जेनजी विद्रोहको वर्षदिनमा कांग्रेसको प्रश्न– जेनजीले खोजेको परिवर्तन आयो ?
काठमाडौं । जेनजी विद्रोह भएको एक वर्ष पूरा भएको अवसरमा नेपाली कांग्रेसले सरकारमाथि तीव्र राजनीतिक प्रश्न उठाउँदै आन्दोलनका क्रममा भएका घटनामा संलग्न सबैलाई निष्पक्ष अनुसन्धानमार्फत कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरी त्यसमा गरिएका सिफारिस पूर्णरूपमा कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् । उनले २३ भदौमा भएको अत्यधिक बल प्रयोग तथा २४ भदौमा भएको आगजनी, तोडफोड र विध्वंशमा संलग्न जोसुकै भए पनि उन्मुक्ति दिन नहुने बताएका छन् । आङदेम्बेले शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाउन उक्साउने, आन्दोलनमा घुसपैठ गर्ने र अत्यधिक बल प्रयोग गर्ने सबै पक्षमाथि कारबाही हुनुपर्ने बताएका हुन् । एक वक्तव्य जारी गर्दै आङदेम्बेले राजनीतिक संरक्षण वा सत्ताको प्रभावका आधारमा कसैलाई उन्मुक्ति दिन नहुनेमा जोड दिएका छन् । उनले राज्यशक्तिको दुरुपयोग गर्ने र आन्दोलनको नाममा हिंसा तथा विध्वंस गर्ने दुवै पक्ष कानुनी दायरामा आउनुपर्ने धारणा राखेका छन् । आङदेम्बेले मानव अधिकार आयोगको प्रतिवेदनमा समेत केही पात्रलाई जोगाउने गरी सत्ता नेतृत्वबाटै कैँची चलाइएको आशंका गर्ने ठाउँ रहेको बताएका छन् । यद्यपि, उक्त प्रतिवेदन गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनभन्दा विश्वसनीय रहेको उनको दाबी छ । जेनजी आन्दोलनले उठाएका मुद्दा सम्बोधन भएको दाबीप्रति समेत आङदेम्बेले सरकारसँग जवाफ मागेका छन् । जेन–जीले खोजेको परिवर्तन आयो ? तपाईं नेतृत्वको सरकारको पाइला जेन–जीले चाहेको स्वप्नरूपी देश निर्माणतर्फ छ ? भन्दै उनले प्रधानमन्त्रीलाई प्रश्न समेत गरेका छन् । उनले भ्रष्टाचार अन्त्य, सुशासन, पारदर्शिता, युवाका लागि र रोजगारी, विदेश पलायन रोक्ने ठोस कार्यक्रमको माग गरेका छन् । आङदेम्बेले सार्वजनिक पदमा हुने नियुक्तिमा योग्यता र पारदर्शिताको अवस्थाबारे सरकारसँग जवाफ मागेका छन् । ‘अरू दललाई गाली गर्नु सजिलो थियो, अब आफ्नै सरकारको कामको हिसाब जनतालाई दिनुपर्छ,’ उनको माग छ । आङदेम्बेले जेनजीको बलिदानलाई सत्तामा पुग्ने भ‍र्‍याङका रूपमा प्रयोग गरेर आन्दोलनले उठाएका मूल प्रश्नलाई बेवास्ता गर्न नहुने बताएका छन् । जेनजीले व्यक्ति परिवर्तन मात्र नभई राज्य सञ्चालनको संस्कार परिवर्तन खोजेको उल्लेख गर्दै उनले सरकारलाई आलोचनालाई शत्रुतापूर्ण रूपमा नलिन र राज्यलाई पारदर्शी, जवाफदेही तथा जनउत्तरदायी बनाउन आग्रह गरेका छन् । उनले जेनजी शहीदहरूको सपना कुनै दल वा व्यक्तिको निजी राजनीतिक सम्पत्ति नभएको भन्दै आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको बलिदानलाई राज्यको नीति, शासन र व्यवहारमै रूपान्तरणमार्फत सम्मान गर्नुपर्ने बताएका छन् । आङदेम्बेले आन्दोलनका क्रममा घाइते भएकाहरूको दीर्घकालीन उपचार, पुनःस्थापना र आवश्यक सहयोग सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।
