कांग्रेसको १५औं महाधिवेशन भृकुटीमण्डपमा हुने
काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा गर्ने भएको छ । महाधिवेशनका लागि असोज १६ देखि २० गतेसम्म हल, बगैंचा, पार्किङ स्थल बुकिङ गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका हुन् । ‘राष्ट्रिय सभागृह प्रदर्शनीमार्गमा पत्र पठाएर प्रदर्शनी हल, पार्किङ स्थल र बगैंचा बुकिङको प्रक्रिया थालेका हौं,’ दुलालले भने । कांग्रेस महाधिवेशन असोज १६ देखि १९ गतेसम्म चल्नेछ । कांग्रेसले भदौ २४ गतेदेखि वडा अधिवेशन गर्नेगरी यसअघि कार्यतालिका ल्याएको थियो । वडा अधिवेशनको मिति सार्न आज सानेपामा निर्वाचन समितिको बैठक चलिरहेको छ । कांग्रेसले पूर्वनिर्धारित केन्द्रीय महाधिवेशन कार्यतालिकालाई सोही अवधिमा गर्नेगरी तल्ला तहका अधिवेशन कार्यतालिका संशोधन गर्न लागेको हो । गत पुसमा कांग्रेसले विशेष महाधिवेशन भृकुटीमण्डपबाट सम्पन्न गरेको थियो ।
गगनलाई देउवाको इग्नोर
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको विवाद मिलाउन चाहेपनि पूर्वसभापति शेरबहादुर देउवासँग संवाद हुन नसकेको बताएका छन् । सभापति थापाले आफूले देउवाको सचिवालयमार्फत ४ पटक भेटको समय माग्दा पनि नदिएको विषय केन्द्रीय समिति बैठकमा उठाएका हुन् । ‘सभापतिज्यूले पार्टी एकताका लागि पटक-पटक पूर्वसभापतिको सचिवालयमा समय माग्दा पनि भेटको अवस्था नबनेको कुरा बैठकमा सुनाउनुभएको हो,’ सहमहामन्त्रीसमेत रहेका एक पदाधिकारीले विकासन्यूजलाई बताए । सभापति थापाको नेतृत्वमा केन्द्रीय समिति बैठक यही भदौ २१ र २२ गते पार्टीको केन्द्रीय कार्यालय बीपी भवन सानेपामा चलेको थियो । बैठकमा गगनको भनाइ उद्धृत गर्दै ती सहमहामन्त्रीले भने, ‘शेरबहादुर दाइले भेटघाटको लागि समेत समय दिनुभएन । मैले चार पटक भानु देउवासँग कुरा गर्दा पनि समय पाइनँ ।’ सभापति थापाले बैठकमा पूर्वकार्यवहाक सभापति पूर्णबहादुर खड्का र शीर्ष नेता डा.शेखर कोइरालासँग वार्ता सकारात्मक भएको जानकारी गराएका थिए । नेता खड्का र डा.कोइरालासँगको भेटमा सदस्यता अद्यावधिक नगरेकालाई पनि महाधिवेशनमा सहभागी हुन पाउने गरी निणर्य भएको उनले बताएका थिए । यस्तै, नेता कोइदलाको नेतृत्वमा १५ औं महाधिवेशन सम्पन्न गर्न छुट्टै संयन्त्र खडा गर्न समेत आफू तयार भएको बारे समेत थापाले प्रष्ट पारेका थिए । थापाको असन्तुष्टिमा पूर्वसभापति देउवाको स्वकीय सचिव भानु देउवालाई विकासन्यूजले प्रश्न गर्दा उनी भन्छन्, ‘उहाँहरूको भेटको वातावरण बन्छ ।’ यसबाहेक लामो प्रतिक्रिया दिन भने उनले चाहेनन् । यस्तै, १४ औं महाधिवेशन कार्यसमिति सदस्य समेत रहेका इतर समुहका एक नेता नाम उल्लेख नगर्ने सर्तमा नेता खड्का र कोइरालाले सभापति थापासँग गरेको वार्ता बारे पूर्वसभापतिलिाई औपचारीक जानकारी नै नगराउँदा समस्या भएको बताउँछन् । ‘पूर्व सभापतिले सबैको सल्लाह मिलेपछिको अन्तिम निर्णयमा मात्रै छलफल गर्छु भन्नेसम्मको सूचना छ,’ उनले भने ।
