विकासन्युज

सबै नागरिकको स्वास्थ्य बीमा प्रिमियममा सतप्रतिशत अनुदान

काठमाडौं । कास्कीका अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट बुधबार सार्वजनिक गरेका छन् । कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर यी दुई पालिकाले बजेट कार्यक्रम ल्याएका हुन् । अन्नपूर्णले ६५ करोड ५० लाख रुपैयाँ तथा माछापुच्छ्रेले ६८ करोड २७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका छन् । अन्नपूर्ण गाउँपालिकाले ‘कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार: अन्नपूर्ण समृद्धिको आधार’ भन्ने दीर्घकालीन लक्ष्यलाई केन्द्रमा राखेर बजेट तर्जुमा गरेको जनाएको छ । बजेटले कृषि उत्पादन र उत्पादकत्व वृद्धि, युवा उद्यमशीलता प्रवर्द्धन, ‘डिजिटल’ सेवा विस्तार, पर्यटन विकास तथा पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता दिएको छ । पूर्वाधारतर्फ सबै वडालाई मध्यपहाडी लोकमार्गसँग जोड्ने, चक्रपथ निर्माण तथा सडक स्तरोन्नतिका लागि ११ करोड २६ लाख ४७ हजार रुपैयाँ विनियोजन गरिएको उपाध्यक्ष चन्द्रकला अधिकारीले बताए । गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि ६० लाख रुपैयाँ छुट्याइएको छ । कृषि तथा पशु विकास क्षेत्रमा अतिरिक्त ७० लाख रुपैयाँ विनियोजन गरिएको छ भने दुग्ध, चल्ला तथा पशुपालनमा अनुदान कार्यक्रम सञ्चालन गरिने भएको छ । स्वास्थ्य क्षेत्रमा गाउँपालिका भित्रका सबै नागरिकको स्वास्थ्य बीमा प्रिमियममा सतप्रतिशत अनुदान दिने व्यवस्था गरिएको छ । यसका लागि ९० लाख रुपैयाँ बजेट छुट्याइएको छ । शिक्षातर्फ विद्यालय कर्मचारी र बालविकास सहजकर्ताको पारिश्रमिक, शैक्षिक सुधार कार्यक्रम तथा दिवा खाजा विस्तारका लागि बजेट विनियोजन गरिएको छ । यसैगरी, माछापुच्छ्रे गाउँपालिकाले ‘समृद्ध गाउँपालिका: सुखी नागरिक’ भन्ने लक्ष्यसहित प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी र सुशासनलाई प्राथमिकता दिएको छ । गाउँपालिकाले शिक्षा क्षेत्र अन्तर्गत कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई दिवा खाजा कार्यक्रम विस्तार गर्न ६० लाख रुपैयाँ विनियोजन गरेको छ । अध्यक्ष कप खेलकुद प्रतियोगिता तथा युवा कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ । स्वास्थ्य क्षेत्रमा लाहाचोक स्वास्थ्य प्रवर्द्धन केन्द्र सुदृढीकरणका लागि ३० लाख रुपैयाँ, पाठेघर तथा स्तन क्यान्सर परीक्षण कार्यक्रम, निःशुल्क औषधि वितरण तथा स्वास्थ्य संस्थाको स्तरोन्नतिका लागि बजेट व्यवस्था गरिएको उपाध्यक्ष सीता अधिकारीले बताइन् ।  पूर्वाधारतर्फ कोलचोक-लाहाचोक-देउराली सडक स्तरोन्नतिका लागि ४ करोड रुपैयाँ, तातोपानी सडकका लागि १ करोड २० लाख रुपैयाँ तथा अन्य रणनीतिक सडक आयोजनामा बजेट विनियोजन गरिएको छ । कृषि क्षेत्र अन्तर्गत मौरी पकेट क्षेत्र विकासका लागि १२ लाख रुपैयाँ, कृषि उत्पादन सङ्कलन केन्द्र स्थापना, साना सिँचाइ आयोजना तथा कृषि प्रयोगशाला सञ्चालनका कार्यक्रम समेटिएका छन् । गाउँपालिकाले स्थानीय जनताको सहभागितामा ‘माछापुच्छ्रेको ताकत, जनताको लागत’ कार्यक्रममार्फत लागत साझेदारी योजनाका लागि ९० लाख रुपैयाँ विनियोजन गरेको छ । कास्कीमा रहेका पाँच पालिकामध्ये पोखरा, मादी र रुपा गाउँपालिकाले भने यसअघि नै बजेट कार्यक्रम ल्याइसकेका छन् ।  

