नुवाकोटमा ८० हजार ५ सय डोज हैजाविरुद्धको खोप पठाइयो
काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खोप तथा आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन तीव्र बनाएको छ । मन्त्रालयले मंगलबार नुवाकोटका लागि ८० हजार ५ सय २३ डोज (२३ बक्स) हैजाविरुद्धको खोपसहित १० थान फ्रिज-फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र ८ थान फ्रिज ट्याग पठाएको छ । रसुवामा भने यसअघि नै हेलिकप्टरमार्फत खोप पठाइसकिएको छ । बिहिबार देखि रसुवामा हैजाविरुद्धको खोप अभियान सञ्चालन हुँदैछ । बाढीका कारण खानेपानी तथा सरसफाइ प्रणाली प्रभावित हुँदा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रमा संक्रमण रोकथामलाई प्राथमिकतामा राखेर खोप अभियान सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि करिब ३ हजार उडान प्रभावित, करिब साढे ३ लाख यात्रु अलपत्र
काठमाडौं । इन्डोनेसियामा ज्वालामुखी विस्फोट भएपछि करिब ३ हजार उडान प्रभावित भएका छन् । विमानस्थलहरूको सञ्चालन दोस्रो दिन पनि बन्द रहँदा ३ लाख ४० हजारभन्दा बढी यात्रु अलपत्र परेका छन् । राजधानी जकार्ताबाट करिब १५० किलोमिटर टाढा रहेको अनाक क्राकाटाउ ज्वालामुखीमा शुक्रबार राति अबेरदेखि विस्फोट सुरु भएको थियो । विस्फोटपछि ज्वालामुखीबाट लाभाका फोहोरा निस्कन थालेका थिए भने ज्वालामुखीबाट निस्किएको खरानी राजधानी जकार्ता र लाम्पुङ प्रान्तसम्म पुगेको थियो । जकार्तास्थित सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थल स्थानीय समयअनुसार बिहान ६ बजे पुनः सञ्चालनमा ल्याउने योजना थियो । तर, विमानस्थल आसपासको हवाई क्षेत्रमा ज्वालामुखीको खरानी रहेकाले पुनः सञ्चालन गर्ने योजना स्थगित गरिएको छ । विमानस्थलले जारी गरेको विज्ञप्तिअनुसार अब उडानहरू सोमबार राति करिब १२ बजेदेखि पुनः सञ्चालन हुनेछन् । नागरिक तथा सैन्य उडानका लागि प्रयोग हुने हलीम पेरदानाकुसुमा विमानस्थल पनि त्यतिबेलासम्म बन्द रहनेछ । सोमबार जकार्तास्थित सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा यात्रुहरूको लामो लाइन लागेको थियो । अलपत्र परेका यात्रुहरू टिकटको रकम फिर्ता लिन तथा उडान कहिलेदेखि सुरु हुन्छ भन्ने जानकारी लिन लाममा बसेका थिए । फिन्ना नामकी एक यात्रुले आइतबार बिहान पूर्वी जाभाको मलाङ सहरबाट जकार्तास्थित आफ्नो घर फर्किने योजना बनाएकी थिइन् । उनका अनुसार विमानस्थलमा निकै अस्तव्यस्त अवस्था थियो र उडानको समय पटक–पटक परिवर्तन भइरहेको थियो ।
सुन तोलामा ३ हजार ५ सय रुपैयाँ महँगियो
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ मा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी प्रतितोला १ सय रुपैयाँ बढेर ४ हजार ७९० रुपैयाँ पुगेको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६९० रुपैयाँ थियो ।
डेंगुका गम्भीर लक्षण बेवास्ता नगर्नूहोस्, मस्तिष्कमा पनि असर पर्न सक्छ
काठमाडौं । डेंगुलाई सामान्यतया ज्वरो, शरीर दुख्ने, टाउको दुख्ने र प्लेटलेट्स घट्ने रोगका रूपमा चिनिन्छ । तर गम्भीर अवस्थामा डेंगुले मस्तिष्क र स्नायु प्रणालीलाई पनि असर गर्न सक्छ । केही दुर्लभ अवस्थामा डेंगुका कारण स्ट्रोकको जोखिमसमेत बढ्न सक्ने चिकित्सकहरूले बताएका छन् । यद्यपि डेंगु भएका सबै बिरामीमा यस्तो समस्या देखिने होइन र अधिकांश बिरामी सामान्य उपचारपछि निको हुने गर्छन् । विशेषज्ञहरूका अनुसार डेंगु गम्भीर बनेपछि मस्तिष्क सुन्निने, चेतनामा समस्या आउने, मस्तिष्कमा रक्तस्राव हुने जस्ता जटिलता देखिन सक्छन् । डेंगुको सबैभन्दा संवेदनशील चरण ज्वरो घट्न थालेको समय मानिन्छ। यही समयमा शरीरमा गम्भीर जटिलता देखिने जोखिम बढ्न सक्छ । डेंगु र स्ट्रोकबीच सम्बन्ध मुख्यतः