विकासन्युज

अमेरिकाको सान डिएगोमा विमान दुर्घटना, पाइलटसहित ६ जनाको निधन

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यको सान डिएगो नगरमा एक सानो निजी विमान आवासीय क्षेत्रमा खस्दा पाइलटसहित विमानमा सवार सबै ६ जनाको निधन भएको छ । अमेरिकी राष्ट्रिय यातायात सुरक्षा निकायका अनुसार ‘सेसना ५५० सिटेसन’ नामक सो विमान बिहीबार बिहान ३ः४७ बजे विद्युत्‌को तारमा ठोक्किएर सिधै आवासीय क्षेत्रमा खसेको थियो । विमानमा आगो लागेपछि आसपासका थुप्रै घरहरूमा क्षति पुगेको बताइएको छ । उक्त विमान चर्चित सङ्गीत व्यवसायी डेभ शापिरोको स्वामित्वमा रहेको थियो । दुर्घटनामा उनका साथै अन्य पाँच जनाको ज्यान गएको छ । सान डिएगोको मर्फी क्यान्यन क्षेत्रका कम्तीमा १० घरमा विमानका भागहरू खस्दा सामान्य क्षति पुगेको जनाइएको छ । तर, जमिनमा रहेका मानिसहरूमा गम्भीर चोटपटक नपरेको जानकारी प्राप्त भएको छ । सङ्गीत संस्था साउन्ड ट्यालेन्ट समूहले एक वक्तव्य जारी गर्दै भन्यो, 'हामी हाम्रो सहसंस्थापक, प्रिय सहकर्मी र साथीहरूको असामयिक निधनबाट अत्यन्त मर्माहत भएका छौं । यो कठिन घडीमा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।' दुर्घटनाको कारण अहिलेसम्म खुल्न नसकेको एनटीएसबीले जनाएको छ । सो समयमा विमानस्थलमा अवतरण मार्गका बत्ती र मौसम मापन यन्त्रहरू काम नगरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । विमानका चालकले आपतकालीन सन्देश पनि नपठाएको जनाइएको छ । सुरक्षा निकायले प्रारम्भिक अनुसन्धानको प्रतिवेदन आउन केही सातासम्म लाग्ने जानकारी गराएको छ । रासस

गृहमन्त्री लेखकको चेतावनी : गलत काम गरे राजनीतिबाट विदा लिन्छु

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा विदेश जान चाहने युवाहरूबाट रकम असुली भएको प्रकरणमा आफ्नो नाम जोडिएकोप्रति गृहमन्त्री रमेश लेखकले कडा प्रतिक्रिया दिएका छन् । शनिबार धनुषामा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले आफू कुनै गलत काममा संलग्न नभएको दाबी गर्दै यस्तो काम भएको प्रमाणित भए राजनीतिबाटै टाढिने घोषणा गरेका छन् । उनले भने, 'जुन दिन म यहाँ (गृहमन्त्री) आएँ, त्यस्तो कुनै गलत काम भएको पाइए भने त्यो दिनदेखि म राजनीतिमा देखिंदिनँ ।' गृहमन्त्री लेखकका अनुसार मन्त्रालयले आजै औपचारिक विज्ञप्तिमार्फत प्रकरणबारे स्पष्ट पार्नेछ । उनले पछिल्ला दिनहरूमा सामाजिक सञ्जालमा देखिएको प्रतिक्रियालाई लिएर आफूपनि अनुसन्धान गरिरहेको जानकारी दिए । 'दुई–चार दिन चुप लागेर बसेको थिएँ, किनभने के भइरहेको छ, कहाँबाट भइरहेको छ भनेर बुझिरहेथें । धेरै कुरा थाहा भइसकेको छ,' गृहमन्त्री लेखकले भने । उनले यो विषयले पार्टीको गरिमा खस्काउने खालको नभएको दाबी गर्दै छानबिन निष्पक्ष ढंगले हुने विश्वास व्यक्त गरे । यसैबीच, भिजिट भिसा प्रकरणमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराई अख्तियारको नियन्त्रणमा छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रकरणमा संलग्न अन्य कर्मचारीहरूतर्फ पनि अनुसन्धान अघि बढाएको छ । शुक्रबार गृहमन्त्रालयले विमानस्थल अध्यागमन कार्यालयका कम्तीमा १४ कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ । हटाइएका अधिकांश नायब सुब्बा स्तरका कर्मचारी रहेको बताइएको छ ।

