महानगरले सुरु गर्‍यो २ लाखसम्म निःशुल्क जलन उपचार, कीर्तिपुर अस्पताललाई २ करोड सहयोग

काठमाडौं । काठमाडौं महानगरपालिकाले जलनका बिरामीलाई प्रतिव्यक्ति २ लाख रुपैयाँसम्म निःशुल्क उपचार उपलब्ध गराउने व्यवस्था गरेको छ । यसका लागि महानगरले कीर्तिपुर अस्पताल (जनस्वास्थ्य सरोकार ट्रस्ट) सँग सम्झौता गर्दै अस्पताललाई २ करोड रुपैयाँ उपलब्ध गराएको छ ।

सम्झौताअनुसार अति विपन्न, हिंसा पीडित र बेवारिसे बिरामीले महानगरको स्वास्थ्य शिक्षा समितिको सिफारिसमा निःशुल्क उपचार पाउनेछन् । साथै काठमाडौं महानगरभित्रका स्थायी बासिन्दा, कानुनअनुसार बसाइँसराइ गरी आएका नागरिक, महानगरका जनप्रतिनिधि, कर्मचारी र उनीहरूका परिवारका सदस्य पनि यो सेवामा समेटिएका छन् ।

महानगरले उपचारका लागि प्रतिव्यक्ति अधिकतम २ लाख रुपैयाँसम्म खर्च व्यहोर्नेछ । तर क्याबिन सेवा, ईएचएस सेवा वा कस्मेटिक उपचारका लागि भने यो कोष प्रयोग नहुने सम्झौतामा उल्लेख छ । 

सम्झौताअनुसार महानगरले उपलब्ध गराएको २ करोड रुपैयाँमध्ये १ करोड रुपैयाँ ‘जलन उपचार कोष’ मा राखिनेछ । यो रकम यस आर्थिक वर्षमा खर्च नभए आगामी वर्षमा पनि जलन उपचारकै लागि प्रयोग गर्न सकिनेछ ।

बाँकी १ करोड रुपैयाँ अस्पतालका उपचार उपकरण र पूर्वाधारका लागि उपलब्ध गराइएको हो । महानगरले खरिद गरिदिएका एक थान एनेस्थेसिया मेसिन, २५० केभीएको जेनेरेटर र ५०० एमए क्षमताको डिजिटल एक्स–रे मेसिन पनि अस्पताललाई हस्तान्तरण गरिएको छ । 

‘पैसा नभएर उपचार नपाउने अवस्था अन्त्य गर्न खोजेका हौं’ : सुनिता डंगोल

सामग्री र चेक हस्तान्तरणपछि कार्यवाहक प्रमुख सुनिता डंगोलले आर्थिक अभावका कारण जलनका बिरामी उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले कोष स्थापना गरिएको बताइन् ।

उनले आगलागी नियन्त्रणमा खटिने अग्निनियन्त्रक, नगर प्रहरी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र कर्मचारीका लागि जलनबाट बच्ने उपायसम्बन्धी क्षमता विकास कार्यक्रम पनि सञ्चालन गरिने जानकारी दिइन् ।

डंगोलले महानगरले उपलब्ध गराएको डिजिटल एक्स–रे मेसिनबाट दैनिक करिब १०० जनासम्मलाई सेवा दिन सकिने जानकारी पाउँदा खुसी लागेको बताइन् । साथै वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, शिक्षण अस्पताल र कान्ति बाल अस्पताललगायत स्वास्थ्य संस्थालाई पनि आवश्यक उपकरण र पूर्वाधारमा सहयोग गर्दै आएको उल्लेख गरिन् । 

जलन उपचार सेवाको क्षमता बढाउने लक्ष्य

महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले अस्पतालको सेवा गुणस्तर र क्षमता अभिवृद्धिका लागि महानगरको सहयोग निरन्तर रहने बताए ।

अस्पतालका कार्यकारी अध्यक्ष डा. भरतकुमार प्रधानले महानगरबाट प्राप्त सहयोगले उपचार सेवा विस्तारमा ठूलो टेवा पुगेको बताए । कार्यकारी निर्देशक गौरी प्रधानले अघिल्लो आर्थिक वर्षमा महानगरले जडान गरिदिएका दुई लिफ्ट र स्वास्थ्य उपकरणले बिरामीलाई सेवा दिन सहज भएको बताए ।

प्रा. डा. शंकरमान राईका अनुसार १० वर्षअघि ४० प्रतिशतभन्दा बढी जलेका बिरामीलाई बचाउन कठिन हुने अवस्था थियो । अहिले ५० प्रतिशत जलेका बिरामीमध्ये करिब आधालाई बचाउन सक्ने क्षमता विकास भएको छ । उनले आगामी १० वर्षभित्र ७० प्रतिशत जलेका बिरामीमध्ये पनि ५० प्रतिशतलाई बचाउन सक्ने क्षमता विकास गर्ने लक्ष्य रहेको बताए ।

सम्झौताअनुसार उपचार सेवासँगै जलन दुर्घटना रोकथाम, प्राथमिक उपचार र सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम तथा तालिम पनि सञ्चालन गरिनेछ । 

Share News