काठमाडौं । कृषि उत्पादन र बजार विस्तारमा केन्द्रित सात महिला सहकारी संस्थाले कृषिमा लगानी बढाउनको लागी बैंक तथा वित्तीय संस्थासँग १२ करोड रुपैयाँ बराबरको लगानी प्रस्ताव गरेका छन् ।
हेफर इन्टरनेशनल नेपालको पहलमा आयोजित ‘फ्रम फार्म टु फाइनान्स’ राष्ट्रिय पिचिङ कार्यक्रममा दाङ, पाल्पा, सर्लाही, सिन्धुली, कास्की र नवलपुरका सात महिला कृषि उद्यमी सहकारीले आफ्नो व्यवसाय विस्तार योजना प्रस्तुत गर्दै २० लाख रुपैयाँदेखि ४ करोड रुपैयाँसम्मको ऋण तथा लगानी सहयोगको प्रस्ताव गरेका हुन् ।
कार्यक्रममा सहभागी सहकारीहरूले अदुवा, बेसार, सिमी, टिमुर तथा दुग्धजन्य उत्पादनको व्यावसायिक उत्पादन र बजारीकरण विस्तारका लागि लगानी माग गरेका थिए । लमही नगरपालिका दाङमा रहेको निलकमल समाजिक उद्यमी महिला सहकारी संस्थाकी व्यवस्थापक पुनम भण्डारीले १ करोड ५० लाख रुपैयाँको लगानी प्रस्ताव गरिन् । दुग्धजन्य पदार्थको उत्पादन र बजारीकरण गर्नको लागि सो रकम खर्च गरिने उनको भनाई छ ।
उनकाअनुसार सहकारीले २०७३ सालमा डेरी स्थापना गरी किसानको दुध खरिद गर्दै आएको छ । सहकारीले कच्चा दुध मात्रै नभई आईसक्रिम, कुल्फी, पनीर, खुवाको उत्पादन गर्न थालेको छ । सहकारीले यसलाई प्याकेजिङ र ब्राण्डिङ गरेर बेच्ने लक्ष्य राखेको बताइन् । उनकाअनुसार हाल सहकारीको कूल पुँजी ८ करोड ८ करोड ५० लाख भन्दा माथि रहेको छ । ५ करोड ९३ लाख रुपैयाँभन्दा बढी वचत तथा १ करोड २८ लाख रुपैयाँ ऋण रहेको उनले जानकारी दिइन् । अब १ करोड ५० लाख रुपैयाँ ऋण लिएर ५० लाख रुपैयाँ सहकारीको प्रवर्द्धनमा खर्च गर्ने र १ करोड रुपैयाँ सदस्यहरूलाई लगानी गरेर आर्थिक उन्नतिसँगै सहकारीको पनि व्यवसायमा वृद्धि गर्ने लक्ष्य राखिएको बताइन् ।
समुन्नति सामाजिक उद्यमी महिला सहकारी संस्था दाङकी व्यवस्थापक राजकुमारी चौधरीले तरकारीको उत्पादन र बजारीकरणको लागी चार करोड रुपैयाँको लगानी प्रस्ताव गरेकी थिइन् । किसानले अत्याधिक रुपमा तरकारी उत्पादन गर्ने भएकोले १ करोड रुपैयाँ कोल्डस्टोर निर्माणको लागि र ३ करोड रुपैयाँ कृषकहरूलाई उत्पादनमा सहजीकरणको लागि उक्त रकम खर्च गरिने बताइन् ।
हाल कृषकहरुलाई उत्पादनको बजारिकरणमा सहकारीले ठूलो सहयोग गरिरहेको उनको भनाई छ । उनका अनुसार सहकारीको वासलात आकार १९ करोड २० लाख रुपैयाँ छ भने कुल निक्षेप १६ करोड ६२ लाख र कर्जा लगानी १३ करोड ३० लाख रुपैयाँ पुगिसकेको छ ।
लगानीको प्रस्ताव राख्ने सहकारीहरू वित्तीय रूपमा निकै मजबुत रहेका छन् । गण्डकी प्रदेशको नवलपुरस्थित सकलादेवी सामाजिक उद्यमी महिला सहकारीको वासलात ७ करोड ४९ लाख रुपैयाँ र कुल निक्षेप ३ करोड ७१ लाख रुपैयाँ छ । यसले एक करोड रुपैयाँ माग गरेको छ । कास्कीको माछापुच्छ्र्रेस्थित प्रतिभा सामाजिक उद्यमी महिला सहकारीको वासलात ५ करोड ९९ लाख रुपैयाँ र कुल निक्षेप २ करोड ३० लाख रुपैयाँ छ । प्रतिभा सहकारीले १ करोड ऋण माग गरेको छ ।
