विकासन्युज

पर्यटन विकासले अर्थतन्त्रमा टेवा पुग्छ, सरकार-निजी क्षेत्र सहकार्य आवश्यक छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन प्रवर्द्धनका लागि प्राकृतिक र धार्मिक सम्पदाको प्रभावकारी रूपमा उपयोग गर्न जरुरी रहेको बताएका छन् ।  शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपाल प्राकृतिक र धार्मिक रूपमा धनी देश भएपनि त्यसअनुसारको लाभ लिन नसकिएको बताएका हुन् । नेपाल सगरमाथा, लुम्बिनी, पशुपतिनाथ र मुक्तिनाथ जस्ता विश्वप्रसिद्ध पर्यटकीयस्थलको देश भएपनि त्यसको लाभ उठाउन नसकेको उनको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासंघ पर्यटन पूर्वाधार निर्माणमा कटिबद्ध भएर लागिरहेको समेत बताए । सातै प्रदेशमा पर्यटन पूर्वाधार निर्माणको कार्य अघि बढिरहेको समेत जानकारी दिए ।  उनले भने, ‘हामी भारत र नेपालको बीचमा छौँ । हामी सगरमाथाको देश, गौतमबुद्धको जन्मस्थल भएको देश, पशुपतिनाथको देश, मुक्तिनाथको देश भनेर चिनिने गरेका छौं । प्रकृतिको हिसाबाट पनि हामी क्यापिटलाइज गन सक्छौँ । नेपालको समग्र पर्यटन प्रवर्द्धन गर्ने दिशामा लागिरहेका छौँ ।’ अध्यक्ष ढकालले पर्यटन प्रवर्द्धनले नेपालको आर्थिक वृद्धिमा टेवा पुर्याउने उल्लेख गर्दै सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको जानकारी दिए ।

नागढुङ्गा-नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द

काठमाडौं । सङ्घीय राजधानीको प्रदेशविन्दु नागढुङ्गा­-नौबिसे सडक आजदेखि हरेक दिन दिउँसो साढे ४ घण्टा बन्द हुने भएको छ ।  नारायणगढ-मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले आजदेखि यही जेठ २५ गतेसम्म बिहान १०ः३० बजेदेखि अपाह्न ३ः०० बजेसम्म उक्त सडक बन्द गरेर काम थालेको जनाएको छ ।  काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौं र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा उक्त निर्णय भएकोलाई जानकारी दिए ।  आयोजनाले नागढुङ्गा–पिपलामोड खण्ड निर्माणका लागि सडक बन्द गर्नुपरेको बताएको छ । नारायणगढ मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले काठमाडौंबाट जाने सवारीसाधन नागढुङ्गामा र नौबिसेतर्फबाट काठमाडौं आउने सवारीसाधन खानीखोलामा रोकिने जनाएको छ ।  प्रहरीले विकल्पमा धार्के­–सीतापाइला तथा टोखा­–छहरे­त्रिशूली­गल्छी सडक प्रयोग गर्न अनुरोध गरेको छ ।  

३० वर्ष यताकै धेरै वर्षा हुने, हिमाली क्षेत्रमा हिमताल विष्फोटको जोखिम : डा धर्मराज उप्रेती

