विकासन्युज

पूर्वप्रधानमन्त्री भट्टराईमाथि गम्भीर आरोप, विवादमा परराष्ट्र मन्त्रालय

काठमाडौं । वरिष्ठ कूटनीतिज्ञ यदुनाथ खनालको स्मृतिमा परराष्ट्र मन्त्रालयले हरेक वर्ष आयोजना गर्दै आएको यदुनाथ खनाल लेक्चर सिरिज यस वर्ष वक्ता चयनलाई लिएर विवादमा परेको छ । यस पटक पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई मुख्य वक्ताका रूपमा आमन्त्रण गरिएपछि सामाजिक सञ्जालदेखि कूटनीतिक वृत्तसम्म बहस सुरु भएको हो । परराष्ट्र मन्त्रालयले असार १४ गते आयोजना गर्ने लेक्चरमा डा. भट्टराईले नेपालको विदेश नीति भूराजनीतिक र भूआर्थिक प्रवृत्तिको दिशाबोध विषयमा प्रवचन दिने कार्यक्रम तय गरेको छ । यदुनाथ खनाल नेपालका प्रतिष्ठित कूटनीतिज्ञका रूपमा परिचित छन् । विशेषगरी राजा महेन्द्रको शासनकालमा नेपालको परराष्ट्र नीतिलाई आकार दिन उनले महत्वपूर्ण भूमिका खेलेका थिए । तर, राजा महेन्द्रको राजनीतिक भूमिकाप्रति लामो समयदेखि आलोचनात्मक धारणा राख्दै आएका डा. भट्टराईलाई खनालको स्मृतिमा आयोजित कार्यक्रममा वक्ता बनाइएको विषयलाई लिएर केही व्यक्तिले असन्तुष्टि जनाएका छन् । पत्रकार कनकमणि दीक्षितले कार्यक्रमको निमन्त्रणा अस्वीकार गर्दै सार्वजनिक रूपमा असहमति जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत वक्ता छनोटलाई गलत निर्णय भन्दै यदुनाथ खनालप्रतिको सम्मानसँग मेल नखाने टिप्पणी गरेका छन् । दीक्षितले आफ्नो पोस्टमा निमन्त्रणाका लागि परराष्ट्र मन्त्रालयलाई धन्यवाद दिँदै लेखेका छन्, ‘परराष्ट्र मन्त्रालयको वक्ता छनोट गलत हो । र, यदुनाथ खनालको अपमान हो ।’ उनले डा. भट्टराईमाथि विभिन्न राजनीतिक आरोपसमेत लगाएका छन् । आफ्नो धारणा व्यक्त गर्दै उनले नेपालमा भारतीय गुप्तचर निकायको प्रभाव बढाउन भूमिका खेलेको, माओवादी द्वन्द्वकालीन गम्भीर घटनासँग जोडिएको र त्यसको नेतृत्व गरेको लगायतका आरोप उल्लेख गर्दै यस्ता व्यक्तिलाई यदुनाथ खनालको स्मृतिमा आयोजित कार्यक्रममा वक्ता बनाइनु उचित नभएको बताएका छन् । सोही कारण आफू कार्यक्रममा सहभागी नहुने निर्णय गरेको पनि उनले सार्वजनिक गरेका छन् । यद्यपि, परराष्ट्र मन्त्रालयले डा. भट्टराईलाई वक्ता चयन गरिएको विषयमा हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । वक्ता चयनलाई लिएर देखिएको विवादका बीच कार्यक्रम भने पूर्वनिर्धारित तालिकाअनुसार आयोजना हुने तयारी रहेको मन्त्रालय स्रोतले जनाएको छ । मन्त्रालय औपचारिक प्रतिक्रियाबाट जोगिन खोजे पनि अनौपचारिक कुराकानीमा भने देशको प्रधानमन्त्री भइसकेको व्यक्तिलाई आमन्त्रण गर्दा विवाद श्रृजना गर्न नहुने बताउँछ । मन्त्रालयका एक अधिकारीका अनुसार जनमतले अनुमोदित भएर प्रधानमन्त्री भइसकेका व्यक्तिबारे अन्य प्रचार गर्नु सोभनप्य हुँदैन । उनले भने, ‘एक दुइजना मान्छे नआउँदैमा केहि हुँदैन ।’  

