विकासन्युज

के एआई मानव जातिका लागि खतरा हो ?

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) कम्पनी एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डारियो अमोदेईले उन्नत एआईको विकासको गति सुस्त पार्न आग्रह गरेका छन् । आइतबार प्रकाशित एक लेखमार्फत उनले एआईको विकास अत्यधिक तीव्र गतिमा भइरहेको भन्दै यसले विनाशकारी साइबर आक्रमण निम्त्याउन सक्ने चेतावनी दिएका हुन् ।  उनको आग्रहलाई ओपनएआईका प्रमुख साम अल्टम्यान र एक्सएआईका एलन मस्कलगायत प्रविधि क्षेत्रका केही प्रमुख व्यक्तिले पनि सार्वजनिक रूपमा समर्थन गरेका छन् । एआई प्रणालीले आफ्नै निर्माताले समेत अनुमान नगरेको व्यवहार देखाएका पछिल्ला घटनापछि यस्तो चेतावनी आएको हो । यससँगै एआई प्रविधि ‘बेलगाम’ हुँदै गएको हो कि भन्ने बहस पनि तीव्र भएको छ । किन एआईको विकास सुस्त पार्ने माग ? यसको मुख्य चिन्ता एआईको क्षमता यसलाई नियन्त्रण गर्ने मानवीय क्षमताभन्दा निकै तीव्र गतिमा बढिरहेको भन्ने हो ।  अमोदेईले आगामी ६ देखि १२ महिनाभित्र असन्तुलित एआई एजेन्टले निरन्तर सक्रिय रहने बोटनेट निर्माण गर्न सक्ने चेतावनी दिएका छन् । बोटनेट भनेको संक्रमित वा ह्याक गरिएका कम्प्युटरहरूको यस्तो सञ्जाल हो, जसलाई साइबर आक्रमणका लागि टाढाबाट नियन्त्रण गर्न सकिन्छ । यस्ता सञ्जालले ठूलो आर्थिक क्षति पुर्याउन सक्ने जोखिम हुन्छ । एआईमा हुने ‘रिकर्सिभ सेल्फ–इम्प्रुभमेन्ट’ले यो चिन्ता थप बढाएको छ । यसको अर्थ एआई प्रणाली आफैभन्दा अझ सक्षम एआई प्रणाली निर्माण गर्न सक्षम हुनु हो । यस्तो अवस्थामा एआईको विकासको गति अझ तीव्र हुन सक्छ । ६ सेप्टेम्बर २०२६ मा ओपनएआईका प्रमुख वैज्ञानिक ज्याकोब पचोकीले ‘एन एलियन माइन्ड’ शीर्षकमा लेख प्रकाशित गर्दै आधुनिक एआई परम्परागत प्रोग्रामिङबाट नभई ठूलो मात्राको अप्टिमाइजेसन प्रक्रियाबाट विकास भइरहेको बताएका थिए । यसको परिणामस्वरूप एआई मोडल आफ्नै तर्क प्रक्रियामा हेरफेर गर्न अझ सक्षम हुँदै गएको बताइएको छ । उनीहरूले आफ्नो तर्क कसरी काम गरिरहेको छ भन्ने स्पष्ट रूपमा नदेखाई काम पूरा गर्न सक्ने र आफ्नै विकासकर्ताका लागि समेत अपारदर्शी बन्न सक्ने चिन्ता व्यक्त गरिएको छ । ‘बेलगाम एआई’ भन्नाले के बुझिन्छ ? ‘बेलगाम एआई’ भन्नाले आफ्ना निर्धारित लक्ष्य पूरा गर्न मानवीय नियम वा अपेक्षालाई पन्छाउने व्यवहार देखाउने एआई प्रणालीलाई जनाउने गरिएको छ । यस्तो व्यवहार विशेषगरी ‘एआई एजेन्ट’मा देखिन सक्छ । एआई एजेन्ट भनेको विभिन्न एप्लिकेसनमा बहुचरणीय काम आफै योजना बनाएर कार्यान्वयन गर्न सक्ने सफ्टवेयर हो । ११ देखि १३ जुलाई २०२६ बीच ओपनएआईको पूर्व–प्रकाशन मोडल जीपीटी–५.