विकासन्युज

प्रधानमन्त्री मोदीले दिए समकक्षी बालेनलाई बधाई

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई दिएका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देशमा प्रधानमन्त्री मोदीले शाहको नियुक्तिलाई नेपाली जनताको विश्वास र आकांक्षाको प्रतिबिम्बका रूपमा व्याख्या गरेका छन् ।  उनले नयाँ नेतृत्वले नेपाललाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले भारत नेपाल सम्बन्धलाई अझ सुदृढ र परिणाममुखी बनाउनेतर्फ आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै आगामी दिनमा दुई देशबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्याउन प्रधानमन्त्री शाहसँग नजिकबाट सहकार्य गर्ने अपेक्षासमेत राखेका छन् ।

यी हुन् अर्थमन्त्री वाग्लेले गरेका तीन निर्णय

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहण गर्दै महत्वपूर्ण तीन निर्णय गरेका छन् । उनले शुक्रबार सिंहदरबारको अर्थमन्त्रालयमा पदभार ग्रहण गर्दै तीन वटा महत्वपूर्ण निर्णय गरेका हुन् । उनले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को प्रतिवेदनमा सिफारिस भएको राजश्व अनुसन्धान विभाग लगायत १५ वटा ऐन खारेज गर्ने निर्णय गरेका छन् ।  यस्तै, चैत्र १२, २०८२ सम्मको ‘आर्थिक स्थितिपत्र’ तत्काल तयार गर्दै निर्वाचन वाचा कार्यान्वयनको १०० दिने, अर्धवार्षिक र वार्षिक कार्ययोजना बनाउने निर्णय गरेका छन् ।  उनले निजी उद्यम–व्यवसाय सुरक्षा एवं प्रवद्र्धन र ठुला विकास आयोजना सहजीकरण लगायत नयाँ विधेयक वा तिनको संशोधनको प्राथमिकीकरण तय गर्दैं वृहत आर्थिक–कानूनी सुधारको मार्गचित्र बनाउने निर्णय पनि गरेका छन् । 

अर्थमन्त्री डा. वाग्लेको पहिलो निर्णय : १५ ऐन खारेज गर्ने

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व अनुसन्धान विभाग सहित १५ ऐन खारेज गर्ने निर्णय गरेका छन् । अर्थमन्त्रीको कार्यभार सम्हाल्दै वाग्लेले शुक्रबार यस्तो निर्णय गरेका हुन् ।  ‘रास्वपाले वाचापत्र पेस गरेको छ, त्यसमा राज्यले स्वीकार गरेका धेरै कुरा ग्रहण गर्दै कार्यान्वयन कार्ययोजना बनाउन कार्यदल गठन गर्ने निर्णय गरेका हौं,’ वाग्लेले भने । साथै,  १२ चैतसम्मको पछिल्लो आर्थिक स्थितिपत्र (ह्वाइटपेपर) तयार पार्न कार्यदल गठन गर्ने निर्णय गरेका छन् । उनका अनुसार उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएका सुझाव अनुसार राजस्व अनुसन्धान विभाग खारेज सहित कानुन खारेजी अध्ययन गर्न कार्यदलले काम गर्ने छ ।  उनले प्रणालीमा अधिक नियमन गरिएका कारण अर्थतन्त्र चलायमान बनाउन उप्रेरणा सहितका समस्या सल्टाएर अगाडि बढ्ने बताए । 

निजामती प्रशासनभित्रका संयन्त्रहरूसँग पार्टीको संलग्नता नरहेको रास्वपाको प्रष्टोक्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निजामती प्रशासनभित्र सक्रिय विभिन्न समूह, अभियान वा युनियन शैलीका संयन्त्रसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ । पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्ता कुनै पनि संरचनासँग पार्टीको आबद्धता, समर्थन वा संलग्नता नरहेको बताएका हुन् । विज्ञप्तिमा पार्टीको नाम र नेतृत्व जोडेर केही व्यक्तिहरूले स्वार्थ सिद्ध गर्न खोजेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै त्यस्ता भ्रममा नपर्न आम कर्मचारी तथा सरोकारवालाहरूलाई बुर्लाकोटीले आग्रह गरेका छन्। ‘निजामती प्रशासनभित्र गठन भएका कुनै पनि प्रकारका समूह, अभियान वा युनियन शैलीका संयन्त्रहरूसँग राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि प्रकारको आबद्धता, समर्थन वा संलग्नता छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘कसैले हाम्रो पार्टी र नेतृत्वको नाम जोडेर आफ्नो स्वार्थ सिद्ध गर्न खोजेको भए त्यस्ता भ्रममा नपर्न हार्दिक अपिल गर्दछौं।’ रास्वपाले पछिल्लो समय निजामती प्रशासनभित्र पार्टीको नाम जोडेर गतिविधि भइरहेको भन्ने सूचनाप्रति गम्भीर चासो व्यक्त गर्दै आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो ।

