विकासन्युज

काठमाडौंका पूर्व सीडीओ रिजाल छुटे

काठमाडौं । काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल छुटेका छन् ।  उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं छाडेको परिसरका प्रमुख रमेश थापाले विकासन्युजलाई जानकारी दिए ।  ‘हाजिरी जमानीमा छाडेका छौं,’ उनले भने।  आज बिहान रिजाललाई प्रहरीले बानेश्वरस्थित निवासबाट पक्राउ गरेको थियो ।

थुनामा रहेका कैदीबन्दीलाई छुटाउने भन्दै ९ लाख रुपैयाँ माग्ने मगर दम्पती पक्राउ

काठमाडौं । कारागारमा रहेका कैदीबन्दीलाई छुटाइदिने भनेर ठगी गर्ने एक दम्पती पक्राउ परेका छन् । काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार बुढानीलकण्ठ बस्ने ४५ वर्षीय श्रीमान हरिबहादुर थापा मगर र ३७ वर्षीया मीठु भन्ने श्रीमती अनिता थापा मगर पक्राउ परेका हुन् । परिसरका अनुसार गत भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा आपराधिक क्रियाकलापमा संलग्न रही हाल कारागार कार्यालय काठमाडौं सुनधारामा पुर्पक्षको लागि थुनामा छन् ।  मगरले सर्वोच्च अदालतमा आफ्नो चिनजानको न्यायाधीशलाई भनसुन गरेर धरौटीमा छुटाई दिने भनेर पैसा लिएका थिए । उनीहरूले धरौटी बापतको रकम र वकिललाई बहस खर्च भनेर माग गरेका थिए । उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।

सुनदहको सौन्दर्य अब डकुमेन्ट्रीमा, अन्तर्राष्ट्रिय गन्तव्य बनाउने लक्ष्यसहित प्रिमियर सम्पन्न

