५५ हजार बढीलाई हैजाविरुद्ध खोप, २९ होल्डिङ सेन्टरमा मानसिक स्वास्थ्य सेवा

१ हजार ३५५ बालबालिकाको पोषण परीक्षण

काठमाडौं । सरकारले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा सञ्चालन तथा संक्रामक रोगको जोखिम न्यूनीकरणका लागि औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्थापन, रोग निगरानी, मानसिक स्वास्थ्य सेवा, पोषण कार्यक्रम तथा खोप अभियानलाई तीव्रता दिएको छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले सार्वजनिक गरेको ‘आकस्मिक बाढी प्रतिकार्यसम्बन्धी प्रतिवेदन’अनुसार विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीको मौज्दात व्यवस्थापन, प्राप्ति, मागअनुसार विभिन्न स्वास्थ्य संस्था तथा स्वास्थ्य शिविरमा वितरण र आपूर्ति भइरहेको छ ।

झपीगो कर्पोरेसन नेपालबाट ५८ हजार १४६ इकाइ औषधि तथा स्वास्थ्य सामग्री प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ । 

प्राप्त सामग्रीमा उच्च रक्तचाप तथा मधुमेहजस्ता नसर्ने रोगका औषधिसहित एम्लोडिपिन ७ हजार ५००, मेटफर्मिन ५ हजार, लोसार्टान ५ हजार, सिटाग्लिप्टिन प्लस मेटफर्मिन ४ हजार, आइरन तथा फोलिक एसिड ३ हजार, प्यारासिटामोल २ हजार, फ्लुक्लोक्सासिलिन २ हजार, डक्सिसाइक्लिन २ हजार र एसिलोफेनाक २ हजारलगायत छन् । 

त्यसैगरी, नेपाल सशस्त्र प्रहरी बल अस्पतालमा ९ हजार ७२० इकाइ औषधि तथा स्वास्थ्य सामग्री पठाइएको छ । 

पठाइएका सामग्रीमा ३, ५ र १० मिलिलिटरका सिरिन्ज ६ हजार, एमोक्सिसिलिन प्लस क्लाभुलानिक एसिड १ हजार, नसामा औषधि दिने सेट ५००, शल्यक्रियाका पञ्जा ५०० र डाइक्लोफेनाक जेल ४०० लगायत छन् ।

स्वास्थ्य सेवा विभागमा भदौ ३१ गतेसम्म ३०० भन्दा बढी प्रकारका औषधि तथा स्वास्थ्य सामग्री मौज्दात रहेको प्रतिवेदनमा उल्लेख छ ।

तीन जनामा ज्वरोको समस्या

बाढी प्रभावित क्षेत्रमा संक्रामक रोगको नियमित निगरानी भइरहेको छ । 

पछिल्लो २४ घण्टामा होल्डिङ सेन्टर तथा आश्रयस्थलबाट तीन जना ज्वरोका बिरामीको विवरण प्राप्त भएको छ । तीमध्ये ज्वरोसहित खोकी, ज्वरोसहित शरीरमा बिमिरा तथा तीव्र झाडापखालाका कुनै बिरामी नभेटिएको ईडीसीडीले जनाएको छ ।   

सम्बन्धित स्थानीय तहबाट ज्वरो तथा झाडापखालाजन्य रोगका बिरामीको उचित व्यवस्थापन भइरहेको र जनस्वास्थ्यसम्बन्धी आवश्यक उपाय अपनाउनुका साथै थप अनुसन्धान तथा निगरानी जारी रहेको विभागले जनाएको छ ।

२९ होल्डिङ सेन्टरमा मानसिक स्वास्थ्य सेवा

बाढी प्रभावित नागरिकको मानसिक स्वास्थ्यलाई ध्यान दिँदै नुवाकोट, रसुवा, काठमाडौं र धादिङका २९ वटा होल्डिङ सेन्टरमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग र मनोवैज्ञानिक प्राथमिक सहायता सेवा प्रदान गरिएको छ ।

मानसिक स्वास्थ्यसम्बन्धी जानकारी तथा जनचेतनामूलक सामग्री वितरण, विशेषज्ञ सेवाका लागि बिरामी पठाउने प्रणाली सुदृढीकरण तथा मानसिक स्वास्थ्यसम्बन्धी आवश्यकताको पहिचान र मूल्यांकन भइरहेको छ ।

मनोचिकित्सक तथा मनोवैज्ञानिकसहितको विशेषज्ञ टोलीले आवश्यक व्यक्तिलाई मानसिक स्वास्थ्य सेवा र सहयोग उपलब्ध गराइरहेको छ । 

मानसिक स्वास्थ्य हेल्पलाइन तथा अनलाइन विवरण प्रणालीमार्फत सेवा, अनुगमन र समन्वयलाई पनि निरन्तरता दिइएको छ ।