विश्व फिजियोथेरापी दिवस : हृदय रोग र पक्षघातको रोकथाममा शारीरिक गतिविधिको महत्त्व
काठमाडौं । हृदय तथा रक्तनलीसम्बन्धी रोग र पक्षघातको रोकथाम, व्यवस्थापन तथा पुनःस्थापनामा फिजियोथेरापी र शारीरिक गतिविधिको भूमिका भन्ने नाराका साथ मंगलबार (आज) विश्व फिजियोथेरापी दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ । स्वास्थ्य तथा शारीरिक गतिशीलतामा फिजियोथेरापिस्टले पु‍र्याउने महत्त्वपूर्ण योगदानबारे जनचेतना फैलाउने उद्देश्यले सन् १९९६ देखि हरेक वर्ष सेप्टेम्बर ८ मा यो दिवस मनाउने गरिएको छ। नेपालमा भने सन् २००० देखि यो दिवस मनाउन सुरु गरिएको हो । विश्वका विभिन्न देशहरूमा लामो समयदेखि प्रचलनमा रहेको यो चिकित्सा पद्धति नेपालमा सन् १९८० को दशकमा सैनिक अस्पताल, कुष्ठरोग निवारक उपचार पद्धति तथा भारतबाट तालिम प्राप्त स्वास्थ्यकर्मीमार्फत भित्रिएको पाइन्छ । त्यसयता केही दशक अगाडि मात्र निजी अस्पतालहरूले यसको औपचारिक सुरुआत गरेका थिए । पछिल्लो समय सेवाग्राही र प्रदायक दुवैको संख्या बढ्दै गएको छ भने नेपालमै यसको अध्ययन९अध्यापनसमेत हुन थालेपछि विद्यार्थीहरूको आकर्षणसमेत बढ्दै गएको चिकित्सकहरू बताउँछन् । विशेषगरी हाडजोर्नी तथा नसासम्बन्धी रोगका लागि प्रभावकारी मानिने फिजियोथेरापी न्युरोलोजिकल डिसअर्डर (स्नायुसम्बन्धी विकार) र अटिजम भएका बालबालिकाहरूमा समेत निकै उपयोगी साबित भएको छ । यसका साथै युवा, महिला तथा वृद्धावस्थामा देखिने ढाड र कम्मर दुख्ने लगायतका समस्याहरूमा समेत यो पद्धति अत्यन्त प्रभावकारी बनेको छ ।
आन्दोलनबाट प्राप्त उपलब्धिलाई निमिट्यान्न पार्ने प्रयास भइरहेको छ : दाहाल
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले आन्दोलन र बलिदानबाट प्राप्त उपलब्धिलाई निमिट्यान्न पार्ने प्रयास भइरहेको बताएका छन् । मंगलबार (आज) शहीद सुरेश वाग्ले र भीमसेन पोखरेलको २७औं स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले उपलब्धिलाई निमिट्यान्न पार्न खोज्ने प्रवृत्तिका विरुद्ध नयाँ सङ्कल्प र ऊर्जाका साथ अघि बढ्नुपर्ने बताए । उनले भने, ‘प्रतिक्रियावादी शक्तिहरूले आन्दोलन र बलिदानबाट प्राप्त उपलब्धिलाई निमिट्यान्न पार्ने प्रयास गरिरहेका छन् । सहिदहरूको सपना र योगदानलाई आत्मसात् गर्दै नयाँ संकल्प र ऊर्जाका साथ अघि बढ्नु आवश्यक छ ।’ संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध अहिले पनि प्रतिक्रियावादी चलखेल भइरहेको भन्दै त्यसका विरुद्ध दृढतापूर्वक उभिनुपर्ने उनले सबैमा अनुरोध पनि गरे । शहीद सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोखरेल ‘वैरागी’को बलिदानले तत्कालीन राज्यसत्ताविरुद्धको आन्दोलनलाई नयाँ ऊर्जा प्रदान गर्दै जनयुद्धलाई नयाँ उचाइमा पु‍र्याउन महत्त्वपूर्ण भूमिका खेलेको स्मरणसमेत गरे ।