रसुवा बाढीपीडितका लागि भायानेटले दियो २० लाख
काठमाडौं । रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि भायानेट कम्युनिकेसन्स लिमिटेडले २० लाख रुपैयाँ सहयोग गरेको छ । भायानेटले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । विपद्बाट प्रभावित व्यक्ति, परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरिएको कम्पनीले जनाएको छ । विपद्को समयमा प्रभावित नागरिकलाई राहत र पुनःस्थापनामा सहयोग गर्नु सामाजिक उत्तरदायित्वको महत्वपूर्ण पक्ष भएको भायानेटको भनाइ छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उपलब्ध हुने उक्त रकमबाट रसुवा बाढी प्रभावित नागरिकका लागि सञ्चालन भइरहेका राहत, उद्धार तथा पुनःस्थापनाका काममा सहयोग पुग्ने अपेक्षा गरिएको छ । भायानेटले बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै, शोकसन्तप्त परिवारजनप्रति समवेदना र प्रभावित नागरिक तथा समुदायप्रति ऐक्यबद्धता जनाएको छ । उद्धार, राहत तथा सहयोगमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी, स्वयंसेवक, सरकारी निकाय तथा विभिन्न संघसंस्थाप्रति पनि कम्पनीले आभार व्यक्त गरेको छ । विपद्पछि राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि भइरहेका राष्ट्रिय प्रयासमा आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता भायानेटले जनाएको छ ।
एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको ५६ लाख सहयोग
काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सले ५६ लाख रुपैयाँभन्दा बढी सहयोग जुटाएका छन् । एनआईएमबी एस क्यापिटल लिमिटेड र एनआईबीएल इक्विटी पार्टनर्सले २१ लाख रुपैयाँ सहयोग गरेका छन् । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि प्रदान गरिएको हो । यस्तै, एनआईबीएल इक्विटी पार्टनर्सका पोर्टफोलियो कम्पनीहरूले पनि बाढी प्रभावित समुदायका लागि सामूहिक रूपमा करिब ३५ लाख रुपैयाँ नगद सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यससँगै एनआईएमबी एस क्यापिटल, एनआईबीएल इक्विटी पार्टनर्स र उसका पोर्टफोलियो कम्पनीबाट बाढी प्रभावितका लागि ५६ लाख रुपैयाँभन्दा बढी सहयोग जुटेको छ । संस्थाहरूले बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ र चितवनलगायत जिल्लाको पुनर्निर्माण तथा दीर्घकालीन विकासमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । प्रभावित क्षेत्रको आर्थिक गतिविधि चलायमान बनाउन भविष्यमा लगानीका अवसर विस्तार गर्ने योजना पनि रहेको जनाइएको छ । साथै, शाखा सञ्जाल विस्तार गरेर पुँजी बजार र वित्तीय सेवाको पहुँच प्रभावित क्षेत्रमा थप सहज बनाउने पहल गरिने बताइएको छ । यसबाट प्रभावित परिवार तथा समुदायलाई वित्तीय सेवासँग जोड्न र स्थानीय आर्थिक विकासमा दीर्घकालीन योगदान पुर्याउन सहयोग पुग्ने विश्वास संस्थाहरूले व्यक्त गरेका छन् । बाढीमा ज्यान गुमाएका नागरिकप्रति एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्स परिवारले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना जनाएको छ ।
