विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण जारी
काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि अल्प सूचीमा समावेश उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्य योजना प्रस्तुतीकरण सुरु भएको छ । विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिद्वारा स्वीकृत पूर्वनिर्धारित कार्यपालिका अनुरूप तीन वटै विश्वविद्यालयका उम्मेदवारहरूको अन्तर्वार्ता तथा मूल्याङ्कन प्रक्रिया समानान्तर रूपमा सञ्चालन गरिएको हो । उच्च शिक्षाको गुणस्तरीय रूपान्तरण, विश्वविद्यालयहरूको संस्थागत सुदृढीकरण तथा सक्षम, दूरदर्शी, नवप्रवर्तनमुखी र परिणाममुखी शैक्षिक नेतृत्वको चयन गर्ने उद्देश्यले सञ्चालित यस प्रक्रियाले विश्वविद्यालय प्रशासनमा योग्यता, उत्तरदायित्व र उत्कृष्टताको संस्कृतिलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ । यस प्रक्रियाको विस्तृत कार्यपालिका मन्त्रालयका आधिकारिक माध्यममार्फत सार्वजनिक गरिसकिएको छ । छनोट प्रक्रियाको पारदर्शिता, निष्पक्षता, वस्तुनिष्ठता तथा संस्थागत विश्वसनीयतालाई उच्च प्राथमिकतामा राख्दै प्रत्येक अन्तर्वार्ता प्यानलमा सम्बन्धित विषय क्षेत्रका प्रबुद्ध विज्ञहरू तथा उपकुलपति छनोट तथा सिफारिस समितिका सदस्यहरूको सहभागिता सुनिश्चित गरिएको छ । साथै, मूल्याङ्कन प्रक्रियालाई थप प्रभावकारी, व्यवस्थित र गुणस्तरीय बनाउन प्रत्येक विश्वविद्यालयका लागि पृथक विज्ञहरूको प्यानलको व्यवस्था गरिएको छ । पूर्वनिर्धारित कार्य तालिकाअनुसार भोलि सोमबार बाँकी दुई पोखरा विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको प्रस्तुतीकरण र अन्तर्वार्ता सञ्चालन हुने जनाइएको छ । यसअघि शनिवार त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि अल्प सूचीमा समावेश उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्य योजना प्रस्तुतीकरण सम्पन्न भएको थियो । यससँगै आठ वटै विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रियाले निर्धारित समय सीमाभित्र पूर्णता पाउनेछ, जसले नेपालको उच्च शिक्षा क्षेत्रमा सक्षम नेतृत्व चयन, संस्थागत सुशासन तथा शैक्षिक उत्कृष्टतालाई नयाँ उचाइतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ ।
आइतबार सुनको मूल्य ४ हजार ७ सय रुपैयाँले बढ्यो
काठमाडौं । नेपाली बजारमा आज (आइतबार) पनि सुनको मूल्य बढेको छ । लगातार दुईदिन बढ्ने क्रममा आइतबार सुन ४ हजार ७ सय रुपैयाँले महङ्गिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो वृद्धिसँगै आज सुनको मूल्य प्रतितोला २ लाख ८३ जार ८ सय रुपैयाँ निर्धारण भएको छ । गत शुक्रबारपनि सुनको मूल्य ८ सय रुपैयाँले बढेको थियो । यस्तै आज १० ग्राम सुनको भाउ पनि २ लाख ४३ हजार ३१५ रुपैयाँ कायम भएको छ । सुनसँगै आज चाँदीको भाउ पनि उकालो लागेको छ । चाँदी १४५ रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ३२५ रुपैयाँ कायम भएको छ ।