यस्ता छन् भक्तपुरका स्थानीय तहहरूको बजेट

काठमाडौं । सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि दुई अर्ब २६ करोड रुपैयाँको बजेट पारित गरेको छ ।  सूर्यविनायकमा बुधबार (आज) सम्पन्न २० औं नगरसभाको अधिवेशनले पुँजीगत खर्चतर्फ ५७ दशमलव १४ प्रतिशत अर्थात् एक अर्ब २९ करोड १४ लाख १८ हजार रूपैयाँ र चालु खर्चतर्फ ४२ दशमलव ८५ प्रतिशत अर्थात् ९६ करोड ८५ लाख ८२ हजारको बजेट सभाले पारित गरेको हो ।      आज सम्पन्न नगर सभामा उपप्रमुख सरिता तिम्सिना भट्टराईले प्रस्तुत गरेको बजेटमा सङ्घीय सरकारबाट समानीकरण, राजस्व बाँडफाँट, समपूरक तथा सशर्त अनुदानमार्फत ६९ करोड ३१ हजार ३१६ रुपैयाँ र प्रदेश सरकारबाट समानीकरण, राजस्व बाँडफाँट, समपूरक, सशर्त तथा विशेष अनुदानमार्फत ५९ करोड ६० लाख ९७ हजार ७०८ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै आन्तरिक स्रोतबाट रु ९७ करोड ३८ लाख ७० हजार ९७५ आम्दानी हुने प्रक्षेपण गरिएको छ ।      नगरले आगामी आर्थिक वर्षका लागि पाँच प्रमुख प्राथमिकता निर्धारण गर्दै सहरी पूर्वाधार विस्तार, गुणस्तर सुधार तथा नगर सौन्दर्य प्रवद्र्धन, आधारभूत स्वास्थ्य सेवाको सुदृढीकरण र विस्तार, सामुदायिक शिक्षाको पूर्वाधार विकास तथा गुणस्तर अभिवृद्धि, प्राविधिक तथा सीपमूलक तालिम, उद्यमशीलता प्रवद्र्धन तथा रोजगारी सिर्जना र सूचना प्रविधिको व्यापक विस्तारमार्फत संस्थागत सुशासन प्रवद्र्धन गर्ने भएको छ ।   यसअघि नगर प्रमुख वासुदेव थापाले प्रस्तुत गरेको नीति, कार्यक्रम पनि सभाले पारित गरेको छ । त्यस्तै, भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्ष ०८३/०८४ का लागि दुई अर्ब ५५ करोड बजेट विनियोजन सार्वजनिक गरेको छ ।       भक्तपुर नगरपालिकाको २० औं नगरसभाको बैठकमा आज उपप्रमुख रजनी जोशीले बजेट प्रस्तुत गर्दै नगरपालिकाको आन्तरिक स्रोत, सङ्घीय र प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट, विभिन्न अनुदान र चालु वर्षको बैंक मौज्दातबाट व्यवस्थापन हुने उक्त बजेट प्रस्तुत गरिन् ।       विनियोजित बजेटको चालुतर्फ एक अर्ब ५५ करोड ८९ लाख रुपैयाँ अर्थात् ६१.१३ प्रतिशत र पुँजीगततर्फ ९३ करोड ३१ लाख रुपैयाँ अर्थात् ३६.६० प्रतिशत तथा वित्तीयतर्फ रुपैयाँ पाँच करोड ८० लाख (२.२७ प्रतिशत) विनियोजन गरेको उपप्रमुख जोशीले बताइन् ।       