ओझेलमा चमेरे गुफा : प्रचारप्रसार र पूर्वाधार अभावले पर्यटकीय सम्भावना खुम्चियो

इलाम । पर्यटनको सम्भावना रहेको इलामको माङसेबुङ गाउँपालिका–२ इभाङस्थित चमेरे गुफा ओझेलमा परेको छ । देउमाई खोलाको किनारसँगै पहाडको फेदीमा रहेको चमेरे गुफाको उचित प्रचारप्रसार हुन सकेको छैन । पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिएको चमेरे गुफामा पूर्वाधार निर्माण, संरक्षण र प्रवर्द्धन गर्न नसकिएको स्थानीय पृथीमान जवेगूले बताए । स्थानीयले २० वर्षअघि पत्ता लगाएको गुफाको संरक्षण र प्रवर्द्धनका लागि सरकारी निकायको ध्यान नगएको उनको भनाइ छ । यो गुफा जिल्लाकै प्रमुख धार्मिकस्थल गजुरमुखी धामदेखि एक किलोमिटर दुरीमा मात्र अवस्थित छ । प्राकृतिक रूपमा सुन्दर र आकर्षक छ, चमेरे गुफा । 'चमेरे गुफालाई पर्यटकीय गन्तव्य बनाउन यसको संरक्षण र प्रवर्द्धनसँगै प्रचारप्रसार गर्न आवश्यक छ', जवेगुले भने, 'त्यसो गर्न सकिएमा पर्यटकको उपस्थिति हुने सम्भावना छ ।' देवताका पालामा गजुरमुखी देवीलाई भेट्न आउँदा महादेवले सो गुफामा बास बसेको किवदन्ती प्रचलित छ । पछिल्लो समय गुफामा हुलका हुल चमेरा भेटिने भएकाले सो गुफाको नाम चमेरे गुफा राखिएको स्थानीय हिमाकुमारी अधिकारीले बताइन् । गुफा फराकिलो छ । गुफाको प्रवेशद्वारदेखि भित्री भागसम्म चट्टानी संरचना देख्न सकिन्छ । खोलाको किनारमा चट्टानले बनेको संरचनाले यो गुफा भूगर्भीय अध्ययनको दृष्टिले रोचक छ । गुफा करिब ४० देखि ५० जना मानिस अट्न सक्ने आकारमा छ । तत्कालीन लिम्बूवानका राजाहरूले आफ्ना सेनालाई सेल्टरको रुपमा यस गुफामा राख्ने गरेको बताइन्छ । माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले यस वर्षदेखि पालिकाभित्रका सबै ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको संरक्षण र संवर्द्धनका लागि योजनाबद्ध काम गरिने बताए । 'यसवर्षदेखि हामी नीति तथा कार्यक्रममा समेटर ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको संरक्षण र संवर्द्धनको योजनाबद्ध रूपमा काम गर्नेछौँ', अध्यक्ष राईले भने । माङसेबुङ–२ का वडाध्यक्ष कृष्णबहादुर बस्नेतले चमेरे गुफाको प्रवर्द्धन गर्न आगामी दिनमा वडाको विशेष ध्यान जाने बताए । रासस

