यातायात व्यवसायी राष्ट्रिय महासंघ अन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ जना सम्पर्कबिहीन

काठमाडौं । गत भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अन्तर्गतका १९१ सवारीसाधनमा ठूलो क्षति पुगेको छ ।

महासंघकाका अनुसार बाढीले देशभरका नौ विभिन्न यातायात कम्पनीका सवारीसाधनमा क्षति पुर्याउँदा ती सवारीसाधनका चालक, सहचालक र यात्रु गरी कुल ३४४ जना बेपत्ता भएका छन् । 

बाढीका कारण विभिन्न यातायात कम्पनीहरूले ठूलो भौतिक तथा मानवीय क्षति व्यहोर्नुपरेको छ। महासंघका अनुसार नेपाल अरनिको यातायात सेवा प्रालिका १९ बस, एक मिनिट्रक, दुई जीप र चार कन्टेनरमा क्षति पुग्दा ५० जना मजदुर बेपत्ता भएका छन् । 

यस्तै, नमस्ते पासाङ ल्हामु यातायात प्रालि बालाजुका १९ बस क्षति हुँदा २१ जना बेपत्ता भएका छन् भने भक्तपुर न्यू भिजन यातायात प्रालिका दुई कन्टेनरमा क्षति पुग्दा दुई जना चालक बेपत्ता भएका छन् । 

त्यसैगरी, हिमालयन यातायात कम्पनीका चार ट्रक, १६ कन्टेनर र एक सुमोमा क्षति पुग्दा १० जना चालक बेपत्ता भएका छन् ।

नेपाल टिपर तथा ट्रक व्यवसायी समितिअन्तर्गतका सात टिपर, २२ कन्टेनर, २३ ट्रक र एक ट्रेलरमा क्षति पुग्दा ४५ जना चालक बेपत्ता भएको महासंघले जनाएको छ । 

सबैभन्दा बढी क्षति व्यहोरेको नारायणी यातायात व्यवसायी कम्पनी प्रालिको ५९ ट्रक र कन्टेनरमा क्षति पुग्दा ७० जना बेपत्ता भएका छन् भने नेपाल माइक्रो कम्पनीका नौ वटा माइक्रोबसमा क्षति पुगेको छ ।

यसैगरी, यात्रुवाहक सवारीतर्फ पृथ्वी राजमार्ग सञ्चालक कम्पनीको एक बसमा क्षति पुग्दा एक चालक र २२ जना यात्री गरी २३ जना बेपत्ता भएका छन् ।

यस्तै, धादिङ मण्डली यातायात प्रालिको एक बस बाढीमा पर्दा एक चालक र २५ जना तीर्थयात्री बेपत्ता भएको महासंघले जनाएको छ । 

बाढीले क्षति पुर्याएका सवारीसाधनको उद्धार र बेपत्ता व्यक्तिहरूको खोजतलास जारी छ ।

Share News