सुनको मूल्य तोलामा ५ हजार ३ सय रुपैयाँले घट्यो
काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदी दुवैको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य तोलामा पाँच हजार २०० रुपैयाँ र चाँदी २५० रुपैयाँले घटेको हो । बिहीबारका लागि सुनको मूल्य प्रतितोला दुई लाख ७८ हजार ३०० रुपैयाँ र चाँदी चार हजार २३५ रुपैयाँ निर्धारण भएको छ । बुधबार एक तोला सुनको मोल दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । एक तोला चाँदीको मूल्य चार हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो । मंगलबार एक तोला सुन दुई लाख ८७ हजार १०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ५९० रुपैयाँमा खरिद बिक्री भएको थियो । अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔंसत तीन हजार ९९९ अमेरिकी डलरमा खरिद बिक्री भइरहेको छ ।
भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट
भक्तपुर । भक्तपुरमा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ । चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ । बर्डफ्लू रोग कुखुरामा सरेपछि हालसम्म चाँगुनारायण २, ८ र ९ मा पालिएका ३८ हजार ७९५ कुखुराहरू नष्ट गरिएको पशु सेवा कार्यालयका पशु चिकित्सक डा. अमिक श्रेष्ठले जानकारी दिए । बर्डफ्लु रोगका कारण सुर्यविनायक १, ४ र ८ मा नौ हजार ३७८ कुखराहरू नष्ट गरिएको उनले जानकारी दिए । जिल्लामा ४८ हजार १७३ कुखुरा नष्ट गरेको जानकारी दिँदै उनले बर्डफ्लू रोग कुखुरा फार्ममा फैलिएको पुष्टि भएका फार्मका कुखुरा नष्ट गरिएको बताए ।
बुक बिल्डिङमार्फत आईपीओ ल्याउँदै टाईम फर्मास्यूटिकल्स, असार १९ मा रोड शो
काठमाडौं । टाईम फर्मास्यूटिकल्स लिमिटेडले बुक बिल्डिङ विधिमार्फत प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया अघि बढाएको छ । यसका लागि कम्पनीले योग्य संस्थागत लगानीकर्तासँग छलफल (रोड शो) कार्यक्रम आयोजना गर्ने भएको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट योग्य संस्थागत लगानीकर्ताका रूपमा स्वीकृति प्राप्त संस्थाहरूलाई सहभागी गराई आईपीओको आशय मूल्य निर्धारणका लागि छलफल गर्न लागेको जनाएको छ । बुक बिल्डिङ निर्देशिका, २०७७ बमोजिम सञ्चालन हुने उक्त कार्यक्रममा प्रारम्भिक विवरणपत्रमाथि संस्थागत लगानीकर्ताको सुझावसमेत संकलन गरिनेछ। रोड शो असार १९ गते शुक्रबार दिउँसो ३ बजे काठमाडौंस्थित होटल याक एण्ड यतीमा आयोजना हुने कम्पनीले जनाएको छ । कार्यक्रममा सहभागी संस्थागत लगानीकर्ताले खरिद गर्न इच्छुक धितोपत्रको न्यूनतम संख्या, प्रस्तावित आशय मूल्य तथा मूल्याङ्कनको आधार प्रस्तुत गर्नुपर्नेछ । साथै, प्रारम्भिक विवरणपत्रमा आवश्यक सुझाव भए सोसमेत पेश गर्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार रोड शोका लागि आवश्यक कागजातमा प्रारम्भिक विवरणपत्र तथा पछिल्ला तीन आर्थिक वर्षको लेखापरीक्षण सम्पन्न वित्तीय विवरण समावेश छन् । टाईम फर्मास्यूटिकल्स लिमिटेडको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। टाईम फर्मास्यूटिकल्स नेपालका पुराना तथा स्थापित