६ सोलमा आधारित दुई उन्नत एआई एजेन्टले प्रतिस्पर्धी स्टार्टअप ‘हगिङ फेस’को प्रणाली ह्याक गरेको विवरण सार्वजनिक भएको थियो । ती एजेन्टलाई आन्तरिक साइबर सुरक्षा परीक्षण समाधान गर्ने जिम्मेवारी दिइएको थियो । सीमित नेटवर्क पहुँच भएको परीक्षण वातावरणमा राखिए पनि उनीहरूले त्यस वातावरणका कमजोरीको फाइदा उठाउँदै बाहिर निस्किएको बताइएको छ । त्यसपछि उनीहरूले हगिङ फेसको प्रणालीमा प्रवेश गरी परीक्षणको उत्तरसमेत प्राप्त गरेका थिए । यसरी उनीहरूले विकासकर्ताले अपेक्षा नगरेको तरिकाबाट आफ्नो काम पूरा गरेका थिए । यस्तै, घटना १० अगस्ट २०२६ मा अस्ट्रेलियामा पनि देखिएको बताइएको छ। एक प्रयोगकर्ताले एन्थ्रोपिकको ‘क्लाउड’मा आधारित एआई एजेन्टलाई जिमको कक्षा बुक गर्न भनेका थिए । एजेन्टले जिमको सफ्टवेयरमा रहेको कमजोर एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) पत्ता लगाएको थियो । उसले बुकिङ खुल्नुभन्दा केही साताअघि नै आरक्षण गरेको र आफ्ना प्रयोगकर्ताको फाइदाका लागि प्रतीक्षा सूचीमा रहेका अर्का व्यक्तिलाई हटाएको बताइएको छ । एआई सुरक्षा अनुसन्धानकर्ताहरूले यस्तो व्यवहारलाई ‘स्पेसिफिकेसन गेमिङ’ वा ‘रिवार्ड ह्याकिङ’ भन्ने गरेका छन् । यसको अर्थ प्रणालीले आफूलाई दिइएको सफलताको मापदण्ड पूरा गर्न नियमको अपेक्षित उद्देश्यविपरीत अनपेक्षित छोटो बाटो अपनाउनु हो । एआईलाई मानवताका लागि खतरा किन भनिँदैछ ? एआईको भविष्यलाई लिएर धेरै अनुसन्धानकर्ताले चिन्ता व्यक्त गरेका छन् ।  एन्थ्रोपिकका अलाइनमेन्ट साइन्स प्रमुख इभान हबिङ्गरले एक्समा गरेको पोस्टमा आगामी एक दशकभित्र एआईका कारण सबै मानिसको अस्तित्व समाप्त हुने सम्भावना १० प्रतिशतभन्दा बढी रहेको आफ्नो व्यक्तिगत अनुमान सार्वजनिक गरेका थिए । उनको चिन्ताको आधार एआईलाई मानवीय उद्देश्यअनुसार नै काम गर्ने सुनिश्चितता विकासकर्ताले अझै गर्न नसकेको विषय हो । उनका अनुसार अत्यधिक सक्षम एआई मोडल सार्वजनिक हुनुअघि यो समस्या समाधान गर्ने दिशामा उद्योग पर्याप्त रूपमा अघि बढेको छैन । एन्थ्रोपिककै आन्तरिक परीक्षणहरूले पनि एआई प्रणालीबाट हुन सक्ने जोखिमबारे केही संकेत दिएका छन् । कम्पनीका प्रयोगमा केही मोडलले धोका दिने र ब्ल्याकमेल गर्ने व्यवहार देखाएको बताइएको छ । जुलाई २०२६ मा सार्वजनिक गरिएको एउटा प्रयोगको विवरणअनुसार साइबर सुरक्षा परीक्षणमा रहेको एन्थ्रोपिकको एउटा मोडलले कमजोर पासवर्ड र असुरक्षित एन्डपोइन्टको फाइदा उठाउँदै परीक्षण वातावरणबाट बाहिरिएको थियो ।  त्यसपछि उसले केही संस्थाका प्रमाणिकरण विवरण चोरेर उनीहरूको पूर्वाधारमा पहुँच बनाएको बताइएको छ। ती संस्थाको नाम एन्थ्रोपिकले सार्वजनिक गरेको छैन । इतिहासकार युवाल नोआ हरारीले आफ्नो सन् २०२४ को पुस्तक ‘नेक्सस’मा एआईलाई अभूतपूर्व जोखिमका रूपमा व्याख्या गरेका छन् । उनका अनुसार मानिसले सञ्चालन गर्नुपर्ने आणविक हतियारभन्दा फरक एआई स्वायत्त रूपमा निर्णय लिन र नयाँ विचार उत्पन्न गर्न सक्ने प्रविधि हो । समाजका लागि कस्तो जोखिम ? २० जुन २०२६ मा गुगल डीपमाइन्डले सार्वजनिक गरेको सुरक्षा ढाँचामा उन्नत एआई एजेन्टलाई ‘इनसाइडर थ्रेट’ अर्थात् संस्थाभित्रकै सम्भावित खतराका रूपमा हेर्नुपर्ने उल्लेख गरिएको थियो । यसलाई संवेदनशील सूचना पहुँचमा रहेका बेइमान कर्मचारीसँग तुलना गरिएको छ । डीपमाइन्डले संवेदनशील सम्पत्ति, स्वामित्वमा रहेको कोड, प्रयोगकर्ताका प्रमाणिकरण विवरण तथा गोप्य तथ्यांक चोरी हुन सक्ने र महत्त्वपूर्ण अनुसन्धानलाई गोप्य रूपमा क्षति पुर्याउन