रसुवा बाढीपीडितका लागि नाइमाको ५० लाख सहयोग
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवाको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ । नाइमाले आफ्नो पूर्वनिर्णयअनुसार उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो । सहयोग रकम नाइमा अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि प्रदान गरिएको संस्थाले जनाएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा नाइमाका बोर्ड सदस्य यमुना श्रेष्ठ र हेमन्त गोल्छा, साइमेक्स इन्क (बीवाइडी) का प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ, नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलाल, कार्यक्रम संयोजक ज्ञानु अधिकारी तथा डिजिपलका प्रतिनिधि उत्सव कार्की सहभागी थिए । सहयोग हस्तान्तरणका क्रममा अध्यक्ष वैद्यले रकमभन्दा यसको उद्देश्य महत्वपूर्ण रहेको बताइन् । विपद्को कठिन घडीमा प्रभावित समुदायप्रति ऐक्यबद्धता र साथ व्यक्त गर्न यो सहयोग गरिएको उनले भनिन् । उनले नाइमामा आबद्ध अटोमोबाइल आयातकर्ता र उत्पादक कम्पनीहरूको तर्फबाट सहयोग गरिएको उल्लेख गर्दै संकटका बेला सरकार र प्रभावित समुदायसँग सधैं साथ रहने प्रतिबद्धता व्यक्त गरिन् ।
नियम तोड्दै ट्रम्पले राखे सिक्कामा आफ्नो तस्बिर, केही घण्टामै सकियो स्टक
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर अमेरिकी सिक्कामा अंकित गरिएको छ । यो अमेरिकी संस्थाहरूमा आफ्नो व्यक्तिगत छाप छोड्ने राष्ट्रपतिको पछिल्लो कदमका रूपमा देखिएको छ । बुधबार अमेरिकी टकसाल (यूएस मिन्ट) ले अमेरिकाको २५०औं वार्षिकोत्सवको अवसरमा ट्रम्पको तस्बिर अंकित १ डलरको सिक्का सार्वजनिक गरेको हो । सिक्कामा ट्रम्पको तस्बिरसँगै ‘लिबर्टी’ र ‘इन गड ह्वी ट्रस्ट’ शब्द लेखिएका छन् । टकसालका अनुसार यी सिक्का दैनिक कारोबारमा प्रयोग गर्न बजारमा चलनचल्तीका रूपमा ल्याइने छैनन् । बरु सङ्कलनयोग्य सिक्काका रूपमा बिक्री गरिँदैछ । अमेरिकी कानुनले जीवित राष्ट्रपतिहरूको तस्बिर अमेरिकी मुद्रामा राख्न प्रतिबन्ध लगाएको छ । तर अमेरिकाको २५०औं वार्षिकोत्सवका लागि बनाइएको विशेष कानुनी व्यवस्थामा रहेको डिजाइनसम्बन्धी प्रावधान प्रयोग गर्दै उक्त प्रतिबन्धलाई पार गरिएको हो । २५ वटा सिक्काको एउटा रोलको मूल्य ६१ डलर र १०० वटा सिक्काको झोलाको मूल्य १५४.