मधेस प्रदेशको सर्लाहीस्थित हरिपुर सामाजिक उद्यमी महिला सहकारीको वासलात ७ करोड १९ लाख रुपैयाँ र कुल निक्षेप २ करोड ८० लाख रुपैयाँ छ । यसले पनि एक करोड रुपैयाँ नै ऋण माग गरेको छ । वागमती प्रदेशको सिन्धुलीस्थित कमलामाई सामाजिक उद्यमी महिला सहकारीको वासलात १ करोड ९३ लाख रुपैयाँ छ, यसले ५० लाख रुपैयाँ लगानी प्रस्ताव गरेको छ । पाल्पाको गल्धा सामाजिक उद्यमी महिला सहकारीको वासलात ४ करोड ७५ लाख रुपैयाँ छ यो सहकारीले २० लाख रुपैयाँको ऋण माग गरेको छ ।
ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, आरएसडीसी लघुवित्त वित्तीय संस्था र साना किसान विकास लघुवित्त वित्तीय संस्थालगायत वित्तीय निकायले सहकारीहरूको व्यवसायिक योजनामा ऋण लगानी गर्न तयार रहेको बताएका छन् । निर्यातकर्ता कम्पनी एक्विस्टा नेपालले ती सहकारीहरूले उत्पादन गर्ने कृषि उपज खरिद गर्न ९ करोड रुपैयाँ बराबरको अग्रिम खरिद सम्झौता गरेको छ ।
कृषि, वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन सहकारीमा आधारित वित्तीय तथा बजार प्रणाली अपरिहार्य रहेको बताए । सहकारीहरूलाई उत्पादन, प्रशोधन र बजारीकरणसँग जोड्न वित्तीय पहुँच विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए । साना किसानलाई लगानी जुटाउन नै समस्या हुने गरेको बताए । सहकारीमार्फत साना किसानहरूलाई लगानी उपलब्ध गराउन अति आवश्यक रहेको उनको भनाई छ ।
हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा. तीर्थराज रेग्मीले कृषि क्षेत्रको रूपान्तरणका लागि बैंक, निजी क्षेत्र, सहकारी र सरकारी निकायबीच व्यापक साझेदारी आवश्यक रहेको बताए । साना किसानलाई वित्तीय पहुँच, बजार र प्रविधिसँग जोड्न सके कृषि क्षेत्रलाई दीगो आर्थिक आधार बनाउन सकिनेमा जोड दिए ।
कार्यक्रममा सहभागी सहकारीहरूले आफूहरू अब वचत तथा ऋण कारोबारमा मात्र सिमित नरही उत्पादनमुखी कृषि उद्यममा रूपान्तरण हुने चरणमा पुगेको बताएका छन् । वित्तीय संस्थाहरूले पनि सहकारीको पारदर्शी सुशासन, वित्तीय अनुशासन र किसान सञ्जाललाई लगानीका प्रमुख आधारका रूपमा लिएको उल्लेख गरेका छन् । हेफर इन्टरनेशनल नेपालले आगामी एक वर्षसम्म ती सहकारीलाई प्राविधिक परामर्श, व्यवसाय व्यवस्थापन तथा अनुगमन सहयोग उपलब्ध गराउने जनाएको छ । हेफरको यो पहिलो श्रृंखलाअन्तर्गत १८ जिल्लाका ३०० भन्दा बढी महिला उद्यमी सहकारी संस्थाले प्रतिस्पर्धा गरेका थिए ।