कृषिदेखि एआईसम्म सीप सिकाउँदै रोजगारी दिने सरकारको तयारी

काठमाडौं । सरकारले सीपमूलक तालिमलाई प्रत्यक्ष रोजगारीसँग जोड्ने उद्देश्यले ‘सीप तथा रोजगार मेला’ सञ्चालन गर्ने तयारी थालेको छ ।

युवा, श्रम तथा रोजगार मन्त्रालयले निजी क्षेत्रको सहकार्यमा आन्तरिक रोजगारी सिर्जना तथा सीपयुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यले यस्तो मेला सञ्चालन गर्न लागेको हो ।

मन्त्रालय, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभीटी) तथा निजी क्षेत्रका प्रतिनिधिबीच आन्तरिक रोजगारी प्रवद्र्धन र श्रम बजारलाई व्यवस्थित बनाउने विषयमा सोमबार बृहत् छलफल भएको छ ।

सरकारले ‘रोजगार प्रवद्र्धन दशक २०८३/८४–२०९२९३’ लाई सफल बनाउने उद्देश्यले कोशी प्रदेशको इटहरीबाट ‘सीप तथा रोजगार मेला’ सुरु गर्ने निर्णय गरेको छ । त्यसपछि मेलालाई देशका सातै प्रदेशमा विस्तार गर्ने मन्त्रालयको तयारी छ ।

मन्त्रालयको टोलीले इटहरी पुगेर स्थानीय सरोकारवालासँग मेलाका विषयमा छलफलसमेत गरिसकेको छ । छलफलमा सरोकारवालाले उत्साहजनक सहभागिता जनाउँदै सकारात्मक प्रतिक्रिया दिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मेला औपचारिक कार्यक्रम वा केवल तालिम उपलब्ध गराउने गतिविधिमा सीमित हुने छैन । रोजगारदातालाई आवश्यक पर्ने वास्तविक जनशक्तिको माग पहिचान गरी त्यसअनुसार कार्यस्थलमा आधारित तालिम प्रदान गर्ने र तालिमपछि सोझै रोजगारीमा जोड्ने लक्ष्य राखिएको छ ।

मेलामार्फत कृषि, अटोमोबाइल, कृत्रिम बौद्धिकता (एआई), डिजिटल सीपलगायत विभिन्न क्षेत्रका लागि आवश्यक सीप तथा तालिम उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

छलफलमा निजी क्षेत्रका प्रतिनिधिले ‘सीप तथा रोजगार मेला’ सफल बनाउन सकारात्मक रहेको र आवश्यक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मन्त्रालयले उद्योग तथा व्यवसायीलाई आगामी पाँचदेखि छ महिनामा आफूलाई आवश्यक पर्ने जनशक्तिको संख्या र आवश्यक सीप तथा दक्षताको स्तर स्पष्ट रूपमा उपलब्ध गराउन आग्रह गरेको छ । निजी क्षेत्रबाट प्राप्त मागका आधारमा आवश्यक सीप तथा तालिम प्रदान गर्न मन्त्रालय तयार रहेको बताइएको छ ।

छलफलमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारको मुख्य उद्देश्य आन्तरिक रोजगारीलाई मर्यादित बनाउँदै बढीभन्दा बढी युवालाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउनु रहेको बताए ।

Share News