यस्तो बन्यो बालेन क्याबिनेट

बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बनेका छन् । उनी लोकतन्त्र पछिकै कान्छो प्रधानमन्त्री हुन् । उनीसँगै १४ जना मन्त्रीले पनि सपथ लिएर पदभार ग्रहणका लागि सिंहदरबार पुगेका छन् ।  बालेको मन्त्रिमण्डलमा डा. स्वर्णीम वाग्ले अर्थमन्त्री बनेका छन् भने सुदन गुरुङ गृहमन्त्री बनेका छन् । यस्तै, शिशिर खनाल परराष्ट्र मन्त्री बनेका छन् भने सोविता गौतम कानुन मन्त्री बनेकी छन् । यस्तै, शिक्षा मन्त्री सस्मित पोखरेल, भौतिक पुर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल, सामान्य प्रशासन÷भूमी, सहकारी तथा गरिबी निवारण प्रतिभा रावल र सिता वादी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी छन् ।  यस्तै, विराज भक्त श्रेष्ठ उर्जा जलस्रोत तथा सिंचाई मन्त्री, निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री, गनेश पौडेल संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री र डा. विक्रम तिमल्सिना सञ्चार तथा सूचना मन्त्री बनेका छन् ।  दीपक शाहले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् भने गिता चौधरीले कृषि तथा पशुपंक्षी मन्त्रालयको जिम्मेवारी पाएकी छन् । रक्षा र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय बालेन आफैले सम्हाल्ने छन् । 

बालेन्द्रको पीएसओमा डीएसपी बस्याल

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को निजी सुरक्षा अधिकृत (पीएसओ) मा प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपेश बस्याल खटिने भएका छन् ।  प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा व्यवस्थापन महाशाखाले बस्याललाई यो जिम्मेवारी दिएको हो ।  उनी प्रहरीभित्रका एक सफल अनुसन्धान अधिकृत मानिन्छन् । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान टिममा रहेर समेत उनले काम गरेका थिए ।  विशिष्ट व्यक्ति सुरक्षा व्यवस्थापन कार्यविधि अनुसार प्रधानमन्त्रीलाई विशिष्टस्तरको सुरक्षा प्रदान गरिन्छ ।  प्रधानमन्त्रीको सुरक्षामा नेपाली सेनाको २००, सशस्त्र प्रहरीको ३५, नेपाल प्रहरीको ६२ र राष्ट्रिय अनुसन्धान विभागबाट ५ जना सुरक्षाकर्मी खट्ने व्यवस्था छ ।

ऊर्जामन्त्रीमा विराजभक्त श्रेष्ठ, यस्तो छ ‘बागमती’ देखि ‘सिंहदरबार सम्मको यात्रा

काठमाडौं । ऊर्जामन्त्रीमा नियुक्त भएका  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विराजभक्त श्रेष्ठले शुक्रबार (आज) प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँगै शपथ ग्रहण गरे । उनी दोस्रो पटक मन्त्री बनेका हुन् । यसअघि युवा तथा खेलकुदमन्त्री बनेका थिए ।  काठमाडौंको इन्द्रचोकमा जन्मिएका श्रेष्ठ विवेकशील साझा पार्टीको पहिले केन्द्रीय सदस्य थिए । तर, पछि सो पार्टी छाड्दै रास्वपामा आवद्ध भए । उनी रास्वपाबाट काठमाडौं क्षेत्र नम्बर ८ बाट दोस्रो पटक निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । २०७२ सालको महाभूकम्पपछि श्रेष्ठ राहत र उद्धार अभियानमा संलग्न भएका थिए । त्यसबेला उनले नेतृत्व गरेको स्वयंसेवक टोलीले राहत संकलन, वितरण र उद्धार अभियानसँगै मुस्ताङ र बर्दिबास लगायतका स्थानमा विपन्न समुदायका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।  यस्तै, श्रेष्ठले वातावरण संरक्षणका लागि ‘फोर्स नेपाल’ संस्था खोलेर वृक्षरोपणको लागि ‘वान ट्री-मेरो जिम्मेवारी’ अभियान पनि चलाइरहेका थिए । मन्त्रीको रूपमा उनको यो दोस्रो इनिङ्स हो । धेरैले उनलाई सम्भावना भएको युवाका रूपमा हेरेका छन् । काठमाडौं क्षेत्र नम्बर ८ बाट २०७९ को निर्वाचनमा सानदार जित हासिल गरेका श्रेष्ठ अहिले पुनः सोही क्षेत्रबाट चुनाव जितेका  हुन् ।  गत फागुन २१ गते भएको निर्वाचनमा श्रेष्ठले २४ हजार ५९२ मतसहित जित हासिल गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सुमन सायमीले तीन हजार २१७ मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसका सपना राजभण्डारीले दुई हजार ८३५, नेकपा (एमाले) का राजेश शाक्यले एक हजार ९०९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नविन शाहीले एक हजार ९०९ मत प्राप्त गरेका थिए । २०७९ को निर्वाचन पनि श्रेष्ठले यही क्षेत्रबाट जित निकालेका थिए ।  बिजनेस एड्मिनिस्ट्रेशनमा स्नातक गरेका श्रेष्ठले आफ्नो करियरको सुरुवात होटल–रेस्टुरेन्ट व्यवस्थापन र विभिन्न परियोजनाहरूमा जागिरेका रूपमा गरेका थिए । श्रेष्ठ २०७४ को निर्वाचनअघि उज्ज्वल थापासँगै विवेकशील साझाको अभियानमा होमिएका थिए । समानुपातिक सूचीबाट बागमती प्रदेश सभा सदस्य बनेपछि उनले आफ्नो कार्यशैलीबाट सबैको ध्यान खिचेका थिए ।  श्रेष्ठ हरेक वर्ष आफ्नो कामका प्रतिवेदन सार्वजनिक गर्ने थोरै नेताहरूमध्ये पर्छन् । नेपाल भाषा र तामाङ भाषालाई बागमती प्रदेशको सरकारी कामकाजको भाषा बनाउने कानुन पारित गराउन उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए ।  संघीय सरकारले गुठी विधेयक ल्याउँदा उनले सडक र सदन दुवै मोर्चाबाट सशक्त विरोध गरी नेवाः समुदायको भावनाको प्रतिनिधित्व गरेका थिए ।  विवेकशील साझाका तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले राजावादी दस्तावेज ल्याएपछि वैचारिक मतभेदका कारण उनी सो पार्टीबाट अलग समेत भएका थिए । संघीय संसदमा रहँदा उनले सुशासन र खेलकुद क्षेत्रको सुधारका लागि सक्रियता देखाए । छोटो कार्यकालका लागि युवा तथा खेलकुद मन्त्री बन्दा उनले खेलकुद क्षेत्रको बेथिति हटाउन र खेलाडीहरूको मनोबल बढाउन चालेका कदमहरूले उनलाई काम गर्न सक्ने युवा’का रूपमा स्थापित गरेको थियो । 

