वन नास गरेर होइन, संरक्षण गरेर विकास सम्भव छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैज्ञानिक वन व्यवस्थापनका नाममा सालघारीको सर्पट फडानी हुने क्रमलाई कडाइका साथ रोकिने बताएका छन् । वन तथा वातावरण मन्त्रालयद्वारा शनिबार आयोजित दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालको सालघारी प्रकृतिको अनुपम उदाहरण भएको र पानी पार्नका लागि यस्ता अग्ला रुखहरूको महत्व हुने भएकाले उमेर नपुगेसम्म साललाई व्यावसायिक उपयोगमा लान नहुने बताए । 'हरियो वन नेपालको धनको नारा पुरानै भए पनि धनको रुपमा वनको सदुपयोग भएको थिएन तर अहिले हामीले एउटा संकल्प लिएका छौँ किन वनको विनास हुन नदिएर सौर्यमण्डलको सार्थकताका लागि वन संरक्षण गरेर कसरी उपयोग गर्न सकिन्छ भनेर लागेका छौँ', प्रधानमन्त्री ओलीले भने, 'वन क्षेत्रको संरक्षण हामीले बढाएका छौँ । अब यसको विस्तार गर्नमा भन्दा उत्पादनमा जानुपर्छ । वनको व्यावसायिक उपयोगका लागि हतार पनि नगर्ने र ढिलो पनि नगर्ने नीति लिनुपर्छ ।' हाल नेपालमा हाल ४६ प्रतिशत वनको भाग रहेको छ । प्रधानमन्त्री ओलीले आफूहरु प्राकृतिक र जीवनमय देशमा हुर्केको उल्लेख गर्दै यो विश्व वातावरणका लागि पनि योगदानको विषय भएकाले अब वन सबलीकरण गर्ने र बुट्यानहरुलाई पनि सघन वनमा रुपान्तरण गर्नुपर्नेमा जोड दिए । कृषि वनको अधिकृत मिलेर फलफूल खेतीमा जोड दिन सकिने भन्दै उनले हिमाली भेगमा प्रशस्त जैतुनको खेती गर्न सकिने भएकाले क्षेत्रवादी नभई एकार्का क्षेत्रलाई सहयोगी हुन आग्रह गरे । उनले किसानहरूलाई पशुपालनजस्ता कुराहरूमा प्रेरित गर्दा नवीकरणीय वनलाई सहयोग हुने र चरिचरणको विस्तार गर्दा वन र कृषिको पर्यावरणलाई जोड्न सकिने बताए । 'मैले बाघको संख्या अब बढाउनु पर्दैन भन्दा वातावरणविरोधी भयो भनेर नबुझीकन टिप्पणी पनि गरियो । बाघले कानुनको किताब पढेको हुँदैन । उसले भोक लागेर खाना नपाएपछि मान्छेलाई आक्रमण गर्छ । फोटाका बाघ हेरेर यसले केही गर्दैन भनेर हुँदैन' प्रधानमन्त्री ओलीले भने, 'हामीले अन्तर्राष्ट्रिय प्रतिबद्धताबमोजिम दोब्बरभन्दा बढी संख्यामा बाघ बढाएका छौँ । वनको छेउमा बस्नेलाई यसको पीरमर्का थाहा छ । वातावरणको संरक्षण मानव जातिका लागि गर्ने हो । मानव जाति नै असुरक्षित भएर वातावरणको संरक्षण गर्न सकिँदैन ।' प्रधानमन्त्री ओलीले पेरिस सम्झौता नमान्ने केही केही देशहरु रहेको उल्लेख गर्दै विश्व सहकार्यमा सबै आउनुपर्नेमा जोड दिए । उनले यो महत्व आज बुझिएन भने भोलि बुझ्न ढिलो हुने लागेर नेपालले सगरमाथा संवादको आयोजना गर्न लागेको स्पष्ट गरे ।
अस्पताल भवनमा ८० प्रतिशत प्रगति, निर्माण व्यवसायी जरिवाना तिरेर निरन्तरता दिँदै
कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–४ असैनामा १० शय्याको नगर अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । पाँच वर्षअघि निर्माण थालिएको सो अस्पतालको भवन बल्ल अन्तिम चरणमा पुगेको हो । हालसम्म भवन निर्माणको भौतिक प्रगति ८० प्रतिशत पुगेको छ । निर्माण व्यवसायीले काममा ढिलाइ गरेपछि पटकपटक म्याद थप गरे पनि निर्माण सम्पन्न भएको थिएन । अब भने निर्माण सम्पन्न हुने आशा गरिएको नगरपालिकाको पूर्वाधार विकास तथा व्यवस्थापन शाखाका प्रमुख दीपक धाँमीले बताए । अस्पताल भवन निर्माणका लागि विसं २०७८ असार ७ गते छ करोड २४ लाख ५८ हजार १०३ रुपैयाँमा एमके निरज जेभीले ठेक्का लिएको थियो । भवन निर्माणका लागि थप गरिएको म्याद गत मङ्सिरमै सकिएको छ । निर्माण व्यवसायीले जरिवाना तिर्दै भवन निर्माणलाई निरन्तरता दिएको छ । अब भवनको प्रवेशद्वार, विद्युत् जडान, खानेपानी जडान, रङ्गरोगन, झयाल, ढोकालगायत ‘फिनिसिङ’को काम बाँकी छ ।
पढाइको जोश कहिल्यै मर्दैन, कक्षा १२ को परीक्षा दिइरहेका ६८ वर्षीय लालबहादुर
गोरखा । शिरमा ढाका टोपी, निलो सुट र घाँटीमा भवानी माध्यमिक विद्यालयको टाइ । पालुङटार नगरपालिका–६ का ६८ वर्षीय लालबहादुर विक अमरज्योति जनता मावि लुइँटेल परीक्षा केन्द्रमा पुग्दा सुरुमा कतिपय झुक्किए, शिक्षक हुन् कि परीक्षार्थी भनेर । तर, उनी हाल सञ्चालन भइरहेको कक्षा १२ को परीक्षार्थी हुन । यहाँस्थित भवानी माविबाट शिक्षा सङ्कायमा अध्ययनरत उनी हाल अमरज्योति जनता मावि परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका छन् । कक्षा ११ को वार्षिक परीक्षामा उत्कृष्ट १० परीक्षार्थीभित्र परेका विकलाई कक्षा १२ पनि सजिलै उत्तीर्ण गर्छु भन्ने आत्मविश्वास छ । ‘अङ्ग्रेजी विषयमा चाहिँ एक दुई वटा वटा प्रश्नका उत्तर लेख्न सकिँन, तर फेलै चाहिँ भइन्न होला’, उनले भने, ‘अब बाँकी विषय त सजिलै छन् । आफ्नै शैलीमा लेख्न सक्छु ।’ उनी २०५५ सालमा नेपाल प्रहरीको सहायक निरीक्षकबाट सेवानिवृत्त भएका हुन् । कक्षा ७ पढ्दापढ्दै २०३५ सालमा प्रहरीमा भर्ती भएका उनले २०४२ सालमा तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित रामशाह माविबाट ‘प्राइभेट’तर्फ एसएलसी दिए । ‘त्यतिबेला प्राइभेट टेस्ट दिन पाइन्थ्यो । टेस्टमा पास गर्यो भने जति कक्षा पढेकाले पनि एसएलसी दिन पाउँथे । मैले पनि त्यसरी नै टेस्ट दिएर एसएलसी दिएको हो’, उनले भने । तर, त्यतिबेला जागिर खाँदै पढ्ने कुरा सजिलो थिएन । एसएलसी दिने बेला पनि ‘सिनियर कमान्डर’हरूले नपढोस् भनेर धेरै काम लगाउने गरेको उनी सुनाउँछन् । ‘दलितको छोरो पढेर हामीभन्दा ठूलो हुने भयो भनेर सिनियरहरूले खुबै पेल्थे । तर जसोतसो एसएलसी दिएँ । तेस्रो श्रेणीमा उत्तीर्ण पनि भएँ’, उनले भने, ‘पहिला गाउँकै स्कुल पढ्न पनि पैसा लाग्थ्यो । हामी चार भाई, एक बहिनी थियौँ । आर्थिक अभावका कारण पढाइ छोड्नु पर्यो । तर, मनबाट शिक्षाको भोक हराएन ।’ उनी पढाइलाई निरन्तरता दिन चाहन्थे । तर, घर व्यवहार र आर्थिक अभावका कारण निरन्तरता दिन सकेनन् । ‘छोराछोरी जन्मिसकेका थिए । आफ्नो रहरमात्र हेरेर भएन । घर व्यवहार पनि चलाउनु पर्यो’, विगत सम्झँदै विकले भने, ‘पेन्सन आएपछि पनि पढ्ने अनुकूलता मिलेन । अहिले छोराछोरीहरू सबै हुर्किए । बिहेबारी भइसक्यो । अब पढ्नलाई सहज छ । त्यसैले फेरि कक्षा ११ मा भर्ना गरेर पढ्न थालेको हुँ ।’ कक्षा १२ पछि स्नातकमा कानुन विषय लिएर पढ्ने इच्छा उनको छ । ‘पहिलेदेखि कानुन पढ्न मन थियो । अब कक्षा १२ पास गरेपछि कानुन पढ्छु । मलाई कानुन पढेर जागिर गरौँला भन्ने छैन । ढिलै भए पनि यति कक्षासम्म पढेको छु भनेर गर्व गर्न पाइयोस्’, उनले सुनाए । चार छोरा, एक छोरी र श्रीमतीसहितका परिवार भएका विकका छोराहरु वैदेशिक रोजगारीमा छन् । उनीहरुले पनि बुवालाई पढ्न प्रोत्साहन गर्नुका साथै सहयोग गरेको विक बताउँछन् । ढल्कँदो उमेरमा पनि शिक्षाप्रतिको उनको मोह देखेर विद्यालयका शिक्षकहरुले ‘पढ्नलाई उमेरले छेक्दैन’ भन्ने भनाइ पुष्टि भएको बताउने गरेका छन् । यस वर्ष गोरखाबाट तीन हजार ७५० जना विद्यार्थीहरूले सहभागिता जनाएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ गोरखाका अनुसार यो वर्ष नियमिततर्फ दुई हजार चारसय ७६ र ग्रेड वृद्धितर्फ एक हजार २५० जना परीक्षार्थीहरू कक्षा १२ को परीक्षामा सहभागी छन् । प्रतिक्षा आले/रासस
मलेसियाको बेरोजगारी दर घटेर ३.१ प्रतिशतमा, श्रम बजार थप लचिलो बन्दै
काठमाडौं । मलेसियाको श्रम बजारले आशावादी संकेत देखाउँदै यस वर्षको पहिलो त्रैमासिकमा बेरोजगारी दर ०.१ प्रतिशतले घटेर ३.१ प्रतिशतमा पुगेको छ । मलेसियाको तथ्याङ्क विभागका अनुसार बेरोजगारको संख्या २.३ प्रतिशतले घटेर ५ लाख २६ हजार ३ सयमा झरेको हो । श्रम बजारमा देखिएको यो सुधारले देशको आर्थिक स्थिरता र रोजगार सृजनामा सकारात्मक संकेत दिएको बताइएको छ । आगामी महिनाहरूमा बलियो श्रम मागका कारण बजार विस्तार हुने अपेक्षा गरिएको छ । सन् २०२५ सम्म श्रम बजारको स्थिरता सुनिश्चित गर्न धेरै रणनीतिक पहलहरू गरिएका छन् । मलेसियाली श्रम बजार विश्वव्यापी आर्थिक अनिश्चितता सामना गर्न लचिलो र दिगो ढंगले अघि बढिरहेको विश्लेषकहरूले बताएका छन् ।
७५ लाखको लगानीपछि चम्कियो हाँडिकोट टापु, आन्तरिक पर्यटक लोभ्याउन सफल
गलकोट । एक दशकअघिसम्म हाँडिकोटको महत्त्व पशु चरिचरनका लैजाने स्थानीयले मात्र चिन्दथे । पशुचौयाया चराउने र घाँस दाउरा लिन पुग्ने हाँडिकोटमा अहिले पर्यटकीय गन्तव्य बन्दै गएको छ । घना जङ्गलको बीचमा रहेको अग्लो पहाड हाँडिकोट टापु एकाएक चर्चामा आउन थालेपछि पदयात्रामा आउनेका लागि उपयुक्त गन्तव्य बन्न थालेको हो । समुद्री सतहदेखि दुई हजार एक सय ९५ मिटर उचाइमा रहेको हाँडिकोट जैमिनी क्षेत्रकै अग्लो पहाडमा अहिले गोठाला जान छोडे तर आन्तरिक पर्यटक पुग्न थालेका छन् । हाँडिकोट पुग्नका लागि डाँडाखानी र ब्याडथलाबाट दुवैतर्फबाट पदमार्ग निर्माण भएपछि पदयात्रामार्फत त्यहाँ पुग्ने पर्यटकहरू आकर्षति भएका हुन् । डाँडाखानीबाट झण्डै चार किमी पदमार्ग र ब्याडथलाबाट तीन किलोमिटर परम्परागत पदमार्ग निर्माणपछि