विकासन्युज

१३२ केभी प्रसारण लाइनमार्फत सेतीनदीको बिजुली राष्ट्रिय ग्रिडमा, वार्षिक आम्दानी ८७ करोडको अनुमान

कास्की । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका तथा पोखरा महानगरपालिका स्थित सेती नदीमा २५ मेगावाट क्षमताको  सेतीनदी जल विद्युत आयोजनाको निर्माण सम्पन्न भएको छ । भिजन लुम्बिनी ऊर्जा कम्पनीद्वारा प्रवर्द्धित आयोजना निर्माण सम्पन्न भई औपचारिक उदघाटन भई नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा जोडिइसकेको छ । विसं २०७५ असोज २६ गते पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडबाट एक हजार ५०० सयभन्दा बढि संस्थापक लगानीकर्ता यस आयोजनाका मालिक भएको कम्पनीका अध्यक्ष जगत पोखरेलले जानकारी दिए । विसं २०७७ सालमा निर्माण सुरुवात गरेको आयोजनाको निर्माणकार्य सम्पन्न भई मिति २०८१ कात्तिक २७ गतेदेखि प्राधिकरणले विद्युत् खरिद गर्न सुरु गरेको छ । आयोजना सञ्चालनमा आएपछि हालसम्म हरेक महिना विद्युत् खरिद सम्झौतामा तोकिएभन्दा राम्रो ऊर्जा उत्पादन भइरहेको आयोजनाले जनाएको छ । सेतीनदी जलविद्युत आयोजनाबाट उत्पादित बिजुली लाहाचोक सवस्टेसनसम्म १३२ केभी क्षमताको चार किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । झण्डै रु छ अर्ब लगानी रहेको यस आयोजनाबाट उत्पादित बिजुलीबाट सुरुको वर्षमा वार्षिक रू ८७ करोड आम्दानी गर्नेछ । आयोजनामा एनएमबि बैङ्कको नेतृत्वमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैङ्कको ऋण लगानी रहको छ । आयोजनाका लागि बैङ्ककातर्फबाट तत्कालिन अवस्थामा अनुमानीत कूल लागतको ७० प्रतिशत ऋण र ३० प्रतिशत संस्थापक लगानीकर्ताको स्वपूजी लगानी रहेको छ । कम्पनीले आज यहाँ एक उद्घाटन समारोहको आयोजना गरेको थियो । कार्यक्रममा पूर्वअर्थमन्त्री डा युवराज खतिवडा, स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीलगायतले ऊर्जा उत्पादनमा भिजन लुम्बिनीले स्थापना गरेको मानक उदाहरणीय रहेको बताए । रासस

भारत-पाकिस्तान विवादले नेपाल सीमा प्रभावित, प्रहरीको निगरानी बढ्यो

काठमाडौं । भारत–पाकिस्तानबीचको पछिल्लो कूटनीतिक तथा सुरक्षा तनावको असर नेपाल–भारत सीमामा पनि प्रत्यक्ष रूपमा देखिन थालेको छ । प्रहरी प्रधान कार्यालयले सिमा क्षेत्रमा सुरक्षा सतर्कता कडाइ गर्न निर्देशन दिएको हो । त्यसअनुसार भारतसँग जोडिएका सबै सीमामा सुरक्षा कडाइ गरिएको छ । विशेषगरी धनुषा जिल्लाको सीमावर्ती क्षेत्रमा यात्रुहरूको परिचय पत्र प्रमाणीकरण, आवतजावतको प्रयोजन तथा सवारी साधनको विवरण रेकर्ड गर्ने कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक वरुणबहादुर सिंहले जानकारी दिए । उनका अनुसार भारत–पाकिस्तान तनावको सम्भावित प्रभावलाई मध्यनजर गर्दै प्रहरी प्रधान कार्यालय र मधेस प्रदेश प्रहरी कार्यालयबाट आएका निर्देशनअनुसार सिमामा व्यापक निगरानी सुरु गरिएको हो । पहिले सीमावर्ती भारतीय बजारहरूमा स्वतन्त्र रूपमा आवतजावत गर्न सक्ने व्यवस्था थियो, तर अहिले यात्रुहरूलाई कडाइका साथ उद्देश्य र परिचय प्रमाणीकरणपछि मात्र सिमाबाट पार गर्न दिइने गरिएको छ । यस कदमले नेपालमा शान्ति र सुरक्षा कायम गर्न, अवाञ्छित गतिविधि नियन्त्रण गर्न र सिमामा पारदर्शी आवागमन सुनिश्चित गर्न सहयोग पुग्ने विश्वास सुरक्षा निकायले लिएको छ ।