औषधि उद्योगमध्ये एक हो । सन् १९९४ मा स्थापना भएको कम्पनीले सन् १९९७ देखि व्यावसायिक उत्पादन सुरु गरेको हो । कम्पनीले औषधिजन्य अणु (फार्मास्युटिकल मोलिक्युल) को फर्मुलेसन तथा विभिन्न उपचारात्मक औषधिको उत्पादन गर्दै आएको छ । सन् २०२५ को अक्टोबर मध्यसम्मको विवरणअनुसार कम्पनीमा एम÷एस अल्फा क्यापिटल लिमिटेडको करिब १५ प्रतिशत स्वामित्व रहेको छ । त्यसपछि राजु कर्माचार्य र झंकनाथ भट्टाको करिब ९–९ प्रतिशत तथा जी.नारायण बहादुर क्षेत्रीको करिब ७ प्रतिशत सेयर स्वामित्व रहेको छ । बाँकी स्वामित्व अन्य संस्थागत तथा व्यक्तिगत लगानीकर्तामा रहेको छ ।
जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तको मर्जर प्रस्ताव पारित
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको साधारणसभाले तीनवटा लघुवित्तबीचको मर्जर सम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । मोरङको कटहरीस्थित संस्थाको केन्द्रीय कार्यालयमा सम्पन्न साधारणसभाले अध्यक्ष बिक्रमराज सुवेदीद्वारा प्रस्तुत मर्जर सम्बन्धी प्रस्तावलाई पारित गरेको हो । गत चैत २८ गते मोरङमा केन्द्रीय कार्यालय रहेको जीवन विकास लघुवित्त, बाँकेको कोहलपुरमा मुख्य कार्यालय रहेको युनिक नेपाल लघुवित्त र काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएको थियो । यो सम्झौता लघुवित्त क्षेत्रमा भएको हालसम्मकै ठूलो सम्झौता हो । सोही सम्झौतालाई अनुमोदनका लागि जीवन विकासले विशेष साधारणसभा आह्वान गरेको थियो । विशेष साधारणसभाले संस्थाको नाम जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’ र केन्द्रीय कार्यालय मोरङको कटहरी गाउँपालिका–२ मै रहने प्रस्ताव पनि पारित गरेको छ । मर्जरपछि युनिक नेपाल र मानुषी लघुवित्तको हालको केन्द्रीय कार्यालयलाई प्रादेशिक कार्यालयको रूपमा रूपान्तरण गरिनेछ । मर्जरपछि संस्थाको नेतृत्व जीवन विकास लघुवित्तका वर्तमान प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले गर्ने प्रस्ताव पनि साधारणसभाले पारित गरेको छ । साधारणसभाले मर्जरका लागि सञ्चालक समितिका अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन र हालसम्मका सम्पूर्ण कामकारबाहीलाई अनुमोदन गरेको छ । साधारणसभाले भविष्यमा अन्य लघुवित्तहरूसँग पनि मर्जर वा प्राप्तिको प्रक्रिया अघि बढाउन सक्ने गरी समितिलाई अधिकार प्रदान गरेको छ । हाल जीवन विकासको चुक्ता पुँजी १ अर्ब ७५ करोड १२ लाख ३२ हजार, युनिक नेपालको १४ करोड ८५ लाख ७५ हजार र मानुषी लघुवित्तको १० करोड ९३ लाख ७५ हजार रुपैयाँ रहेको छ । मर्जर पश्चात् संस्थाको कुल चुक्ता पुँजी १ अर्ब ९८ करोड ८४ लाख ४ हजार ३१२ रुपैयाँ पुग्नेछ । एकीकृत कारोबारपछि संस्थाको कार्यक्षेत्र कर्णाली प्रदेश बाहेक देशभर विस्तार हुनेछ । ६ वटा प्रदेशमा गरी संस्थाको शाखा संख्या २३३ पुग्ने साधारणसभामा जानकारी दिइयो । जीवन विकासले हाल ३१ जिल्लामा लघुवित्त सेवा प्रवाह गरिरहेको छ । युनिक नेपालले १० जिल्ला र मानुषीले १४ जिल्लामा वित्तीय सेवा प्रवाह गरिरहेको छ । मर्जरको सम्पूर्ण प्रक्रिया पूरा गरी २०८३ साल असार मसान्तभित्रै एकीकृत कारोबार सुरु गर्ने तयारी छ । बुधबारको साधारणसभामा संस्थाका सञ्चालक श्यामचन्द्र खतिवडा, प्रकाश कुमार श्रेष्ठ, इन्द्र नारायण देव वैश्य, गोकर्ण खतिवडा, अशोक सिटौला,डाक्टर वन्दना कुमारी जैन प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डललगायत संस्थाका सेयरसदस्यहरु उपस्थित रहेका थिए ।
