विकासन्युज

समानान्तर निर्माण सेवाको अर्डर बुक २.८७ अर्ब, ऋण ११ अर्ब बढी

काठमाडौं । समानान्तर निर्माण सेवा प्रालिले चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा १ अर्ब ४६ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।  कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ७७ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३.७४ प्रतिशत अर्थात् ६ करोड ४० लाख रुपैयाँले मात्र बढी हो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको आम्दानी १ अर्ब ७१ करोड रुपैयाँ रहेको थियो । कम्पनीका अनुसार आव २०७९/८० मा २ अर्ब ६१ करोड ६० लाख रुपैयाँ, आव २०७८/७९ मा ३ अर्ब १९ करोड ९० लाख रुपैयाँ, आव २०७७/७८ मा ३ अर्ब १३ करोड ९० लाख रुपैयाँ, आव २०७६/७७ मा २ अर्ब ९३ करोड २० लाख रुपैयाँ, आव २०७५/७६ मा २ अर्ब ९९ करोड ८० लाख रुपैयाँ, आव २०७४/७५ मा १ अर्ब ८६ करोड १९ लाख रुपैयाँ, आव २०७३/७४ मा ७४ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको देखिन्छ । सन् २००९ सेप्टेम्बरमा स्थापना भएको कम्पनीले भवन निर्माण, सडक निर्माण तथा जल व्यवस्थापनसँग सम्बन्धित परियोजनाहरूमा काम गर्दै आएको छ । समानान्तर निर्माण सेवाले आफ्ना परियोजनाहरू स्वतन्त्र रूपमा मात्र नभई अन्य निर्माण कम्पनीहरूसँग संयुक्त लगानी (ज्वाइन्ट भेन्चर) मार्फत पनि सञ्चालन गर्दै आएको छ ।  कम्पनीको सञ्चालक समितिमा चार जना सञ्चालक रहेका छन्, जसको नेतृत्व अध्यक्ष अच्युत प्रसाद खरेलले गर्दै आएका छन् । उनी कम्पनी स्थापनादेखि नै नेतृत्वमा रहेका छन् । त्यस्तै, प्रबन्ध निर्देशकको जिम्मेवारी निरोज थापलियाले सम्हाल्दै आएका छन् । कम्पनीको नाफा मार्जिन ९.८२ प्रतिशतबाट घटेर ७.०८ प्रतिशतमा सीमित भएको छ । जुन टेन्डरमा आधारित व्यवसायको स्वभावले प्रभावित भएको कम्पनीले जनाएको छ । कच्चा पदार्थको लागत ८४.५९ प्रतिशतबाट बढेर ८९.५९ प्रतिशत पुगेको छ । तर, संयुक्त लगानीबाट प्राप्त लाभांशका कारण खुद नाफा मार्जिन ८.२२ प्रतिशतबाट बढेर १२.३० प्रतिशत पुगेको छ । कम्पनीको कार्यशील पुँजी चक्र मध्यम रहेको छ । आपूर्तिकर्ताबाट ६०–९० दिनसम्मको क्रेडिट सुविधा प्राप्त हुने भएकाले कार्यशील पुँजी व्यवस्थापनमा केही सहजता छ ।  कम्पनीका समूह सम्बद्ध संस्थाहरू जस्तै अशापुरी रोडा ढुंगा सप्लायर्स प्रालि, समानान्तर रोडा ढुंगा प्रालि, समानान्तर कंक्रिट उद्योग प्रालि, समानान्तर कृपा श्री प्रालि तथा सान्दर्भिक निर्माण सेवा प्रालि निर्माण सामग्री उत्पादन तथा आपूर्तिमा संलग्न छन् । यी संस्थाहरूले रेडीमिक्स कंक्रिट, ढुंगा, बालुवा, सब–बेस, बेस कोर्स, एस्फाल्ट लगायतका सामग्री उत्पादन तथा ढुवानीमार्फत आपूर्ति सुनिश्चित गर्दै आएका छन् । यसले कम्पनीलाई आपूर्ति शृंखला व्यवस्थापन, समयमै सामग्री उपलब्धता तथा लागत नियन्त्रणमा सहयोग पुगेको छ । चालु आर्थिक वर्षको चैतसम्म कम्पनीको कार्यान्वयन हुन बाँकी अर्डर बुक २ अर्ब ८७ करोड ७० लाख रुपैयाँ रहेको छ । तर, अर्डर बुकको करिब ९५ प्रतिशत हिस्सा भवन परियोजनामा आधारित छ । मे २०२५ मा प्राप्त एक मात्र भवन परियोजनाले कुल अर्डर बुकको करिब ५३ प्रतिशत हिस्सा ओगटेको थियो भने शीर्ष तीन परियोजनाले करिब ८३ प्रतिशत हिस्सा ओगटेका छन् । कम्पनीका अनुसार अधिकांश परियोजनाहरू सरकारी टेन्डरमा आधारित छन्, जहाँ प्रतिस्पर्धात्मक बोलपत्रमार्फत ठेक्का प्राप्त गर्नुपर्छ । धेरै कम्पनीहरूको सहभागिताका कारण कम मूल्यमा अन्डरबिडिङ गर्ने जोखिम रहेको कम्पनीले जनाएको छ । सरकारले विदेशी कम्पनीलाई ५ अर्ब रुपैयाँभन्दा कमका टेन्डरमा सहभागी हुन नपाउने व्यवस्था गरेको छ, जसले घरेलु कम्पनीलाई केही फाइदा पुगेको छ। साथै, एउटै कम्पनीले अधिकतम ५ वटा मात्र सक्रिय परियोजना राख्न पाउने व्यवस्था पनि गरिएको छ, जसले वृद्धि सम्भावनामा केही सीमा ल्याउन सक्ने देखिन्छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ११ अर्ब ६ करोड ११ लाख रुपैयाँ ऋण लिएको छ । जसमा ५ करोड ७७ लाख रुपैयाँ अल्पकालीन र ११ अर्ब ६० करोड ३३ लाख रुपैयाँ दीर्घकालीन ऋण रहेको छ । 