नेपालमा लगानीको अपार सम्भावना, महासंघको विदेशी व्यवसायीलाई लगानीको आह्वान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न विदेशी व्यवसायीलाई आग्रह गरेका छन् ।  नेपालस्थित चिनियाँ तथा बङ्गलादेश दूतावासका प्रतिनिधि तथा नेपाल अन्तरराष्ट्रिय व्यापार मेला २०२५ मा सहभागी हुन नेपाल आएका दुवै देशको प्रतिनिधिमण्डललाई स्वागत गर्दै महासङ्घका अध्यक्ष ढकालले नेपालको पर्यटन, जलविद्युत्, स्वच्छ ऊर्जा, कृषि र विद्युतीय सवारीसाधनजस्ता क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेकाले लगानीको लागि आग्रह गरे ।  उनले भने, 'चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार मुलुक हो । नेपालमा पर्यटन, ऊर्जा कृषि तथा आइटीजस्ता क्षेत्रमा प्रशस्त सम्भावना छ । ती क्षेत्रमा लगानी गर्न म यहाँहरूलाई आग्रह गर्दछु ।' अध्यक्ष ढकालले नेपालमा लगानीका लागि थुप्रै नीतिगत सुधारहरू भएका र लगानी गर्न चाहने व्यवसायीका लागि सहजीकरण गर्न महासङ्घ तयार रहेको समेत जानकारी गराए । उनले नेपाल अन्तरराष्ट्रिय व्यापार मेलामा चीनको निरन्तर सहभागिताका लागि आभार व्यक्त गर्दै मेला केवल वस्तु तथा सेवाको खरिद बिक्रीको स्थल मात्र नभएर आपसी सहकार्य र व्यापार प्रवर्द्धनको उपर्युक्त माध्यम भएको बताए । यसैबीच नेपाल–चीन आर्थिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै द्विपक्षीय व्यापार असन्तुलन न्यूनीकरण, संयुक्त लगानीका सम्भावनाका बारेमा महासङ्घमा चिनियाँ प्रतिनिधिमण्डलसँग छलफल भएको छ । छलफलका क्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले नेपाल–चीन सम्बन्धले व्यापार, लगानी, र सहकार्यका लागि ठूलो सम्भावना बोकेको चर्चा गर्दै नेपाली उत्पादनको बजार पहुँच र निर्यात तथा सीमापार व्यापारमा चीनको सहयोग आवश्यक रहेको बताए ।  चीनको वाणिज्य मन्त्रालयअन्तर्गतको चाइना ट्रेड ब्युरोका महानिर्देशक लिउ डायन समले नेपालका विभिन्न क्षेत्रमा चिनियाँ लगानी भइरहेको र अन्य क्षेत्रमा समेत लगानी गर्न तथा दुई देशबीचको व्यापार सम्बन्धलाई थप राम्रो बनाउन आफूहरू सधैँ तयार रहेको बताए ।  नेपालस्थित चिनियाँ दूतावासका इकोनोमिक एन्ड कमर्स सेक्सनका सेकेन्ड सेक्रेटरी लि चाउले नेपालको व्यवसाय प्रवर्द्धन तथा चिनियाँ सहयोगका लागि दूतावास सधैँ सकारात्मक रहेको बताए । छलफलका क्रममा महासङ्घका उपाध्यक्ष हेमराज शर्माले नेपालको उद्योग तथा व्यवसाय प्रवर्द्धनमा चिनियाँ प्रविधि, पुँजी र अनुभवले महत्त्वपूर्ण योगदान दिने बताउँदै त्यसका लागि चिनियाँ पक्षको सहयोग आवश्यक रहेको बताए । यस्तै अर्का उपाध्यक्ष ज्योत्सना श्रेष्ठले नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेकाले यस क्षेत्रमा सहकार्य र लगानीका लागि आग्रह गरे । यस्तै महासङ्घका केन्द्रीय सदस्य एवं व्यापार मेला समितिका सभापति उमेश डालमियाले चीनमा आयोजना हुने मेलामा नेपाली व्यवसायीहरूको सहभगिताका लागि थप सहयोग एवं सहकार्यका लागि चिनियाँ पक्षलाई आग्रह गरे । यही वैशाख २५ गतेदेखि सुरु भएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ मा सहभागी हुन यतिबेला चिनियाँ र बङ्गलादेशका व्यवसायीको समूह नेपालमा रहेको छ । शुक्रबार करिब पाँच हजार दर्शकले मेला अवलोकन गरेको मेला सचिवालयले जनाएको छ ।

एनएमबि बैंकको नेतृत्वमा मादीमा ५ अर्बको जलविद्युत आयोजना अघि बढ्दै

काठमाडौं । एनएमबि बैंक लिमिटेडको अगुवाइमा कास्की जिल्लाको मादी गाउँपालिकामा निर्माणाधीन २४.८ मेगावाट क्षमताको बज्र मादी जलविद्युत आयोजनाका लागि वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । यस आयोजनामा कुल लागत लगभग ५ अर्ब ३५ करोड रुपैयाँ रहनेछ । जसमा ३ अर्ब ७४ करोड ५० लाख रुपैयाँ ऋण लगानी बैंक तथा वित्तीय संस्थाहरूले गर्नेछन्। ऋण लगानीमा एनएमबि बैंकसँगै कृषि विकास बैंक लिमिटेड र अन्य वित्तीय संस्थाहरूको सहभागिता रहेको छ। आयोजनाको प्रवर्द्धक बज्र इनर्जी भेन्चर्स हो । एनएमबि बैंकले यसअघि पनि ५० भन्दा बढी जलविद्युत आयोजनामा सफल लगानी गर्दै आएको अनुभव बोकेको बैंक हो । यसैबीच, सोही समूहको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडद्वारा कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका तथा पोखरा महानगरपालिकामा प्रवर्द्धित २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाले पनि २०७८ साल कार्तिक २७ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको जानकारी गराइएको छ। उक्त आयोजनामा पनि एनएमबि बैंक, कर्मचारी सञ्चय कोष, र कृषि विकास बैंकबाट ऋण लगानी गरिएको हो । यी दुई आयोजनाले नेपालको ऊर्जाक्षेत्रमा थप ऊर्जा उत्पादन र आत्मनिर्भरता हासिल गर्न उल्लेखनीय योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

सुरु भयो यस वर्षको सगरमाथा आरोहण यात्रा, ४२१ आरोही चुचुरो चुम्ने तयारीमा

काठमाडौं । 'सगरमाथामा बाक्लो हिउँ परेकाले डोरी टाँग्ने (रोप फिक्सिङ) गर्न गाह्रो भयो । खुम्बु आइसफल क्षेत्रमा ठूला रक र कालापत्थरले भर्‍याङ टाँग्न पनि कठिन भयो' रोप फिक्सिङ गर्ने दक्ष शेर्पा आरोहीलाई जनाउँदै गर्दै आधार शिविरबाट एक्सपीडिसन अगुवा लाक्पा शेर्पाले भने । एटके एक्सपीडिसन कम्पनीबाट खटिएका सात जनाको शेर्पा टोलीले शुक्रबार साँझ ५ बजे सगरमाथाको चुचुरोमा टोरी टाँगेर आरोहणको ढोका खोलेपछि यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण सुरु भएको हो। सोही कम्पनीबाट खटिएका पाँच जना शेर्पाले बिहिबार ल्होत्से र त्यसअघि आमादब्लम हिमालको चुचुरोमा डोरी टाँगेका थिए। सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै औपचारिक रूपमा