५० डलर तोकिएको छ । बिक्री सुरु भएको केही घण्टामै अमेरिकी टकसालको वेबसाइटमा यी सिक्का ‘हाल स्टकमा नरहेको’ देखिएको थियो । यद्यपि, थप सिक्का उत्पादन भइरहेको टकसालले जनाएको छ । यी सिक्का वासिङ्टन डीसीस्थित अमेरिकी टकसालको स्टोरमा राखिएका भेन्डिङ मेसिनबाट समेत बिक्री भइरहेका छन् । अमेरिकी टकसालका अनुसार यो सिक्का ‘अमेरिकाको ऐतिहासिक राष्ट्रिय उपलब्धि’ मनाउन तयार गरिएको हो। टकसालले यसलाई ‘एक पुस्तामा एकपटक आउने वार्षिकोत्सवको विशेष डिजाइन’ भन्दै आधुनिक सिक्का सङ्कलनमा विशेष स्थान बनाउने अपेक्षा गरेको छ । सिक्का सुनौलो रङको भए पनि यसमा वास्तविक सुन भने प्रयोग गरिएको छैन । अमेरिकी टकसालका अनुसार सिक्कामा ८८.५ प्रतिशत तामा रहेको छ भने बाँकी भाग जिंक, निकेल र म्याङ्गानिजयुक्त ब्रासको बाहिरी तहबाट बनेको छ । वासिङ्टन डीसीस्थित अमेरिकी टकसालको स्टोरमा ट्रम्पको तस्बिर अंकित १ डलरका सिक्का बिक्री गर्ने भेन्डिङ मेसिन । यी सिक्का चलनचल्तीमा नआए पनि कानुनी रूपमा मान्य मुद्रा हुन्। त्यसैले ऋण वा कर तिर्न प्रयोग गर्न सकिन्छ । तर संघीय कानुनअनुसार व्यवसायहरूले यी सिक्का स्वीकार गर्ने वा नगर्ने निर्णय आफै गर्न सक्छन् । यसअघि मे महिनामा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले ट्रम्पको तस्बिर अंकित २५० डलरको नयाँ नोट जारी गर्ने योजना रहेको बताएका थिए । त्यतिबेला बेसेन्टले जीवित अमेरिकी राष्ट्रपति यसअघि पनि देशको मुद्रामा देखिएको उदाहरण रहेको उल्लेख गरेका थिए । सन् १९२६ मा अमेरिकाको १५०औं वार्षिकोत्सवका अवसरमा जारी गरिएको आधा डलरको सिक्कामा तत्कालीन राष्ट्रपति क्याल्भिन कूलिजको तस्बिर राखिएको थियो । ट्रम्प प्रशासनले सन् २०२० मा ट्रम्पको पहिलो कार्यकालमा पारित ‘सर्कुलेटिङ कलेक्टिबल कोइन रिडिजाइन एक्ट’ लाई पनि आधार बनाएको छ । उक्त कानुनले सिक्काको पछाडिको भागमा जीवित व्यक्तिको तस्बिर राख्न प्रतिबन्ध लगाए पनि अगाडिको भा का लागि यस्तो प्रतिबन्ध स्पष्ट रूपमा उल्लेख गरेको छैन । नयाँ १ डलरको सिक्कामा ट्रम्पको तस्बिर अगाडिको भागमा राखिएको छ । यसै वर्ष मार्चमा अमेरिकी अर्थ मन्त्रालयले अमेरिकी कागजी नोटमा अब ट्रम्पको हस्ताक्षर राखिने घोषणा गरेको थियो । यो पनि पदमा बहाल रहेका अमेरिकी राष्ट्रपतिका लागि पहिलोपटक हुन लागेको हो ।
बाढीपीडितका लागि मनकामना केबलकारका कर्मचारीको ३ लाख ११ हजार सहयोग
काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि मनकामना केबलकारका कर्मचारीहरूले आर्थिक सहयोग गरेका छन् । कम्पनीका सबै कर्मचारीले आफ्नो दुई दिनको तलब बराबरको रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् । कर्मचारीबाट संकलित ३ लाख ११ हजार २२२ रुपैयाँ एभरेस्ट बैंकको नयाँ बानेश्वर शाखामा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ । प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई राहत र पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले कर्मचारीहरूले स्वेच्छिक रूपमा आफ्नो तलबबाट रकम योगदान गरेको कम्पनीले जनाएको छ । मनकामना केबलकारले विपद्को समयमा प्रभावित नागरिकको सहयोगका लागि सबै क्षेत्रबाट मानवीय सहकार्य आवश्यक रहेको उल्लेख गर्दै कर्मचारीहरूको योगदानले बाढीपीडितलाई राहत पुग्ने विश्वास व्यक्त गरेको छ ।