काठमाडौं । जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले यस वर्ष नेपालमा ३० वर्ष यताकै धेरै वर्षा हुने प्रक्षेपण गरिएको बताउँदै उच्च हिमाली क्षेत्रमा हिमपहिरो र हिमताल विष्फोटको उच्च जोखिम रहेको चेतावनी दिएका छन् । उनका अनुसार जेठ १८ गतेदेखि असोज १४ गतेसम्मको मनसुन अवधिमा औसतभन्दा बढी वर्षा र तापक्रम हुने देखिएकाले विविध प्रकारका प्राकृतिक जोखिमहरू बढ्नसक्ने देखिएको छ । ‘वर्षा मात्र होइन, तापक्रम पनि खतरा बनेको छ’ डा. उप्रेतीका अनुसार यस वर्षको मनसुनमा उच्च हिमाली र उच्च पहाडी क्षेत्रमा ३५ देखि ६५ प्रतिशतसम्म औसतभन्दा बढी वर्षा हुने अनुमान छ । विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशका दुई तिहाइ भागमा ५५ देखि ६५ प्रतिशतसम्म बढी वर्षा हुन सक्नेछ । उनले भने, 'उच्च हिमाली क्षेत्रमा तापक्रम समेत औसतभन्दा बढी हुने प्रक्षेपण छ । तापक्रम बढ्दा हिमताल पग्लिन सक्छ, जसले हिमताल विष्फोटवा आकस्मिक बाढी ल्याउन सक्छ ।' कृषिमा प्रभाव, मनसुनको ब्रेकले चुनौती मनसुन सुरु हुनु अगाडि नै देशका केही स्थानमा प्रि-मनसुन वर्षा भइरहेको उल्लेख गर्दै डा. उप्रेतीले कृषिमा यसको प्रत्यक्ष प्रभाव पर्ने बताए । 'लगातार पानी परे कृषि प्रणालीलाई फाइदा हुन्छ, तर एकैचोटि ठूलो पानी परेमा बाढी र नोक्सानी सम्भव हुन्छ,' उनले स्पष्ट पारे । उनका अनुसार मनसुनको बीचमा हुने ‘ब्रेक’ (वर्षा रोकिने अवधि) पनि समस्याजनक हुनसक्छ । यसले गर्मी बढाउने, वायु प्रदूषण बढाउने र कृषि उत्पादनमा असर पार्ने सम्भावना बढाउँछ । डेङ्गु हिमाली क्षेत्रमा फैलिन सक्ने सम्भावना यो वर्ष औसतभन्दा बढी तापक्रम र वर्षाका कारण डेङ्गु रोग उच्च पहाडी तथा हिमाली क्षेत्रमा समेत देखिनसक्ने खतरा रहेको डा. उप्रेतीको भनाइ छ । 'डेङ्गु अब केवल तराईको रोग रहेन । तापक्रम र जमेको पानीले गर्दा हिमाली भेगमा पनि यसको प्रकोप फैलन सक्छ,' उनले चेतावनी दिए । बाढी, पहिरो र नदी थुनिने उच्च जोखिम उच्च हिमाली क्षेत्रमा पानी पर्ने सम्भावना बढेका कारण माटो बग्ने, नदी थुनिने र त्यसपछि फुटेर विनाश निम्त्याउने खतरा रहेको डा. उप्रेतीको भनाइ छ । 'यो अवस्थालाई सामान्य भन्न सकिन्न, साना ताल फुटेर ठूलो दुर्घटना हुने सम्भावना छ। थामेमा जस्तै घटना दोहोरिन सक्छ,' उनले भने ।  पूर्वसूचना प्रणाली र प्रविधि प्रयोगको आवश्यकता डा. उप्रेतीले जोखिम क्षेत्रको पहिचान गरी पूर्वसूचना प्रणाली मजबुत बनाउनुपर्नेमा जोड दिए । 'उच्च हिमाली क्षेत्रमा मापन गर्ने स्टेशनहरू नभएकाले स्याटेलाइटबाट निगरानी गरी सूचनाको आधारमा समयमै पूर्वचेतावनी दिन सक्नुपर्छ,' उनले सुझाए । भौतिक संरचना वैज्ञानिक ढंगले बनाउनुपर्ने सुझाव रोशी खोलामा कम वर्षामा आएको ठूलो बाढीलाई उदाहरण दिँदै डा. उप्रेतीले संरचना निर्माण वैज्ञानिक आधारमा नगरेको खतराको संकेत भएको उल्लेख गरे । '४४ मिलिमिटर वर्षामा आउने बाढी सामान्य होइन । अब कुनै पनि संरचना बनाउँदा वर्षाको प्रकृति, माटोको बनावट र जलनिकास प्रणालीको अध्ययन गरेर मात्र अघि बढ्नुपर्छ,' उनले भने । अन्त्यमा, उनले मनसुनसँग सम्बन्धित विपद् न्युनिकरणमा केवल सरकार वा एक विभागको मात्र नभई सबै सरोकारवाला, स्थानीय सरकार, नागरिक समाज र सञ्चार माध्यमको भूमिका आवश्यक रहेको स्पष्ट गरे ।