बजेट वक्तव्यमा विभिन्न शैक्षिक विकास र शिक्षा क्षेत्रका लागि कुल बजेटको २२.०६ प्रतिशत अर्थात् ५६ करोड २७ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ ।  नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई सेवा विस्तार एवं उपकरण खरिदका लागि कूल २३ करोड रुपैयाँ विनियोजन गरेको छ । स्वास्थ्य क्षेत्रका समग्र कार्यक्रमका लागि ३५ करोड ६४ लाख रुपैयाँ अर्थात् १३.९७ प्रतिशत बजेट विनियोजन गरिएको छ ।       नगरपालिकाले सम्पदा पुनर्निर्माण तथा संस्कृति संरक्षणका लागि आगामी वर्ष कूल सात करोड ९० लाख रुपैयाँ, भौतिक पूर्वाधार निर्माणमा ३५ करोड अर्थात् १३.७२ प्रतिशत, पर्यटन प्रवद्र्धन गर्न कूल तीन करोड ८० लाख रुपैयाँ, वातावरण सुधार तथा फोहरमैला व्यवस्थापन शीर्षकमा २३ करोड १५ लाख ८० हजार रुपैयाँ, खेलकुद विकास र पूर्वाधार निर्माणमा तीन करोड ७५ लाख रुपैयाँ, विपद्को समयमा जनतालाई सुरक्षित राख्न, उद्धार र पुनःस्थापनाका लागि ‘प्रकोप व्यवस्थापन कोष’ लाई सुदृढ बनाउन रु ४० लाख बजेट विनियोजन गरेको छ । त्यसैगरी चाँगुनारायण नगरपालिकाले आजदेखि सुरु भएको १८ औं नगरसभाले आगामी आर्थिक वर्ष २०८३/०८४ को लागि दुई अर्ब चार करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।  आज बसेको नगरसभाको १८ औं नगरसभामा उपप्रमुख रमेश बुढाथोकीले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै नगरपालिकाले विभिन्न दस्तुरबापत ३४ करोड छ लाख २० हजार, सवारीसाधनको राजस्वबाट आठ करोड २२ लाख रुपैयाँ र घरजग्गा रजिष्ट्रेशनबाट ८६ करोड आन्तरिक आय हुने अनुमान गरिएको छ ।      नगरपालिकालाई सङ्घीय सरकारबाट १६ करोड ३७ लाख रुपैयाँ, राजस्व बाँडफाँटबाट १२ करोड ४१ लाख ९१ हजार रुपैयाँ तथा सशर्त अनुदानमार्फत ५५ लाख रुपैयाँ र विशेष अनुदानबापत तीन करोड रुपैयाँ विनियोजन भएकोमा यस आवमा एक करोड ५० लाख रुपैयाँ प्राप्त भएको उनले बताए ।        त्यस्तै, बागमती प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानमार्फत एक करोड ४९ लाख ९७ हजार रुपैयाँ, सशर्त अुनदानमार्फत तीन करोड ५१ लाख २५ हजार तथा विशेष अनुदानमार्फत ७० लाख रुपैयाँ प्राप्त भएको सभामा जानकारी  दिएको छ । सभामा उनले आव २०८३/०८४ को नीति तथा कार्यक्रमसमेत प्रस्तुत गरेको थियो भने बजेट तथा नीति तथा कार्यक्रम असार २८ गते बस्ने अर्को नगरसभाको बैठकले पारित गर्ने उपप्रमुख बुढाथोकीले बताए​​​​​​​ । 