सक्ने जोखिम औंल्याएको छ । हरारीले वित्तीय क्षेत्रदेखि युद्धसम्म एआईबाट हुन सक्ने जोखिमको चर्चा गरेका छन् । उनका अनुसार एआईले मानिसले बुझ्नै नसक्ने जटिल वित्तीय उपकरण निर्माण गरेमा ठूलो विश्वव्यापी आर्थिक संकट निम्तिन सक्छ । युद्ध तथा जैविक सुरक्षाका क्षेत्रमा पनि एआईको दुरुपयोग हुन सक्ने उनको चेतावनी छ । आतंकवादी समूहले एआईको प्रयोग गरेर घातक जैविक भाइरस निर्माण गर्न सक्ने तथा एआईमार्फत राष्ट्रिय विद्युत् प्रणाली वा आणविक हतियारको कमान्ड संरचनामा गोप्य साइबर आक्रमण हुन सक्ने उनले बताएका छन् । हरारीले एआईमा भइरहेको भू–राजनीतिक प्रतिस्पर्धाले विश्वलाई फरक–फरक नेटवर्क र कम्प्युटर कोडमा आधारित प्रतिद्वन्द्वी डिजिटल साम्राज्यमा विभाजन गर्न सक्ने चेतावनी दिएका छन् । यस्तो विभाजनले एआई सुरक्षाका विषयमा विश्वव्यापी सहकार्य कठिन बन्न सक्ने उनको भनाइ छ । के भन्छन् ट्रम्प ? अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एआईसँग जोडिएका आधारभूत जोखिमलाई लिएर व्यक्त भइरहेका केही चिन्तालाई कम महत्त्व दिएका छन् । आयरल्यान्ड भ्रमणका क्रममा उनले अत्यन्त नकारात्मक शक्तिहरूले भविष्यमा हुन नसक्ने परिदृश्य प्रस्तुत गरिरहेको बताएका थिए । ३ जुन २०२६ मा ट्रम्पले एआई विकासकर्ताका लागि स्वैच्छिक सुरक्षा ढाँचा निर्माण गर्ने कार्यकारी आदेश जारी गरेका थिए ।  त्यसअन्तर्गत कम्पनीहरूले आफ्ना अत्याधुनिक एआई मोडल सार्वजनिक गर्नुअघि ३० दिनसम्म सरकारी सुरक्षा समीक्षाका लागि पेस गर्न सक्ने व्यवस्था गरिएको थियो । यसअघि तयार गरिएको मस्यौदामा ९० दिनको सुरक्षा समीक्षा प्रस्ताव गरिएको थियो । तर अमेरिकी कम्पनी चिनियाँ प्रतिस्पर्धीभन्दा पछि पर्न सक्ने भन्दै उद्योग क्षेत्रबाट चिन्ता व्यक्त भएपछि समीक्षा अवधि घटाइएको थियो । जोखिम घटाउन के गर्न सकिन्छ ? एआई क्षेत्रका केही प्रमुख व्यक्तिले व्यवस्थित सुरक्षा उपाय अपनाउनुपर्ने माग गरेका छन् । अमोदेईले तीन चरणको योजना प्रस्ताव गरेका छन् ।  पहिलो, एआई प्रयोगशालामा सुरक्षा परीक्षण गर्न स्वतन्त्र तेस्रो पक्षका मूल्यांकनकर्तालाई स्थायी पहुँच दिनुपर्नेस दोस्रो, लोकतान्त्रिक मुलुकबीच एआई सुरक्षा मापदण्डमा समन्वय गर्नुपर्ने र तेस्रो, अधिनायकवादी सरकारसँग समेत विश्वव्यापी समन्वयको प्रयास गर्नुपर्ने उनको प्रस्ताव छ । केही कम्पनीले एआई प्रणालीलाई चरणबद्ध रूपमा सार्वजनिक गर्ने अभ्याससमेत गरिरहेका छन् । अप्रिल २०२६ मा एन्थ्रोपिकले आफ्नो अत्यधिक सक्षम ‘माइथोस’ मोडलको सार्वजनिक सुरुवात रोकेको थियो। कम्पनीका अनुसार उक्त मोडल सफ्टवेयरका कमजोरीको फाइदा उठाउन अत्यधिक सक्षम देखिएको थियो । त्यसपछि कम्पनीले उक्त मोडललाई छानिएका सरकारी तथा साइबर सुरक्षा संस्थासँग मात्र साझा गरेको थियो । ९ जुन २०२६ मा एन्थ्रोपिकले सर्वसाधारणका लागि यसको सुरक्षित संस्करण ‘क्लाउड फेबल ५’ सार्वजनिक गरेको थियो ।  उक्त संस्करणले संवेदनशील साइबर सुरक्षा तथा जैविक सुरक्षासँग सम्बन्धित प्रश्नलाई स्वचालित रूपमा फिल्टर गर्ने व्यवस्था गरिएको बताइएको छ । (बीबीसीबाट अनुदित तथा सम्पादित)