काठमाडौं ।  पुथा उत्तरगंगा गाउँपालिकामा रहेको प्रसिद्ध पर्यटकीय स्थल सुनदहको प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको डकुमेन्ट्रीको प्रिमियर गरिएको छ ।  पुथा उत्तरगंगा गाउँपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको प्रिमियर कार्यक्रममा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सुनदहलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै विशेष गन्तव्यका रूपमा विकास गरिनुपर्ने बताए।  उनले पूर्वाधार निर्माण, प्रभावकारी प्रचारप्रसार र समन्वयात्मक पहल आवश्यक रहेको समेत जोड दिए । उनले सुनदहको डकुमेन्ट्रीको प्रस्तुति र छायांकनको प्रशंसा गर्दै भने, ‘सुनदहको वास्तविक सौन्दर्यलाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ ।’  उनले पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र स्थानीय तहबीच सहकार्य बढाएर सुनदहको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।  साथै रुकुम–पूर्वजस्तो हिमाली जिल्लामा पर्यटन विकासका लागि भौतिक पूर्वाधार निर्माण अपरिहार्य रहेको उल्लेख गरेका छन् । आगामी बजेटमार्फत पुराना योजनालाई निरन्तरता दिने र रुकुम–पूर्वका पर्यटकीष गन्तव्यको प्रबद्र्धनका लागि बजेट व्यवस्थापनका लागि पहल गर्नेसमेत बताएका छन् ।  त्यसैगरी, लुम्बिनी प्रदेश सांसद दिलकुमारी बुढाले सुनदहलाई ‘स्वर्गबाट चोइटिएर खसेको टुक्रा’ को संज्ञा दिँदै आन्तरिक तथा बाह्य पर्यटकलाई भ्रमण गर्न आग्रह गरेकी छन् । उनले यसको प्रवर्द्धनमा आफूहरू प्रतिबद्ध रहेको स्पष्ट पारिन्  । त्यसैगरी, नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले सुनदहलाई ‘विशिष्ट भौगोलिक विशेषता बोकेको गन्तव्य’ रूपमा उल्लेख गरेका छन् । उनले सुनदहसहित रुकुम पूर्वका  पर्यटकीय गन्तव्यहरुको ब्रान्डिङ गर्नुपर्नेसमेत बताए ।  उनले भने, ‘हामीले देशभर रहेका नयाँ गन्तव्यहरुको खोजी गर्ने र विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेछ ।’  उनले स्थानीय तहले पर्यटन प्रवर्द्धनमा खेलेको भूमिकाको प्रशंसा गर्दै समन्वय र सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने धारणा राखे । पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर–३ का वडाध्यक्ष बमबहादुर बुढाले सुनदहको पर्यटन विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा सहयोग गर्न सरोकारवालाहरूसँग अनुरोध गरेका छन् ।  उनले भने, ‘सडक, पुल तथा अन्य आधारभूत संरचनाको विकासबिना पर्यटनको दिगो प्रवर्द्धन सम्भव नहुने भएकोले पालिका र वडाको बजेटले पुग्दैन । यसका लागि प्रदेश सरकार र केन्द्र सरकारले बजेट विनियोजन गर्न आग्रह गर्दछु ।’ कार्यक्रमका अध्यक्ष तथा पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष पुनिराज घर्तीले सुनदहमा अपार पर्यटकीय सम्भावना रहेको उल्लेख गर्दै यसको प्रवर्द्धनका लागि सबै पक्षबाट सहयोग आवश्यक रहेको बताए ।  उनले पुथा उत्तरगंगा सांस्कृतिक रूपमा पनि समृद्ध रहेको उल्लेख गर्दै एकीकृत रूपमा पर्यटन विकास अगाडि बढाउनुपर्ने धारणा राखे । २८ मिनेटको यो डकुमेन्ट्री प्रिमियर कार्यक्रमले सुनदहलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा स्थापित गर्नेमा गाउँपालिका अध्यक्षले विश्वास व्यक्त गरेका छन् । समुद्री सतहबाट चार हजार ४३५ मिटर उचाइमा रहेको सुनदह प्राकृतिक, जैविक तथा सांस्कृतिक दृष्टिले अत्यन्तै महत्त्वपूर्ण स्थलका रूपमा चिनिन्छ । यहाँ रेड पाण्डा, कस्तुरीलगायत दुर्लभ तथा लोपोन्मुख वन्यजन्तु र चराचुरुङ्गी, यार्सागुम्बाजस्ता बहुमूल्य जडिबुटी पाइने भएकाले जैविक विविधताको दृष्टिले समेत यसको उच्च महत्त्व रहेको छ ।  

महिलाको चरित्र हत्या गर्ने रेसलर खड्का पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा रेसलर महिला पक्राउ परेकी छन् । रामेछाप मन्थली नगरपालिका वडा न. १२ घर भई हाल काठमाडौंको शान्तिनगर बस्ने ३५ वर्षीया भगवती खड्का रहेकी छन् ।  उनी रेसलर खेलाडी हुन् । खड्काले सामाजिक सञ्जालमा पीडित महिलाको फोटोमा अश्लील कमेन्ट गरी सार्वजनिक रूपमा चरित्र हत्या गरेको भन्दै पीडितले साइबर ब्यूरोमा निवेदन दिएकी थिइन् । खड्कालाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मिति २०८२ चैत १७ गते काठमाडौंबाट पक्राउ गरी सम्मानित जिल्ला अदालत काठमाडौंले ४ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको ब्यूरोमा प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिए ।