बालेनका ‘मास्टरमाइन्ड’ अब देशको पूर्वाधार कमाण्डर, यस्तो छ सचिवालयदेखि सिंहदरबारसम्मको यात्रा

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा नियुक्त भएका सुनिल लम्सालले प्रधानमन्त्री बालेन शाहसँगै शुक्रबार (आज) शपथ ग्रहण गरिसकेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लम्सालले रुपन्देही १ बाट चुनाव जितेका थिए । उनले नेपाली कांग्रेसका हीराबहादुर केसीलाई ४२ हजार ८ सय ६३ मतान्तरले हराउँदै संसदीय यात्रा तय गरेका थिए । उनले खसेको ९६ हजार ८ सय ५९  सदरमध्ये ५४ हजार ८ सय ४५ मत प्राप्त गरेका थिए । कांग्रेसका केसीले ११ हजार ९ सय ८२ मत प्राप्त गरेका थिए । सिभिल इन्जिनियर रहेका लम्साल विकास बुझेको नेताका रूपमा मतदाताको रोजाइमा परेको धेरैको बुझाइ छ । ३५ वर्षे लम्साल लामो समयदेखि पूर्वाधार, सहरी योजना र सुशासन क्षेत्रमा काम गर्दै आएका युवा हुन् । उनले काठमाडौं महानगपालिका र बालेन्द्र शाह मेयर हुँदा उनको सचिवालयमा प्रमुख सल्लाहकार तथा भौतिक पूर्वाधार विज्ञका रुपमा काम गरेका थिए । यति मात्रै होइन, महानगरपालिकामा बालेनले चलाएको सुधार अभियान र पूर्वाधार विकासको पछाडि लम्सालको प्राविधिक र रणनीतिक दिमाग रहेको मानिन्छ । टुकुचा उत्खननदेखि, सडकका फुटपाथ विस्तार, र अलपत्र परेका आयोजनाहरूलाई गति दिने काममा उनले खेलेको भूमिकाका कारण बालेनले उनलाई देशकै पूर्वाधारको कमाण्ड समेत दिएका दिएका हुन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका-७ का लम्सालले तिलोत्तमामै रहेको लुम्बिनी इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको निती मिनाक्क्षी इन्ष्टिच्युट अफ टेक्नोलोजीबाट स्ट्रक्चलर इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् । अहिले उनले काठमाडौं विश्वविद्यालयबाट सोलिड वेष्ट म्यानेजमेन्ट विषयमा विद्यावारिधि गर्दैछन् । लम्सालले काठमाडौं महानगरपालिकामा नगर पूर्वाधार तथा वातावरण विज्ञका साथै यस क्षेत्रको भैरहवा र पोखराको अन्तराष्ट्रिय विमानस्थल, सिंहदरबार पुन: निर्माणसहित देशका ३५ जिल्लामा नमुना विद्यालय तथा १२ जिल्लाका जिल्ला अस्पतालको पूर्वाधार विकास परियोजनामा महत्त्वपूर्ण भूमिमा निर्वाह गरेर काम गरेका छन् । रूपन्देहीमा निर्माणाधीन एक्स्टा ओभल क्रिकेट स्टडियमको पूर्वाधारको काम पनि उनले गरिरहेका छन् ।