भोटेकोसी विपद्को कारण खोज्दै विश्वभरका वैज्ञानिक, जलवायु परिवर्तन मुख्य कारण

काठमाडौं ।  गत भदौ १० गते भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीको विषयमा अन्तर्राष्ट्रिय विज्ञहरूले अनुसन्धान गरेका छन् । २० भन्दा बढी अन्तर्राष्ट्रिय विज्ञहरूले गरेको प्रारम्भिक अनुसन्धानअनुसार मानव सिर्जित जलवायु परिवर्तन नै यसको प्रमुख कारण हो । यद्यपि, उनीहरू अझै अनुसन्धानमै छन् ।

यो क्षेत्र अझै पनि साँघुरो पहाडी उपत्यका हुँदै बग्ने विनाशकारी बरफको चट्टान हिमपहिरोको प्रभावसँग जुधिरहेको छ, जसले सहर, सडक र पुलहरू ध्वस्त पारेको थियो । कम्तीमा १ हजार ३०० जनाको मृत्यु भएको छ भने ५ हजारभन्दा बढी बेपत्ता भएका छन् । 

अहिले प्रभावित क्षेत्रमा उद्धार,  पुनःस्थापना तथा पुन:निर्माणतर्फ अघि बढिरहेका बेला नेपालले ठूलो पुन:निर्माणको चुनौती सामना गर्नुपरेको छ । यसैबीच विश्वभरका वैज्ञानिकहरूले उक्त विपद् कसरी भयो भन्ने बुझ्न अध्ययन गरिरहेका छन् । 

विज्ञहरूका अनुसार अगस्ट २६ मा लाङटाङ लिरुङ हिमालको करिब २ हजार फिट चौडाइको विशाल चट्टान र हिमनदीको भाग छुट्टिएर करिब ७ हजार फिट तल नदीमा खसेको थियो । त्यसबाट निस्किएको ऊर्जा ५.२ म्याग्निच्युडको भूकम्पबाट निस्कने ऊर्जासँग बराबर थियो । 

त्यो यति ठूलो शक्तिका साथ खसेको थियो कि हिउँ लगभग तत्कालै पग्लिएको थियो । प्रवाहले ओसिलो माटो र भग्नावशेष पनि बोकेको थियो र सम्भवतः उपत्यकाको भुइँमा गाडिएको हिउँसँग ठोक्किएको थियो ।  जसले गर्दा बाढीको छाल अझ शक्तिशाली भयो र २० माइलभन्दा बढी यात्रा गर्यो ।

नेदरल्यान्ड्सको उट्रेट विश्वविद्यालयका पर्वतीय जलविद् वाल्टर इम्मरजेलले यसलाई ‘हिमालयमा भएको अभूतपूर्व विपद्’ भनेका छन् । 

आखिर हिमपहिरो किन गयो ? 

विश्वभरका चरम मौसमी घटनामा जलवायु परिवर्तनको भूमिकाको अध्ययन गर्ने नेटवर्क ‘वर्ल्ड वेदर एट्रिब्युसन’ (मा आबद्ध हिमनदी तथा जलवायु वैज्ञानिकहरूको टोलीले बुधबार यसको विस्तृत विश्लेषण सार्वजनिक गर्दै उक्त प्रश्नको जवाफ दिने प्रयास गरेको छ ।

वैज्ञानिकहरूका अनुसार उक्त विपद् एउटै चरम मौसमी घटनाका कारण भएको होइन । बरु धेरैवटा प्रक्रियाहरू एकैपटक सक्रिय भएका थिए र जीवाश्म इन्धनको प्रदूषणका कारण दशकौंदेखि भइरहेको जलवायु तापक्रम वृद्धिले ती प्रक्रियालाई थप जटिल बनाएको थियो । 

वैज्ञानिकहरूले सन् २०१५ अप्रिलमा गएको ७.८ म्याग्निच्युडको भूकम्पले हिमालको ढलान कमजोर बनाउन भूमिका खेलेको हुन सक्ने बताएका छन् । उक्त भूकम्पले हिमालको दक्षिणी भागबाट चट्टान र हिउँको हिमपहिरो निम्त्याएको थियो । त्यसयता उक्त हिमालमा पहिरो जाने दर बढेको प्रतिवेदनमा उल्लेख छ ।

त्यसपछि वैज्ञानिकहरूले जलवायु परिवर्तनको भूमिका अध्ययन गरे र यसमा धेरै प्रक्रियाहरू एकसाथ सक्रिय भएको पाए । जलवायु परिवर्तनका कारण हिमालयमा ‘शून्य डिग्री’ रेखा अर्थात् वायुमण्डलको तापक्रम शून्य डिग्री सेल्सियस पुग्ने उचाइ प्रत्येक दशकमा ३२० फिटभन्दा बढी माथि सर्दै गएको छ । 