के तपाईंको नक्कली नङ लगाउने बानी छ ? हुनसक्छ क्यान्सर
काठमाडौैं । बेलायतकी ३५ वर्षीया लुसी थोमसलाई नक्कली नङ अर्थात एक्रिलिक नङ लगाउने बानी थियो । करिब दुई वर्षअघि उनले एक्रिलिक नङ हटाएपछि आफ्नो बूढी औंलाको नङमा कालो रेखा देखिन् । सुरुमा उनले नङमा चोट लागेको होला भनेर खासै ध्यान दिइनन् । तर साथीले डाक्टरलाई देखाउन सुझाव दिएपछि उनी जाँचका लागि गइन् । जाँचपछि डाक्टरहरूले नङमुनि हुने दुर्लभ प्रकारको छालाको क्यान्सर हुनसक्ने आशंका गरे । थप परीक्षण गर्दा नङमुनि क्यान्सर बन्नुअघि देखिने असामान्य कोषहरू भेटिए, जसलाई हटाउन उपचार गर्नुप‍र्यो । लुसीले आफ्नो अनुभव सुनाउँदै नक्कली नङ लगाउने मानिसहरूलाई नङमा देखिने असामान्य परिवर्तनलाई बेवास्ता नगर्न आग्रह गरेकी छन् । नङमा अचानक कालो वा खैरो धर्सा देखिनु, रंग परिवर्तन हुनु, नङको आकार बदलिनु वा लामो समयसम्म असामान्य देखिनु जस्ता समस्या देखिएमा आफै अनुमान नगरी स्वास्थ्यकर्मीलाई देखाउनु राम्रो हुन्छ । त्यसैगरी, नङ सजाउन प्रयोग हुने युभी बत्तीबाट हुने बारम्बारको सम्पर्कले पनि हातको छालामा असर पार्न सक्छ । त्यसैले सुन्दर देखिने मात्र होइन, आफ्नो स्वास्थ्यको पनि ख्याल राखौं । नङमा देखिएको सानो परिवर्तनलाई पनि बेवास्ता नगर्नूहोस् ।
स्वस्तिक रोलिङ मिल्सको आम्दानी १० महिनामा ३.१८ अर्ब, बैंकमा ऋण ३ अर्ब
काठमाडौं । स्वस्तिक रोलिङ मिल्स प्रालिले चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा ३ अर्ब १८ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ४ अर्ब ६ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो । त्यसअघि कम्पनीको आम्दानी आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब १४ करोड ४० लाख रुपैयाँ, आव २०७९/८० मा ३ अर्ब ४८ करोड ६० लाख रुपैयाँ र आव २०७८/७९ मा १ अर्ब २ करोड ३० लाख रुपैयाँ रहेको थियो । सन् २०१४ मा स्थापना भएको स्वस्तिक रोलिङ मिल्स प्राथमिक इस्पात उत्पादक कम्पनी हो । कम्पनीले स्पन्ज आइरनबाट एमएस बिलेट उत्पादन गरी त्यसबाट टीएमटी छड तथा फ्ल्याट, एङ्गल र च्यानललगायत संरचनात्मक इस्पात सामग्री उत्पादन गर्दै आएको छ । कम्पनीका उत्पादन ‘बजरङ स्टिल’ नामबाट बजारमा बिक्री हुँदै आएका छन् । कम्पनीसँग वार्षिक ७२ हजार मेट्रिक टन बिलेट, १ लाख २५ हजार मेट्रिक टन टीएमटी छड र १ लाख ४० हजार मेट्रिक टन संरचनात्मक इस्पात सामग्री उत्पादन