पहुँचका आधारमा सुगम बसेका १४ विशेषज्ञ चिकित्सकलाई कार्यक्षेत्रमा फर्काइयो

काठमाडौं । आफ्नो कार्यक्षेत्र छोडी व्यक्तिगत सहजताका आधारमा कार्यक्षेत्र रोजेका १४ जना विशेषज्ञ चिकित्सकहरूलाई आफ्नो कार्यक्षेत्रमा फर्काइएको छ ।  पहुँचको आधारमा सुगमका अस्पतालमा ‘काज’ मिलाएर बसेका चिकित्सकहरू अब आफ्नै दरबन्दी भएको कार्यक्षेत्रमा फर्किने भएका हुन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले पहिलो चरणमा नवौं र दशौं तहका विशेषज्ञ चिकित्सकलाई दरबन्दी रहेको अस्पतालमा फिर्ता पठाइएको जनाइएको छ ।  मेहताले डडेल्धुरा, वीरगन्ज र सप्तरीका अस्पतालहरूलाई प्राथमिकतामा राखेर काज फिर्ता सुरु गरेपछि डडेल्धुरा अस्पतालमा ४ जना र नारायणी अस्पताल वीरगञ्जमा ५ जना र गजेन्द्रनारायण सिंह अस्पताल सप्तरीमा ५ जना विशेषज्ञ चिकित्सक फिर्ता भएका हुन् । दुर्गम जिल्लाका अस्पतालमा विशेषज्ञ सेवाको उपलब्धता सुनिश्चित गर्न र लामो समयदेखि शक्तिको आडमा सुगम रोज्ने प्रवृत्तिलाई अन्त्य गर्न मन्त्रीले यो कदम चालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  काज फिर्ता भएका चिकित्सकमा वरिष्ठ कन्सल्टेन्ट ई.एन.टी. सर्जन डा. रोहिता बज्राचार्य, कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डा. जोसनलाल बज्राचार्य, कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डा. विशाल कुमार देव, कन्सल्टेन्ट रेडियोलोजिस्ट डा. प्रकाश ढकाल, कन्सल्टेण्ट साइक्याट्रिष्ट डा. सुशील समदर्शी रहेका छन् । उनीहरू आफ्नो कार्यक्षेत्र गजेन्द्र नारायण सिंह अस्पताल छोडेर आफूलाई सजिलो हुने क्षेत्रमा काम गर्दै आएका थिए । यस्तै, मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोषकुमार गुप्ता, कन्सल्टेन्ट डर्माटोलोजिस्ट डा. मिसन्ता शर्मा, कन्सल्टेन्ट सर्जन डा. नवीन चन्द्र भट्ट, वरिष्ठ कन्सल्टेण्ट रेडियोलोजिस्ट डा. सुयोग्य वाग्लेलाई आफ्नो कार्यक्षेत्र डडेल्धुरा अस्पतालमा फर्काइएको छ ।  नारायणी अस्पताल पर्सामा कार्यक्षेत्र भएका पाँच जना चिकित्सकलाई पनि कार्यक्षेत्र फर्काइएको छ, जसमा वरिष्ठ कन्सल्टेन्ट ई.एन.टी. सर्जन डा. सोनीका धरी श्रेष्ठ, मेडिकल ल्याब टेक्नोलजिस्ट सञ्जोग तिमिल्सिना, कन्सल्टेन्ट ग्यास्ट्रोइन्टरोलोजिस्ट डा. अरुण ज्ञवाली, वरिष्ठ कन्सल्टेन्ट ट्रोपिकल मेडिसिन/फिजिसियन डा. मुकेश पौडेल र कन्सल्टेन्ट साइक्याट्रिष्ट डा. दिपेश भट्टराई रहेका छन् ।