त्यहाँ पुग्ने पर्यटकलाई सहज भएको छ । पूर्वाधार र प्रचारप्रसारका कारण ऐतिहासिक तथा पशुपालन किसानको चरिचरनस्थल हाँडिकोट टापु पुग्ने आन्तरिक पर्यटकहरू बढिरहेका छन् । बागलुङको गलकोट दुदिलाभाटीबाट तस्बिर कैद गर्नका लागि हाँडिकोट पुग्नुभएको राम खत्रीले यहाँबाट देखिने मनोरम दृश्यले लोभाएको बताए । डाँडाखानीबाट एक घण्टको पैदलयात्रामा हाँडिकोट पुग्नुभएको खत्री फर्कंदा ब्याडथलाको पदमार्ग प्रयोग गरेको बताउनुहुन्छ । उहाँले सूर्योदय हेर्न, गुराँसको वन हेर्न र दर्जनाैँ हिमाल हेर्नका लागि हाँडिकोट उपयुक्त गन्तव्य रहेको बताए । यहाँबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रेसँगै दर्जर्नौ हिमऋङ्खला देख्न सकिन्छ । ‘फोटो भिडियो खिच्न रूची राखेर पैदलयात्रामार्फत पर्यटकीय स्थाल पुग्ने गरेको छु, हाँडिकोड पछिल्लो समय चर्चामा आएको गन्तव्य रहेछ, पदयात्रामा रूची राख्ने र प्रकृतिसँग रमाउनेका लागि हाँडिकोट उपयुक्त गन्तव्य लाग्यो, बिहानै आउने पर्यटकका लागि सूर्योदयले मनै लोभ्याउनछ, कोलाहलपूर्ण वातावरणबाट अलग्गै बस्नका लागि हाँडिकोट पृथक गन्तव्य रहेछ’, खत्रीले भने, ‘यहाँबाट देखिने जैमिनीका अधिकांश गाउँ, हिमालहरूले मनै लोभ्यायो, पहिलाको पशु चरिचरन अहिले पर्यटकीयस्थल भएछ ।” हाँडिकोट पुग्नका लागि पछिल्लो समय सडक मार्ग पुर्‍याइएको छ । जैमिनी नगरपालिकाले नगरको पर्यटकीय गन्तव्यमा जैमिनी धामपछि हाँडीकोट टापुलाई लिएर पूर्वाधार निर्माणमा तीव्रता दिएको जनाएको छ । धार्मिक तथा ऐतिहासिक महत्त्वको रूपमा रहेको हाँडिकोटका थुपै्र विशेषता रहेका छन् । जसमध्ये सूर्योदय र सूर्यास्त पर्यटकलाई लोभ्याउने माध्यम बनेको छ । बागलुङको जैमिनी नगरपालिकामा रहेको हाँडिकोट टापुबाट देखिने मनोरम दृश्यहरू आन्तरिक पर्यटकलाई साच्चिकै लोभ्याउने खालको छ । जैमिनी नगरपालिका–१० राङखानी, वडा नं ७ जैदी र वडा नं ८ छिस्तीको शिरमा रहेको हाँडिकोट टापु पछिल्लो बन्दोबस्तीका सामानसहित त्यही रात बिताउन जाने गरेका छन् । पदमार्गको पहुँच विस्तारपछि र प्रचारप्रसारका कारण हाँडिकोटमा आन्तरिक पर्यटक आउन थालेकोे राङ्खानीका स्थानीय लालबहादुर पुनले बताए । उनले बाख्राभैँसी चराउन जाने हाँडिकोटमा अहिले पर्यटक आउने गरेको बताए । हाँडिकोटमा पुग्ने पदमार्ग, मन्दिर, सत्तल तथा भ्यू टावरलगायत संरचनामा करिब ७५ लाख खर्च भइसकेको जैमिनी नगरपालिकाले जनाएको छ । त्यहाँ भ्यू टावरले पूर्णता र खानेपानीको बन्दोबस्त हुन बाँकी रहेको छ । हाँडिकोट टापुबाट तल बाँदलले ढाकेका पहाडहरू देख्दा हाँडिकोटले त्यहाँ पु¥याउने पर्यटकहरूलाई लोभ्याउने गरेको छ । बाइसे चौबिसे राजाका पालामा रहेको दरबारका भग्नावशेषसमेत हाँडिकोटमा पाउन सकिन्छ । समथर भुभाग, राजदरबारका भग्नावशेष, मन्दिर, कुटी, पोखरी र शीला सुसज्जित हाँडिकोट पुगेर सूर्योदय हेर्ने र तस्बिर खिचाउन बागलुङ बजार, पर्वत, म्याग्दी र पोखराबाट पर्यटकहरू आउने गरेका