गर्ने क्षमता रहेको छ। सन् २०२६ को मेसम्म कम्पनीको चुक्ता पुँजी ३१ करोड ३० लाख रुपैयाँ रहेको छ । उक्त पुँजी ६ जना व्यक्तिको स्वामित्वमा रहेकोमा सबैभन्दा ठूलो हिस्सा आरके गोल्छा समूहसँग सम्बन्धित व्यक्तिहरूको रहेको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट करिब ३ अर्ब रुपैयाँ ऋण लिएको छ । कुल ऋणमध्ये १ अर्ब २० करोड रुपैयाँ दीर्घकालीन र १ अर्ब ८० करोड रुपैयाँ अल्पकालीन ऋण रहेको छ । इस्पात उद्योगको माग तथा गतिविधि घरजग्गा र निर्माण क्षेत्रको उतारचढावसँग प्रत्यक्ष रूपमा जोडिने भएकाले निर्माण क्षेत्रमा आउने परिवर्तनले कम्पनीको उत्पादन क्षमता उपयोग, आम्दानी तथा नाफामा असर पार्ने देखिएको छ । निर्माण गतिविधिमा आएको सुस्तताका कारण पछिल्लो समय इस्पातको माग केही कमजोर रहे पनि दीर्घकालमा इस्पातजन्य उत्पादनको माग बढ्ने सम्भावना रहेको जनाएको छ । नेपालमा पूर्वाधारको ठूलो आवश्यकता रहेकाले सार्वजनिक तथा निजी क्षेत्रबाट अघि बढिरहेका तथा प्रस्तावित पूर्वाधार आयोजनाले आगामी दिनमा इस्पातको माग बढाउन सक्ने अपेक्षा कम्पनीको छ । तर, उद्योगको चक्रीय प्रकृतिका कारण कम्पनीको नगद प्रवाहमा उतारचढाव आउन सक्ने र उच्च ऋण भारका कारण यसले तरलता व्यवस्थापनमा थप दबाब सिर्जना गर्न सक्ने जनाएको छ । नेपालको इस्पात उद्योगमा ठूलो संख्यामा स्थापित द्वितीयक इस्पात उत्पादक रहेकाले बजारमा प्रतिस्पर्धा उच्च रहेको छ। पछिल्ला वर्षहरूमा अधिकांश उत्पादकले कच्चा पदार्थदेखि तयार उत्पादनसम्मको प्रक्रिया आफैंभित्र समेट्ने गरी उत्पादन प्रणाली विस्तार गर्दै आएका छन् । यसले स्वस्तिकमाथि प्रतिस्पर्धात्मक दबाब बढाउनुका साथै बजार मूल्यमा समेत दबाब सिर्जना गर्न सक्ने देखिन्छ । त्यसैगरी, भन्सार संरक्षण प्राप्त उद्योगमा रहेकाले कम्पनी आयात शुल्क तथा महसुलसम्बन्धी नीतिगत परिवर्तनप्रति संवेदनशील रहेको छ । विशेषगरी टीएमटी छड तथा त्यसका लागि आवश्यक कच्चा पदार्थमा लाग्ने आयात शुल्क वा महसुल घटाइए वा हटाइएमा विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न कम्पनीलाई थप चुनौती हुन सक्ने कम्पनीको भनाइ छ । यद्यपि, प्राथमिक इस्पात उत्पादक भएकाले कम्पनीले द्वितीयक इस्पात उत्पादकको तुलनामा थप भन्सार सुविधाको लाभ प्राप्त गर्दै आएको छ । आफ्नै बिलेट उत्पादनका लागि कम्पनीसँग इस्पात पगाल्ने संयन्त्र रहेकाले उत्पादन प्रक्रियामा एकीकरण कायम भएको छ। यसलाई कम्पनीको सकारात्मक पक्षका रूपमा लिइएको छ । देशमा पूर्वाधार निर्माणको ठूलो आवश्यकता रहेकाले दीर्घकालमा इस्पातजन्य उत्पादनको माग बढ्ने सम्भावना रहेको छ । सार्वजनिक तथा निजी क्षेत्रका पूर्वाधार आयोजना बढ्दै जाँदा स्वस्तिकजस्ता एकीकृत प्राथमिक इस्पात उत्पादकलाई त्यसबाट लाभ पुग्न सक्ने देखिएको छ ।