पहाडकी रानी’ बन्दीपुर घुमौँ (तस्बिरहरू)

काठमाडौं । पहाडकी रानी उपनामले परिचित प्रसिद्ध पर्यटकीय गन्तव्य बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘बन्दीपुर भ्रमण वर्ष, २०२५’ जारी छ । पर्यटन प्रवर्द्धनमार्फत बन्दीपुरमा नयाँ पर्यटकीय गन्तव्यको पहिचान, रोजगारी सृजना तथा आर्थिक गतिविधि थप चलायमान गराउने उद्देश्यले बन्दीपुर गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रूपमा मनाउने निर्णयअनुसार भ्रमण वर्ष मनाइरहेको छ । बन्दीपुरजस्तो मौलिक तथा ऐतिहासिक शहरको सौन्दर्य विश्वमाझ पुर्याउन पनि भ्रमण वर्षले महत्वपूर्ण भुमिका खेल्नेछ । भ्रमण वर्षमार्फत बन्दीपुरको पर्यटन क्षेत्रमा थप रोजगारी र स्वरोजगार सृजना, होटल तथा रेष्टुरेण्टमा थप लगानी बढाउनु साथै बन्दीपुरलाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने उद्देश्य छ ।  तस्बिर : न्युज एजेन्सी नेपाल

बिमा प्राधिकरणले सुरु गर्‍यो ‘बिमा प्रतिबिम्ब’, तथ्यांक अध्ययन र विश्लेषणमा सहजता

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रका मुख्य मुख्य तथ्यांकहरूको विश्लेषण सहितको मासिक तथ्यांक संस्करण बीमा प्रतिबिम्ब प्रकाशन गर्न शुरू गरेको छ । बीमा कम्पनीहरूको वित्तीय अवस्था, बीमा पहुँच, बीमा दाबी, दाबी फछ्र्यौट, बीमालेख संख्या, बीमाशुल्क संकलन लगायत बीमा क्षेत्रका प्रमुख सूचकहरूको अध्ययन गरी विश्लेषणात्मक तथ्यांक संस्करण मासिकरूपमा प्रकाशन गर्न शुरू गरिएको हो  । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा क्षेत्रको पारदर्शिता, जवाफदेहिता तथा नीतिनिर्माणका लागि आधार तयार हुने अपेक्षाका साथ मासिकरूपमा बीमा क्षेत्रको विश्लेषणात्मक तथ्यांक संस्करण प्रकाशन गर्न शुरू गरिएको जानकारी दिए । अध्यक्ष ओझाले बीमा क्षेत्रको विश्लेषणात्मक तथ्यांक संस्करणबाट बीमक, नीतिनिर्माता, अनुसन्धानकर्ता र आम नागरिकलाई बीमा क्षेत्र सम्बन्धी समग्र जानकारी प्राप्त हुने र यसको नियमित प्रकाशनबाट बीमा क्षेत्रमा भएका प्रगति, विद्यमान चुनौती तथा नीतिगत आवश्यकताहरू पहिचान गर्न समेत मद्दत पुग्ने विश्वास व्यक्त गरे । चालू आर्थिक वर्षको चैत मसान्तसम्मको मासिक तथ्यांक संस्करणमा यस अवधिमा जारी भएका बीमालेख संख्या, बीमाशुल्क संकलन, दाबी भुक्तानी विवरण, समर्पण तथा व्यतित विवरण, बीमकका शाखा कार्यालय तथा कर्मचारी संख्या, बीमकको लगानी विवरण, कूल बीमालेख संख्या, बीमाशुल्क संकलन र सोल्भन्सी अनुपात लगायतका विवरण समावेश गरिएका छन् । यसैगरी, चालू आर्थिक वर्षको चैत मसान्तमा नेपाल बीमा प्राधिकरणबाट सम्पादन भएका काम कार्यवाही सहित मुख्य मुख्य उपलब्धीहरू बीमा क्षेत्रको विश्लेषणात्मक तथ्यांक संस्करणमा समावेश गरिएका छन् । जसअनुसार, प्राधकरणबाट नियामकीय काम कारवाही, दाबी उजुरी दर्ता तथा फछ्र्यौट, बीमकहरूको स्थलगत निरिक्षण, सम्पत्ति शुद्धीकरण निवारणका लागि भएका कार्य र बीमालेख स्वीकृति लगायतका मुख्य मुख्य विषयहरू विश्लेषणात्मक संस्करणमा समावेश गरिएका छन् ।  