दूधमा आत्मनिर्भर बन्दै बागलुङ
बलेवा । १० वर्षपहिले मलेसियाको रोजगारीबाट फर्किनुभएका बागलुङ नगरपालिका–१२ लिलाधर शर्मा अहिले गाउँमा गाई फार्म सञ्चालन गर्दै आएका छन् । स्वदेमै मेहनत गर्दा मनग्य आम्दानी गर्न सकिन्छ लागेर सुरु गरेको व्यवसायले उनलाई व्यावसायिक दूध उत्पादक किसान बनाएको छ । शर्माको फार्ममा अहिले २५ वटा माउ गाई छन् भने केही साना बाच्छा र भैँसी पनि छन् । उनले गाउँमा दूध उत्पादन गरेर बागलुङ बजारमा बिक्री केन्द्र पनि सञ्चालन गरेका छन् । चार वर्ष साउदीअरेबिया बसेर फर्किएका जैमिनी नगरपालिका नगरपालिका–१ कुश्मीशेराका विकास पौडेलको गोठ पनि दुधालु गाईले भरिभराउ छ । व्यावसायिक दूध उत्पादक किसान बनेका उनको दम्पतीलाई अहिले दूधको उत्पादन र बिक्रीमा भ्याइनभ्याइ छ । पौडेल र शर्मा मात्रै होइन पछिल्लो समय विदेशका दुःख सम्झेर गाउँ फर्किने र विदेश जान नचाहने युवाहरू व्यावसायिक कृषि उत्पादनमा लाग्न थालेका छन् । विदेश जानुभन्दा स्वदेशमा बसेर आम्दानी गर्न सकिन्छ भनेर बागलुङका किसान व्यवसायिक पशुपालनमा लाग्न थालेका हुन् । गाईभैँँसी पाल्ने किसानलाई स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट अनुदान, उपचार र प्राविधिक सहयोग उपलब्ध हुन थालेपछि किसान थप हौसिएका छन् । बागलुङमा वार्षिक २३ हजार १५७ मेट्रिक टन दूध उत्पादन हुने गरेको जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले जनाएको छ । व्यावसायिक किसानको सङ्ख्या बढेसँगै बागलुङ दूध उत्पादनमा आत्मनिर्भर बनेको केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाले बताएका छन् । व्यावसायिक किसानलाई स्थानीय सरकारले सहयोग गर्ने र सङ्घीय तथा प्रदेश सरकारका किसान लक्षित कार्यक्रम किसानसँगै पुग्ने भएकाले दूधको उत्पादन पनि बढेको प्रमुख सापकोटाले बताए । आवश्यकताभन्दा बढी उत्पादन भइरहेको दूध छिमेकी जिल्लामा निर्यात हुने गरेको केन्द्रले जनाएको छ । जिल्लाको दक्षिण क्षेत्रबाट छिमेकी जिल्ला पर्वत र पश्चिम क्षेत्रबाट छिमेकी गुल्मीमा दूध निर्यात हुने गरेको तथ्याङ्क रहेको प्रमुख डा सापकोटाले बताउनुभयो । केही वर्ष पहिलासम्म पोखराबाट दूध ल्याएर बिक्री गर्दैै आएका व्यापारी अहिले भने किसानको घरबाट सिधै खरिद गरी डेरी पसलमा ल्याउने गरेका छन् । जिल्लामा १५ वटा सहकारीबाट दूध बिक्री हुँदै आएको छ । यहाँका किसानले व्यक्तिगत, समूहगत र सहकारीमार्फत गाई, भैँसीपालन गरी दूध उत्पादन गर्दै आएका जिल्ला दुग्ध सहकारी सङ्घका अध्यक्ष दीपक गौतमले बताए । बजारमा स्थानीय उत्पादनले पर्याप्त हुने गरेको उनको भनाइ छ । जिल्लाभर ८६ हजार ९२० भैँसी र २१ हजार ६६० गाईपालन भइरहेको केन्द्रका प्रमुख डा सापकोटाले जानकारी दिए । व्यावसायिक र घरायसी