विश्वकर्मा पूजाको दिन नेपालभर १५० टाटा गाडी डेलिभरी

काठमाडौं । विश्वकर्मा पूजाको अवसरमा नेपालभर एकै दिन १५० वटा टाटा गाडी ग्राहकलाई हस्तान्तरण गरिएको छ ।

नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले देशभरका २२ वटा शोरुममार्फत ग्राहकलाई १५० वटा गाडी डेलिभरी गरेको हो ।

डेलिभरी गरिएका गाडीमा टाटाका नयाँ तथा लोकप्रिय विद्युतीय मोडल नयाँ टियागो ईभी, नयाँ पन्च ईभी, नेक्सन ईभी रिलोडेड र कर्भ ईभी रहेका छन् । यससँगै विभिन्न पेट्रोल तथा डिजेल इन्जिनयुक्त गाडी पनि ग्राहकलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

यीमध्ये अधिकांश गाडी यस वर्ष आयोजना भएका नाइमा नेपाल मोबिलिटी एक्स्पो तथा नाडा अटो शोका क्रममा सार्वजनिक, बिक्रीका लागि प्रस्तुत तथा बुकिङ गरिएका थिए । एक्स्पो र अटो शोमा प्राप्त बुकिङ प्रक्रिया पूरा भएपछि विश्वकर्मा पूजाको अवसर पारेर गाडी हस्तान्तरण गरिएको सिप्रदीले जनाएको छ ।

नेपालमा विद्युतीय सवारीसाधनप्रति ग्राहकको चासो बढिरहेका बेला टाटाका नयाँ ईभी मोडलको डेलिभरीले बजारमा थप उत्साह देखिएको कम्पनीको भनाइ छ । विशेषगरी नयाँ टियागो ईभी, नयाँ पन्च ईभी, नेक्सन ईभी रिलोडेड र कर्भ ईभीप्रति ग्राहकको आकर्षण बढिरहेको कम्पनीले जनाएको छ ।

विश्वकर्मा पूजाको दिन एकैपटक ठूलो संख्यामा गाडी डेलिभरी हुनु टाटा मोटर्सप्रति नेपाली ग्राहकको रुचि र विश्वासको संकेत भएको सिप्रदीको भनाइ छ ।

कम्पनीले ग्राहकको आवश्यकता र बजारको मागअनुसार नयाँ प्रविधि, सुरक्षा र सुविधासहितका विभिन्न मोडल नेपाली बजारमा ल्याउँदै जाने जनाएको छ ।

Share News