पर्वतारोहण पथप्रदर्शक पेसामा शेर्पा युवाको घट्दो आकर्षण, विदेशिए युवा

सोलुखुम्बु । सोलुखुम्बुका स्थानीय दावा शेर्पाको ४६ वर्ष सगरमाथा क्षेत्रमा आवतजावत गर्दागर्दै बित्यो । कलिलो उमेरमै हिमालमा भारी बोक्न सुरु गरेका उनी हाल ६१ वर्षको भए। पर्वतारोहण पथप्रदर्शकका रूपमा आठ पटक सगरमाथा आरोहण गरिसकेका दावामा हिमालप्रतिको मोह भने अझै उस्तै छ । भरियाबाट पर्यटन क्षेत्रमा प्रवेश गरेका उनलाई सगरमाथा क्षेत्रका गाउँहरू र त्यहाँको बाटो निकै प्रिय लाग्छ । उनी विगत सम्झँदै भन्छन्, 'हालको खुम्बु पासाङल्हामु गाउँपालिका–५ नाम्चे बजार अहिलेको जस्तो थिएन । पुराना घरहरू थिए । पर्यटन सिजनको बेलामा सयौँ टेन्ट टाँगिएका हुन्थे । शेर्पा युवाहरू कोही भारी बोक्थे, अङ्ग्रेजी बोल्न जान्नेहरू ट्रेकिङ गाइडका रूपमा काम गर्थे ।' पदयात्राका क्रममा गन्तव्यमा अहिलेको जस्तो होटल थिएनन् । कतिपय स्थानमा ओडारमा रात बिताएका अनुभव उनीसँग छ । उनी सम्झँदै भन्छन्, 'जहाँ दाउरा भेटिन्छ, बोक्थ्यौँ । जहाँ ओडार भेटिन्छ, त्यहाँ बस्थ्यौँ र आगो बालेर खाना पकाएर खान्थ्यौँ । त्यो समयमा प्राय: शेर्पा समुदायका युवाहरू देखिन्थे । तर अहिले शेर्पा युवाहरू अलि कम देखिन्छन् ।' पहिलो पुस्ताका अनुभवी शेर्पाहरूले पर्वतारोहण पथप्रदर्शक धाने पनि आगामी दिनहरूमा पथप्रदर्शकका रूपमा शेर्पा समुदायका युवाहरूको कमी हुन सक्ने नेपाल पर्वतारोहण महासंघको भनाइ छ । छिटपुट शेर्पा युवाहरूले पर्वतारोहण क्षेत्रमा आफ्नो भविष्य देखेपनि वर्षौँ पर्वतारोहण पेसामा लागेका अनुभवी शेर्पाहरूका सन्तान यो पेसामा नदेखिएको पर्वतारोहण पेसामा आबद्धहरू बताउँछन् । नेपाल पर्वतारोहण संघका सञ्चार अधिकृत दीपेन्द्र गुरुङका अनुसार सोलुखुम्बु जिल्लाबाट अनुभवी पर्वतारोहण पथप्रदर्शकहरू भए पनि दोस्रो पुस्ताका शेर्पा युवाहरूको कम सहभागिता देखिन्छ । उनी भन्छन्, 'हाल सोलुखुम्बुपछि सङ्खुवासभा जिल्लाबाट धेरै पर्वतारोहण पथप्रदर्शकको रूपमा सहभागी भएको देखिन्छ । त्यसपछि खोटाङ, ओखलढुङ्गालगायत जिल्लाबाट पनि सहभागिता छ ।' संघका अनुसार नेपालमा ४६१ हिमाल आरोहणका लागि खुला गरिएको छ । करिब १५० बढी हिमाल आरोहण हुनै बाँकी छ । कतिपय हिमालहरू अझै अध्ययनको क्रममा छन् । सञ्चार अधिकृत गुरुङ भन्छन्, 'पर्वतारोहण पथप्रदर्शकमा शेर्पा