काठमाडौं महानगरका इन्जिनियरविरुद्ध साढे ४ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा

श्रीमती, साली र साडुभाइमार्फत सम्पत्ति लुकाएको आरोप

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो (रामबाबु महतो कोइरी) विरुद्ध करिब ४ करोड ४९ लाख रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दा विशेष अदालतमा दायर गरेको छ ।

आयोगले भदौ २६ गते विशेष अदालतमा आरोपपत्र दर्ता गर्दै महतोले गैरकानुनी सम्पत्ति आर्जन गरी त्यसलाई विभिन्न माध्यमबाट वैध देखाउने प्रयास गरेको आरोप लगाएको हो ।

अख्तियारका अनुसार महतोविरुद्ध यसअघि नै गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा विचाराधीन छ, जसमा ४ करोड ५८ लाख ९७ हजार ४०३ रुपैयाँ ८८ पैसा बिगो कायम गरिएको छ । सम्पत्ति शुद्धीकरण ऐन लागू हुनुअघि आर्जित १९ लाख १५ हजार ५१४ रुपैयाँ ८६ पैसा बिगोमा समावेश गर्न नमिल्ने भएकाले सो रकम घटाएर बाँकी रकम तथा स्रोत खुलाउन नसकेको सम्पत्ति जोड्दा कुल बिगो ४ करोड ४८ लाख ७९ हजार ८४१ रुपैयाँ ९८ पैसा कायम गरिएको आयोगले जनाएको छ । 

श्रीमती, साली र साडुभाइमार्फत सम्पत्ति लुकाएको आरोप

आयोगका अनुसार महतोले भ्रष्टाचारबाट आर्जित रकम आफ्नै नामका साथै बैंक र सहकारी खातामा जम्मा गरेका थिए । त्यसपछि श्रीमती, साली र साडुभाइको नाम प्रयोग गरेर जग्गा खरिद, बैंक कारोबार, सहकारी ऋण, बैंक कर्जा र बैनाबट्टाका कागजातमार्फत रकमको स्रोत र स्वामित्व परिवर्तन गरिएको आरोप छ ।

अख्तियारले वास्तविक मूल्यभन्दा कम थैली कायम गरी नगद र चेकबाट मिश्रित भुक्तानी गर्ने, मुद्दती निक्षेपमा रकम राखेर ब्याजलाई वैध आम्दानीका रूपमा देखाउने तथा सम्पत्तिको वास्तविक स्रोत लुकाउने प्रयास गरिएको दाबी गरेको छ । 

दोब्बर जरिवाना, कैद र सम्पत्ति जफतको माग

आयोगले महतोमाथि सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत कुल बिगोको दोब्बर जरिवाना, कैद सजाय र कसुरबाट खरिद गरिएका जग्गासहित सम्पत्ति जफत गर्न माग गरेको छ । साथै ऐनबमोजिम थप १० प्रतिशत सजायसमेत हुनुपर्ने दाबी गरिएको छ । 

श्रीमतीमाथि पनि मुद्दा

आयोगले महतोकी श्रीमती माला कुमारी महतोमाथि पनि सम्पत्ति शुद्धीकरणको आरोप लगाएको छ । भ्रष्टाचारबाट आर्जित सम्पत्तिबाट घरजग्गा खरिद तथा लगानीमा संलग्न भई सम्पत्तिको स्रोत लुकाउन भूमिका खेलेको भन्दै उनीमाथि पनि ४ करोड ४८ लाख ७९ हजार ८४१ रुपैयाँ ९८ पैसा बिगो कायम गरी दोब्बर जरिवाना, कैद र सम्पत्ति जफतको माग गरिएको छ । 

साली र साडुभाइलाई पनि प्रतिवादी

माला कुमारी महतोकी बहिनी रीना कुशवाहा र उनका पति कृष्णप्रसाद मेहताविरुद्ध पनि मुद्दा दायर गरिएको छ । आयोगका अनुसार उनीहरूले मुख्य प्रतिवादीले आर्जन गरेको अवैध रकमबाट जग्गा खरिद तथा सम्पत्ति लुकाउन सहयोग गरेको देखिएकाले सम्पत्ति शुद्धीकरण कसुरमा मतियार बनेको आरोप लगाइएको छ ।

उनीहरूलाई मुख्य प्रतिवादीलाई हुने सजायको आधा सजाय हुनुपर्ने मागदाबी सहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

Share News