छन् । हाँडिकोट पुग्नलाई सडक मार्ग, दुई तर्फबाट पदमार्ग, विश्रामस्थल, सत्तल, दृश्यावलोकन स्तम्भ, शिव मन्दिर, कुटी, मञ्च, खेल मैदान, टल्कने शिला संरक्षणलगायतका थुप्रै पर्यटकीय पूर्वाधार सतिह ७५ लाखभन्दा बढी लगानी भइसकेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए । हाँडिकोटको प्रचारप्रसारका लागि हाँडिकोट महोत्सव गरिँदै आएको छ । हाँडिकोटमा २०७७ साल यता पूर्वाधार निर्माणले तीव्रता पाएको हो । हाँडिकोट बाइसे चौबिसे राज्यका पालामा भुरेटाकुरे राजा रजौटाहरूले राज्य गरेको स्थान हो । भुरेटाकुरे राजारजौटाले प्रयोग गरेका जाँतो, ओखललगायत सामग्री अहिले जीवित रहेका छन् । हाँडिकोट टापु पुग्नका लागि सदरमुकाम बागलुङ बजारदेखि तीन घण्टाको मोटर यात्रामा व्याडथला र डाँडाखानी पुग्न सकिन्छ भने त्यहाँबाट पैदलयात्रा र सडक यात्रा दुवैमार्फत टापुमा पुगिन्छ । रासस
बागलुङमा ७ करोडमा बन्यो पुल, किसानलाई बजार पुग्न सहज
ढोरपाटन । जिल्लाको बडिगाड गाउँपालिका–७ भिमगिठे र ९ को मालारानी जोड्ने गरी मोटरेवल पुल निर्माण भएको छ । पाँच वर्ष अगाडि निर्माण सुरु भएको उक्त पुल अघिल्लो महिनादेखि सञ्चालनमा आएको हो । पुल सञ्चालनमा आएपछि राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गदेखि मालारानीसहित राजकुट, प्युठान र गुल्मी आउजाउ गर्न सहज भएको छ । विसं २०७७ कात्तिक २७ गते सडक डिभिजन कार्यालयले सात करोड ६६ लाख रुपैयाँमा निर्माण कम्पनीलाई ठेक्का दिएको थियो । विसं २०७९ फागुनमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का दिइएकामा तीन वर्षपछि मात्र निर्माण सम्पन्न भएको हो । पर्याप्त बजेट प्राप्त नहुँदा समयमै काम सम्पन्न नभएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद लामिछानेले राससलाई जानकारी दिए । नवनिर्मित पुल मालारानीबाट राजकुट–हर्पे–देवीस्थान रोल्पा–रुकुम–जाजरकोट आवागमन सहज भएको छ । स्थानीय प्रेमबहादुर केसीले बडिगाडखोलामा पुल बनेपछि गाउँमा उत्पादन बजारीकरण गर्न सहज भएको बताए । गाउँमा धेरै किसानले फलफूल र सागसब्जी उत्पादन गरे पनि अब डोकोमा बोकेर बजार पुर्याउनुपर्ने बाध्यता अन्त्य भएको उनले बताए । रासस
स्पेनको ग्यास्ट्रोनोमी अभियानमा ८४ लाख युरो लगानी, 'फूड नेसन'को छैठौं संस्करण सुरु
काठमाडौं । स्पेनले आफ्नो खाद्य र ग्यास्ट्रोनोमी उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न ८४ लाख युरो (झन्डै ९४६ मिलियन अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको छ । 