बिहे घरमा झडप : बेहुला-बेहुली पक्षबीचको विवादमा पाँच जना घाइते

काठमाडौं । मोरङको धनपालथान गाउँपालिका–६ कदमहास्थित एक बिहे घरमा बेहुला र बेहुली पक्षबीच झडप हुँदा पाँच जना घाइते भएका छन् । शुक्रबार राति करिब ११ : ३० बजे विवाहको विधि चलिरहेको बेला डिजेमा नाचगान भइरहेका दौरान दुवै पक्षबीच विवाद सुरु भई झडपमा परिणत भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार मदिरा सेवनपछि झगडा चर्किँदा दुवै पक्षबाट व्यक्तिहरू घाइते भएका छन् । घाइतेहरूमा धनपालथान–६ का २८ वर्षीय वीरेन्द्र सहनी, २६ वर्षीय श्रवण सहनी (बेहुली पक्ष), विराटनगर–११ का २९ वर्षीय रोशन सहनी, २५ वर्षीय सुनील सहनी र ३५ वर्षीय अनिल सहनी (जन्ती पक्ष) रहेका छन् । प्रहरीका अनुसार झडपमा तीन जनाको टाउकोमा गम्भीर चोट लाग्दा टाँका लगाउनुपरेको छ । घाइते सबै जनालाई उपचारका लागि विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको छ।  उनीहरू सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

बजेट छरिएर होइन, जलविद्युतमा फोकस गरेर ल्याउनुपर्छ : इपान

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले देशलाई समृद्धिको दिशामा अघि बढाउन जलविद्युत क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर आगामी बजेट ल्याउन सरकारसँग आग्रह गरेका छन् । डाँगीले सरकारले जलविद्युत उत्पादनको दीर्घकालीन योजना बनाइसकेको सन्दर्भमा बजेट पनि सोहीअनुसार केन्द्रित हुनुपर्ने बताए । उनका अनुसार मन्त्रिपरिषद्बाट स्वीकृत २८ हजार ५ सय मेगावाट विद्युत उत्पादनको योजनाले निजी क्षेत्रलाई थप प्रेरित गरिसकेको छ । 'जलविद्युत, कृषि र पर्यटन देशको समृद्धिको मूल आधार हुन्, तर हालको अवस्थालाई हेर्दा जलविद्युत सबैभन्दा बढी सम्भावनायुक्त क्षेत्र हो। त्यसैले बजेट छरिएर होइन, केन्द्रीत भएर आउनुपर्छ,' उनले भने । डाँगीले निजी क्षेत्रको योगदान उल्लेख गर्दै भने, '२०५७ सालमा देशको कुल विद्युत उत्पादन क्षमता २५४ मेगावाट थियो, अहिले ३५०० मेगावाट पुगेको छ । यो उपलब्धिमा निजी क्षेत्रको भूमिका उल्लेखनीय छ र सरकारले यसको कदर गर्नुपर्छ ।' उनले हालसम्म ९१ वटा आयोजना लिस्टिङ भइसकेको र झन्डै ६०–६५ लाख डिम्याट खाता जलविद्युत क्षेत्रसँग जोडिएको उल्लेख गर्दै आमनागरिकको लगानी र विश्वाससमेत यो क्षेत्रमा बढेको बताए । तर समस्याहरू पनि उत्तिकै छन् । डाँगीका अनुसार वन ऐन २०२९, बाझिएको कानुनी संरचना, प्रशारण लाइनको अभाव, र बजेटमा बारम्बार हुने अनिश्चितता जस्ता कारणले जलविद्युत क्षेत्र अवरुद्ध बन्न पुगेको छ । '१४ वटा मन्त्रालय, ३५ विभाग र सयौं टेबुल धाउँदै उर्जा उत्पादक जानुपर्ने बाध्यता अझै पनि कायमै छ । एकद्वार प्रणालीमार्फत यस्ता झन्झट अन्त्य गर्न सकिन्छ,' उनले भने । उर्जा मन्त्रालयलाई नै तालुकदार मन्त्रालय बनाई सोहीभित्र सम्बन्धित निकायको समन्वयबाट सुविधा दिन सकिने उनले सुझाव दिए । डाँगीले सरकारसँग आयात कर छुट, नीतिगत स्पष्टता, प्रशारण पूर्वाधारको सुनिश्चितता र लगानीमैत्री वातावरणको माग गर्दै भने, 'सरकारले २८ हजार ५ सय मेगावाट उत्पादन लक्ष्य राखिसकेको छ भने त्यसको पूर्वाधार तयारी पनि हुनुपर्छ । उत्पादन मात्रै होइन, प्रसारण र खपतसमेत सुनिश्चित गर्नु जरुरी छ ।'