भेनेजुएलालाई सहयोग गर्न अमेरिका तयार र इच्छुक छ : ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा पोस्ट गर्दै भेनेजुएलाका जनताको सहयोगका लागि अमेरिकी एजेन्सीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको जानकारी दिएका छन् । राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘भेनेजुएलाका जनतामाथि परेका दुई ठूला भूकम्प निकै भीषण थिए र यसबाट धेरै मानिसको मृत्यु भएको छ । अमेरिका सहयोगका लागि तयार र इच्छुक छ ।’ ‘मैले मेरो सरकारका सबै एजेन्सीहरूलाई द्रुत गतिमा कारबाहीका लागि तयार रहन निर्देशन दिएको छु । हामी हाम्रा नयाँ र असल मित्रहरूको सहयोगका लागि त्यहाँ उपस्थित रहनेछौं,’ उनले थपे । राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट आइरहेका प्रारम्भिक खबरहरू राम्रो नभएको पनि बताए । भेनेजुएलाको राजधानी काराकासमा बुधबार आएको भीषण भूकम्पमा हजारौं मानिस मारिएको आशंका गरिएको छ । भेनेजुएलामा बुधबार साँझ एक मिनेटको अन्तरमा आएका ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्पले देशका विभिन्न भागमा व्यापक क्षति पुर्याएका छन् । राजधानी काराकाससहित धेरै सहरमा भवनहरू हल्लिएका, केही संरचनाहरू भत्किएका तथा हजारौं मानिस घरबाट बाहिर निस्कन बाध्य भएका छन् । अधिकारीहरूले आपत्कालीन अवस्था घोषणा गर्दै उद्धार तथा राहत अभियान तीव्र बनाएका छन् । भूकम्पपछि कार्यवाहक राष्ट्रपति डेल्सि रोड्रिगेजले आपतकाल घोषणा गरेकी छन् । कार्यवाहक राष्ट्रपति रोड्रिगेजले क्षतिका कारण देशको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको बताएकी छन् । यसअघि विमानस्थलबाट धुलो उडिरहेको र मानिसहरू भाग्दै गरेका दृश्यहरू सार्वजनिक भएका थिए । अमेरिकी भूगर्भ सर्वेक्षणले पहिलो भूकम्पको तीव्रता सुरुमा ७.१ मापन गरे पनि पछि ७.२ मा संशोधन गरेको थियो। यसको केन्द्र काराकासबाट करिब १६८ किलोमिटर पश्चिममा क्यारिबियन तटीय क्षेत्रको मोरोन समुदाय नजिक रहेको थियो । २२ किलोमिटर गहिराइमा गएको पहिलो भूकम्पपछि एक मिनेटमै ७.५ म्याग्निच्युडको दोस्रो भूकम्प आएको थियो । दोस्रो भूकम्पको केन्द्र मोरोनबाट १६ किलोमिटर दक्षिणपश्चिममा तथा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।
अवरुद्ध बेनी–जोमसोम सडक १२ घण्टापछि खुल्यो