रास्वपा महाधिवेशन : बन्दसत्र दिउँसो २ः०० बजेदेखि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र आज दिउँसो २ः०० बजेदेखि सुरु हुने भएको छ । सोमबार बिहान ८ः३० बजेदेखि सुरु गर्ने भनिएको बन्दसत्र प्राविधिक कारणले एक दिन ढिलाइ भएको रास्वपाले जनाएको छ ।        रास्वपा चितवनका सभापति ई मिनीमाधव खनालका अनुसार परिचयपत्र वितरणपछि बन्दसत्र सुरु हुनेछ । केहीबेर अघिदेखि महाधिवेशन परिचयपत्र वितरण कार्य सुरु भएको छ ।         महाधिवेशन प्रतिनिधिहरूको प्रदेशबाट प्राप्त नामावली रुजु गर्ने र महाधिवेशन प्रतिनिधि कार्ड छपाइ गर्ने काम गर्न बढी समय लागेकाले महाधिवेशनको बन्दसत्र पछि सरेको बताइएको छ । कार्ड वितरणपछि पूर्ववत् तालिकाअनुसार नै बन्दसत्र सञ्चालन गरिने जनाइएको छ ।         रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको सुरुमा अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले प्रस्तुत गर्ने आयोगको प्रतिवेदनमाथि छलफल हुनेछ । त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले प्रस्तुत गर्नुहुने आर्थिक प्रतिवेदनमाथि बन्दसत्रमा छलफल गरिने कार्यतालिकामा उल्लेख छ ।       त्यसैगरी, पार्टीका सहमहामन्त्री विपीनकुमार आचार्यले विधानमाथिको संशोधन प्रस्ताव, महामन्त्री बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन र उपसभापति डा स्वर्णिम वाग्लेले पार्टीको अर्थ तथा राजनीतिक प्रस्ताव अलगअलग रूपमा प्रस्तुत गर्नेछन् ।         बन्दसत्रका क्रममा पार्टीका पदाधिकारीहरूबाट प्रस्तुत हुने उल्लिखित प्रस्ताव पास भएपछि पार्टी सभापति रवि लामिछानेले पेस गर्नुहुने राजनीतिक प्रतिवेदनमाथि बन्दसत्रमा छलफल हुने रास्वपाले जनाएको छ । यसैबीच, पार्टी सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणासहित आयोजक समितिको सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने प्रस्ताव गर्ने छ । त्यसपछि आयोगले निर्वाचन प्रक्रियासम्बन्धी जानकारी र तालिका प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।      आइतबार दिउँसो भरतपुरस्थित गेस्टहाउस चौरमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा सञ्चालन हुँदैछ ।      

