काठमाडौं । सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीलगायत सुरक्षा निकायलाई लक्षित गरी सुरक्षाकर्मीहरूले राहत सामग्री लिएको, वितरण नगरेको तथा सामग्री सडेर गएको भन्ने आशयका भ्रमपूर्ण तथा तथ्यहीन सामग्री प्रसारित भएको प्रति नेपाल प्रहरीले आपत्ति जनाएको छ ।
नेपाल प्रहरीले प्रहरीसँग कुनै पनि राहत सामग्री भण्डारण नरहेको स्पष्ट पारेको छ ।
प्रहरीका अनुसार विपद्का समयमा उद्धार तथा राहत कार्यमा खटिएका राष्ट्रसेवक सुरक्षाकर्मीको मनोबलमा प्रतिकूल असर पर्ने काम गर्न हुँदैन ।
आम नागरिकमा सुरक्षा निकायप्रति अविश्वास सिर्जना हुने गरी कपोलकल्पित आरोप र अफवाह फैलाउनु दुःखद र गैरजिम्मेवार कार्य भएको नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले बताएका छन् ।
अफवाह तथा अपुष्ट सूचनाले विपद् व्यवस्थापनका संवेदनशील कार्यसमेत प्रभावित पार्न सक्ने उनको भनाइ छ ।
नेपाल प्रहरीलगायत सुरक्षा निकायहरू विपद्को समयमा नागरिकको जीवनरक्षा, खोज तथा उद्धार तथा मानवीय सेवामा निरन्तर प्रतिबद्ध रहेको काफ्लेले बताए ।
प्रहरीले संवेदनशील परिस्थितिमा सुरक्षाकर्मीको मनोबल कमजोर पार्ने तथा आम नागरिकमा भ्रम सिर्जना गर्ने किसिमका अफवाह र अपुष्ट सूचनाको प्रचार–प्रसार नगर्न उनले अनुरोध गरेका छन् ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायतका सुरक्षाकर्मी खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा निरन्तर खटिइरहेको काफ्लेले बताएका छन् ।
‘सुरक्षाकर्मीहरूले आफ्नो ज्यानको समेत प्रवाह नगरी प्रभावित नागरिकको उद्धार, बेपत्ता व्यक्तिको खोजी, घाइतेको उपचार, फेला परेका शवको व्यवस्थापन तथा राहत सामग्री वितरणलगायतका मानवीय कार्यमा भूमिका निर्वाह गर्दै आएका छन्,’ काफ्लेले भनेका छन् ।