युवाहरूको आकर्षण घट्दै गए पनि अन्य समुदायका युवाहरूको आकर्षण बढ्दो छ । भविष्यमा पर्यटकहरूको सङ्ख्या बढ्यो भने पर्वतारोहण पथप्रदर्शक जनशक्ति कम हुन सक्छ । हालसम्म चिन्ता छैन । तर, हिमाल चढ्नु जटिल पेसा भएकाले यस पेसाप्रति आकर्षण घट्छ कि भन्ने चिन्ता हो ।' शेर्पा संस्कृति र शेर्पा समुदायको हिमालसँग जोडिएको सम्बन्ध केन्द्रित अध्ययन अनुसन्धान गर्दै आएका ६४ वर्षीय लाक्पा सोनाम शेर्पा पहिलेको तुलनामा पछिल्लो समय हिमाल आरोहण पेसामा शेर्पा युवाहरूको आकर्षण घट्दो क्रममा रहेको स्वीकार गर्छन् । हालसम्म शेर्पाहरू हिमाल आरोहण पेसामा सक्रिय रहेका र आउने पुस्ता यस पेसामा रहन्छन् वा रहँदैनन् भन्ने टुङ्गो नरहेको हिमालयन उद्धार संघका कार्यकारी प्रमुख गोविन्द बस्यालले बताउछन् । उनी भन्छन्, 'हालसम्म हिमाल आरोहण पेसामा शेर्पा समुदायको बाहुल्यता छ । यस पेसामा आबद्ध शेर्पाका छोराछोरी कोही काठमाडौंमा आएर पढ्ने र कोही विदेशमा अध्ययन गर्ने भएकाले बाबुबाजेको पेसामा उनीहरू फर्कन्छन् भन्ने निश्चित छैन ।' खुम्बु पासाङल्हामु गाउँपालिका–५ नाम्चे बजारमा शेर्पा सङ्ग्रहालय सञ्चालन गरेका लाक्पा सोनामका अनुसार शेर्पाहरूले यो पेसा छोड्दैमा भविष्यमा समस्या नहुन सक्छ । शेर्पा युवाहरूले हिमाल चढ्न छाडे अन्य समुदायका युवाहरूले चढ्ने उनको अनुमान छ । बरु जलवायु परिवर्तनको कारण सगरमाथा रहन्छ कि रहँदैन भन्ने मुख्य चिन्ता रहेको उनी बताउछन् । 'बर्सेनि सगरमाथामा हिउँ कम हुँदै गएको छ । सगरमाथा पत्थरमा परिणत भयो भने सगरमाथा को चढ्छ ?', उनी प्रश्न गर्छन्। हालसम्म आठ पटक सगरमाथा आरोहण गरेका ५१ वर्षीय निमा शेर्पा पर्वतारोहण पथप्रदर्शकमा शेर्पा युवाहरूको कमी भएको बताउछन् । उनी भन्छन्, 'हाम्रो पुस्ताका शेर्पाहरूले हाल गाइडको काम धानिरहेका छौँ । हिमाल चढ्ने पेसा जोखिमयुक्त भएको कारण पछि आउने पढेलेखेका पुस्ताले यस पेसालाई अँगाल्दैनन् कि भन्ने चिन्ता छ । हाल पर्वतारोहणमा अनुभवी र उमेरले परिपक्व शेर्पाहरू धेरै भेटिन्छन्, पछिल्लो पुस्ताका शेर्पाहरू कम भेटिन्छन् ।' सोलुखुम्बुको दूधकोसी गाउँपालिका–९ का तार्के शेर्पा उमेरले ५८ वर्ष पुगे । कलिलो उमेरदेखिनै भारी बोकेर सगरमाथा क्षेत्रमा ओहोरदोहोर गरिरहेकाका उनको पनि सगरमाथा क्षेत्रसँगको गहिरो सम्बन्ध छ । आठ पटक सगरमाथा आरोहण गरिसकेका तार्केले सगरमाथा आरोहण गर्न छाडेका थिए । तीन वर्ष बितिसक्यो । आठ हजार मिटरमुनिका हिमालमा अझै उहाँ आरोहण दलको नेतृत्व गरिरहेका छन् । हिमाल आरोहणमा शेर्पा युवाहरूको कमी हुँदै आएको उनको स्वीकारोक्ति छ । 