म्याग्दी । सडकमा थुप्रिएको ढुङ्गा पन्छाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा १२ घण्टापछि यातायात सेवा सञ्चालन भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा गए राति विद्युतीय गाडीमाथि ढुङ्गा खसेर च्यापिँदा मुस्ताङस्थित कोरला नाकाबाट विद्युतीय गाडी चलाएर पोखरातर्फ जाँदै गरेका वीरगञ्ज महानगरपालिकाका २३ वर्षीय सोहिल मियाको मृत्यु हुनुका साथै सडक अवरुद्ध बनेको थियो । बेनी– जोमसोम– कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले सडक विभागका उपकरण परिचालन गरेर सडकमा थुप्रिएको ढुङ्गा पन्छाएर आज बिहानदेखि सवारी आवतजावत सुचारु भएको जानकारी दिनुभयो । रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । विस्फोटक पदार्थको प्रयोग गरेर फराकिलो बनाउने काम भइरहेको सडकमा गुडिरहेको अवस्थामा ढुङ्गा खसेर अठ्याएको गाडीभित्र एक्लै रहेका मिया च्यापिएका थिए । सुरक्षाकर्मीको टोलीले अचेत अवस्थामा उद्धार गरेर प्रदेश अस्पताल बेनीमा ल्याइएका मियालाई चिकित्सकले राति मृत घोषणा गरेका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बताए ।
भेनेजुएलामा शताब्दीकै शक्तिशाली भूकम्प
काठमाडौं । भेनेजुएलामा बुधबार साँझ एक मिनेटको अन्तरमा आएका ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्पले देशका विभिन्न भागमा व्यापक क्षति पु¥याएका छन् । राजधानी काराकाससहित धेरै सहरमा भवनहरू हल्लिएका, केही संरचनाहरू भत्किएका तथा हजारौँ मानिस घरबाट बाहिर निस्कन बाध्य भएका छन् । अधिकारीहरूले आपत्कालीन अवस्था घोषणा गर्दै उद्धार तथा राहत अभियान तीव्र बनाएका छन् । भूकम्पपछि कार्यवाहक राष्ट्रपति डेल्सि रोड्रिगेजले आपतकाल घोषणा गरेकी छन् । कार्यवाहक राष्ट्रपति रोड्रिगेजले क्षतिका कारण देशको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको बताएकी छन् । यसअघि विमानस्थलबाट धुलो उडिरहेको र मानिसहरू भाग्दै गरेका दृश्यहरू सार्वजनिक भएका थिए । राष्ट्रपति निकोलस मदुरोलाई अमेरिकाले पक्राउ गरेपछि डेल्सि रोड्रिगेजले देशको नेतृत्व गरिरहेकी छन् । भूकम्पपछि राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्जले धेरै राज्यहरू प्रभावित भएको जानकारी दिएकी छन् । उनले क्षतिग्रस्त घर तथा भवनहरूको यकिन विवरण, घाइते वा मृत्युको आधिकारिक सङ्ख्या भने सार्वजनिक गरेका छैनन् । सरकारले नागरिकहरूलाई शान्त रहन, एकताबद्ध हुन तथा सरकारी निकायहरूसँग समन्वय गर्न आग्रह गरेको छ । रोड्रिग्जका अनुसार देशको मुख्य हवाई प्रवेशद्वार सिमोन बोलिभर अन्तर्राष्ट्रिय विमानस्थलमा समेत क्षति पुगेको छ । क्षतिको गम्भीरताका कारण विमानस्थल बन्द गरिएको छ भने विद्यालयका कक्षाहरू केही दिनका लागि स्थगित गरिएका छन् । शिक्षा मन्त्रालयले केही विद्यालयलाई अस्थायी आश्रयस्थल र राहत वितरण केन्द्रका रूपमा प्रयोग गरिने जनाएको छ । स्वास्थ्यकर्मीहरूलाई अस्पतालमा उपस्थित भएर घाइतेहरूको उपचारमा सहयोग गर्न सरकारले आह्वान गरेको छ । तटीय फाल्कन राज्यका गभर्नर भिक्टर क्लार्कका अनुसार कम्तीमा ३२ जना अस्पतालमा भर्ना भएका छन् भने भूकम्प गएको चार घण्टापछि पनि १५ जना भग्नावशेषमा फसेका थिए । अमेरिकी भूगर्भ सर्वेक्षणले पहिलो भूकम्पको तीव्रता सुरुमा ७.१ मापन गरे पनि पछि ७.२ मा संशोधन गरेको थियो । यसको केन्द्र काराकासबाट करिब १६८ किलोमिटर पश्चिममा क्यारिबियन तटीय क्षेत्रको मोरोन समुदाय नजिक रहेको थियो । २२ किलोमिटर गहिराइमा गएको पहिलो भूकम्पपछि एक मिनेटमै ७.