आरोहण सुरु भएको पर्यटन विभागले जनाएको छ। विभागका निर्देशक लीलाधर अवस्थीले भने, 'सगरमाथाको चुचुरोमा डोरी टाँग्ने काम सम्पन्न भएसँगै यस वर्षको सगरमाथा आरोहण औपचारिक रूपमा सुरु भएको छ र अब अन्य आरोही पनि मौसम अनुकूलता हेरेर शिखरतर्फ लाग्नेछन् ।' मौसम अनुकूल रहेकाले पहिलो वीन्डमो सर्वाधिक आरोहणको अनुमान गरिएको उनले बताए। सगरमाथा आरोही संघका महासचिव शिवबहादुर सापकोटाले सगरमाथा आरोहणको सकारात्मक सन्देशले नेपालको साहसिक पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने बताए। आरोहणलाई सुरक्षित र व्यवस्थित बनाउन सम्बद्ध निकाय र एक्सपीडिसन कम्पनीले प्रभावकारी व्यवस्थापन गरेको उनले उल्लेख गरे। एटके एक्सपीडिसन कम्पनीका प्रवन्ध निर्देशकसमेत रहेका आरोही लाक्पा शेर्पाले सगरमाथा आरोहणका लागि अनुकूल मौसम रहेकाले मे ११ देखि १४ तारिकसम्म सर्वाधिक संख्यामा आरोही चुचुरोमा पुग्ने सम्भावना रहेको बताए । उनले भने, 'मौसम अनुकूल छ। आजदेखि विदेशी आरोहीको आरोहण सुरु हुन्छ। अहिले धेरै संख्यामा आरोही सगरमाथाको तेस्रो शिविरबाट चुचुरोतर्फ लागेका छन् ।' सगरमाथाको तेस्रो शिविर र चौथो शिविरमा अक्सिजनलगायत सामग्री व्यवस्थानमा शेर्पा कामदार खटिएका छन् भने आरोहण प्रतिक्षामा रहेका आरोही आरोहण अभ्यासमा व्यस्त छन् । आधार शिविरदेखि तेस्रो शिविरसम्म आरोही आवत जावत गरिरहेका हुन् । मे १२ देखि १५ सम्म ‘समिट वीन्डो‘ छ र उक्त अवधिमा धेरै आरोहण हुने एक्सिपीडिसन कम्पनीको अनुमान छ । मे १६ र १७ मा हिमपात हुने मौसम पूर्वानुमान गरिएकाले त्यसअघि आरोहीको चुचुरो पुग्ने योजना अनुरूप यो पकट आरोहणमा जाम हुनसक्ने जनाइएको छ । सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङको जिम्मेवारी पाएको एटके कम्पनीका प्रवन्ध निर्देशक शेर्पाले भने, 'यो पटक सगरमाथामा बाक्लो हिउँले डोरी टाग्न गाह्रो भएको छ । पहिलो वीन्डोमा धेरै आरोहण हुने पूर्वानुमान गरिएको छ ।' अशोक लामाको नेतृत्वमा सातजना शेर्पा टोली सगरमाथाको चुचुरामो पुग्न सफल भएको हो । उक्त टोलीमा छिरिङ पेम्बा शेर्पा, पेम नुर्बु शेर्पा, टासी शेर्पा, कर्मा ग्याल्जेन शेर्पा, टासी ग्याल्जेन शेर्पा र पासतेन्जी शेर्पा रहेका छन् । यो पटक सगरमाथाको रोप फिक्सिमा १६ जना शेर्पा खटिएकामा सात जना मात्रै चुचुरोमा पुग्न सफल भएको जनाइएको छ । सगरमाथामा मात्रै नभई ल्होत्से र आमादब्लम हिमालमा पनि बाक्लो हिउँका कारण बाटो बनाउन कठिन भएको जनाइएको छ । जलवायु परिवर्तनको प्रभावले आरोहक्षण क्षेत्रमा बढी रक भेटिएकाले बाटो बनाउनेकार्य कठिन भएको शेर्पाले जनाएका छन् । खराब मौसमका कारण सगरमाथाको दोश्रो शिविरदेखि चौथो शिविरसम्म बाटो बनाउन १४ दिन लागेको कम्पनीले जनाएको छ । चौथो शिविरबाट भने दुई दिनमा शेर्पा टोली चुचुरोमा पुगेका थिए । 