दुई अवस्थासँग जोडिएको छ । पहिलो, प्लेटलेट्स धेरै घटेर र रगत जम्ने प्रक्रिया प्रभावित हुँदा मस्तिष्कमा रक्तस्राव हुन सक्छ । दोस्रो, शरीरमा पानीको कमी, रक्तचाप अत्यधिक घट्नु वा रगतको प्रवाहमा समस्या आएमा मस्तिष्कमा रगत पुग्न अवरोध हुने इस्केमिक स्ट्रोकको जोखिम पनि दुर्लभ रूपमा देखिन सक्छ । तर चिकित्सकहरूका अनुसार यस्तो अवस्था निकै कम बिरामीमा मात्र देखिन्छ । डेंगुका गम्भीर बिरामीमा प्लेटलेट्स घट्नु, रगत जम्ने प्रक्रियामा गडबडी हुनु, शरीरबाट तरल पदार्थ चुहिएर रक्तचाप घट्नु र प्रतिरक्षा प्रणालीको असामान्य प्रतिक्रिया जस्ता कारणले स्नायु प्रणाली प्रभावित हुन सक्छ । त्यसैले डेंगुलाई केवल प्लेटलेट्स घट्ने रोगका रूपमा मात्र बुझ्न नहुने विज्ञहरूको भनाइ छ । चिकित्सकहरूका अनुसार डेंगुका बिरामीमा अचानक हातखुट्टा कमजोर वा सुन्निनु, बोल्न गाह्रो हुनु, बेहोस हुनु, अत्यधिक अन्योलमा पर्नु, दौरा पर्नु वा असामान्य रूपमा धेरै टाउको दुख्नु जस्ता लक्षण देखिए तुरुन्त अस्पताल पुग्नुपर्छ । यी लक्षणले मस्तिष्कसँग सम्बन्धित गम्भीर जटिलताको संकेत दिन सक्छन् । विशेषज्ञहरूले प्लेटलेट्स कम हुँदैमा मस्तिष्कमा रक्तस्राव वा स्ट्रोक हुन्छ भन्ने निष्कर्ष निकाल्न नहुने बताएका छन् । बिरामीको समग्र स्वास्थ्य अवस्था र देखिएका चेतावनी संकेतका आधारमा उपचार गर्नुपर्ने भएकाले गम्भीर लक्षण देखिए ढिला नगरी आपत्कालीन स्वास्थ्य सेवा लिन उनीहरूले सुझाव दिएका छन् ।
धनुष्टंकार नियन्त्रणमा राखेको भन्दै नेपाललाई डब्ल्यूएचओको सम्मान
काठमाडौं । नेपालले लगातार १० वर्षदेखि मातृ तथा नवजात धनुष्टंकार (टिटानस) उन्मूलनको अवस्था कायम राखेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सम्मान गरेको छ । डब्ल्यूएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपाललाई यो सम्मान प्रदान गरिएको हो । बैठक अहिले टिमोर–लेस्टेको राजधानी डिलीमा भइरहेको छ । नेपालको तर्फबाट अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल बैठकमा सहभागी भएको छ । डब्ल्यूएचओका महानिर्देशकले डा. मिश्रालाई सम्मानपत्र हस्तान्तरण गरेका हुन् । डब्ल्यूएचओले गुणस्तरीय खोप सेवा, सुरक्षित प्रसूति अभ्यास र सरकारको निरन्तर प्रतिबद्धताका कारण नेपालले यो उपलब्धि कायम राख्न सफल भएको जनाएको छ । सम्मानपत्रमा नेपालको उपलब्धिले दक्षिण–पूर्वी एसिया क्षेत्रमा मातृ तथा नवजात धनुष्टंकार उन्मूलन अभियानलाई थप बल पुगेको उल्लेख गरिएको छ । यसैबीच, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता भने रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा आएको विनाशकारी बाढीपछि स्वास्थ्य प्रतिकार्यमा खटिनुपर्ने भएकाले बैठकमा सहभागी हुन सकिनन् । मन्त्री मेहताले भिडियो सन्देशमार्फत नेपालमा बाढीले सिर्जना गरेको स्वास्थ्य संकटबारे जानकारी दिँदै जलवायु परिवर्तनका असर सामना गर्न जलवायु वित्त आवश्यक रहेको बताएकी छन् ।
पोखरा उद्योग वाणिज्य संघमा उद्योग उपाध्यक्षमा सौगात थापा
काठमाडौं । पोखरा उद्योग वाणिज्य संघको उद्योग तर्फको उपाध्यक्षमा सौगात थापा निर्वाचित भएका छन् । उनले १ हजार २ सय ७१ मत प्राप्त गरेर उपाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी ललित बहादुर कुँवरले ९ सय ७३ मत प्राप्त गरेका थिए । निर्वाचित भएपछि थापाले उद्योग तथा व्यवसाय क्षेत्रमा युवाको सक्रिय सहभागिता बढाउँदै नयाँ पुस्तालाई उद्यमशीलतासँग जोड्ने उद्देश्यसहित काम गर्ने बताए । उनले नयाँ व्यवसायलाई प्रोत्साहन गर्ने, उद्यमीका समस्या समाधानका लागि पहल गर्ने तथा पोखराको उद्योग–व्यवसाय क्षेत्रलाई थप गतिशील र प्रतिस्पर्धी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। थापाले युवालाई रोजगारी खोज्नेभन्दा रोजगारी सिर्जना गर्ने उद्यमीसँग जोड्न आवश्यक रहेको बताउँदै नवउद्यम र नयाँ व्यवसायलाई प्रोत्साहन गर्ने वातावरण निर्माणमा आफ्नो प्राथमिकता रहने बताएका छन्। 