५ म्याग्निच्युडको दोस्रो भूकम्प आएको थियो । दोस्रो भूकम्पको केन्द्र मोरोनबाट १६ किलोमिटर दक्षिणपश्चिममा तथा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ । एक शताब्दीभन्दा बढी अवधिमा भेनेजुएलामा महसुस गरिएका सबैभन्दा शक्तिशाली भूकम्पमध्ये यी दुईलाई मानिएको छ । स्थानीय समयअनुसार साँझ ६ बजेपछि आएका ती भूकम्पका कारण राजधानी काराकासका मानिसहरू घर, कार्यालय र व्यापारिक भवनबाट बाहिर निस्किएका थिए । कतिपय क्षेत्रमा पर्खालहरू भत्किएका, सडकमा सामान छरिएका र धुलोका मुस्लाहरू उडेको देखिएको थियो । सूर्यास्तपछि पनि हजारौँ मानिसहरू सडक, खुला स्थान तथा पार्कमा बसेका थिए । धेरैले आफ्ना घरपालुवा जनावरलाई साथमा लिएर खुला स्थानमा रात बिताएका थिए । कतिपय सडकहरूमा ढलेका संरचना, बिजुलीका खम्बा र भग्नावशेषले आवागमन अवरुद्ध बनाएको थियो । राजधानीका केही क्षेत्रमा विद्युत् सेवा तथा मोबाइल सञ्जालसमेत अवरुद्ध भएको छ । काराकास निवासी हेक्टर रिक्कीले सुरुमा हल्का कम्पन महसुस भए पनि केही क्षणमै भूकम्प अत्यन्त शक्तिशाली बनेको बताएका छन् । उनका अनुसार सबै मानिस घरबाट बाहिर निस्केर खुला स्थानमा भेला हुन बाध्य भएका थिए । सरकारले राजधानीमा मेट्रो सेवा तथा प्राकृतिक ग्यास आपूर्ति अस्थायी रूपमा बन्द गरेको छ । नागरिकहरूलाई सरकारी मोबाइल एपमार्फत आफ्नो क्षेत्रको क्षति विवरण उपलब्ध गराउन पनि आग्रह गरिएको छ । मोबाइल सञ्जाल अवरुद्ध हुँदा देशबाहिर रहेका लाखौँ भेनेजुएलीहरूमा आफ्ना परिवारसँग सम्पर्क गर्न नसक्दा चिन्ता बढेको छ । विदेशमा निर्वासनमा रहेकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले सामाजिक सञ्जालमार्फत देशवासीलाई धैर्य र एकताको सन्देश दिएका छन् । गृहमन्त्री डिओसडाडो क्याबेलोले भूकम्प धेरै राज्यहरूमा महसुस गरिएको बताउँदै केही स्थानमा भवन र घरहरूमा गम्भीर क्षति पुगेको जानकारी दिएका छन् । उनले आपत्कालीन सवारीसाधनलाई प्राथमिकता दिन तथा बालबालिका र ज्येष्ठ नागरिकको विशेष हेरचाह गर्न आग्रह गर्नुभयो । सम्भावित परकम्पका कारण नागरिकहरूलाई खुला स्थानमा बस्न पनि सुझाव दिइएको छ । काराकास निवासी रोबर्टो गामासले भवन एक छेउबाट अर्को छेउसम्म अत्यन्त तीव्र रूपमा हल्लिएको बताए । उनका अनुसार भूकम्पको शक्तिशाली धक्काले घरभित्रका सामानहरू खसेका थिए र मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निस्कन निकै कठिन भएको थियो । भूकम्पपछि अन्तर्राष्ट्रिय समुदायबाट पनि सहानुभूति र सहयोगका प्रस्ताव आएका छन् । संयुक्त राज्य अमेरिका, चिली, एल साल्भाडोर तथा इक्वेडरले आवश्यक मानवीय सहायता उपलब्ध गराउन तत्पर रहेको जनाएका छन् । अमेरिकी उपविदेशमन्त्री क्रिस्टोफर लान्डाउले भेनेजुएली जनतासँग अमेरिका एकताबद्ध रहेको बताएका छन् । एल साल्भाडोरका राष्ट्रपति नायब बुकेले पनि सामाजिक सञ्जालमार्फत सहानुभूति व्यक्त गर्दै सहयोगको प्रस्ताव गरेका छन् । इक्वेडरका राष्ट्रपति डेनियल नोबोआले तत्काल मानवीय सहायता पठाउन निर्देशन दिएको जानकारी दिएका छन् । भूकम्पको प्रभाव छिमेकी देशहरूमा समेत महसुस गरिएको छ । ब्राजिलको अमेजन क्षेत्रका मनाउस, बेलेम र मकापा सहरमा