'बाटो राम्रो छ, मौसम सफा छ । सयौ आरोही आरोहणका लागि प्रतिक्षरत छन्', आरोही शेर्पाले भने, 'मे ११ देखि १५ सम्म धेरै समिट हुने सम्भावना छ । अर्को वेवदर वीन्डो मे १९ देखि २४ सम्म रहेको छ ।' यो याममा विश्वकीर्तिमानी आरोशी कामीरिता शेर्पा ३१औं पटक सगरमाथा आरोहण गरेर आफ्नै कीतिर्मान तोड्ने तर्खरमा छन् । टासी ग्याल्जेन शेर्पा २० दिनमा चार पटक सगरमाथा आरोहण गरेर विश्व रेकर्ड कायम गर्ने योजनामा सगरमाथा पुगेका छन् । त्यस्तै अर्का विश्वकीर्तिमानी आरोही सानु शेर्पा यो सिजनमा अति विशिष्ट पाहुना लिएर आरोहणमा गएका छन् । आठ हजार मिटरभन्दा माथिका हिमाल दुई पटक सफल आरोहण गरेका उनले तेस्रो पटक आठ हजार मिटरमाथिका हिमाल आरोहण गरेर आफ्नै नामको कीर्तिमान भङ्ग गर्ने योजनामा छन् । भारतकी सबैभन्दा जेष्ठ नागरिकले आरोहण गर्ने तयारीमा छन् । यो पटक एटके कम्पनीबाट सगरमाथा र ल्होत्सेमा गरी ५५ जना आरोही छन् । समुद्री सतहदेखि पाँच हजार ३६४ मिटरको उचाइको आधार शिविरमा अध्याधिक चिसो रहेको शेर्पाले जानकारी दिए । माइनस २० डिग्रिको चिसोको प्रवाह नगरी आरोही आरोहण अभ्यासमा तल्लिन छन् । शिविरमा चहलपहल छ । शेर्पा ‘हाइ क्याप्स सेट’ (तेस्रो र चौथो शिविर व्यवस्थापन) मा छन् भने आरोही लुक्ला नाम्चे, वेसक्याम्पमा छन् । आधा जसो आरोही तेस्रो शिविरतिर पुगेका छन् । अहिलेसम्मको अवस्था हेर्दा मे १४ र १५ मा सगरमाथामा बढी ट्राफिक जाम हुने सम्भावना रहेको प्रवन्ध निर्देशक शेर्पाले बताए । यो पटक धेरै आरोहीलाई सहज होस भनेर चाँडो सगरमाथाको आरोहण खुलाइएको उनको भनाइ छ । सन् २०१३ र २०१७ मा सगरमाथाको रोप फिक्सिङ गरेकार्नु लाक्पा शेर्पाले जलवायु परिवर्तनका कारण हिउँ पक्लिएर पछिल्ला वर्षहरुमा सगरमाथा क्षेत्रमा बढी रक भेटिएको छ । हिउँ भएको ठाउँमा बाक्लो हिउँ परेको छ । खुम्बु आइसफलमा बढी रक देखिएकोले सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसिसी) ले मे २९ मै बाटोका भर्‍याङ उठाउने जनाएको छ । पर्यटन विभागबाट ७५ दिनको आरोहण अनुमति लिएर आरोही सगरमाथा गएका छन् । सगरमाथा आरोहण ४० दिनको हुन्छ । आरोही सगरमाथाको चुचुरोमा पुगेपछि दुई दिनभित्र आधारशिविर झर्छन् । उनीहरुले १० देखि १५ दिन तेस्रो शिविरसम्म अभ्यास गर्छन् । सभेने समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पाले बताए । मौसम अनुकूल रहेकाले यो पटक उत्साहवर्द्धक रूपमा सगरमाथा आरोहण हुने अनुमान गरिएको बताए । उनको कम्पनीमार्फत यो पटक पनि १०० भन्दा धेरै आरोही सगरमाथा आरोहणमा गएका छन् । एक्सपीडिसन अपरेटर एसोसिएसनले दोस्रो शिविरदेखि चुचुरोसम्म रोप फिक्सिङ गरेको छ । सपीसिसीले आधार शिविरदेखि दोस्रो शिविरसम्म खुम्बु आइसफल क्षेत्रको बाटो बनाएको थियो । सगरमाथा चढ्न ४२१ लाई अनुमति पर्यटन विभागको पर्वतारोहण शाखाको तथ्यांकअनुसार हालसम्म ४४ आरोही समूहका ४२१ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन् । अझै एक-दुई टीम थपिने विभागको अनुमान छ । अघिल्लो वर्षको यही सिजनमा सगरमाथा आरोहण गर्न ४५ आरोही समूहका ४२१ जनाले अनुमति लिएका थिए । सगरमाथा आरोहणबाट मात्रै ६५ करोड रोयल्टी सरकारी खातामा जम्मा भएको छ । सबै हिमालबाट ७८ करोड संकलन भएको छ । सिबी अधिकारी / रासस