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले आज संसदीय दल तथा सचिवालय बैठक बोलाएको छ । पार्टीका तर्फबाट संसद् र सरकारसँग सम्बन्धित समसामयिक राजनीतिक विषयमा छलफल गर्न दुवै बैठक आह्वान गरिएको हो । एमाले संसदीय दलको बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्नेछ । बैठकमा संसद्को चालु अधिवेशन, विधेयकहरू, सरकारका कामकारबाही तथा दलका आगामी रणनीतिका विषयमा छलफल हुनेछ । संसदीय दलको बैठक सम्पन्न भएपछि एमालेले साँझ ६ बजे सचिवालय बैठक पनि बोलाएको छ । सचिवालय बैठक पार्टी अध्यक्ष केपी ओलीको गुन्डु निवासमा बस्ने जनाइएको छ । सचिवालय बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टी संगठनका गतिविधि, आगामी कार्यक्रमबारे समीक्षा र आवश्यक निर्णय हुने स्रोतले जनाएको छ ।

पूर्वअर्थमन्त्री पौडेललाई स्थलमार्ग हुँदै काठमाडौं ल्याइयो

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले सम्पत्ति शुद्धीकरण विभागमा बुझाएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख जयराज सापकोटाले विष्णु पौडेललाई भर्खरै काठमाडौं पुर्‍याइएको विकासन्युजलाई जानकारी दिए । उनलाई स्थलमार्ग हुँदै काठमाडौं पठाइएको उनले बताए । सोमबार सुर्खेतको शुभ होटलबाट उनलाई पक्राउ गरिएको थियो ।  पौडेललाई सम्पत्ति शुद्धीकरण विभागबाट पक्राउ पुर्जी जारी भएकाले पक्राउ गरिएको थियो । उनी पार्टीको चुनावी समीक्षा एवं पुनर्गठन कार्यदलको सुझाव संकलन गर्न सुर्खेत पुगेका थिए ।  पौडेल आठौं पटक मन्त्री र पाँचौंपटक अर्थमन्त्री बनिसकेका छन् । २०७२ कात्तिक, २०७७ असोज, २०७८ जेठ उपप्रधानमन्त्रीसहित अर्थमन्त्री, २०७९ पुस उपप्रधानमन्त्रीसहित अर्थमन्त्री र २०८१ असार उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बनेका हुन् ।

रास्वपा महाधिवेशन : प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिदै

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र प्रयोजनका लागि प्रतिनिधि परिचयपत्र वितरणको काम सुरु भएको छ । परिचयपत्र वितरणको काम छिटो सक्ने उद्देश्यले विभिन्न नौ ठाउँबाट सुरु गरिएको पार्टीले जनाएको छ ।      रास्वपा चितवनका सभापति ई मिनीमाधव खनालका अनुसार सात प्रदेश, प्रवास र समायोजनबाट प्रतिनिधि बनेकाहरूको अलगअलग ठाउँमा वितरण भइरहेको छ । प्रतिनिधिको टुङ्गो लागेपछि स्वचालित प्रणालीबाट परिचयपत्र छपाइ गर्ने भएकाले केही ढिलो भएको स्पष्ट गर्दै महाधिवेशन आयोजक जिल्लाका सभापति खनालले परिचयपत्र वितरणपछि बन्दसत्र सुरु हुनेछ ।      बन्दसत्र भरतपुरको उद्योग सङ्घ परिसरमा रहेको प्रदर्शनी केन्द्रमा हुनेछ ।      

