विकासन्युज

असार मसान्तदेखि सुरक्षण मुद्रण केन्द्रले २८ लाख थान लाइसेन्स छाप्ने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले सवारी चालक अनुमति पत्र (लाइसेन्स) छाप्ने भएको छ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले मुद्रण केन्द्रमार्फत चालक अनुमति पत्र छपाई गर्ने भएको हो । जसमा यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच शुक्रबार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  नवीकरण गरिएको समेत लामो समय सम्म सवारी चालक अनुमति पत्र नपाउँदा सर्वसाधारणले समस्या भोग्नु परेको भन्दै यसको समाधान खोज्न भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालले विभागलाई पटक पटक निर्देशन दिएका थिए ।  तत्काल अनुमति पत्र नपाउँदा राजश्व तिरेको रसिद बोकेर हिँड्नुपर्ने बाध्यताको अन्त्यका लागि नागरिक एपमा चालक अनुमति पत्र समावेश समेत गरिएको छ ।  हाल सोही एप मार्फत ट्राफिक प्रहरीले नियमन गर्ने तथा जरिवाना भुक्तानी गराउने कार्य समेत गर्दै आएको छ । दिगो समाधानका लागि समयमानै सवारी चालक अनुमति पत्र छपाई नै गर्नु पर्ने भन्दै मन्त्री दाहालले चुस्त र छिटो सेवा उपलब्ध गराउने विकल्प खोजी गर्न निर्देशन दिएका थिए ।  सरकारी निकायहरू बिचमा नै सहकार्य गरी सवारी चालक अनुमति पत्र छपाइको विकल्प खोजी गर्ने क्रममा केही दिनअघि दुवै मन्त्रालयका सचिव सहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहाल र सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङबीच छलफल समेत भएको थियो । दुई सरकारी निकाय बीचको सहकार्यले सवारी चालक छपाई कार्य चुस्त र पारदर्शी हुने अपेक्षा गरिएको छ । दुवै पक्षबीच भएको समझदारी अनुसार सुरक्षण मुद्रण केन्द्रले आगामी असार मसान्त भित्रमा प्रथम चरणको छपाई गरी विभागलाई हस्तान्तरण गर्ने छ ।  समझदारी पत्रमा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गाना तथा यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले हस्ताक्षर गरेका छन् ।  शुक्रबार भएको समझदारी पत्रमा २८ लाख थान लाइसेन्स असार मसान्तबाट छाप्न सुरु गरिने उल्लेख छ । यसैगरी समझदारी पत्रमा उच्च सुरक्षासहितको क्यूआर कोड लाइसेन्समा राखिनेछ ।  विदेश जाने प्रयोजनका लागि ‘चिप’ सहितको लाइसेन्स भने यातायात विभागले नै छाप्नेछ ।

कामना सेवा विकास बैंकले सञ्चालनमा ल्यायो अन्तर बैंक टेलर क्यूआर

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गदै अन्तर बैंक टेलर क्यूआर सञ्चालनमा ल्याएको छ । यो सेवा सञ्चालनमा आएसँगै अब अन्य बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ एप प्रयोग गरी कामना सेवा विकास बैंकको नगद काउण्टरबाट रकम झिक्न सकिने छ ।  बैंकले आफ्नो स्मार्ट टेलर क्यूआर प्रयोग गरी अन्य बैंकहरुको खाताको रकम झिक्न सकिने व्यवस्था मिलाइएको जनाएको छ ।  कुनै एउटा बैंकमा रहेको खाताबाट रकम झिक्न सोही बैंकमा नै जानुपर्ने बाध्यतालाई यो सुविधाले हटाएको छ । बैंकले प्रविधिको विकासलाई आत्मसात गर्दै ग्राहकहरूको समय, सुविधा र सुरक्षालाई प्राथमिकता दिँदै बैंकिङ्ग प्रक्रियालाई अझ सरल, सहज र द्रुत बनाएको छ ।

बालकल्याण आधारभूत विद्यालयलाई नेपाल एसबिआई बैंकको शैक्षिक सामाग्री सहयोग

काठमाडौं । नेपाल एसबिआई बैंकले कास्कीको बालकल्याण आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री प्रदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कास्कीको पोखरा महानगरपालिका-२५ स्थित बालकल्याण आधारभूत विद्यालय, हेमजामा अध्ययनरत विद्यार्थीहरूलाई स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको हो । बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) राम कुमार तिवारीले बालकल्याण आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई एक कार्यक्रममार्फत् उक्त सामाग्री हस्तान्तरण गरे । बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको सीईओ तिवारीले बताए । विगत ३१ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १८ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा रहेको उनले जानकारी गराए । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, प्रमुख संचालन अधिकृत विकास आनन्द, प्रमुख जोखिम तथा अनुपालन अधिकृत विष्णु देव यादव, सहायक महाप्रबन्धक अर्जुन नेपाल, प्रमुख कर्जा अधिकृत रोशन कोइराला र बैंक तथा स्कुल समितिका अन्य उच्च पदाधिकारी र शिक्षकहरू समेतको उपस्थिति रहेको थियो ।

