावित जोखिमहरू, रोकथामका उपायहरू र अटोमोबाइल उद्योगमा सुरक्षा संस्कृति निर्माण जस्ता विषयमा विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो । नाडाका १२ सदस्य कम्पनीबाट २० जना प्रशिक्षार्थी सहभागी भएका थिए । तालिममा ओएसएच विज्ञ दिनेशप्रसाद साहले प्रशिक्षण दिएका थिए । नाडाले इन्स्योर परियोजनासँग सहकार्यमा यस्तो किसिमको तालिम पहिलो पटक आयोजना गरेको हो, यद्यपि दुई वर्षदेखि विभिन्न विषयमा तालिम आयोजना गर्दै आएको छ । तालिमको समापन समारोहमा नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल र इन्स्योर परियोजनाका डेपुटी टिम लिडर सञ्जिव कुमार राईले सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा नाडाका केन्द्रीय सदस्य प्रदीपमान प्रधान, इन्स्योरका निजी क्षेत्र संलग्नता विशेषज्ञ लोक राज जोशी, र तालिम समन्वयकर्ता आरजु श्रेष्ठको सक्रिय भूमिका रहेको थियो । नाडाले यो तालिमलाई आफ्नो सामाजिक उत्तरदायित्वको अभिव्यक्तिका रूपमा लिएको जनाएको छ ।