साउदीमाथि हुथीको भीषण हमला, ७३ जना घाइते
काठमाडौं । यमनमा साउदी अरबको नेतृत्वमा रहेको सैन्य गठबन्धनले इरान समर्थित हुथी लडाकुहरूले साउदी अरबमाथि गरेको आक्रमणमा कम्तीमा ७३ जना घाइते भएको दाबी गरेको छ । बीबीसीको फारसी सेवाका अनुसार गठबन्धनले यी आक्रमणको निर्णायक जवाफ दिने जनाएको छ । यमनको सबैभन्दा बढी जनसंख्या रहेको क्षेत्र तथा देशको उत्तरी भागको अधिकांश भूभाग नियन्त्रणमा लिएका हुथी विद्रोहीहरूले जुलाईमा साउदी अरबविरुद्ध समुद्री नाकाबन्दीको घोषणा गरेका थिए । त्यसपछि उनीहरूले साउदी अरबमाथि आक्रमण सुरु गरेका थिए। उनीहरूले लाल सागरमा रहेका साउदीका पानीजहाजलाई समेत निशाना बनाएका थिए । यमनमा साउदी नेतृत्वको सैन्य गठबन्धनका एक प्रवक्ताले पछिल्लो समय तीव्र बनेको संघर्षलाई ‘खतरनाक’ भएको बताएका छन् । उनका अनुसार हुथीहरूले साउदी अरबका नागरिक तथा आर्थिक प्रतिष्ठानहरूलाई निशाना बनाएका छन् । पछिल्ला आक्रमणमा साउदी तेल कम्पनी साउदी अरामकोका जिजानस्थित संयन्त्रहरूलाई समेत निशाना बनाइएको छ । यद्यपि, अरामकोले यस विषयमा कुनै टिप्पणी गरेको छैन ।
नोभा जेनेटिकाको 'आईपोड–२०० डीटी’ औषधि बजारबाट फिर्ता गर्न विभागको निर्देशन
काठमाडौं । औषधि व्यवस्था विभागले नोभा जेनेटिका प्रालि खानिखोला–७, नुवाकोटद्वारा उत्पादित ‘आईपोड–२०० डीटी’ (सेफपोडोक्सिम प्रोक्सेटिल डिस्पर्सिबल ट्याब्लेट) औषधिको एक ब्याच बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । विभागले जारी गरेको सूचनाअनुसार ब्याच नम्बर आईपीडी२–१३३, उत्पादन मिति नोभेम्बर २०२५ र म्याद समाप्त हुने मिति अप्रिल २०२७ रहेको उक्त औषधि गुणस्तर परीक्षणका क्रममा मापदण्डअनुरूप नभएको पाइएको हो । राष्ट्रिय औषधि प्रयोगशालाबाट गरिएको परीक्षणमा उक्त औषधिले घुलनशीलता (डिसोलुसन) सम्बन्धी मापदण्ड पूरा नगरेको विभागले जनाएको छ । परीक्षण प्रतिवेदनमा ‘घुलनशीलताका सम्बन्धमा औषधि नमुना मापदण्डअनुसार छैन’ भन्ने उल्लेख गरिएको छ । उक्त औषधिमा सेफपोडोक्सिम प्रोक्सेटिल यूएसपी, सेफपोडोक्सिम २०० मिलिग्राम बराबरको मात्रा रहेको छ । यो लेप नलगाइएको घुलनशील ट्याब्लेटका रूपमा उत्पादन गरिएको हो । विभागले सम्बन्धित उद्योग तथा औषधि व्यवसायीलाई उक्त ब्याचको औषधिको बिक्री–वितरण रोक्न तथा बजारबाट तत्काल फिर्ता (रिकल) गर्न निर्देशन दिएको छ । साथै, फिर्ता गरिएको औषधिको विवरण विभागमा उपलब्ध गराउनसमेत भनिएको छ ।
चीनको जियान्ग्सी प्रान्तमा पहिरोका कारण ४ जनाको मृत्यु, उद्धार र राहत कार्य तीव्र