रिलायबल नेपाल लाइफद्वारा घातक रोगबापत् २० लाख दाबी भुक्तानी

काठमाडाै। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग बीमा अन्तर्गत २० लाख बीमा दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले भरतपुर–३ का महेश बानियालाई घातक रोग बीमा अन्तर्गत २० लाख बीमा दाबी रकम हस्तान्तरण गरेको हो । बानियाले २०७७ साल चैत्रमा हाकिमचोक शाखाबाट १५ वर्षे बीमा योजना खरिद गरेर तीन किस्ता बीमाशुल्क तिरेका थिए । २०८० सालमा स्वास्थ्य परीक्षण गर्दा उनको कलेजोमा समस्या देखिएकोमा उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पतालमा लगिएको थियो । त्यहाँ डाक्टरको सल्लाह बमोजिम नै गत १५ गते कलेजो प्रत्यारोपण गरिएको थियो । कम्पनीले हाकिमचोक शाखामै एक कार्यक्रमको आयोजना गरेर बीमित बानियालाई दाबी भुक्तानी दिएको हो । उनलाई शाखा प्रमुख राजकुमार दाहालले चेक हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै बानीयांले यस दुःखद समयमा बीमा कम्पनीले आफुलाई दिएको साथ र सहयोगको प्रशंसा गर्दै बजारमा रहेका बीमा दाबी भुक्तानी तथा प्रक्रियासम्बन्धी हल्ला निराधार सावित भएको बताए । उनले आफुलाई जीबन बीमा गराउनका लागी सहि समयमा नै प्रस्ताव गर्नुहुने बीमा अभिकर्ता  सरस्वती गौतमलाई विशेष धन्यवाद दिए । उक्त कार्यक्रममा हाकिमचोक शाखाका बरिष्ठ एजेन्सी म्यानेजरहरु मनोज चौलागांई, बिष्णुकूमारी कुंवर, समिता दराई, तारा कुमाललगायतका अन्य थुप्रै एजेन्सी म्यानेजर, कर्मचारी तथा स्थानियहरुको समेत उपस्थिती रहेको थियो । 

सिटिजन्स बैंकले २ महिना पुग्ने गरी आवाज नेपाललाई सहयोग गर्याे सरसफाइ र उपभोग्य सामग्री

काठमाडौं । सिटिजन्स बैंकले कर्णाली प्रदेशको सुर्खेतमा अवस्थित आवाज नेपाललाई सहयोग प्रदान गरेको छ । विभिन्न दाताबाट प्राप्त सहयोगबाट संचालन भइरहेको र करिब ४० जना महिला र बालबालिकालाई सहयोग गरिरहेको सो संस्थालाई बैंकले करिब २ महिनासम्म पुग्ने गरी सरसफाइ तथा उपभोग्य सामग्रीहरू उपलब्ध गराएको जनाएको छ ।  संस्थाले लामो समयदेखि एकल महिला र बालबालिकाको अधिकार, न्याय, मानव अधिकार, मानव ओसारपसार, द्वन्द्व प्रभावित र घरेलु हिंसा जस्ता विषयमा सशक्तीकरणका लागि काम गर्दै आएको छ । सो संस्थालाई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग प्रदान गरेको हो ।  बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले सहयोग स्वरुप महिलाहरू र बालबालिकाहरूलाई सामाग्री हस्तान्तरण गरे । सीईओ पोखरेलले संस्थालाई बैंकको प्रयासमा सहयोग गर्न पाउँदा खुशी महसुस भएको बताए । संस्थामा रहेका बालबालिकाहरूको प्रगतिको कामना गर्दै उनले यस्ता संस्थाहरूले एकल महिला र बालबालिकाको अधिकारको हेरचाहको लागि समाजमा उदाहरण बनिरहेको उनको भनाइ छ ।  हालै बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल यस बैंकले नेपालमै पहिलो पटक सिटिजन्स फोनपे क्रेडिट कार्ड (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ । साथै, मोबाइल बैंकिङ एप मार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा बैंकले दिइरहेको छ । यस्तै बैंकले क्रस बैंक टेलर सुविधामा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सकिने सुविधा समेत ल्याएको छ ।  बैंकले ६१ जिल्लामा २ सय वटा शाखा, १६८ वटा एटिएम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरूबाट १८ लाख ९१ हजार भन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।   

बजारमा बिक्री-वितरण गरिने डिलर खुद्रा वस्तुमा एमआरपी अनिवार्य लगाउन सरकारको आग्रह

