विपद् उत्थानशील पूर्वाधारदेखि एकीकृत आवाससम्म बहस गर्दै ‘जग्गा तथा आवास प्रदर्शनी’

काठमाडौं । बाढी, पहिरो र भूकम्पजस्ता प्राकृतिक विपद्बाट क्षतिग्रस्त बस्ती तथा पूर्वाधारको पुनःनिर्माणलाई सुरक्षित र दिगो बनाउनेदेखि जोखिमयुक्त क्षेत्रका बस्ती स्थानान्तरणसम्मका विषयमा काठमाडौंमा विज्ञ, सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधिबीच विस्तृत छलफल हुने भएको छ ।

भृकुटीमण्डपमा असोज १ देखि ४ गतेसम्म आयोजना हुने ‘सिजी प्रोपर्टिज नवौं नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३’ का क्रममा एक्स्पो कन्फरेन्स हलमा विभिन्न प्राविधिक सत्र तथा उच्चस्तरीय प्यानल छलफल आयोजना गर्न लागिएको हो ।

एक्स्पो संयोजक रोशन भोयध्योका अनुसार प्रदर्शनीका सुरुआती तीन दिन निर्माण, भू–उपयोग, विपद् उत्थानशीलता, पुनर्वास तथा सार्वजनिक–निजी साझेदारी (पीपीपी)मा आधारित एकीकृत आवास विकासलाई केन्द्रमा राखेर छलफल हुनेछ ।

प्रदर्शनीको पहिलो दिन असोज १ गते दिउँसो २ बजे ‘घर तथा भवन निर्माणमा वास्तुशास्त्रको महत्त्व’ विषयमा विशेष सेमिनार हुनेछ । सेमिनारमा वास्तुविज्ञ डा. माधव मङ्गल जोशीले मुख्य प्रस्तुति दिनेछन् । 

आधुनिक आवास विकासमा संरचनात्मक सुरक्षा, स्थान छनोट, वातावरण, प्रकाश तथा हावाको व्यवस्थापनसँग वास्तुशास्त्रको सम्बन्धबारे सेमिनारमा छलफल गरिने आयोजकले जनाएको छ ।

दोस्रो दिन असोज २ गते विपद् र पुनर्वाससँग सम्बन्धित दुई प्राविधिक प्रस्तुति राखिएका छन् । ‘उच्च जोखिम क्षेत्रमा विपद् उत्थानशील पूर्वाधार र दिगो निर्माण’ विषयमा पूर्वाधार विकास मन्त्रालयका सहसचिव आर्किटेक्ट पद्मकुमार मैनालीले प्रस्तुति दिनेछन् । उक्त सत्रमा विपद् जोखिम मूल्याङ्कन, संरचनागत सुरक्षा र दिगो निर्माणका विषयमा चर्चा हुनेछ ।

सोही दिन भूमि व्यवस्था मन्त्रालयका सहसचिव गणेशप्रसाद भट्टले ‘भू–उपयोग वर्गीकरण, सुरक्षित भूमि एवं बस्ती विकास र बाढीपीडितहरूका लागि स्थानान्तरण योजना’ विषयमा प्रस्तुति दिनेछन् ।

उक्त सत्रमा बाढी प्रभावित परिवारको तत्कालीन राहतपछि दीर्घकालीन पुनर्वास, सुरक्षित भूभागको पहिचान तथा नयाँ स्थानमा आवाससँगै सडक, खानेपानी, विद्युत्, विद्यालय, स्वास्थ्य र जीविकोपार्जनका पूर्वाधार विकास गर्ने विषयमा छलफल हुनेछ ।

सत्रको अध्यक्षता नेपाल जग्गा तथा आवास विकास महासङ्घका अध्यक्ष विष्णुप्रसाद घिमिरेले गर्नेछन् भने महासङ्घका वरिष्ठ कानुनी सल्लाहकार डा. गोकुलप्रसाद बुर्लाकोटीले सहजीकरण गर्नेछन् ।

असोज ३ गते विपद्पछिको पुनर्निर्माणमा निजी क्षेत्रको सहभागिता र आवश्यक नीतिगत व्यवस्थाबारे प्यानल छलफल हुनेछ । विपद्पछि ठूलो सङ्ख्यामा संरचना निर्माण गर्नुपर्ने अवस्थामा सरकारी स्रोत मात्रै पर्याप्त नहुने भएकाले निजी क्षेत्रको पुँजी, प्रविधि र व्यवस्थापकीय क्षमता परिचालन गर्ने विषय छलफलको मुख्य केन्द्रमा रहनेछ ।

नेपाल जग्गा तथा आवास विकास सङ्घका अध्यक्ष इन्जिनियर दीपक कुँवरको अध्यक्षता र ख्वप इन्जिनियरिङ कलेजकी आर्किटेक्ट प्रमिला शिल्पकारको मोडरेसनमा हुने छलफलमा काठमाडौं उपत्यका विकास प्राधिकरणका नायब विकास आयुक्त प्रकाश अर्याल, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्रा, क्इल्ब् का अध्यक्ष आर्किटेक्ट ईश्वरलाल श्रेष्ठ, नेपाल जियोटेक्निकल सोसाइटीका निवर्तमान अध्यक्ष डा. मन्दिप सुवेदी र काठमाडौं इन्स्टिच्युटका निर्देशक अकाडेमीसियन आर्किटेक्ट वीरेश शाह सहभागी हुनेछन् ।

प्यानल छलफलमा निजी क्षेत्रलाई पुनर्निर्माणमा सहभागी गराउँदा लागत, निर्माणको गुणस्तर, लाभग्राही छनोट, भूमि उपलब्धता तथा दीर्घकालीन व्यवस्थापनलाई पारदर्शी र प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिनेछ ।

प्रदर्शनीको अन्तिम दिन असोज ४ गते प्रदर्शकहरूबीच व्यावसायिक (बीटुबी) अन्तरक्रिया आयोजना गरिनेछ ।

आयोजकका अनुसार प्रदर्शनीले आवासलाई केवल घर निर्माण वा जग्गा कारोबारका रूपमा मात्र नहेरी सुरक्षित स्थान छनोट, योजनाबद्ध बस्ती विकास र विपद् उत्थानशील पूर्वाधार निर्माणको अवधारणालाई प्राथमिकतामा राख्नेछ । 

साथै आवास तथा पुनःनिर्माणसम्बन्धी नीतिगत सुधारका लागि समेत प्रदर्शनी उपयोगी हुने अपेक्षा गरिएको छ ।

Share News