प्रयोजनलाई पालिएका पशुचौपायको समेत तथ्याङ्क निकालेर केन्द्रले दूधको उत्पादनको मूल्याङ्कन गर्दै आएको उनले बताए । केन्द्रका प्रमुख डा सापकोटाका अनुसार यहाँ मुर्रा, स्थानीय क्रस, जर्सी, होलस्टेन जातका गाईपालन हुँदै आएको छ । ग्रामीण भेगसम्म सडकको सहज पहुँच, यातायातको सुविधा, उचित मूल्य, स्थानीय तहको उत्पादनमा आधारित अनुदान, घाँस तथा परालको उपलब्धतालगायत कारणले किसानलाई पशुपालनमा व्यावसायिक बनाउन सहयोग पुगेको किसान विकास पौडेलले बताए । उनका अनुसार हाल बजारमा दूधको मूल्य थोकमा रु ७० देखि रु ९० तथा खुद्रा रु एक सयदेखि रु १२० सम्ममा बिक्री हुँदै आएको छ ।
पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध
काठमाडौं । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क-राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका-९ स्थित माईखोलामा सडकमाथिबाट लेदोसहित पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । गएराति वर्षासँगै आएको लेदोसहितको पहिरो माथिबाट झरेपछि सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए । सधैं जोखिमयुक्त रहेको सो सडकमा लेदोसहित पहिरो झर्ने र सवारी आवागमन बन्द हुने समस्या यसअघि पनि रहँदै आएको उनले बताए । सडक अवरुद्ध भएपछि साना सवारीसाधनका लागि एकतर्फी रूपमा आवतजावत गर्नसक्ने गरी पहिरो पन्छाउने प्रसाय भइरहेको प्रजिअ ढकालले बताए । लगातार लेदो सडकमा झरिरहेकाले ठूला सवारीसाधनका सञ्चालनमा ल्याउन भने केही समय लाग्ने उनले उल्लेख गरे । ‘गएरातिदेखि लेदोसहितको पहिरो झरेकाले सडक पूर्ण रूपमा अवरुद्ध छ । साना सवारीसाधन एकतर्फी रूपमा सञ्चालन गराउन आज बिहानैदेखि पहिरो पन्छाउने प्रयास गरिरहेका छौं, केही समय लाग्नसक्छ’, प्रजिअ ढकालले भने । यस्तै मेची राममार्गको रोङ गाउँपालिका-४ स्थित इलाम-झापा सीमाक्षेत्रमा ढिस्को र दुईवटा रूख ढलेर सडक खवरुद्ध भएको प्रहरीले जनाएको छ । उक्त खण्डमा पनि सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक कुलदीप चन्दले बताए । सो सडकखण्ड अवरुद्ध भएपछि इलामसहित, पाँचथर, ताप्लेजुङ र झापाका नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । सडक अवरुद्ध भएपछि इलामसहित पाँचथर र ताप्लेजुङबाट झापा जाने र झापाबाट इलाम, पाँचथर र ताप्लेजुङ जाने सवारीसाधन बीच बाटोमा रोकिँदा यात्रु अलपत्र परेका छन् ।
पाँच करोड ५१ लाखको लागतमा गाउँपालिका भवन निर्माण हुँदै