प्रभुचेलामा ध्यानका लागि एक करोडभन्दा बढी लगानीमा बन्यो पूर्वाधार

म्याग्दी । सामुदायिक मेडिटेशन (ध्यान) केन्द्र सञ्चालनका लागि म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा गण्डकी प्रदेश सरकार र समुदायको रु एक करोडभन्दा बढी लगानीमा पूर्वाधार निर्माण भएको छ । परापूर्वकालमा ऋषिमुनीहरूले तपस्या गरेर ज्ञान आर्जन गरेको प्रभुचेला तनाव व्यवस्थापन, मानसिक र शारीरिक स्वास्थ्यका लागि उपयोगी मानिएको मेडिटेशन गर्ने थलोका रूपमा विकास गर्न पूर्वाधार निर्माण गरिएको हो । प्रदेश सरकारको रु ६५ लाख बजेटबाट आश्रयस्थल भवन, सार्वजनिक शौचालय, हवन कुण्ड, पदमार्ग र घेराबार तथा समुदायले चन्दा संकलन गरेर जुटाएको रु २८ लाखले तपस्यास्थलका लागि स्थानीय काठ, ढुङ्गा र माटोको प्रयोग गरेर मौलिक किसिमको गोलघर निर्माण भएको प्रभुचेला धुरी प्रवर्द्धन समाजले जनाएको छ । विभिन्न दाताहरूले व्यक्तिगत लगानीमा परापूर्वकालमा ऋषिमुनीहरूले प्रयोग गरेको कुटी, हवन कुण्ड र साधनास्थलको संरक्षणका साथै मन्दिर र खानेपानी निर्माण गरिएको समाजका अध्यक्ष टीकाबहादुर जुग्जाली (नविन) ले बताए । मालिका गाउँपालिकाको सहयोगमा सोरवाङदेखि प्रभुचेला धुरीलाई सडकले जोडिएको छ । पलबिर जुग्जालीले कपिलानन्दले ध्यान गरेको कुटीको पुन:निर्माण गरेका छन् । छकप्रसाद पाइजाले शिव र देउप्रसाद जुग्जालीले गणेशको मन्दिर बनाएका छन् । रुपलाल पुनको संयोजकत्वमा स्व मनबहादुर थजाली पुन र रतिमा पुनको स्मृतिमा खानेपानीको पाइप जडान, धारा र ट्यांकी निर्माण भएको छ । परापूर्वकालमा ऋषिमुनीहरूले प्रभुचेला धुरीमा तपस्या गरेर ज्ञान आर्जन गरेको तीन वर्षअघिको अध्ययनबाट तथ्यहरू पहिचान भएपछि संरक्षण र पूर्वाधार निर्माण थालिएको थियो । बस्तीदेखि टाढा र जङ्गलको बीचमा शान्त हावापानी र वातावरणमा योग ध्यान गर्नका लागि उपयुक्त मानिएको छ । पूर्वाधार निर्माण भएपछि यहाँ आउने तपस्वी, भक्तजन र पर्यटकलाई सहज भएको प्रभुचेला ध्यान केन्द्र व्यवस्थापन समितिका सचिव सुरमान गर्बुजाले बताए । प्रभुचेला धुरीमा एक सय वर्षअघिसम्म ऋषिमुनीहरूका लागि तपस्यास्थल थियो । बिम गाउँको शिर र मालिका धुरीको फेदीमा अवस्थित प्रभुचेलमा नेपाल र भारतका विभिन्न ठाउँबाट ऋषि मुनीहरू आउने गर्दथे । स्वर्गद्वारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले विसं १९७० देखि १९७५ सम्म यही ठाउँमा तपस्या गरेका थिए । कपिलानन्द स्वामीले तपस्या गर्ने क्रममा बनाएको कुटी, साधनास्थल र हवन कुण्डको भग्नाअवशेस अझै छन् । प्रभुचेला धुरीबाट धवलागिरि र गुर्जा हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । समुन्द्र सतहदेखि दुई हजार चार सय मिटर उचाइमा अवस्थित प्रभुचेला धुरी बिमदेखि दुई घण्टा र सवारीसाधनमा ३० मिनेटमा पुगिन्छ । रासस

पुँजीगत लाभकरको दर परिवर्तन गर्न आईक्यानका ५ सुझाव