आफ्नो सट्टामा अरूलाई परीक्षा दिन पठाउने ३३ अभिकर्ता कारवाहीमा

काठमाडौं ।  नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षामा अनियमितता भएको पाइएको भन्दै केही परीक्षार्थीमाथि कारबाही गरेको छ ।  प्राधिकरणले सूचना जारी गर्दै आईआरएमआईएस प्रणालीमा प्रविष्ट गरिएको फोटोभन्दा फरक व्यक्ति परीक्षा दिइरहेको भेटिएपछि ३३ परीक्षार्थीहरूको परीक्षा रद्द गरिएको जनाएको छ । प्राधिकरणका अनुसार निरीक्षणका क्रममा उक्त अनियमितता पुष्टि भएपछि बीमा अभिकर्ता परीक्षा सञ्चालन निर्देशिका, २०७९ अनुसार परीक्षा रद्द गर्नुका साथै ती परीक्षार्थीलाई ३ महिनासम्म परीक्षा दिन नपाउने गरी प्रतिबन्ध लगाइएको हो ।  यस विषयमा प्राधिकरणले सम्बन्धित कम्पनीहरूसँग समेत स्पष्टीकरण माग गर्दा पनि चित्तबुझ्दो जवाफ नआएपछि कारबाही गरेको सूचनामा उल्लेख छ ।   कारवाहीमा परेका परीक्षार्थीहरूमा नेशनल लाइफ इन्स्योरेन्सबाट अजिमा तिमल्सिना पौडेल र विक्रम पौडेल रहेका छन् । सिटिजन्स लाइफ इन्स्यारेन्सबाट सीता चौधरी, सानिमा रिलायन्स लाइफबाट मीना कुमारी धामी, नेपाल लाइफ इन्स्योरेन्सबाट निराजन भट्ट र सुजिता विशुके रहेका छन् । त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सबाट रामकिसुन चौधरी, रिलायबल लाइफ इन्स्योरेन्सबाट निखिला रावल, दुर्गा पहारी घिमिरे, रञ्जिता मेचे, सञ्जिता चौधरीले परीक्षामा अनियमिता गरेको पाईएको प्राधिकरणले जनाएको छ।  त्यसैगरी, आईएमई लाइफबाट भवानी कुमार ओझा, सुजन कार्की, सञ्जीता केसी, रेखा कुमारी खड्काले आफ्नो सट्टामा अरूलाई परीक्षा दिन पठाएको पाइएको छ । प्रभु महालक्ष्मी लाइफबाट घने बहादुर तामाङ, निशा चौलागाई, सुस्मिता भुजेल, सुस्मा विक र सैफुल्लाह अन्सारी रहेका छन् ।  परीक्षामा अनियमिता गर्ने अन्य अभिकर्ताहरमा एशिएन लाइफ इन्स्यारेन्सबाट खिमानन्द भट्टराई र कोमल कुमारी शर्मा रहेका छन् । सूर्यज्योति लाइफबाट गणेश बोकटी, दुर्गा थापा र पार्वतीले जैशी रहेका छन् । 

व्यवसायी भट्ट अध्यागमनको कालोसूचीमा, सम्पत्ति छानबिनमा लाग्यो सरकार

काठमाडौं । व्यवसायी दिपक भट्टलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ । सम्पत्ति शुद्धीकरण विभागबाट आएको पत्रका आधारमा उनलाई कालोसूचीमा राखिएको अध्यामगनका एक कर्मचारीले विकासन्युजलाई जानकारी दिए । सरकारले उनको सम्पत्तिमाथि छानबिन सुरु गरेको बुझिएको छ । विगतमा विभिन्न नियुक्ति तथा व्यावसायिट सेटिङमा भट्टको सक्रियता व्यापा थियो । उनले बिचौलिया व्यवसायीको परिचय बनाएका छन् । 

पैदलयात्रीलाई अभद्र व्यवहार गर्ने एमाले कार्यकर्ता बजगाईं पक्राउ

काठमाडौं । पैदलयात्री ज्येष्ठ नागरिकमाथि अभद्र व्यवहार गर्ने एमालेका कार्यकर्ता पक्राउ परेका छन् ।  आइतबार लगनखेलस्थित सडकपेटीमा हिँडिरहेका ज्येष्ठ नागरिकमाथि अभद्र व्यवहार गर्ने ३० वर्षीय रामशरण शर्मा बजगाईंलाई प्रहरीले पक्राउ गरेको हो ।  ललितपुर प्रहरीका अनुसार गोदावरी नगरपालिका १० बाट बजगाईंलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ । उनको समूहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा प्रदर्शन गरेका थिए ।