डेढ अर्बभन्दा बढी रकम हुण्डी कारोबारी गर्ने दुई जना पक्राउ

काठमाडौं । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। बिहीबार विराटनगर महानगरपालिका–१५ का ५६ वर्षीय शम्भु प्रसाद साह र विराटनगर महानगरपालिका–१७ का ३५ वर्षीय सुरज प्रसाद साह पक्राउ परेका हुन् । उनीहरूले व्यक्तिगत तथा विभिन्न फर्मका नाममा रहेका बैंक खातामार्फत करिब १ अर्ब ५७ करोड ६४ लाख ३९ हजार ३४० रुपैयाँ ८१ पैसा बराबरको हुण्डी कारोबार गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीका अनुसार केही व्यक्तिहरू हुण्डी कारोबारमा संलग्न रहेको सूचना प्राप्त भएपछि शंकास्पद व्यक्तिहरूको बैंकिङ कारोबारको विश्लेषण गरिएको थियो।  अन्य व्यक्तिहरूसँगको मिलेमतोमा व्यक्तिगत तथा फर्मका नाममा रहेका बैंक खाताहरू प्रयोग गरी ठूलो रकमको हुण्डी कारोबार गरेको देखिएपछि उनीहरूमाथि अनुसन्धान अघि बढाइएको हो। सुनसरी जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले  गते मोरङको विराटनगरबाट दुई जनालाई पक्राउ गरेको हो। उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत हुण्डी कारोबार गर्न नहुनेसम्बन्धी कसूर, संगठित अपराध निवारण ऐन, २०७० तथा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।