कालीकोट। कालीकोटको महावै गाउँपालिकाले प्रशासकीय भवन निर्माण शिलान्यास गरेको छ । शनिबार महावै–७ कोटखौलमा प्रमुख प्रकासकीय भवन निर्माणको शिलान्यास गरिएको हो । लामो समयदेखि अस्थायी भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले सुविधासम्पन्न प्रशासकीय संरचना निर्माणको प्रक्रियालाई तीव्रता दिएको छ । नयाँ भवन ३२ कोठासहित साढे दुई तलाको हुने गाउँपालिकाका इन्जिनियर प्रकाश शाहीले जानकारी दिए । “भवन निर्माणका लागि पाँच करोड ५१ लाख ८४ हजार लागत लाग्नेगरी निर्माण कम्पनीसँग गत वैशाख १५ गते ठेक्का सम्झौता गरी कार्यक्षेत्रमा काम सुरु भइसकेको छ । सम्झौताअनुसार विसं २०८४ असार १५ गतेभित्र भवन निर्माणसम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गर्नुपर्नेछ,” उनले भने । इन्जिनियर शाहीका अनुसार सङ्घीय र स्थानीय सरकारको संयुक्त साझेदारीमा भवन निर्माण हुन लागेको हो । सङ्घीय सरकारअन्तर्गतको स्थानीय पूर्वाधार विकास विभागको ६० प्रतिशत र महावै गाउँपालिकाको ४० प्रतिशत लगानी रहने उनले जानकारी दिए । प्रशासकीय भवन निर्माण भएसँगै गाउँपालिकाबाट प्रवाह हुने सेवा थप व्यवस्थित, प्रभावकारी तथा सेवाग्राहीमैत्री बन्ने गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले विश्वास व्यक्त गरे । “भवन तोकिएको समयभित्रै उच्च गुणस्तरको निर्माण हुनेछ”, उनले भने, “आफ्नै प्रशासकीय भवनको निर्माणले गाउँपालिकाको संस्थागत विकास र सुशासन प्रवद्र्धनमा महत्वपूर्ण उपलब्धि हुनेछ ।” भवन सम्पन्न भएपछि यहाँका नागरिकले एकै स्थानबाट झन्झटरहित स्थानीय सरकारको सेवा पाउने गाउँपालिकाका उपाध्यक्ष दानसिंह सेजुवालले बताए । उनले विगतमा आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएकामा अब सहज हुने विश्वास व्यक्त गरे ।
सिमा विवादले बन्द भएको स्लेटखानी १८ वर्षपछि सञ्चालनमा आउँदै
काठमाडौं । पर्वतको मोदी गाउँपालिकाले घर छाउन, आँगनमा बिछ्याउन वा आधुनिक घरहरूमा स्लेट (ढुङ्गा) तथा मार्बलका रूपमा प्रयोग गरिने ढुङ्गाखानी सञ्चालन गर्ने भएको छ । मोदी गाउँपालिकाअन्तर्गत वडा नं. १ भुकताङ्ले, वडा नं. ३ देउराली र वडा नं. ४ क्याङको सिमानामा अवस्थित माटेको लेकमा रहेको धवलागिरि क्षेत्रकै ठूलो ढुङ्गाखानी विगत १८ वर्षदेखि बन्द अवस्थामा रहेको हो। तत्कालीन क्याङ, देउराली र भुकताङ्ले गाविसबीचको सिमाना विवादका कारण बन्द भएको स्लेटखानी चालु आर्थिक वर्षमा सञ्चालनमा ल्याइने भएको हो । मोदी गाउँपालिकाको गत मङ्गलबार सम्पन्न १९औँ गाउँ अधिवेशनबाट स्लेटखानी सञ्चालन गर्ने योजना पारित भएको हो । गाउँपालिका अध्यक्ष हीरादेवी शर्माले प्रस्तुत गरेको आगामी आवको नीति तथा कार्यक्रममा माटे लेकमा अवस्थित स्लेट अर्थात् ढुङ्गाखानी सञ्चालनका लागि सम्भाव्यता अध्ययन तथा सङ्घीय र प्रादेशिक निकायसँग समन्वय गरी प्रक्रिया अघि बढाउने उल्लेख छ । गाउँपालिकाका जनप्रतिनिधि निर्वाचित भएको नौ वर्षपछि पहिलोपटक स्लेटखानी सञ्चालनको कार्यक्रम अघि सारिएको हो । गाउँपालिकाको राजस्व वृद्धि गरी रोजगारी सिर्जना गर्न खानी सञ्चालनको कार्यक्रम अघि सारिएको अध्यक्ष शर्माले बताए । उनले सम्भाव्यता अध्ययनका साथै आवश्यक पहुँचमार्ग निर्माणलगायत योजनाका लागि बजेटसमेत विनियोजन गरिएको बताए । चालु