भवनहरू खाली गराइएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । कोलम्बियाको क्यारिबियन तथा उत्तरपूर्वी क्षेत्रमा पनि कम्पन महसुस गरिएको भए पनि त्यहाँ क्षति वा मानवीय हानि भएको विवरण प्राप्त भएको छैन । प्रशान्त सुनामी चेतावनी केन्द्रले भूकम्पपछि केही समयका लागि सुनामीसम्बन्धी चेतावनी जारी गरे पनि पछि ती चेतावनीहरू फिर्ता लिइएको जनाएको छ । भेनेजुएलामा यस्ता शक्तिशाली भूकम्प कमै आउने भए पनि देश दक्षिण अमेरिकी र क्यारिबियन टेक्टोनिक प्लेटको सीमाक्षेत्र नजिक अवस्थित छ । यद्यपि मेक्सिको र चिलीजस्ता प्रशान्त तटीय राष्ट्रहरूको तुलनामा यहाँ ठूलो भूकम्प कम हुने गर्छ । वैज्ञानिकहरूका अनुसार विश्वका करिब ९० प्रतिशत भूकम्प हुने ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने देशहरूमा यस्ता घटनाहरू बढी दोहोरिने गरेका छन् । एजेन्सीको सहयोगमा ।
विश्व बजारमा तेलको मूल्य ११७ बाट घटेर ६९ डलरमा झर्याे, नेपालले घटाएन
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उल्लेखनीय रूपमा घटिसक्दा पनि नेपाली उपभोक्ताले त्यसको लाभ पाउन नसकेको भन्दै सरकार र नेपाल आयल निगमको आलोचना गरेका छन् । पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिव्यारेल ११७.६३ अमेरिकी डलरको उच्च बिन्दुबाट घटेर ६९.२१ डलरमा झरेको उल्लेख गर्दै नेपालमा भने अझै पुरानै महँगो दर कायम रहनु अस्वाभाविक भएको बताएका छन् । उनले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा त्यसको प्रत्यक्ष लाभ आम उपभोक्ताले पाउनुपर्ने भए पनि नेपालमा त्यस्तो अवस्था नदेखिएको टिप्पणी गरे । 'यति ठूलो परिमाणमा मूल्य घटिसक्दा पनि उपभोक्ताले राहत नपाउनु दुःखद् हो,' उनले भने । आयल निगमले कच्चा तेल नभई प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्ने भएकाले मूल्य समायोजनमा समय लाग्ने तर्क गर्दै आएको उल्लेख गर्दै पौडेलले त्यसलाई पर्याप्त आधार मान्न नसकिने बताए । उनका अनुसार कच्चा र प्रशोधित तेलको मूल्यबीच केही समयको अन्तर र प्रशोधन खर्चको प्रभाव रहने भए पनि कच्चा तेलको मूल्यमा आएको ठूलो गिरावटले अन्ततः प्रशोधित तेलको लागतमा समेत प्रभाव पार्ने निश्चित छ । पौडेलले वास्तविक लागत र मूल्य घट्ने अवस्थाबारे स्पष्ट जानकारी नदिई पुरानै प्राविधिक कारण देखाएर मूल्य नघटाउनु पारदर्शिताविपरीत भएको आरोप लगाए । उनले यसले सरकार र निगमभित्र सुशासन तथा व्यवस्थापकीय क्षमतामाथि समेत प्रश्न उठाएको बताए । नेपालमा लागू रहेको स्वचालित मूल्य प्रणालीअनुसार प्रत्येक १५ दिनमा प्राप्त हुने नयाँ मूल्यसूचीका आधारमा इन्धनको मूल्य समायोजन गरिनुपर्ने उल्लेख गर्दै पौडेलले मूल्य बढ्दा तत्काल लागू हुने तर घट्दा ढिलाइ हुने प्रवृत्ति स्वीकार्य नभएको बताए । 'घाटा हुँदा उपभोक्ताले महँगो मूल्य तिरेर निगमलाई साथ दिने, तर अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा राहत नपाउने अवस्था न्यायोचित हुन सक्दैन,' उनले भने । पौडेलले पेट्रोलियम पदार्थको मूल्य निर्धारण प्रक्रियालाई थप पारदर्शी, जवाफदेही र उपभोक्तामुखी बनाउन सरकारसँग माग गरेका छन् ।