पर्वतमा पहिरो जाँदा किम्रुङ खोला थुनियो, सुरक्षित स्थानमा जान आग्रह

काठमाडौं । पर्वत जिल्लामा पहिरो खसेर मोदी खोलाको सहायक नदीका रूपमा रहेको किम्रुङ खोला थुनिएपछि तल्लो तटीय क्षेत्रमा बाढीको उच्च जोखिम बढेको छ ।

बाढी पूर्वानुमान महाशाखाले मंगलबार राति ८ः४० बजे आपत्कालीन सूचना जारी गर्दै कालिगण्डकी दोभानसम्मका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा जान अनुरोध गरेको हो । 

जिल्ला प्रशासन कार्यालय, पर्वतबाट प्राप्त जानकारी अनुसार पहिरोले खोलाको बहाव थुनिएकाले जुनसुकै बेला फुट्न सक्ने खतरा रहेको छ । 

यसबाट प्रत्यक्ष प्रभावित हुन सक्ने तल्लो तटीय क्षेत्रका नयाँपुल, वीरेठाँटी तथा आसपासका बस्तीका स्थानीय बासिन्दाहरूलाई अर्को सूचना जारी नभएसम्मका लागि तत्काल सुरक्षित स्थानतर्फ लाग्न महाशाखाले आग्रह गरेको छ । 

साथै, सम्भावित जोखिमलाई ध्यानमा राख्दै महाशाखाले मोदी नदी करिडोर आसपासका क्षेत्रमा अनावश्यक आवागमन नगर्न र तटीय क्षेत्रका नागरिकलाई निरन्तर सजग रहन सचेत गराएको छ ।

Share News