खर्चबाट व्यवस्थापन गर्ने गरी बजेट व्यवस्था गरिएको उनले जानकारी दिए । यहाँबाट वार्षिक करोडौँ रुपैयाँ आम्दानी हुने अनुमान छ । मोदी गाउँपालिकाका तीनवटा वडा क्याङ, देउराली र भुकताङ्लेमा पर्ने माटेको लेकमा रहेको ढुङ्गाखानी बन्द हुँदा यस क्षेत्रका बासिन्दाले ठूलो नोक्सानी व्यहोर्नुका साथै स्थानीय सरकारको पनि लाखौँ रुपैयाँ राजस्व गुमेको छ । देउराली, क्याङ र भुकताङ्ले गाविसका बासिन्दाले खानी आआफ्नो गाविसभित्र पर्ने भन्दै दाबी गरेपछि २०६४ सालदेखि खानी बन्द भएको हो । सबैले खानीका बारेमा आआफ्नै हिसाबले दाबी गर्दै आपसमा झगडा गर्न थालेपछि बन्द गरिएको तत्कालीन क्याङ गाविसका पूर्वअध्यक्ष नरसिंह पुनले बताए । विवादले चर्को रूप लिएपछि खानी बन्द गर्नुको विकल्प नभएको उनको भनाइ छ । ठूलाछाप सामुदायिक वनमा पर्ने खानी समुदायमा हस्तान्तरण गरे पनि तत्कालीन जिल्ला वन कार्यालयले विवाद अन्त्य गर्न उक्त वनलाई राष्ट्रियकरण गरेको थियो । खानीमा प्रशस्त ढुङ्गा भए पनि सञ्चालन नहुँदा प्रयोगविहीन बनेको छ। खानी सञ्चालनका समयमा दैनिक सयौँ मजदुरले प्रत्यक्ष रूपमा रोजगारी पाएका थिए । यहाँ निकालिएका ढुङ्गा साविक धवलागिरि अञ्चलका पर्वत, बागलुङ र म्याग्दीका विभिन्न स्थानमा जाने गर्दथे । खानीका ढुङ्गा सङ्कलन गरेर बिक्री गरी परिवार पाल्दै आएका स्थानीय भानेबहादुर विकका अनुसार खानी बन्द भएपछि आश्रित परिवारको रोजीरोटी नै बन्द भएको छ भने स्थानीय युवाहरू पलायन हुन बाध्य भएका छन् । खानी सञ्चालनबारे पालिकाको नीति तथा कार्यक्रम र बजेटमा समावेश भएपछि स्थानीयवासी हर्षित बनेका छन्। विकले अब खानी सञ्चालन हुने आशा जागेको बताए । विकले खानीमा १० वर्षसम्म काम गरे पनि बेरोजगार हुनुपरेको गुनासो गर्नुभयो। यसैको आम्दानीले विकले चार जनाको परिवार पाल्दै आएको थियो । यहाँका ढुङ्गा घर, गोठ, मचान छाउन प्रयोग हुँदै आएका छन् । जस्तापाताभन्दा ठूलो आकारमा आउने, बलियो र टिकाउ भएकाले मानिसहरू अहिले पनि ढुङ्गाले छाउन मन पराउने गर्छन् । एकपटक छाएको घर दुई–तीन पुस्तासम्म टिक्ने गाउँलेहरूको भनाइ छ। खानी उत्खनन गरेर ढुङ्गा बिक्री गर्ने हो भने पनि राज्यलाई वार्षिक करोडौँ रुपैयाँ आम्दानी हुने स्थानीय राम पुनले बताए । कतिपयले सिङ्गो ढुङ्गालाई पर्खालका रूपमा राख्न लैजाने गरेका थिए । सार्वजनिक जग्गाभित्र एक किलोमिटर क्षेत्रफलमा ढुङ्गाका पाँचवटा खानी रहेका छन् । केहीले ढुङ्गा कुद्ने र केहीले खानीबाट ढुङ्गा निकाल्ने गर्दै आए पनि अहिले उनीहरू पलायन भइसकेका छन् । यहाँको खानीमा निकालिएका ढुङ्गा छिमेकी जिल्ला बागलुङ, पोखरा, म्याग्दी र काठमाडौं लगिएको स्थानीय पुनको भनाइ छ । उत्तरी पर्वतका अधिकांश वडाका प्रायः सबै घर ढुङ्गाले छाइएका छन् । ‘पहिला खानी सञ्चालन हुँदा गाउँलेले राम्रै रोजगारी पाएका थिए,” स्थानीय हर्कबहादुर पुनले भने, ‘अहिले रोजगारी गुमेपछि कोही विदेशतिर गए त कोही गाउँमै मजदुरी गर्दै आएका छन् ।’ खानी तीन हजार १०० मिटरको उचाइमा रहे पनि आसपासमा बस्ती नभएकाले ढुङ्गा निकाल्दा कुनै असर पर्दैन । प्रशस्त ढुङ्गा भए पनि त्यसै खेर जाँदा गाउँले निराश छन्। ढुङ्गाले छाएका घर आकर्षक देखिने र एकपटक छाएपछि दुई–तीन पुस्तासम्म फेरि छाउनु नपर्ने पूर्वगाविस अध्यक्ष पुनले बताए । ‘खानी सञ्चालन गर्न सके गाउँलेको जीवनस्तरमा परिवर्तन आउने थियो । त्यही भएर सरकारी नियमानुसार हामी कार्य गर्न तयार छौँ,’ उनले भने । पछिल्लो समय खानीभन्दा केही तलसम्म सडक सुविधासमेत पुगेकाले पोखरा, काठमाडौंलगायतका सहरमा ढुङ्गा लैजान सहज हुने पुनको भनाइ छ । असिना पर्दा र अरू कारणले मात्रै ढुङ्गा फुट्ने र एकपटक लगानी गरेपछि वर्षौँसम्म कुनै झन्झट नहुने भएकाले यो लोकप्रिय बनेको थियो । माटेको ढुङ्गा पाइएमा मानिसहरूले महँगो शुल्क तिरेरै भए पनि छाउने गरेका स्थानीय नरबहादुर पुनले बताए । ‘अहिले बजारबाट जस्तापाता ल्याएर घर छाउनुपर्ने बाध्यतामा छौँ । जिल्ला बाहिरसमेत मार्बलका रूपमा निकासी गर्न सकिने सम्भावना भएकाले र स्थानीयवासीको रोजगारीको सुनिश्चिताका लागि पनि खानी सञ्चालनमा ल्याउनुपर्ने छ,’ स्थानीय गङ्गाबहादुर विकले भने ।
आज कोशीमा भारी वर्षा हुने, तराईमा हुरीको चेतावनी
काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही क्षेत्र तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको प्रभाव रहेको छ । अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशभर आगामी तीनदेखि चार दिनभित्र मनसुन विस्तार हुने सम्भावना छ । अहिले सुदूरपश्चिम प्रदेशको तराई क्षेत्र मुख्यतया सफा रहेको छ भने देशका बाँकी भेगमा आंशिक बदली रहेको छ । कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ भने तराईका केही स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । कोशी प्रदेशका पहाडी र तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा हुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ । आज राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेशका धेरै स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका केही स्थान र हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थान तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । त्यसैगरी, मधेश प्रदेश तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी र तराई भेगका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्र तथा मधेश प्रदेशका केही स्थानमा हुरी चल्ने सम्भावना छ । महाशाखाले हुरी चल्ने तथा भारी वर्षा हुने पूर्वानुमान गरिएका स्थानका सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रत्येक घरलाई ५० युनिट बिजुली निःशुल्क