रास्वपा महाधिवेशन: केन्द्रीय समिति चयनका लागि मतदान सुरु, भोलि बिहान १० बजेसम्म समय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय समितिको निर्वाचनका लागि मतदानको समयतालिका सार्वजनिक गरेको छ ।  आयोगका प्रमुख भुवन केसीद्वारा जारी सूचनाअनुसार निर्वाचनका लागि मतदान प्रक्रिया बुधबार (आज) असार १० गते राति १०ः३० बजेदेखि सुरु भइसकेको छ ।  यो मतदान प्रक्रिया भोलि (२०८३ असार ११ गते) बिहान १०ः०० बजेसम्म जारी रहनेछ ।   केन्द्रीय निर्वाचन आयोगले तोकिएको समयभित्र व्यवस्थित, पारदर्शी र निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउनका लागि आवश्यक सम्पूर्ण तयारीहरू पूरा भइसकेको जनाएको छ । आयोगले महाधिवेशनमा सहभागी सम्पूर्ण सम्बन्धित प्रतिनिधिहरूलाई तोकिएको समयसीमाभित्र आफ्नो मताधिकार प्रयोग गर्न हार्दिक अनुरोध समेत गरेको छ ।  मतदान स्थल, डिजिटल मतपत्र र निर्वाचनका अन्य प्राविधिक प्रक्रियाका बारेमा प्रतिनिधिहरूलाई छुट्टै माध्यमबाट जानकारी गराइने सूचनामा उल्लेख छ ।     

ट्रम्पको दाबी: इरानले हर्मुज मार्गमा जहाजहरूसँग कुनै शुल्क लिन्नँ भनेको छ

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले हर्मुज स्ट्रेट (जलमार्ग) प्रयोग गर्ने जहाजहरूलाई कुनै शुल्क नलिइने बताएको दाबी गरेका छन् । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्,  ‘इरानले अमेरिकालाई सञ्चारमाध्यममा आएका खबरविपरीत हर्मुज स्ट्रेट भएर यात्रा गर्ने जहाजहरूलाई कुनै टोल, बिमा शुल्क वा अन्य शुल्क नलिने जानकारी गराएको छ । ’ साथै उनले अगाडि लेखेका छन्, ‘यदि यो जानकारी गलत साबित भयो भने वार्ता तुरुन्तै अन्त्य गरिनेछ ।’ उल्लेखनीय छ- इरान र अमेरिकाबिच हस्ताक्षर भएको सम्झौताअन्तर्गत ६० दिनसम्म हर्मुज मार्गमा कुनै शुल्क नलिइने उल्लेख छ।  यद्यपि इरानले यस अवधिपछि ओमानसँगको सम्झौताका आधारमा यसले नेभिगेसन सेवा, सुरक्षा र वातावरणीय संरक्षणका लागि जहाजहरूसँग शुल्क लिइने बताएको छ ।