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा बिक्री गरिने डिलर तथा खुद्रा वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) नराखी बिक्री वितरण नगर्न आग्रह गरेको छ ।  शुक्रबार एक सूचना जारी गर्दै डिलर खुद्रा तथा थोक बिक्रेताले उपभोक्ता संरक्षण ऐन, २०७५ दफा ६ को उपदफा २ बमोजिम एमआरपीसहितको लेबल लगाएका वस्तुहरू मात्रै बिक्री-वितरण गर्न आग्रह गरेको हो ।  उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ को उपदफा ३ बमोजिम उत्पादकले आफूले उत्पादन गरेको वस्तु तथा पैठारी वस्तु भए पैठारी कर्ताले बिक्री वितरण गर्ने वस्तुमा सर्वसाधारणले बुझ्ने गरी नेपाली र अंग्रेजी भाषामा लेबल लगाउनुपर्ने कानुनी व्यवस्था रहेको छ ।  तर उपभोक्ता संरक्षण ऐन २०७५ र अन्य प्रचलित कानुनको विपरीत केही उत्पादक र पैठारीकर्ताहरूले बिना लेबलका उत्पादन बजारमा खुल्ला बिक्री-वितरण गरेको विभागको अनुगमनबाट पाइएपछि एमआरपी अनिवार्य लगाउन भनेको हो । पछिल्लो समय बजारमा खुलमखुला रूपमा एमआरपी नराखी वस्तु बिक्री-वितरण गरेको भेटिएपछि विभागले धमाधम कारबाही समेत गरिरहेको छ । 

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

काठमाडौं । यसपटक सरदरभन्दा बढी बर्खा हुने भएपछि डेङ्गी सङ्क्रमणसमेत बढ्ने प्रक्षेपण गरिएको छ ।  जल तथा मौसम विज्ञान विभागले यसपटक मनसुनमा सरदरभन्दा बढी पानी पर्ने भनेपछि डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।  महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालले भने, 'गत वर्षको तुलनामा हाल कम सङ्क्रमण देखिएको छ तर यस वर्ष मौसम विभागले धेरै नै पानी पर्ने भनेको छ । त्यसले सङ्क्रमणको जोखिम बढाउने छ ।'  पानी धेरै पर्दा जम्मा हुने पानीमा डेङ्गी सार्ने लामखुट्टे फस्टाउने भन्दै उनले सतर्कता अपनाउन सबैलाई आग्रह गरे । दाहालले पानी सङ्कलन हुने टायर, गमला जस्ता ठाउँ हालैदेखि व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।  उनका अनुसार पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल निस्किने लार्भा वयस्क भएपछि त्यसले टोकेमा डेङ्गु रोग लाग्ने गरेको छ ।  शाखा प्रमुख डा. दाहालले पुस १७ देखि हालसम्म ७१ जिल्लामा एक हजार ८१ जनामा सङ्क्रमण देखिएको र पाँच जनाभन्दा बढी सङ्क्रमण भएका ३० स्थानीय तहमा सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न पत्राचार गरिएको जानकारी दिए ।   सन् २०२४ मा डेङ्गी सङ्क्रमण ७६ जिल्लामा फैलिएको थियो भने १५ जनाको मृत्यु र ४१ हजार ८६५ जना सङ्क्रमित भएका थिए ।   

नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी सदस्यमा सर्वसम्मत

काठमाडौं । नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी सदस्यमा सर्वसम्मत निर्वाचित भएको छ । जेनेभामा जारी संगठनको ७८ औं महासभाका क्रममा नेपाल दक्षिणपूर्वी एसिया क्षेत्रबाट सदस्यमा सर्वसम्मत भएको हो ।  अब नेपाल तीन वर्ष संगठनको कार्यकारी समितिमा रहनेछ ।  निर्वाचित भएलगत्तै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले यो नेपालका लागि स्वास्थ्य सेवा सुधारमा आफ्ना असल स्वास्थ्य अभ्यासको प्रसार र विश्वका असल अभ्यासको अनुकरणको ठूलो अवसर भएको उल्लेख गरेका छन् ।  उनले यसका लागि सबै नेपालीलाई बधाई समेत दिएका छन् ।  नेपालले आगामी वर्ष आप्रवासी श्रमिकको स्वास्थ्यका लागि रोजगारदातालाई जिम्मेवार बनाउन संकल्प प्रस्ताव लैजाने तयारी गरेको मन्त्री पौडेलले बताए । यसले नेपाली श्रमिक तथा विश्वभरका श्रमिकको स्वास्थ्यका पक्षमा महत्त्वपूर्ण योगदान पुग्ने उनले विश्वास गरे ।  ‘यो जिम्मेवारीले नेपाली श्रमिकको स्वास्थ्य रक्षाका मुद्दामा विश्वव्यापी समर्थन जुटाउन योगदान पुग्ने ठानेका छौं,’ मन्त्री पौडेलले भने ।