एआईयुक्त कृत्रिम हातखुट्टा नेपालमा, अङ्ग गुमाएकालाई नयाँ आशा

काठमाडौं । दुर्घटना, रोग वा अन्य कारणले हातखुट्टा तथा शरीरका अन्य अङ्ग गुमाएका व्यक्तिका लागि अत्याधुनिक एआई (कृत्रिम बौद्धिकता) प्रविधियुक्त कृत्रिम अङ्ग नेपालमै उपलब्ध भएको छ । भारतीय कम्पनी पी एन्ड ओले आफ्नो नेपाली साझेदार कम्पनी रिजोइस एन्ड रिलिफ प्रालिसँगको सहकार्यमा नेपालमा पहिलोपटक एआई सेन्सरयुक्त तथा रोबोटिक प्रविधिमा आधारित कृत्रिम अङ्गको सेवा सुरु गरेको जनाएको छ । रिजोइस एन्ड रिलिफ प्रालिका अध्यक्ष कृष्णराज गैरेका अनुसार नेपालमा यसअघि सामान्य कृत्रिम हातखुट्टा उपलब्ध भए पनि कृत्रिम बौद्धिकता र सेन्सर प्रविधिमा आधारित उन्नत कृत्रिम अङ्ग पहिलोपटक उपलब्ध गराइएको हो । कम्पनीका निर्देशक डा. नीरज सक्सेनाका अनुसार यस्ता कृत्रिम अङ्गमा जडान गरिएका स्मार्ट सेन्सरले प्रयोगकर्ताको मांसपेशी तथा स्नायुद्वारा आउने सङ्केतलाई पहिचान गरी अङ्ग सञ्चालन गर्न सहयोग गर्छन् । कम्पनीले आफूहरू एआई प्रविधि, ओसियोइन्टिग्रेसन, रोबोटिक हात तथा इन्टेलिजेन्ट सेन्सरयुक्त कृत्रिम अङ्गको क्षेत्रमा काम गरिरहेको जनाएको छ । उनका अनुसार कृत्रिम हात वा खुट्टा शरीरमा जडान गरेपछि त्यसमा रहेका सेन्सरले प्रयोगकर्ताको न्युरो–मस्कुलर प्रणालीबाट प्राप्त सङ्केतलाई विश्लेषण गर्छन् । त्यसपछि एआई प्रणालीले ती सङ्केतलाई बुझेर हात खोल्ने, बन्द गर्ने, वस्तु समात्ने, हिँड्ने वा सन्तुलन कायम गर्ने जस्ता गतिविधिमा सहयोग पुर्‍याउँछ । विशेषगरी मायोइलेक्ट्रिक प्रविधिमा आधारित कृत्रिम हातले मांसपेशीबाट उत्पन्न हुने विद्युतीय सङ्केतका आधारमा काम गर्ने भएकाले प्रयोगकर्ताले आफ्नो इच्छाअनुसार विभिन्न गतिविधि गर्न सक्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार नेपालमा उपलब्ध गराइएका सेवाअन्तर्गत माथिल्लो तथा तल्लो अङ्गका कृत्रिम हातखुट्टा, मायोइलेक्ट्रिक हात, रोबोटिक तथा मल्टी–आर्टिकुलेटिङ हात, कृत्रिम औँला, बालबालिकाका लागि विशेष कृत्रिम अङ्ग तथा खेलकुदका लागि प्रयोग हुने उन्नत कृत्रिम खुट्टासमेत रहेका छन् । यस्ता कृत्रिम अङ्ग जडान गर्नुअघि बिरामीको स्वास्थ्य अवस्था, अङ्ग काटिएको भाग, शारीरिक बनावट तथा आवश्यकताको विस्तृत मूल्याङ्कन गरिने डा. सक्सेनाले जानकारी दिए । त्यसपछि थ्रीडी स्क्यानिङ तथा डिजिटल मापन गरेर व्यक्तिगत रूपमा मिल्ने सकेट तयार गरी कृत्रिम अङ्ग जडान गरिन्छ। जडानपछि प्रयोगकर्तालाई विशेष तालिमसमेत प्रदान गरिन्छ । डा. सक्सेनाले भारतीय सेनाका घाइते सैनिक तथा अङ्ग गुमाएका व्यक्तिलाई समेत कम्पनीले उन्नत कृत्रिम अङ्ग उपलब्ध गराउँदै आएको जानकारी दिए। कम्पनीले सन् १९९० को दशकदेखि कृत्रिम अङ्ग तथा अर्थोटिक सेवामा काम गर्दै आएको जनाएको छ । विज्ञहरूका अनुसार एआई र सेन्सरयुक्त कृत्रिम अङ्गले प्रयोगकर्तालाई दैनिक जीवनमा बढी स्वतन्त्र बनाउन, आत्मविश्वास बढाउन तथा रोजगार र सामाजिक गतिविधिमा सक्रिय हुन महत्त्वपूर्ण सहयोग पुर्‍याउन सक्छ । पछिल्ला अध्ययनहरूले स्पर्श तथा सेन्सरमा आधारित फिडब्याक प्रणालीले कृत्रिम अङ्ग प्रयोगकर्ताको नियन्त्रण क्षमता र कार्यसम्पादनमा सुधार ल्याउने डा. सक्सेनाले जानकारी दिए ।