मुगुको विकट गाउँ पुलुमा हेलिप्याड निर्माण, यार्सा संकलक र बिरामीको उद्धारमा सहजता

मुगु । यहाँको विकट क्षेत्र मानिने मुगूम कार्मारोङ्ग गाउँपालिकाको केन्द्र पुलुमा सेनाले हेलिप्याड निर्माण गरेको छ । सो हेलिप्याड निर्माण सम्पन्न गरी सेनाले गत शुक्रबार गाउँपालिकालाई हस्तान्तरण गरेको छ । उत्तर पश्चिम पृतनाका पृतनापति उपरथी अनुपजङ्ग थापाले गाउँपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामालाई हेलिप्याड हस्तान्तरण गरेका हुन् । गाउँपालिका अध्यक्ष लामाले सेनाको प्रशंसा गरे । उनले भने, 'मुगूमका जनताले विपद्मा उद्धार तथा राहत समयमा पाएका थिएनन्,  सुत्केरी र बिरामीले समयमै उपचार नपाउँदा अकालमा ज्यान गुमाउनुपरेको थियो । पैसा भएर पनि समयमै सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न नपाउँदा ज्यान गुमाउनुपरेको थियो अब मापदण्ड अनुसारको हेलिप्याड बनेकाले आवश्यक परेको बेला सक्नेले हेलिकप्टर सेवा लिने छन् ।' कार्मारोङ्गका पाटनमा बहुमुल्य जुडिबुटी यार्सागुम्बा पाइने भएकाले जिल्लाभित्र र बाहिरका हजारौँ यार्सा टिप्न यहाँ आउँछन् । उच्च हिमाली भुभाग, मौसममा फेरवदल भइरहने, अक्सिजनको कमी, अत्यधिक चिसोका कारण बर्सेन दजनौँ यार्सा सङ्कलक बिरामी हुने र समयमा उपचार नपाउँदा मृत्य हुने गरेकाले हेलिप्याड निर्माणले उद्धारमा सहयोग पुग्ने हनुमान ध्वज गुल्मका गुल्मपति खिमबहादुर अधिकारीले बताए । हेलिप्याड आठ लाख ४४ हजार १७३ रुपैयाँ ६० पैसामा निर्माण गरिएको हो । रासस