विश्वमा शक्तिको हैकम चल्ने अवस्था अन्त्य हुनुपर्छ : रघुजी पन्त

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रघुजी पन्तले विश्वमा शक्तिशाली राष्ट्रले कमजोर राष्ट्रमाथि आफ्नो इच्छा र सर्त लाद्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा महान ताङको पश्चिमी क्षेत्रको अभिलेखको नेपाली संस्करण पुस्तक विमोचन समारोहमा बोल्दै पन्तले नेपाल र चीनका जनता बुद्धका विचार र भावनाबाट प्रभावित रहेको उल्लेख गरेका हुन् । उनले नेपाली समाजमा विभिन्न धर्म मान्ने भए पनि भगवान् बुद्धप्रति विशेष सद्भाव, आस्था र विश्वास रहेको बताए । बुद्धका विचारले शान्ति, सहअस्तित्व र आपसी सम्मानको सन्देश दिने उनको भनाइ छ । पन्तले हालै भारतमा सम्पन्न ब्रिक्स सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङले व्यक्त गरेको विचार ग्लोबल साउथका देशहरूका लागि महत्त्वपूर्ण रहेको बताए । सी चिनफिङको भनाइ उद्धृत गर्दै पन्तले बलियाको नै जित हुनुपर्छ भन्ने तर्क स्वीकार्य नहुने बताए । विश्वमा शक्तिशाली देशले आफूले भनेको नमान्ने साना देशमाथि आक्रमण गर्ने तथा दबाब सिर्जना गर्ने प्रवृत्ति देखिएको उनको भनाइ छ । उनले विश्वमा अहिले व्यापार तथा ट्यारिफ युद्ध चलिरहेको उल्लेख गर्दै शक्ति र प्रभावका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्ने प्रवृत्तिमाथि प्रश्न उठाए । उनले भने, ‘हामी बुद्धका विचारहरूबाट, बुद्धका भावनाहरूबाट प्रभावित मानिसहरू हौँ । चीन पनि, चिनियाँ जनताहरू पनि र हामी नेपालीहरू पनि । हामी विभिन्न धर्म मान्न सक्छौँ तर प्रत्येक नेपालीको मनमा बुद्धप्रति विशेष अनुग्रह, विशेष सद्भाव र विशेष आस्था र विश्वास भएको तपाईं पाउनुहुन्छ । र मैले किन प्रसङ्ग जोडेको भन्दाखेरि त्यही बुद्धिजमको प्रभावले होला, भर्खरै भारतमा सम्पन्न भएको ब्रिक्समा चीनका राष्ट्रपति सी चिनफिङले बडा राम्ररी केही कुराहरू भन्नुभयो ।’ पन्तले कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल प्लेटफर्मलगायत प्रविधिको प्रयोगका विषयमा समेत विश्वव्यापी सहकार्य आवश्यक रहेको बताए । विश्वमा कुनै एक देश वा शक्तिको हैकम चल्ने अवस्था स्वीकार गर्न नहुने उनको भनाइ छ । उनले ग्लोबल साउथका देशहरूले समानता, आपसी सम्मान र सहकार्यमा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको पक्षमा आवाज उठाउनुपर्नेमा जोड दिए ।

कांग्रेस विवादमा बद्री पाण्डेले अगाडि सारे ‘एकताको सूत्र’