ललितपुर महानगरले ल्यायो ७ अर्ब ४८ करोडको बजेट

काठमाडौं । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८७ लाख ८० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगरले उपप्रमुख मञ्जली शाक्य बज्राचार्यको अध्यक्षतामा बुधबार (आज) बसेको नवौं नगरसभाको तेस्रो बैठकले चालु खर्चतर्फ तीन अर्ब २५ करोड १८ लाख ५१ हजार रुपैयाँ र पुँजीगततर्फ चार अर्ब २३ करोड ६९ लाख २७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको हो ।  उपप्रमुख शाक्यले प्रस्तुत गरेको बजेटमा संस्थागत सुदृढीकरण र सुशासन, दिगो पूर्वाधार तथा सहरी विकास, कला, संस्कृति, सम्पदा संरक्षण र सम्वद्र्धन, सुलभ आधारभूत स्वास्थ्य सेवा तथा नगरवासीको जीवन रक्षा, रोजगारमूलक एवं स्तरीय आधारभूत शिक्षालाई प्राथमिकता दिइएको छ ।  यसैगरी बजेटमा लैङ्गिक समानता, महिला सशक्तीकरण तथा सामाजिक समावेशीकरण, वातावरण संरक्षण, स्थानीय सहकारी तथा उद्यम व्यवसायको प्रवद्र्धन र विकास, सम्पदा तथा सांस्कृतिक एवं धार्मिक पर्यटनको प्रवद्र्धन, अपाङ्गतामैत्री व्यवहार र व्यवस्था, युवा तथा खेलकुद, बालमैत्री व्यवहार र व्यवस्था, विपद् जोखिम न्यूनीकरण र उद्धार, उद्यमशीलता विकासमार्फत रोजगार प्रवद्र्धन तथा गरिबी न्यूनीकरण, निजी क्षेत्र, गैरसरकारी संस्था र नागरिक समाजसँग सहकार्य, प्रविधियुक्त एवं नागरिक मैत्री र जवाफदेही सेवा प्रवाह तथा प्रत्येक घरमा स्वच्छ खानेपानीलाई प्राथमिकता दिइएको छ । प्रस्तुत वार्षिक बजेटका लागि महानगरले स्रोत व्यवस्थापनतर्फ सङ्घीय सरकारबाट एक अर्ब ३६ करोड ५३ लाख ९० हजार रुपैयाँ र बागमती प्रदेश सरकारबाट १७ करोड ६३ लाख ९० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै आन्तरिक आयबाट तीन अर्ब ३५ करोड ५० लाख रुपैयाँ सङ्कलन हुने अनुमान बजेटमा उल्लेख छ ।  त्यस्तै अन्तर सरकारी अख्तियारीबाट एक अर्ब ६ करोड २० लाख प्राप्त हुने अपेक्षा गरिएको छ । एक अर्ब ४७ करोड रुपैयाँ नगद मौज्दातबाट बेहोरिने उपप्रमुख शाक्यले जानकारी दिइन् । महानगरले गत वर्ष सात अर्ब ४७ करोड ४१ लाख ४७ हजारको वार्षिक बजेट प्रस्तुत गरेकामा २०८३ को जेठ मसान्तसम्म रतीन अर्ब ४३ करोड ७६ लाख ९१ हजार रुपैयाँ अर्थात् ५१.२ प्रतिशत बजेट खर्च भएको उपप्रमुख शाक्यले जानकारी दिइन् । यसअघि यही असार ५ गते भएको नगरसभाको पहिलो बैठकमा महानगरप्रमुख चिरीबाबु महर्जनले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।  सोही नीति तथा कार्यक्रमको आधारमा आज बजेट प्रस्तुत गरिएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए । 

रास्वपामा मन्त्रीहरू नै प्रतिस्पर्धामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय समितिको निर्वाचनका लागि वर्तमान मन्त्रिपरिषद्का नौ जना सदस्यहरूले उम्मेदवारी दिएका छन् । प्रारम्भिक सूचीअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गण्डकी प्रदेश खुलातर्फबाट उम्मेदवारी दिएका हुन् । परराष्ट्रमन्त्री शिशिर खनालले खुलातर्फ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती प्रदेश खुलातर्फ र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बागमती प्रदेशतर्फबाट उम्मेदवारी दिएका छन् ।  महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता वादीले कर्णाली भूगोलतर्फ, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले कोशी भूगोलतर्फ, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खुला केन्द्रीय सदस्यतर्फ तथा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले सुदूरपश्चिम खुलातर्फ केन्द्रीय सदस्यका लागि उम्मेदवारी  दिएका छन् ।  युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले खुला मधेशी समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । प्रथम महाधिवेशनमार्फत रास्वपाले नयाँ नेतृत्व चयन गर्न केन्द्रीय समितिका विभिन्न पद तथा सदस्यका लागि निर्वाचन प्रक्रिया अघि बढाएको जनाएको छ । प्रारम्भिक सूचीअनुसार केन्द्रीय समितिमा विभिन्न क्लस्टरबाट ३८४ जनाले उम्मेदवारी दिएका छन् । 