विदेशी उत्पादनमा कर बढाउँदै ट्रम्प, एप्पल र अन्य कम्पनीहरूमा दबाब

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार युरोपेली सङ्घबाट आयात हुने सम्पूर्ण वस्तुमा ५० प्रतिशत कर लगाउने र यदि एप्पल कम्पनीले आफ्ना फोनहरू अमेरिकाभित्र उत्पादन नगरेमा ती सामानमा २५ प्रतिशत कर लगाइने चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जालमा उल्लेख गरे,'हाम्रो वार्ता युरोपेली सङ्घसँग अघि बढिरहेको छैन । त्यसैले, म आगामी सन् २०२५ देखि युरोपेली सङ्घका सबै वस्तुहरूमा सोझै ५० प्रतिशत कर लगाउने सिफारिस गर्दैछु । तर यदि ती वस्तुहरू अमेरिकामै निर्माण गरिन्छ भने कुनै पनि शुल्क लाग्ने छैन ।' एप्पल कम्पनीमाथि निशाना यस घोषणाअघि राष्ट्रपति ट्रम्पले एप्पल कम्पनीप्रति असन्तुष्टि जनाउँदै यदि उक्त कम्पनीले अझै पनि आफ्नो फोन एशियामा उत्पादन गर्न जारी राखेमा २५ प्रतिशत कर लगाइने चेतावनी दिएका हुन् । यससँगै एप्पल कम्पनी पनि अन्य ठूला अमेरिकी कम्पनीजस्तै राष्ट्रपतिको नीति अन्तर्गत दबाबमा परेको देखिएको छ । ती कम्पनीहरूमा अमेजन, वालमार्टलगायत रहेका छन्, जसले ट्रम्पको शुल्क नीतिका कारण उत्पन्न भएको अनिश्चितता र मूल्यवृद्धिको दबाब भोगिरहेका छन् । व्यापार वार्ताप्रति असन्तुष्टि राष्ट्रपति ट्रम्पले युरोपेली सङ्घसँगको व्यापार वार्ताबाट कुनै सन्तोषजनक प्रगति नभएको बताउँदै त्यसप्रति गहिरो असन्तुष्टि व्यक्त गरेका छन् । युरोपेली पक्षले परस्पर रूपमा सबै वस्तुमा कर हटाउने प्रस्ताव गरे तापनि ट्रम्पले अधिकांश वस्तुमा न्यूनतम १० प्रतिशत शुल्क कायम राख्नुपर्ने अडान लिँदै आएका छन् । एपी समाचार संस्थाका अनुसार, राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेखेका केही वाक्यहरूले समेत विश्वको आर्थिक अवस्थालाई प्रभावित पार्ने खालको प्रभाव देखाएको छ । यद्यपि, उनका शुल्क नीतिहरूले अहिलेसम्म घरेलु उत्पादनको पुनः स्थापनामा अपेक्षित परिणाम दिन सकेका छैनन । रासस

देउवाप्रति धनराजको कटाक्ष : रिस गरेर हुन्छ, पाँच पटक प्रधानमन्त्री बनिसक्नुभयो, अझै बन्न सक्नुहुन्छ

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिमा त्याग गरेको कुराको मूल्य खोज्न नहुने बताएका छन् । शनिबार नेपाली काँग्रेस स्याङ्जाका पूर्वसभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  उनले राजनीतिमा के पाएँ, के गुमाएँ भनेर औंला गनेर हिसाव गरेर बस्न नमिल्ने उल्लेख गरे । राजनीतिमा आफ्नो गन्तव्य, आफ्नो लक्ष्य हुने भन्दै लक्ष्य र गन्तव्य देश र जनताको लक्ष्य हुनुपर्ने बताए । पार्टीका सभापति शेरबहादुर देउवा राजनीतिक यात्राका क्रममा अटल खटेको परिणामतः पाँच पटक प्रधानमन्त्री बनिसकेका र अझै प्रधानमन्त्री बन्नसक्ने बताए । दुःख, अटल यात्राले सम्भावनाका ढोका खुल्दै जाने जानकारी दिए ।  उपसभापति गुरुङले भने, ‘राजनीतिमा के पाएँ, के गुमाएँ भनेर औंला गनेर हिसाव गरेर बस्ने होइन । लक्ष्य प्राप्तिको लागि अविरल अटल ढंगबाट अघि बढ्नुपर्छ । त्यो नै मैले गुरुबाट पाएको शिक्षा हो । हामी यो राजनीतिक यात्रामा को कहाँ रह्यौँ । रस गरेर हुन्छ, पाँच पटक प्रधानमन्त्री बन्नुभयो । भनेर हुन्छ, अझै बन्नसक्नुहुन्छ नि उहाँ । ६ पटक, सात पटक नि बन्न सक्नुहुन्छ । त्यो यात्रा हो नि त । त्यो दुःख, अटल यात्राले ढोका खुल्दै जाने हो ।’ उपसभापति गुरुङले राजनीति अविरल यात्रा भएकाले राजनीतिमा आँधिबेरी चल्दा पनि त्यसलाई छिचौल्दै अघि बढ्न सक्नुपर्ने जानकारी दिए ।