काठमाडौं । सङ्घीय सरकारले आगामी आर्थिक वर्षदेखि १०० युनिटमाथि ५ प्रतिशत विद्युत्मा कर लगाउने तयारी गरेका बेला मनाङ जिल्लासँग सिमाना जोडिएको लमजुङको मर्स्याङ्दी गाउँपालिकाले भने स्थानीयलाई मासिक निःशुल्क बिजुली उपलब्ध गराउने भएको छ । मर्स्याङ्दी गाउँपालिकाले पालिकाका स्थानीयलाई आगामी आवदेखि प्रत्येक घरलाई मासिक ५० युनिटसम्म विद्युत् निःशुल्क दिने भएको हो। मर्स्याङ्दीले आगामी आवको नीति तथा कार्यक्रममा प्रत्येक घरलाई ५० युनिट विद्युत् निःशुल्क उपलब्ध गराउने प्रस्ताव २१औँ गाउँसभाबाट पारित गरी लागू गर्न लागेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । उनका अनुसार गाउँपालिकाले आगामी आवको नीति तथा कार्यक्रममा ‘जलविद्युतको आम्दानी, उज्यालो मर्स्याङ्दीमा लगानी’ कार्यक्रमअन्तर्गत उपभोक्ताले मासिक ५० युनिटसम्मको विद्युत्को महसुल निःशुल्क पाउने व्यवस्था गरेको हो । यसका लागि गाउँसभाबाट ५५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको अध्यक्ष गुरुङले बताए । गाउँपालिकाका अनुसार पालिकाका नौवटै वडामा गरी चार हजार ४०९ घरपरिवार रहेका छन् । गाउँपालिकाले आगामी आवमा विद्युत् रोयल्टीबाट करिब चार करोड रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ । पालिकाभित्रका हाइड्रोपावरबाट प्राप्त रोयल्टीबाट उक्त युनिटसम्मको विद्युत्को महसुल गाउँपालिकाले तिर्ने व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलले जानकारी दिए । यस गाउँपालिकाभित्र ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’, ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनासहित आठवटा विभिन्न आयोजनाबाट करिब १०० मेगावाट विद्युत् उत्पादन भइरहेको छ । बेँसीसहर नगरपालिकासँग जोडिनेगरी ५० मेगावाटको मर्स्याङ्दी बेँसी जलविद्युत्लगायतका आयोजना निर्माणाधीन अवस्थामा छन् । उत्पादन बढेसँगै गाउँपालिकाको रोयल्टी आम्दानी पनि बढ्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष गुरुङका स्वकीय सचिव तथा स्थानीय प्रदीप गुरुङले गाउँपालिकाले लागू गर्न लागेको ५० युनिटसम्मको निःशुल्क बिजुली सुविधाबाट गाउँपालिकाका ९० प्रतिशत नागरिक लाभान्वित हुने बताए । उनका अनुसार गाउँपालिकाका अधिकांश नागरिकले मासिक ५० युनिटभन्दा कम बिजुली प्रयोग गर्ने गरेका छन् । पालिकामा अधिकांश ग्रामीण क्षेत्र रहेकाले उद्योगधन्दा न्यून छन् र बिजुलीको प्रयोग पनि कम भएकाले उक्त प्रतिशतका स्थानीयले सम्भवतः एक रुपैयाँ पनि विद्युत् महसुल तिर्नु नपर्ने अवस्था रहनेछ । हालै सम्पन्न मर्स्याङ्दी गाउँपालिकाको २१औँ गाउँसभा बैठकले आव २०८३/८४ का लागि ६८ करोड ७३ लाख १८ हजार ५०० रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाका अनुसार यहाँ १८ हजार ७५९ जनसङ्ख्या रहेको छ । ५० युनिटसम्म बिजुली निःशुल्क गर्ने निर्णयपछि स्थानीय हर्षित भएका छन् ।