काठमाडौं । यमनमा साउदी अरबको नेतृत्वमा रहेको सैन्य गठबन्धनले इरान समर्थित हुथी लडाकुहरूले साउदी अरबमाथि गरेको आक्रमणमा कम्तीमा ७३ जना घाइते भएको दाबी गरेको छ ।
बीबीसीको फारसी सेवाका अनुसार गठबन्धनले यी आक्रमणको निर्णायक जवाफ दिने जनाएको छ ।
यमनको सबैभन्दा बढी जनसंख्या रहेको क्षेत्र तथा देशको उत्तरी भागको अधिकांश भूभाग नियन्त्रणमा लिएका हुथी विद्रोहीहरूले जुलाईमा साउदी अरबविरुद्ध समुद्री नाकाबन्दीको घोषणा गरेका थिए ।
त्यसपछि उनीहरूले साउदी अरबमाथि आक्रमण सुरु गरेका थिए। उनीहरूले लाल सागरमा रहेका साउदीका पानीजहाजलाई समेत निशाना बनाएका थिए ।
यमनमा साउदी नेतृत्वको सैन्य गठबन्धनका एक प्रवक्ताले पछिल्लो समय तीव्र बनेको संघर्षलाई ‘खतरनाक’ भएको बताएका छन् ।
उनका अनुसार हुथीहरूले साउदी अरबका नागरिक तथा आर्थिक प्रतिष्ठानहरूलाई निशाना बनाएका छन् ।
पछिल्ला आक्रमणमा साउदी तेल कम्पनी साउदी अरामकोका जिजानस्थित संयन्त्रहरूलाई समेत निशाना बनाइएको छ । यद्यपि, अरामकोले यस विषयमा कुनै टिप्पणी गरेको छैन ।