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था (आईक्यान)ले नेपालमा वैदेशिक लगानी भित्र्याउन आयकर ऐन २०५८ का विभिन्न ५ वटा व्यवस्थामा परिवर्तन गर्नुपर्ने सुझाव दिएको छ । आईक्यानले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत आयकर ऐन २०५८ मा नेपालमा लगानी गर्ने विदेशी कम्पनीलाई १५ प्रतिशत मात्रै पुँजीगत लाभकर लगाउनुपर्ने सुझाव दिएको हो ।  सरकारले विदेशी लगानी भित्र्याउन लगानी सम्मेलनदेखि विदेशी लगानीका कम्पनीहरूको दर्ताको लागि एकद्वार प्रणाली लागू गर्ने, लगानी बोर्डको गठन महत्त्वपूर्ण प्रयासहरू गरेको छ । तर पनि पछिल्लो ५ वर्षको अवधिमा औसत वार्षिक ४ अर्ब हाराहारी मात्रै विदेशी लगानी भित्रिरहेको देखिन्छ । तर, सोही अवधिमा बंगलादेश र श्रीलंकामा वार्षिक औसत क्रमश: ३ खर्ब र १.५ खर्ब रुपैयाँ बराबर विदेशी लगानी भित्र्याइरहेका छन् । जबकी नेपाल जस्तै अल्पविकसित एसियाली राष्ट्र लाओस, कम्बोडिया, अफगानिस्तान, म्यानमारले नेपालको भन्दा धेरै विदेशी लगानी भित्र्याइरहेका छन् ।  आईक्यानका अनुसार विदेशी लगानीमैत्री कर प्रणाली नहुनु, विदेशी लगानीबाट आर्जित मुनाफा फिर्ता लैजाने तथा लगानीकर्ताले चाहेको बेलामा लगानी समेत फिर्ता लाने प्रक्रिया झन्झटिलो हुँदा वैदेशिक लगानी आउन नसकेको आईक्यानले जनाएको छ । ‘नेपालको करको दर दक्षिण एसियाली मुलुकहरूको दाँजोमा धेरै फरक छैन । तर, दक्षिण पूर्वीय राष्ट्रहरूको तुलनामा औसतमा १० प्रतिशत विन्दुले बढी छ । नेपालमा गरेको लगानीलाई बिक्री गर्दा लाग्ने पुँजीगत लाभकरको दर दक्षिण एसियामै सबैभन्दा बढी छ,’ आईक्यानले बजेटमा सुझाव दिँदै भनेको छ, ‘विदेशी लगानीकर्ताले गरेको लगानी निसर्ग गर्दा लाग्ने करलाई धेरै महत्त्वका साथ लिने गर्दछन् । विदेशी कम्पनी वा गैरवासिन्दा व्यक्तिले नेपालमा रहेको उसको लगानी बिक्री गर्दा २५ प्रतिशत लाभकर लाग्ने व्यवस्था छ । साथै आयकर ऐनले लाभकर गणना गर्दा मुद्रास्फीतिको समायोजन गर्ने व्यवस्था गरेको छैन । त्यसैले नेपालको लाभकरको दर अन्य राष्ट्रको तुलनामा धेरै छ ।’ आईक्यानका अनुसार भारतमा दीर्घकालीन लगानीको लाभकर १० प्रतिशत र अल्पकालीन लगानीको लाभकर २० प्रतिशत तोकिएको छ । यस्तै, म्यानमारमा १० प्रतिशत, मलेसियामा १० प्रतिशत, भियतनाममा २० प्रतिशत, मंगलादेशमा १५ प्रतिशत, पाकिस्तानमा ६ वर्षभन्दा बढीको लगानीमा लाभकर नलाग्ने र सोभन्दा कम समयको लगानीमा लाभकर १५, १२.५, १०,७५, ५ वा २.५ प्रतिशत, चीनमा २० प्रतिशत र सूचीकृत संस्थाको लगानीमा लाभकर नलाग्ने र जापानमा १५ प्रतिशत तोकिएको छ ।  नेपालमा ५० प्रतिशत वा सोभन्दा बढी स्वामित्व परिवर्तन हुँदा सम्बन्धित निकायलाई समेत दफा ५७ अन्तर्गत आयकर लाग्ने अवस्था रहेको छ । बहराइन, सिंगापुर, जमैका, न्यूजील्याण्डजस्ता धेरै देशमा लाभकर लाग्दैन । यसर्थ नेपालमा लाभकर, अन्तर्राष्ट्रिय अभ्यासभन्दा धेरै रहेको देखिन्छ । यो विदेशी लगानीको प्रमुख बाधक रहेकाले पुनरावलोकन आवश्यक रहेको आईक्यानको सुझाव छ ।  