वैज्ञानिकहरूका अनुसार नेपालको उच्च हिमाली क्षेत्रमा रहेको पर्माफ्रस्ट, बरफ, चट्टान, बालुवा र माटोको मिश्रण, जसले जमिनलाई जोडेर राख्न सक्छ । जुन बढ्दो तापक्रमका कारण कमजोर हुँदै गएको छ । विशेषगरी हिमपहिरो भएको उचाइ आसपास यस्तो असर देखिएको छ ।

इम्मरजेलका अनुसार पर्माफ्रस्ट पग्लिँदा ‘चट्टानको मजबुती घट्छ र थप पानी ढलानभित्र प्रवेश गर्न पाउँछ ।’
हिमनदीमा आएको परिवर्तन अर्को महत्वपूर्ण कारक हो । पछिल्ला दशकहरूमा लाङटाङ–लिरुङ हिमनदीमा उल्लेख्य रूपमा संकुचन आएको छ, विशेषगरी सन् २०१० पछि । यसले ढलानलाई कम स्थिर बनाएको र चट्टानका चिराहरूमा पस्न सक्ने पग्लिएको पानी उत्पादन गरेको प्रतिवेदनमा उल्लेख छ ।

अनुसन्धानकर्ताहरूले हिमपहिरो हुनुअघिको मौसमसमेत अध्ययन गरेका थिए । गत शरद् ऋतुमा अक्टोबर र नोभेम्बरको सुरुआतमा उक्त क्षेत्रमा असाधारण मात्रामा हिउँ परेको थियो । त्यसपछिको जुलाई र अगस्ट महिनामा स्थानीय स्तरमा अहिलेसम्मकै सबैभन्दा बढी तापक्रम दर्ज भएकाे थियाे । यसले ठूलो मात्रामा हिउँ तथा बरफ पग्लिने पानी उत्पादन गरेको हुन सक्ने र त्यसले ढलानलाई थप कमजोर बनाएको हुन सक्ने वैज्ञानिकहरूको निष्कर्ष छ ।

ऐतिहासिक तथ्यांक र जलवायु मोडल प्रयोग गरेर अनुसन्धानकर्ताहरूले उक्त क्षेत्रमा जुलाई र अगस्टको तापक्रम जलवायु परिवर्तनका कारण अहिले करिब १.५ डिग्री सेल्सियस बढी रहेको पत्ता लगाएका छन् । यस क्षेत्रको वार्षिक तापक्रमसमेत २ डिग्री सेल्सियसले बढेको छ, जुन विश्वव्यापी औसत वृद्धिभन्दा उल्लेख्य रूपमा बढी हो । 

तर विश्वव्यापी तापक्रम वृद्धिसँग हिउँ तथा वर्षाको मात्रा बढेको सम्बन्ध भने त्यति स्पष्ट देखिएन। यसको एउटा कारण जटिल र दुर्गम हिमालय क्षेत्रमा मौसमसम्बन्धी तथ्यांक मापन तथा निगरानीमा रहेको कठिनाइ रहेको वैज्ञानिकहरूले बताएका छन् ।

समग्रमा ‘मानव सिर्जित जलवायु परिवर्तनले विपद्को पूर्वतयारी तथा जोखिम बढाउन भूमिका खेलेकोमा कुनै शंका छैन’ भन्ने निष्कर्ष वैज्ञानिकहरूले निकालेका छन् । इम्पेरियल कलेज लन्डनकी जलवायु विज्ञानकी प्राध्यापक फ्रिडेरिके ओटोले यस्तो बताएकी हुन् ।

वैज्ञानिकहरूका अनुसार यो हिमाली ढलान भत्किने घटना आकार, गति र जटिलताका हिसाबले यस क्षेत्रले यसअघि भोगेका घटनाभन्दा मौलिक रूपमा फरक थियो। उनीहरूले कुनै पनि विद्यमान पूर्वसूचना प्रणालीले पर्याप्त समय अगावै चेतावनी दिन नसक्ने बताएका छन् । 

ओटोका अनुसार यो ‘हामीले अनुकूलन गर्न सक्ने सीमाभन्दा बिल्कुलै बाहिरको घटनामध्ये एक’ हो । विश्वले जीवाश्म इन्धनबाट हुने प्रदूषणलाई तीव्र रूपमा घटाउन नसके ‘यस्तै स्तरका थप विपद्हरू अनिवार्य रूपमा देखिनेछन्’ उनले बताएकी छन् ।  (सीएनएन

Share News