काठमाडौं । पूर्वी चीनको जियान्ग्सी प्रान्तस्थित सुइचुआन काउन्टीमा शनिवार गएको भीषण पहिरो र लेदोसहितको बाढीमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । स्थानीय अधिकारीहरूले चार जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । अन्य नौजना बेपत्ता रहेका छन् । त्यसैगरी, सोही काउन्टीको जोआन टाउनस्थित याङफेन गाउँमा शनिबार दुईजना बेपत्ता भएका थिए, जसमध्ये एक जनाको शव आइतबार दिउँसो फेला परेको स्थानीय सरकारले जनाएको छ । हाल प्रभावित क्षेत्रहरूमा उद्धार कार्य र विस्थापितहरूको व्यवस्थापन जारी छ । उद्धार टोलीका सदस्य वान कियाङकाअनुसार भारी उपकरण, उद्धार टोली र राहत सामग्री मुख्य प्रभावित क्षेत्रसम्म पुर्‍याउनका लागि अवरुद्ध सडक र नदीका मार्गहरू खोल्ने काम तीव्र गतिमा भइरहेको छ । गाओपिङ टाउनका उपप्रमुख लियाङ कुआनले मिङकेङ गाउँका सबै प्रभावित बासिन्दाहरूलाई वुझिफेङ टाउनसिपको एक होमस्टेमा स्थानान्तरण गरिएको जानकारी दिए । हाल त्यहाँ करिब २०० जना आश्रय लिइरहेका छन् । विस्थापितहरूका लागि भोजन, बसोबास र औषधी उपचारको व्यवस्था गरिएको छ भने एक व्यावसायिक मेडिकल टोली समेत परिचालन गरिएको छ । सम्भावित थप विपद्लाई मध्यनजर गर्दै छिमेकी क्षेत्रहरूबाट ५ हजार ३०० भन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । ‘साउदेल’ नामक चक्रवातका कारण परेको मुसलधारे वर्षाले जियान्ग्सी प्रान्तका कुल १ लाख ६१ हजार ५०० बासिन्दा प्रभावित भएको तथ्यांक छ । विपद्को गम्भीरतालाई हेर्दै चीनको प्राकृतिक स्रोत मन्त्रालयले जियान्ग्सीका लागि भौगर्भिक विपद् प्रतिकार्य स्तरलाई चौथोबाट बढाएर तेस्रो तहमा पुर्याएको छ । उद्धार कार्यमा मार्गदर्शन गर्न मन्त्रालयले एक कार्यदल समेत घटनास्थलमा पठाएको छ । यसैबीच, राष्ट्रिय विकास तथा सुधार आयोगले आपत्‌कालीन उद्धार र राहत कार्यका लागि केन्द्रीय प्राकृतिक विपद् राहत कोषबाट २ करोड युआन (करिब २९.५ लाख अमेरिकी डलर) विनियोजन गरेको छ । चीनमा विपद् व्यवस्थापनका लागि चार–तहको आपत्कालीन प्रणाली रहेको छ, जसमा प्रथम तह सबैभन्दा गम्भीर मानिन्छ । (सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री)
पटका लुकाएर राखेको अवस्थामा कपाली पक्राउ
काठमाडौं । अवैध रूपमा लुकाइछिपाइ राखिएको विस्फोटक पदार्थ (पटका) सहित एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१८ भुरुङखेल बस्दै आएका ३६ वर्षीय सुजन कपाली पक्राउ परेका हुन् । उनको कोठाबाट विभिन्न प्रकारका पटका लुकाइछिपाइ राखिएको अवस्थामा पटाका फेला परेको थियो। काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार सोमबार साँझ करिब ५ बजे भुरुङखेलस्थित एक घरमा अवैध रूपमा पटका लुकाइछिपाइ राखेर बिक्री वितरण भइरहेको भन्ने सूचना प्राप्त भएको थियो। प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा पुगेर चेकजाँच गर्दा कपालीको कोठाबाट विभिन्न प्रकारका पटका राखिएको अवस्थामा फेला पारेको थियो। प्रहरीले बरामद पटका सहित कपालीलाई नियन्त्रणमा लिई प्रहरी वृत्त लैनचौरमा ल्याएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले परिसरका प्रवक्ता दानबहादुर थापाले जानकारी दिए ।