पछिल्लो २४ घण्टामा स्थलगत रूपमा ३८६ जनालाई मनोसामाजिक परामर्श र हेल्पलाइनमार्फत दुई जनालाई सहयोग प्रदान गरिएको छ ।

नुवाकोटमा १ हजार ३५५ बालबालिकाको पोषण परीक्षण

बाढी प्रभावित जिल्ला नुवाकोटमा पाँच वर्षमुनिका बालबालिकाको पोषण अवस्थाको परीक्षण भइरहेको छ । 

किस्पाङ गाउँपालिका, तारकेश्वर गाउँपालिका र बेलकोटगढी नगरपालिकामा पोषण परीक्षण जारी छ भने विदुर नगरपालिकामा समुदायस्तरीय परीक्षण सुरु हुन बाँकी रहेको छ ।

हालसम्म यी तीन स्थानीय तहमा १ हजार ३५५ बालबालिकाको पोषण परीक्षण गरिएको छ । बेलकोटगढीमा ७५३, तारकेश्वरमा ३६४ र किस्पाङमा २३८ बालबालिकाको परीक्षण गरिएको हो । परीक्षण गरिएकामध्ये ७३८ बालक र ६१७ बालिका छन् ।

परीक्षणका क्रममा मध्यम तीव्र कुपोषणका ११ जना बालबालिका भेटिएका छन् भने गम्भीर तीव्र कुपोषणका कुनै बालबालिका भेटिएका छैनन् । साथै ७२ गर्भवती र १५१ सुत्केरी महिलासम्बन्धी विवरणसमेत संकलन गरिएको छ ।

छ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई बहुसूक्ष्म पोषक तत्त्वयुक्त पाउडर वितरण गरिएको छ । स्वास्थ्यकर्मीमार्फत गर्भवती तथा सुत्केरी महिलालाई शिशु तथा बाल पोषणसम्बन्धी परामर्श पनि दिइएको छ । 

नुवाकोट जिल्लाका सबै स्थानीय तहमा गम्भीर कुपोषित बालबालिकाका लागि प्रयोग हुने उपचारात्मक पोषणयुक्त खाना उपलब्ध रहेको प्रतिवेदनमा उल्लेख छ ।

पोषण परीक्षणमा विभिन्न साझेदार संस्थाले सहयोग गरेका छन् । किस्पाङमा वल्र्ड भिजन इन्टरनेसनल, बेलकोटगढीमा प्लान र तारकेश्वरमा एड्रा नेपालको सहयोगमा समुदायस्तरीय परीक्षण भइरहेको छ । 

संयुक्त राष्ट्रसंघीय बाल कोषले सबै स्थानीय तहमा स्वास्थ्यकर्मीलाई प्राविधिक सहयोग तथा अभिमुखीकरण प्रदान गरेको छ ।

रसुवा र नुवाकोटमा हैजाविरुद्ध खोप अभियान

बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम कम गर्न रसुवा र नुवाकोटका सबै बाढी प्रभावित पालिकामा मुखबाट खुवाइने हैजाविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ ।

स्वास्थ्यकर्मी, उद्धार टोली तथा घाइते व्यक्तिका लागि टिटानस–डिफ्थेरिया खोपसम्बन्धी आवश्यक प्राविधिक सहयोग पनि भइरहेको छ ।

प्रतिवेदनअनुसार हालसम्म रसुवामा १५ हजार १९ जना र नुवाकोटमा ४० हजार ७५३ जनाले हैजाविरुद्धको खोप लगाएका छन् । रसुवामा खोपको पहुँच ४८ प्रतिशत र नुवाकोटमा ५३ प्रतिशत पुगेको छ ।

नुवाकोट र रसुवामा दादुरा–रुबेला खोप अभियानका लागि तयारी भइरहेको छ । त्यस्तै, धादिङ, चितवन र गोरखाका बाँकी बाढी प्रभावित वडामा पनि हैजाविरुद्धको खोप अभियान सञ्चालनका लागि तयारी अघि बढाइएको छ ।

विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघीय बाल कोषले नियमित खोप कार्यक्रमको अनुगमन, हैजाविरुद्ध तथा टिटानस–डिफ्थेरिया खोप अभियानको सुपरिवेक्षण र अभियानपछिको तथ्यांक व्यवस्थापनमा प्राविधिक सहयोग गरिरहेका छन् ।

बाढी प्रभावित क्षेत्रमा तत्काल स्वास्थ्य सेवा निरन्तर राख्न औषधि तथा स्वास्थ्य सामग्रीको आपूर्ति, संक्रामक रोगको निगरानी, मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग, बाल तथा मातृ पोषण र खोप अभियानलाई एकसाथ अघि बढाइएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

Share News