काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।
अपरान्ह १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
यस्तै, कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
त्यसैगरी, कानुनमन्त्री गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्ताव’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
अपरान्ह १:१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ सम्बन्धी समितिको प्रतिवेदन पेस हुनेछ । विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले उक्त प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
यस्तै, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्का सदस्यहरूको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा सभालाई जानकारी गराउनेछन् ।
यसैबीच, आज अर्थ समिति तथा उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकसमेत बस्दैछ ।