'फूड नेसन' नामक अभियानको छैटौं संस्करणअन्तर्गत यो लगानी गरिन लागेको हो । स्पेनको कृषि, मत्स्यपालन तथा खाद्य मन्त्रालय र स्पेन निर्यात तथा लगानी संस्थाले सेप्टेम्बर ३०, २०२६ सम्मका लागि आर्थिक सहयोग गर्न नयाँ सम्झौता हस्ताक्षर गरेका छन् । सन् २०२० मा सुरु गरिएको फूड नेसन परियोजनाले स्पेनलाई गुणस्तरीय, सुरक्षित र भरपर्दो खाद्य आपूर्तिकर्ताको रूपमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ । यसपटकको संस्करणले अल्जेरिया र सर्बियामा नयाँ सम्भावनाहरूको खोजी गर्दै, चीन, जापान, मोरक्को र मेक्सिको जस्ता रणनीतिक बजारमा केन्द्रित प्रयास गर्नेछ । यस अभियान अन्तर्गत, स्पेनी खाद्य कम्पनीहरूलाई अन्तर्राष्ट्रिय बजारमा सशक्त बनाउन, चीन, जापान, अमेरिका, र बेलायतजस्ता प्रमुख देशहरूमा बजार बुद्धिमत्ता दिने सल्लाहकार परिषदहरू समेत गठन गरिने छ ।
२३ वर्षपछि निर्माण सम्पन्न नेपालगञ्ज-बघौडा सडक, अब सहज छ नरैनापुर यात्रा
राँझा । बाँकेको दुर्गम क्षेत्र मानिने राप्ती नदीपारी अवस्थित नरैनापुर गाउँपालिका हुलाकी सडक सञ्चालनमा आएपछि सुगम बन्दै गएको छ । हुलाकी सडक निर्माणसँगै अहिले नरैनापुरबाट करिब आधा घण्टामै सदरमुकाम नेपालगञ्ज पुग्न सकिने नरैनापुर गाउँपालिका–४ निवासी ताजमोहम्मद खानले बताए । ‘हुलाकी सडक निर्माण नहुँदा भारतको बाटो हुँदै नेपालगञ्ज पुग्नुपर्थ्यो, अहिले आधा घण्टामै पुगिन्छ’, खानले भने, ‘हुलाकी सडक नरैनापुरवासीको लाइफलाइन बनेको छ ।’ हुलाकी सडक निर्माण भएपछि अहिले नेपालगञ्जबाट नरैनापुरको सीमावर्ती क्षेत्र सुईया बघौडासम्म दैनिक रूपमा चार वटासम्म सार्वजनिक यात्रुवाहक बस सञ्चालन हुने गरेका छन् । हुलाकी सडक निर्माणपछि नरैनापुरवासीको स्वास्थ्य र शिक्षामा सहज पहुँच पुगेको नरैनापुर–६ का अगुवा सोहनलाल यादवको भनाइ छ । ‘पहिला बिरामीलाई अस्पताल पुर्याउन धेरै कठिन हुने गथ्र्यो, अहिले गाउँघरमै एम्बुलेन्स पुग्ने भएकाले बिरामीलाई सजिलै नेपालगञ्जका अस्पतालमा लैजान सकिन्छ’, यादवले भने, ‘नरैनापुरमा अहिलेसम्म उच्च शिक्षा अध्ययनको लागि क्याम्पस छैनन्, हुलाकी सडक बनेपछि विद्यार्थीलाई नेपालगञ्ज पढ्न जान आउन धेरै सजिलो भएको छ ।’ विगतमा सडक नहुँदा भारतीय बजारमा निर्भर रहेको नरैनापुरलाई हुलाकी सडकले सदरमुकाम नेपालगञ्जसँग सीधा सम्पर्क गराएको यादवले बताए । हुलाकी सडकदेखि भित्री गाउँसम्म पुग्ने सडक निर्माणमा अब गाउँपालिकाले ध्यान दिनुपर्ने उनको भनाइ छ । नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले हुलाकी सडक निर्माण भएसँगै नरैनापुरवासीको जीवनयापनमा आमूल परिवर्तन आएको बताए । उनले गाउँपालिकाका छ वटै वडाका गाउँबस्तीसम्म पुग्ने सडक निर्माणलाई आफूले प्राथमिकता दिएको उल्लेख गरे । बहुप्रतीक्षित नेपालगञ्ज–बघौडा सडक निर्माण चर्चा सुरू भएको दुईदशक बढी समयपछि निर्माण सम्पन्न भएको हो । करिब २३ वर्ष अघिदेखि सडक निर्माण सुरू भए पनि पटकपटकको अवरोध र अनिश्चितताका बीच नरैनापुर गाउँपालिकालाई सदरमुकाम नेपालगञ्जसँग जोड्ने ४४ किलोमिटर सडक निर्माण सम्पन्न भएपछि आवागमनमा सहज भएको बाँके क्षेत्र नं १ का संघीय सांसद सूर्य ढकालले बताए । हुलाकी सडक निर्माण समयमै सम्पन्न गर्न आफूले आवश्यक समन्वय र चासो देखाएको बताउँदै उनले हुलाकी सडक निर्माणले यहाँका नागरिकलाई विकासको अनुभूति गराएको उल्लेख गरे । रासस