चीनको जियान्ग्सी प्रान्तमा पहिरोका कारण ४ जनाको मृत्यु, उद्धार र राहत कार्य तीव्र

काठमाडौं । पूर्वी चीनको जियान्ग्सी प्रान्तस्थित सुइचुआन काउन्टीमा शनिवार गएको भीषण पहिरो र लेदोसहितको बाढीमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । 

स्थानीय अधिकारीहरूले चार जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । अन्य नौजना बेपत्ता रहेका छन् । त्यसैगरी, सोही काउन्टीको जोआन टाउनस्थित याङफेन गाउँमा शनिबार दुईजना बेपत्ता भएका थिए, जसमध्ये एक जनाको शव आइतबार दिउँसो फेला परेको स्थानीय सरकारले जनाएको छ । 

हाल प्रभावित क्षेत्रहरूमा उद्धार कार्य र विस्थापितहरूको व्यवस्थापन जारी छ । 

उद्धार टोलीका सदस्य वान कियाङकाअनुसार भारी उपकरण, उद्धार टोली र राहत सामग्री मुख्य प्रभावित क्षेत्रसम्म पुर्याउनका लागि अवरुद्ध सडक र नदीका मार्गहरू खोल्ने काम तीव्र गतिमा भइरहेको छ । 

गाओपिङ टाउनका उपप्रमुख लियाङ कुआनले मिङकेङ गाउँका सबै प्रभावित बासिन्दाहरूलाई वुझिफेङ टाउनसिपको एक होमस्टेमा स्थानान्तरण गरिएको जानकारी दिए । 

हाल त्यहाँ करिब २०० जना आश्रय लिइरहेका छन् । 

विस्थापितहरूका लागि भोजन, बसोबास र औषधी उपचारको व्यवस्था गरिएको छ भने एक व्यावसायिक मेडिकल टोली समेत परिचालन गरिएको छ । 

सम्भावित थप विपद्लाई मध्यनजर गर्दै छिमेकी क्षेत्रहरूबाट ५ हजार ३०० भन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । 

‘साउदेल’ नामक चक्रवातका कारण परेको मुसलधारे वर्षाले जियान्ग्सी प्रान्तका कुल १ लाख ६१ हजार ५०० बासिन्दा प्रभावित भएको तथ्यांक छ ।

विपद्को गम्भीरतालाई हेर्दै चीनको प्राकृतिक स्रोत मन्त्रालयले जियान्ग्सीका लागि भौगर्भिक विपद् प्रतिकार्य स्तरलाई चौथोबाट बढाएर तेस्रो तहमा पुर्याएको छ । उद्धार कार्यमा मार्गदर्शन गर्न मन्त्रालयले एक कार्यदल समेत घटनास्थलमा पठाएको छ । 

यसैबीच, राष्ट्रिय विकास तथा सुधार आयोगले आपत्‌कालीन उद्धार र राहत कार्यका लागि केन्द्रीय प्राकृतिक विपद् राहत कोषबाट २ करोड युआन (करिब २९.५ लाख अमेरिकी डलर) विनियोजन गरेको छ । 

चीनमा विपद् व्यवस्थापनका लागि चार–तहको आपत्कालीन प्रणाली रहेको छ, जसमा प्रथम तह सबैभन्दा गम्भीर मानिन्छ । (सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री) 

Share News