आईक्यानले आयकर ऐन २०५८ को दफा ९५ क को उपदफा २ (क) र (ख) लाई संशोधन गर्दै अन्यको हकमा लाभ रकमको १५ प्रतिशतका दरले लाग्ने व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ । नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको तथा नभएको निकायको हितको निःसर्गबाट प्राप्त भएको हकमा धितोपत्र विनिमय बजारको कार्य गर्ने निकायले बासिन्दा प्राकृतिक व्यक्तिको हकमा ३६५ दिनभन्दा बढि अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकममा ७.५ प्रतिशत, बासिन्दा निकायको हकमा लाभ रकमको १० प्रतिशत र अन्यको हकमा लाभ रकमको २५ प्रतिशतका दरले लाग्ने व्यवस्था छ । उक्त व्यवस्थालाई संशोधन गर्दै अन्यको हकमा लाभ रकमको १५ प्रतिशतका दरले लाग्ने व्यवस्था गर्नुपर्ने आईक्यानले सुझाएको हो ।  यसका साथै आयकर ऐन २०५८ को अनुसूची १ को दफा २ मा उपदफा ९ थप्न आईक्यानले सुझाव दिएको छ । आईक्यानका अनुसार सो व्यवस्थामा प्रचलित कानुन बमोजिम दर्ता भई धितोपत्रको खरिद-बिक्रीको कारोबार गर्ने बासिन्दा निकायबाहेक अन्य कुनै निकायलाई कुनै बासिन्दा निकायमा रहेको हितको निसर्गबाट लाभ हुन गएमा दफा ३७ बमोजिम गणना गरिएको त्यस्तो लाभमा कर लग्नुपर्नेछ ।  धितोपत्र बोर्डमा सूचीकृत भएको निकायको हितको निसर्गबाट प्राप्त लाभको हकमा ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभको रकममा १५ प्रतिशत र ३६५ दिन भन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभको रकममा २० प्रतिशत, धितोपत्र बोर्डमा सूचीकृत नभएको निकायको हितको निसर्गबाट प्राप्त लाभको हकमा ३६५ दिन भन्दा बढि अवधि स्वामित्वमा रहेको हितको लाभको रकममा २० प्रतिशत र ३६५ दिन भन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभको रकममा २५ प्रतिशत हुनुपर्ने आईक्यानको सुझाव छ ।  आयकर ऐन, २०५८ को अनुसूची १ को उपदफा (८) गैरबासिन्दा प्राकृतिक व्यक्तिको कुनै आय वर्षको करयोग्य आयमा २५ प्रतिशतको दरले कर लाग्नेछ । तर, गैरवासिन्दा प्राकृतिक व्यक्तिको हकमा बोर्डमा सूचीकृत भएको निकायको हितको निसर्गबाट प्राप्त लाभको हकमा ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभको रकममा १५ प्रतिशत र ३६५ दिन भन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभको रकममा २० प्रतिशत र सूचीकृत नभएको निकायको हितको निसर्गबाट प्राप्त लाभको हकमा ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभको रकममा २० प्रतिशत र ३६५ दिन भन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभको रकममा २५ प्रतिशत । दफा ६७ मा नेपालमा रहेको सम्पत्ति भन्नाले जग्गा जमिन वा भवनहरू, गैरबासिन्दा व्यक्तिको बासिन्दा निकायमा रहेको हित तथा बासिन्दा व्यक्तिको कुनै विदेशी राष्ट्रमा रहेका जग्गा जमिन वा भवन बाहेकका सम्पत्ति वा सो व्यक्ति दफा ६९ बमोजिम नियन्त्रित विदेशी निकायसँग सम्बद्ध रहेमा सो निकायमा रहेको निजको हितसमेत सम्झनु पर्ने व्यवस्था राख्नुपर्ने उल्लेख छ ।