नेपालमा ‘बोश’को प्रवेश, जावलाखेलमा पहिलो ब्रान्ड स्टोर सञ्चालन

काठमाडौं ।  प्रिमियम होम अप्लायन्स ब्रान्ड ‘बोश’ ले नेपालमा आफ्नो उपस्थिति विस्तार गर्दै ललितपुरको जावलाखेलमा पहिलो ब्रान्ड स्टोर सञ्चालनमा ल्याएको छ । बीएसएच होम एप्लायन्सेज प्रा.लि.ले लक्ष्मी ग्रुपसँगको सहकार्यमा उक्त स्टोर सञ्चालनमा ल्याएको हो । नयाँ स्टोरमार्फत उपभोक्ताले रेफ्रिजेरेसन, लन्ड्री, डिशवाशिङ, फुड प्रिपरेसन तथा बिल्ट-इन किचन समाधानसम्बन्धी बोशका प्रिमियम उत्पादन प्रत्यक्ष अनुभव गर्न सक्नेछन् । कम्पनीका अनुसार नेपालमा शहरीकरण, बढ्दो आयस्तर र प्रविधिमैत्री जीवनशैलीप्रतिको आकर्षणसँगै प्रिमियम होम अप्लायन्सको माग बढ्दो छ । यस्तो परिवेशमा बोशले उच्च गुणस्तर, टिकाउपन र नवप्रवर्तनयुक्त उत्पादनमार्फत उपभोक्ताको आवश्यकता पूरा गर्ने लक्ष्य राखेको जनाएको छ । बोशले विशेषगरी फ्रन्ट-लोड वाशिङ मेसिन, डिशवाशर तथा बिल्ट-इन किचन समाधानमा नेपालमा ठूलो सम्भावना देखेको छ । कम्पनीका अनुसार नेपालको लन्ड्री बजारमा फ्रन्ट-लोड वाशिङ मेसिनको हिस्सा ७०–८० प्रतिशतभन्दा बढी रहेको छ । त्यस्तै, डिशवाशर प्रयोगप्रति पनि उपभोक्ताको रुचि क्रमशः बढ्दै गएको कम्पनीको भनाइ छ । बदलिँदो जीवनशैली, स्वच्छताप्रतिको सचेतना र समय बचत गर्ने आवश्यकताले यस्तो उपकरणको माग बढाउँदै लगेको उल्लेख गरिएको छ । लक्ष्मी ग्रुपले बोशसँगको सहकार्यले नेपाली उपभोक्तालाई विश्वस्तरीय प्रविधि र गुणस्तरयुक्त उत्पादनमा पहुँच विस्तार गर्ने विश्वास व्यक्त गरेको छ । नयाँ ब्रान्ड स्टोरले उपभोक्तालाई उत्पादनको प्रत्यक्ष प्रदर्शन, विशेषज्ञ परामर्श तथा उन्नत ‘रिटेल एक्सपिरियन्स’ प्रदान गर्ने कम्पनीको अपेक्षा छ । साथै, देशभर रहेका डिलर सञ्जाल र बिक्रीपछिको सेवासँग मिलेर बोशले आफ्नो बजार विस्तारलाई थप मजबुत बनाउने जनाएको छ । कम्पनीले आगामी दिनमा उपभोक्ता शिक्षा, उच्चस्तरीय सेवा र उत्पादन विस्तारमार्फत नेपाललाई प्रिमियम होम अप्लायन्स बजारको महत्वपूर्ण केन्द्र बनाउने लक्ष्य लिएको जनाएको छ ।