'युवालाई उद्यमसँग जोड्दै, नयाँ व्यवसायलाई प्रोत्साहन गर्दै र पोखराको उद्योग व्यवसायलाई अझ गतिशील बनाउनेछु,' थापाले भने। उनले संघलाई उद्योगी–व्यवसायीको साझा आवाजका रूपमा थप प्रभावकारी बनाउँदै व्यवसाय सञ्चालनका क्रममा देखिएका नीतिगत तथा व्यावहारिक समस्याको समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने बताए । थापा गत निर्वाचनमा व्यवसायी थापा पोखरा उद्योग वाणिज्य संघको खुला कार्यसमिति सदस्यमा निर्वाचित भइसकेका छन् । उनले २०८१ भदौमा भएको निर्वाचनमा पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा अत्यधिक मत ल्याएर निर्वाचित भएका थिए । पोखरा उद्योग वाणिज्य संघको ३६ औं अधिवेशनबाट शोभा गौतम अध्यक्षमा निर्वाचित भएकी छन् । गौतमले निर्वाचनमा अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य र बलराम आचार्यलाई पछाडि पार्दै विजयी भइन् । गौतमले ७ सय ५१, पोखरेलले ६ सय ३७, बुद्धाचार्यले ६ सय १ र आचार्यले २ सय ५३ मत प्राप्त गरे । पोखरा उद्योग वाणिज्य संघको ७० वर्ष लामो इतिहासमा पहिलोपटक महिलाले नेतृत्व पाएको छ ।
कालीमाटी बजारमा कुन तरकारी कति रुपैयाँमा बिक्री हुँदैछ ?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि फलफूल र तरकारीको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा र भारतीय ठूलो गोलभेडा प्रतिकेजी ८० रुपैयाँमा कारोबार भइरहेको छ । सानो टनेल गोलभेडा भने प्रतिकेजी ५५ रुपैयाँमा बिक्री भइरहेको छ । रातो गोलो आलु र रातो मुडे आलु प्रतिकेजी ४८ रुपैयाँ, रातो लाम्चो आलु ५२ रुपैयाँ, भारतीय रातो आलु ४० रुपैयाँ र सेतो आलु ३५ रुपैयाँ कायम भएको छ । तरकारीतर्फ बन्दा प्रतिकेजी २० रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, लाम्चो भन्टा १५ रुपैयाँ, डल्लो भन्टा ३० रुपैयाँ, तने बोडी ६० रुपैयाँ र घिउ सिमी ९० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तितो करेला, लौका र भिण्डी प्रतिकेजी ४० रुपैयाँ, घिरौला २० रुपैयाँ, हरियो फर्सी ३० रुपैयाँ र पाकेको फर्सी ६० रुपैयाँ तोकिएको छ । सागपातमध्ये पालुङ्गो साग प्रतिकेजी १५० रुपैयाँ, तोरीको साग ८० रुपैयाँ, रायोको साग ५० रुपैयाँ र हरियो प्याज १०० रुपैयाँमा बिक्री भइरहेको छ । फलफूलतर्फ फुजी स्याउ प्रतिकेजी ३५० रुपैयाँ, मुस्ताङको स्याउ १३५ रुपैयाँ, नेपाली केरा प्रतिदर्जन १८० रुपैयाँ, मालभोग केरा १०० रुपैयाँ, कागती प्रतिकेजी ३५० रुपैयाँ, अनार २५० रुपैयाँ र हरियो तरबुजा ५० रुपैयाँ कायम भएको समितिले जनाएको छ ।
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा कायम गरिएको छ । युरो एकको खरिददर १७५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ०३ पैसा तोकिएको छ । बेलायती पाउन्ड एकको खरिददर २०४ रुपैयाँ २३ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०४ पैसा रहेको छ । यस्तै, अष्ट्रेलियन डलर एकको बिक्रीदर १०९ रुपैयाँ ३४ पैसा, क्यानेडियन डलर १०९ रुपैयाँ ५८ पैसा र सिङ्गापुर डलर ११९ रुपैयाँ ६५ पैसा कायम भएको छ। चिनियाँ युआन एकको बिक्रीदर २२ रुपैयाँ ५७ पैसा, साउदी रियाल ४० रुपैयाँ ३४ पैसा, कतारी रियाल ४१ रुपैयाँ ५६ पैसा र यूएई दिराम ४१ रुपैयाँ २४ पैसा तोकिएको छ । राष्ट्र बैंकले भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरेको छ । केन्द्रीय बैंकले आवश्यक परे विनिमयदर जुनसुकै बेला संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकहरूले लागू गर्ने दर भने केही फरक हुन सक्ने राष्ट्र बैंकले जनाएको छ ।