'पढेलेखेका केही युवाहरू व्यवसायमा लागेका छन् भने, केही युवाहरू अमेरिका, क्यानडा, जापानलगायतका देशहरूमा उच्च शिक्षा अध्ययनका लागि पुगेका छन्', उनले भने, 'पछिल्ला पुस्ताका शेर्पा युवाहरू पेसामा सक्रिय देखिँदैन । निरन्तर आम्दानीको स्रोत नभएको र हिमाल चढ्नेहरूका लागि सरकारबाट सेवा सुविधा नभएका कारण पनि यो पेसाबाट शेर्पाहरू विस्थापित भएको हुनुपर्छ ।' खुम्बु पासाङल्हामु गाउँपालिका–५ नाम्चे बजारका ओङछु शेर्पाका अनुसार पहिले प्रत्येक परिवारको कान्छो छोराबाहेक अरू छोराहरूले सगरमाथा आरोहण गर्नुपर्थ्यो । ओङछु शेर्पा आफू परिवारको एक्लो छोरा भएको कारण ट्रेकिङ गाइडको काम सम्म गरेको तर हिमाल आरोहण नगरेको बताउनुहुन्छ । उनी भन्छन्, 'हाल गाउँमा युवाहरू त्यति भेटिँदैनन् । सबै विदेशिएका छन् । खुम्बु क्षेत्रका पाङबोचे, थामे, खुम्बुलगायतका गाउँका केही शेर्पा युवाहरू हिमाल चढ्ने पेसा अँगाले पनि नाम्चे बजारका युवाहरू खासै छैनन् ।' तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सन् १९५३ मे २९ मा सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेपछि सगरमाथा आरोहणको बाटो खुलेको हो । विश्वभरबाट पर्यटकहरू सगरमाथा आरोहण तथा त्यस क्षेत्रको अवलोकनका लागि आउन थालेपछि खुम्बु क्षेत्रका स्थानीयले भारी बोकेर आर्थिक आयआर्जन गर्ने अवसर पाएका थिए । सगरमाथा आधार शिविर पुग्नका लागि काठमाडौंबाट खुम्बु पासाङल्हामु गाउँपालिका–२ सुर्केसम्म यातायात सुविधा छ भने, काठमाडौँ र रामेछापबाट लुक्लासम्म हवाई सुविधा छ । लुक्लादेखि सगरमाथा आधार शिविरतर्फ पैदलयात्रामार्फत पुग्न सकिन्छ । बाटोमा सुविधा सम्पन्न होटेलहरू छन् । हाल लुक्ला र सुर्केबाट खच्चड र मान्छेमार्फत सामान ढुवानी गरिन्छ । नेपालमा हिमाल चढ्ने समुदायको रूपमा शेर्पा समुदायलाई चिनिन्छ । कुनै समय सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रका हरेक युवाहरू सगरमाथा आरोहण र ट्रेकिङ गाइडको लागि तयार हुन्थे । हाल शेर्पा युवाहरूको यस पेसाप्रति आकर्षण घट्दो देखिएको हो । रासस