एमएडब्लु अर्थमुभर्स र ग्लोबल आइएमईबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशत कर्जा सुविधा

काठमाडौं । निर्माण तथा पूर्वाधार क्षेत्रमा आवश्यक आधुनिक उपकरणको वित्तीय पहुँच सहज बनाउने उद्देश्यले एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि. र ग्लोबल आइएमई बैंक लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा एमएडब्लु अर्थमुभर्सका एफ एण्ड आर प्रमुख सञ्जय देव यादव र ग्लोबल आइएमई बैंकका एसएमई तथा रिटेल बैंकिङ प्रमुख नरहरि सिलवालले हस्ताक्षर गरेका हुन् । यस सहकार्यअन्तर्गत जेसीबी निर्माण उपकरण खरिद गर्न इच्छुक ग्राहकहरूले ग्लोबल आइएमई बैंकका शाखामार्फत विशेष ‘हायर पर्चेज’ कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । बैंकले नेपाल राष्ट्र बैंकको मापदण्डअनुसार ‘लोन टु भ्यालू’ अनुपातका आधारमा अधिकतम ८० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउने जनाएको छ । ग्राहकलाई छिटो सेवा प्रदान गर्ने लक्ष्यअनुसार आवश्यक कागजात पूरा भएको एक साताभित्रै डेलिभरी अर्डर जारी गरिनेछ । यस योजनाअन्तर्गत जेसीबी उपकरणका लागि अधिकतम पाँच वर्षसम्मको कर्जा अवधि तय गरिएको छ । यो सहकार्यले निर्माण व्यवसायी, ठेकेदार तथा उद्यमीहरूलाई उपकरण खरिदमा सहज वित्तीय पहुँच उपलब्ध गराउने अपेक्षा गरिएको छ । साथै प्रतिस्पर्धी कर्जा सुविधा र सरल प्रक्रियाले साना तथा मझौला व्यवसायीलाई समेत आधुनिक उपकरणमा लगानी गरी व्यवसाय विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । एमएडब्लु अर्थमुभर्सको देशव्यापी बिक्रीपछिको सेवा सञ्जाल, जेसीबीका विश्वसनीय उपकरण तथा ग्लोबल आइएमई बैंकको वित्तीय सेवाको संयोजनले ग्राहकलाई उपकरण खरिददेखि सञ्चालन र मर्मतसम्भारसम्म भरपर्दो समाधान प्रदान गर्ने अपेक्षा गरिएको छ । दुवै संस्थाले आगामी दिनमा ग्राहक सुविधा, व्यावसायिक वृद्धि तथा नेपालको निर्माण एवं पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै थप ग्राहकमैत्री सेवाहरू विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् ।