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले पार्टीभित्र चुलिएको महाधिवेशनसम्बन्धी विवाद समाधानका लागि दुवै पक्षले आ–आफ्नो ठाउँबाट लचकता अपनाउनुपर्ने प्रस्ताव अघि सारेका छन् । पाण्डेले पूर्वसंस्थापन पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा फिर्ता लिने र संस्थापन पक्षले मंसिरमै महाधिवेशन गर्ने प्रतिबद्धता जनाउने गरी समझदारी कायम गर्न सकिने धारणा सार्वजनिक गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत पार्टीभित्रको विवाद समाधानका लागि यस्तो ‘एकताको सूत्र’ अघि सारेका हुन् । ‘पूर्वसंस्थापन–अदालतबाट आधिकारिकतासम्बन्धी मुद्दा फिर्ता लिने, संस्थापन–अधिवेशन मंसिरमा गर्ने,’ पाण्डेले लेखेका छन् । दुवै पक्षबीच सहमति निर्माणका लागि पार्टी, लोकतन्त्र र मुलुकको हित चाहने नेता–कार्यकर्ताले आ–आफ्नो ठाउँबाट सुझाव र दबाब दिने अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ छ। ‘दुवै पक्षलाई आ–आफ्नो ठाउँबाट सुझाव, दबाब दिने अभियान चलाउनु राम्रो हुन्छ होला, पार्टी, लोकतन्त्र र मुलुकको हित चाहने हामी सबैको लागि,’ उनले भनेका छन् । कांग्रेसभित्र महाधिवेशनको मिति, पार्टीको आधिकारिकता तथा संगठन सञ्चालनसँग जोडिएका विषयमा संस्थापन र पूर्वसंस्थापन पक्षबीच मतभेद रहँदै आएको छ ।  विवाद समाधानका लागि विभिन्न तहबाट सहमतिको प्रयास भइरहेका बेला पाण्डेको पछिल्लो प्रस्ताव सार्वजनिक भएको हो । पाण्डेको प्रस्तावमा एकातर्फ अदालतमा विचाराधीन आधिकारिकतासम्बन्धी विवादलाई राजनीतिक समझदारीमार्फत टुंग्याउने र अर्कोतर्फ महाधिवेशनको मिति सुनिश्चित गर्ने गरी दुवै पक्षबीच समझदारी निर्माण गर्नुपर्नेमा जोड दिइएको छ । पार्टीभित्रको विवाद लम्बिँदै जाँदा महाधिवेशनको प्रक्रिया र संगठनात्मक गतिविधिमा समेत प्रभाव पर्न सक्ने भन्दै कांग्रेसका विभिन्न नेताले सहमतिको पहल गर्दै आएका छन् ।  यही सन्दर्भमा पाण्डेले दुवै पक्षले एकअर्काबाट मात्रै त्यागको अपेक्षा गर्नुको सट्टा आ–आफ्नो ठाउँबाट कदम चाल्नुपर्ने धारणा अघि सारेका हुन् ।

ऋण असुलीबाट समस्याग्रस्तका ५ सहकारीका १३५ जना बचतकर्ताले पाए रकम फिर्ता

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ५ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार शिवशिखरका ५७, कान्तिपुरका ५२, ओरिन्टल को अपरेटिभका ८, तुलसी बहुमुखीका ९ र आइडियल यमुना सहकारीका ९ जना साना बचतकर्ताको रकम फिर्ता गरिएको हो । सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।  समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रुपमा संचालन भइरहेको छ । 

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो ३ बजे बैठक बस्ने तय भएको हो । बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कामकारबाहीसँग सम्बन्धित विषयमा छलफल हुने बताइएको छ ।