अपराध बदलिँदैछन् : हत्या होइन, बैंकिङ कसुरमा देश डुब्दै

काठमाडौं । प्रमुख १० अपराधमध्ये पहिलो स्थानमा बैंकिङ कसुरका मुद्दा देखिएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रहरीले छुट्याएको मुख्य १० अपराधमा बैंकिङ कसुर पहिलो स्थानमा परेको हो ।  त्यसपछि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र सुविधासम्बन्धी अपराध, आत्महत्या, लागुऔषध, चोरी, जबर्जस्ती करणी, ठगी, सवारी ज्यान, ज्यान मार्ने उद्योग र बहुविवाह छन् । बैंकिङ कसुरका मुद्दामात्रै ११ हजार ४८ दर्ता रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिए । उनका अनुसार उक्त विवरण पछिल्लो १० महिनाका हुन् । त्यसपछि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र सुविधासम्बन्धी कसुरमा छ हजार ८८४ वटा मुद्दा दर्ता भएका छन् ।  लागुऔषधका चार हजार ४१, चोरीका दुई हजार ९४०, जबर्जस्ती करणीका एक हजार ८२८, ठगीका एक हजार ७५०, सवारी ज्यानसम्बन्धी, एक हजार ५५७, ज्यान मार्ने उद्योगमा ८९४ र बहुबिवाहसम्बन्धी ४५४ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ  । प्रहरीले आज सार्वजनिक गरेको विवरणमा कूल ४६ हजार ८८९ मुद्दा दर्ता भएकामा प्रमुख १० अपराधका मात्रै ७८ दशमलव ५१ प्रतिशत रहेको जनाएको छ ।  प्रवक्ता थापाले उक्त तथ्याङ्क विश्लेषण गर्दा औसतमा दैनिक अपराधसम्बन्धी १५६ वटा मुद्दा दर्ता हुने गरेको बताए । उनले जनचेतना, प्रहरीको सक्रियता तथा प्रहरीप्रतिको विश्वासमा अपराधको उजुरी दिने क्रम बढेको तथ्याङ्कले देखाएको दाबी गरे । रासस

नेपाल एयरलाइन्सलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई प्रभावकारी बनाउँदै सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोग तथा नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आयोजनामा भएको तेस्रो बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट (बिआइटिएम)को उद्घाटन कार्यक्रममा उनले कनेक्टिभिटीका लागि नेपाल वायुसेवा निगमलाई थप प्रभावकारी बनाउँदै सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले भने 'हाम्रा दुई छिमेकी देशहरू भारत र चीनमा बौद्ध अनुयायीहरूको सङ्ख्या बढी छ । उहाँहरू पनि यहाँ आउन इच्छुक हुनुहुन्छ । हामीले छिमेकी मुलुकबाट पर्यटक यहाँ सोहीअनुसार योजना बनाउनुपर्छ । यहाँका उत्पादनको ‘ब्रान्डिङ’ गर्नुका साथै पर्यटक लक्षित ‘प्याकेज’हरू तयार गर्नुपर्छ ।' पर्यटन प्रवर्द्धनका लागि पूर्वाधारको विकाससँगै कनेक्टिभिटी बढाउन पनि सरोकार भएका निकायलाई अध्यक्ष ढकालले आग्रह गरे । मार्टले नेपाललाई बौद्ध पर्यटन केन्द्रका रूपमा स्थापित गर्न मद्दत गर्ने उल्लेख गर्दै उनले मार्टलाई परिस्कृत गरी ब्रान्डका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । उनले बौद्ध पर्यटन प्रवर्द्धनका लागि नेपालको लुम्बिनीसहित बुद्धसँग सम्बन्धित बौद्ध तीर्थस्थलहरू तथा भारतमा रहेका तीर्थस्थलहरूसँग जोडेर ‘बौद्ध सर्किट’ विकास गर्नुपर्ने बताए । अध्यक्ष ढकालले विश्वभरका बौद्ध धर्मावलम्बीलाई कम्तीमा एक पटक बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुपर्छ भन्ने सन्देश दिन तथा सोहीअनुरूप पर्यटक आगमन बढाउन सकेमा नेपाल आर्थिक रूपमा सबल हुनुका साथै पर्यटनको आयाम परिवर्तन गर्न सकिने धारणा राखे । अध्यक्ष ढकालले नेपालको हवाई भाडा महँगो हुँदाहुँदै सरकारले टिकटमा भ्याट लगाउँदा भाडा थप महँगो हुन गएको बताउँदै यसमा समीक्षा गर्न आग्रह गरे । नेपालमा पर्यटनको सम्भावना अत्यधिक रहेको बताउँदै उनले सरकार र निजी क्षेत्रले सहकार्य तथा समन्वय गरी यसबाट लाभ उठाउनसक्ने उल्लेख गरे । विदेशी लगानीकर्तालाई पनि यहाँको पर्यटन क्षेत्रमा पर्याप्त सम्भावना भएकाले ढुक्कसँग लगानी गर्न उनले आग्रह गरे ।