वीरगञ्ज महानगरले ल्यायो ४ अर्ब ४२ करोडभन्दा बढीको बजेट

काठमाडौं । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि चार अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बुधबार (आज) आयोजित नगरसभाको २०औं अधिवेशनमा महानगरका कार्यवाहक प्रमुख इम्तियाज आलम तर्फबाट नगर कार्यपालिका सदस्य जगत साहले चार अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरे ।       प्रस्तुत बजेटअनुसार पुँजीगत खर्चतर्फ एक अर्ब ९६ करोड ९९ लाख ८४ हजार रुपैयाँ अर्थात् ४४.६ प्रतिशत तथा वित्तीय व्यवस्थापनतर्फ पाँच करोड अर्थात् १.१ प्रतिशत बजेट छुट्याइएको छ ।  त्यसैगरी चालु खर्चतर्फ दुई अर्ब ४० करोड ३४ लाख ६९ हजार रुपैयाँ अर्थात् कूल बजेटको ५४.३ प्रतिशत विनियोजन गरिएको छ ।  सङ्घीय अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ९८ करोड २९ लाख रुपैयाँ, आन्तरिक राजस्वबाट एक अर्ब ४८ करोड, सङ्घीय राजस्व बाँडफाँटबाट २४ करोड ६८ लाख ८३ हजार रूपैयाँ छ ।  प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट पाँच करोड २८ हजार रुपैयाँ तथा प्रदेश राजस्व बाँडफाँटबाट एक करोड ६७ लाख १४ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । त्यसअघि नगरसभामा कार्यवाहक प्रमुख आलमले आगामी आर्थिक वर्षका लागि महानगरको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।       त्यसैगरी घरजग्गा रजिष्ट्रेसन शुल्कबाट ४५ करोड रुपैयँ, गत वर्षको नगद मौज्दातबाट चार करोड ६९ लाख ४४ हजार रुपैयाँ तथा नगर विकास कोषबाट १५ करोड रूपैयाँ व्यवस्थापन गरिने बजेटमा उल्लेख गरिएको छ ।  आलमकै अध्यक्षतामा सम्पन्न नगरसभाको २०औं अधिवेशनमा प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहरा, नगर कार्यपालिका सदस्य, महानगरका ३२ वटै वडाका वडाध्यक्ष तथा वडा सदस्य, कर्मचारीलगायतको सहभागिता रहेको थियो ।  आज प्रस्तुत वीरगञ्ज महानगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रमममा पूर्वाधार विकास, वन तथा वातावरण, विपद् व्यवस्थापन, आर्थिक विकास, सामाजिक विकास र सुशासनमा जोड दिइएको छ ।

रास्वापाको महाधिवेशन निर्वाचन तालिका संशोधन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन तालिका संशोधन गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले बुधबार (आज) संशोधित तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार महाधिवेशनका प्रतिनिधिको अन्तिम नामावली साँझ ५ः०० बजे पार्टीको वेबसाइट, ह्वाट्स्याप ग्रुप र महाधिवेशनस्थलमा सार्वजनिक गरिएको छ ।  आयोगका प्रमुख भुवन केसीका उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन आज दिउँसो ३ः३० बजे गरिएको छ । साँझ ५ः०० बजेसम्मका लागि उम्मेदवारविरुद्ध दाबीविरोध गर्ने समय तोकिएको छ ।  साँझ ५ः३० बजेसम्म दाबीविरोध परेका उम्मेदवारबारे परेको जाँच बुझको समय रहेको छ । साँझ ६ः०० बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने समय रहेको छ ।  उम्मेदवारको अन्तिम नामावली बेलुका ६ः३० बजेसम्म राखिएको छ । बेलुका ६ः४५ बजेदेखि मौनअवधि छ भने पहिलो चरणको मतदान बेलुका ८ः३० बजे सुरु गर्ने गरी तालिका संशोधन गरिएको आयोगले जनाएको छ ।  पहिलो चरणमा सार्वजनिक गरिएको उम्मेदवारको सङ्ख्या ३८४ रहेको छ । जसबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित हुने छन् ।