कार्कीको अभिव्यक्तिले आयोगको निष्पक्षतामाथि प्रश्न उठेको एमालेको दाबी

काठमाडौं । नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको पछिल्लो अभिव्यक्तिले आयोगको निष्पक्षता र अनुसन्धान प्रक्रियामाथि थप प्रश्न उठाएको दाबी गरेको छ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको धारणामा आयोगका अध्यक्ष कार्कीको एक टेलिभिजन अन्तर्वार्तामा आएको अभिव्यक्तिलाई लिएर प्रश्न उठाएका हुन् । आचार्यका अनुसार अध्यक्ष कार्कीले आन्दोलनको अघिल्लो दिन अर्थात् भदौ २३ गते बिहानै ‘हामी नेपाल’का तत्कालीन प्रमुख तथा हालका गृहमन्त्री सुधन गुरुङ माइतीघरमा एम्बुलेन्स, खानेपानी, माइक, स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीसहित पुगेको बताएका थिए । आन्दोलनका लागि गरिएको उक्त पूर्वतयारीले आन्दोलनबाट हुन सक्ने सम्भावित परिणामबारे गुरुङलाई पहिल्यै जानकारी थियो कि भन्ने प्रश्न उठेको आचार्यको भनाइ छ ।  आयोगले अनुसन्धानका क्रममा सीसीटीभी फुटेज र मोबाइल लोकेसनसमेत अध्ययन गरेको अध्यक्ष कार्कीले बताएको पनि उनले उल्लेख गरेका छन् । त्यसैगरी, आचार्यले भदौ २४ गते भएका आगजनी, लुटपाट तथा तोडफोडका घटनामा संलग्न व्यक्तिमाथि कारबाही नगर्न तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीले दबाब दिएको अध्यक्ष कार्कीले बताएको दाबी गरेका छन् । जेन–जीसँग भएको सहमतिका आधारमा विध्वंसात्मक घटनामा संलग्नलाई कारबाही नगर्ने विषय उठेको कार्कीको अन्तर्वार्तासम्बन्धी विवरणमा उल्लेख भएको आचार्यको भनाइ छ । आयोग गठन भएदेखि नै एमालेले अध्यक्ष कार्कीको निष्पक्षतामाथि प्रश्न उठाउँदै आएको स्मरण गराउँदै आचार्यले पछिल्लो अभिव्यक्तिले ती आशंकालाई थप बल पुगेको बताएका छन् । यसअघि एमालेले उठाएका प्रश्नलाई राजनीतिक आरोपका रूपमा व्याख्या गरिए पनि आयोगका अध्यक्षकै अभिव्यक्तिपछि अनुसन्धानको दायरा, निष्पक्षता र प्रतिवेदनका निष्कर्षबारे थप प्रश्न उठेको उनको दाबी छ । ‘एमालेले सुरूदेखि उठाउँदै आएको आशंका राजनीतिक आरोप मात्र थियो वा त्यसमा अनुसन्धानयोग्य आधार पनि थियो भन्ने प्रश्न स्वयं अध्यक्ष कार्कीको अभिव्यक्तिले थप गम्भीर बनाएको छ,’ आचार्यले भनेका छन् । उनले जेनजी आन्दोलनसँग सम्बन्धित घटनाका तथ्यहरू क्रमशः सार्वजनिक हुँदै जाने दाबीसमेत गरेका छन् । ‘अब कालो पर्दा खुल्दै जानेछ । नेकपा एमाले, लोकतन्त्र र देशविरुद्ध गरिएका षड्यन्त्रहरू क्रमशः पटाक्षेप हुँदै जानेछन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । कार्की नेतृत्वको जाँचबुझ आयोगले गत फागुन २४ गते सरकारलाई प्रतिवेदन बुझाएको थियो । सरकारले प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक नगरे पनि त्यसमा समेटिएका विषय तथा अनुसन्धानसँग सम्बन्धित विभिन्न विवरण सञ्चारमाध्यममार्फत सार्वजनिक हुँदै आएका छन् । अध्यक्ष कार्कीको पछिल्लो अभिव्यक्तिपछि जेन–जी आन्दोलनको पूर्वतयारी, घटनामा विभिन्न व्यक्तिको भूमिका, भदौ २४ गते भएका हिंसात्मक तथा विध्वंसात्मक घटनामाथिको अनुसन्धान र आयोगको प्रतिवेदनका निष्कर्षलाई लिएर पुनः बहस सुरु भएको छ ।

चिकित्सकमाथि सांघातिक आक्रमण, दोषीमाथि कारबाही गर्न चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले जनकपुरस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्युटीमा खटिएका चिकित्सकमाथि बिरामीका आफन्तसहितको समूहले सांघातिक आक्रमण गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल चिकित्सक संघले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत २०८३ साल असोज १ गते जनकपुरस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्युटीमा कार्यरत रहेका नेपाल चिकित्सक संघका आजीवन सदस्य डा. सरोज साहमाथि बिरामीका आफन्तलगायतको समूहले सांघातिक आक्रमण गरेको जनाएको हो । संघका अनुसार चिकित्सक तथा स्वास्थ्यकर्मीले देशका विभिन्न स्थानमा स्वास्थ्य सेवामा समर्पित भएर काम गरिरहेका बेला समय–समयमा हुने यस्ता आपराधिक घटनाले उनीहरूको पेशागत सुरक्षा तथा आत्मसम्मानमा गम्भीर आघात पुग्ने गरेको छ । नेपाल चिकित्सक संघले स्वास्थ्य क्षेत्रमा आतंक फैलाउने गरी घटाइएका यस्ता अमानवीय घटनामा संलग्न दोषीलाई तत्काल कानुनी दायरामा ल्याई कारबाही गर्न माग गरेको छ । संघले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९)’ बमोजिम कडा कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको हो । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने हिंसा र आक्रमणका घटनाले स्वास्थ्य सेवा प्रवाहमै असर पार्ने भन्दै संघले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकाय गम्भीर बन्नुपर्नेमा जोड दिएको छ । नेपाल चिकित्सक संघका महासचिव डा. विश्व राज दवाडी र अध्यक्ष डा. बद्री रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनामा संलग्नमाथि तत्काल कानुनी कारबाहीको माग गरिएको छ ।