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो पाखामा घना जङ्गल । बस्तीदेखि टाढा र एकान्त र शान्त वातावरण। पृष्ठभूमिमा देखिने अग्ला पहाड र हिमशृङ्खलाहरु । चराचुरुङ्गीहरुको चिरचिर आवाज । यो ठाउँ हो म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको भंकासे । यो ठाउँ परापूर्वकालमा ऋषिमुनिहरुले तपस्या गरेर ज्ञान आर्जन गरेको धार्मिक र पर्यटकीय ठाउँ हो । प्राकृतिक हिसाबले सुन्दर, मनमोहक र धार्मिकरुपमा महत्वपूर्ण मानिएको भंकासे पूर्वाधार, प्रचारप्रसार र पर्यटकको पर्खाइमा छ ।  पात्लेखेतको वाखेत टोलको शिरमा समुद्री सतहदेखि करिब दुई हजार ६०० मिटर उचाइमा अवस्थित भंकासेको प्रचारप्रसार आवश्यक रहेको स्थानीय लोकबहादुर पुनको भनाइ छ । ‘पहाडको शिरमा रहेको उक्त स्थानमा जमिन भासिएर प्वाल परेको हुँदा भ्वाङ खसेको भन्दा भन्दै अप्रभंश भएर भंकासे नाम रहने गएको जनविश्वास छ,’ उनले भने । भंकासेमा पहाड भासिएर ओडार बनेको भ्वाङ छ । भ्वाङको नजिकै करिब १० रोपनी समथर खाली जमिन छ । भंकासेको पृष्ठभूमिमा धौलागिरि, नीलगिरि, अन्नपूर्ण र माछापुच्छे« हिमशृङ्खला देखिन्छ । म्याग्दीका साविकका ४१ मध्ये ३५ वटा गाविसको भूगोल यहाँबाट अवलोकन गर्न सकिने स्थानीयवासीहरुको भनाइ छ । भंकासेदेखि करिब २०० मिटर तल सिद्धको थान रहेको छ । उक्त थानमा तपस्या गरेका ऋषिहरुले देहत्याग गरेको ठाउँमा मन्दिर र धर्मशाला बनाइएको छ । हालपनि त्यहाँ देशका विभिन्न ठाउँबाट ऋषिमुनिहरु ध्यान तपस्याका लागि आउने गरेका छन् । सिन्धुपाल्चोकबाट आएर १२ वर्षदेखि भंकासेमा तपस्या बसेका तपस्वी रुपचन्द्रले सपनामा देखेको आधारमा विश्वशान्ति र विकृतिमुक्त समाजको कामनाका लागि तपस्या गर्न आएको प्रतिक्रिया दिए । भंकासे र सिद्धथानमा आश्रमहरु छन् । वाखेतदेखि ३० मिनेटको पैदलयात्रापछि पुगिने सिद्धथानबाट थप १५ मिनेट उकालो हिडेर भंकासे पुगिन्छ । रघुगङ्गा, मङ्गाल गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा पर्ने पर्यटकीयस्थल टोड्केदेखि ४० मिनेटको पैदलयात्रापछि भंकासेमा पुगिन्छ । बेनी नगरपालिकाले सिद्धथान र भंकासेलाई आरोग्य पर्यटनको अवधारणाअनुसार धार्मिक र पर्यटकीयस्थलको रुपमा विकास गराउन ‘एक वडा, एक पर्यटन परियोजना’मा समेटेको वडाध्यक्ष मसविर रोकाले बताए । वाखेतदेखि सिद्धथान हुँदै भंकासे जोड्ने पदमार्ग, सिद्धथान जोड्ने सडक निर्माण गरिएको जानकारी दिँदै ऐतिहासिक तथ्यहरु जुटाउनका लागि धर्मगुरुमार्फत खोज अनुसन्धान थालिएको उनले दिए । 

अपाचे आरटीआर १६० फोरभी नेपालमा, मूल्य ४ लाख २९ हजार रुपैयाँ

काठमाडौं । टीभीएस मोटर कम्पनीले नेपाली बजारमा नयाँ टीभीएस अपाचे आरटीआर १६० फोरभी मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले यसलाई १६० सीसी श्रेणीमा प्रोजेक्टर हेडल्याम्प, युएसडी (अपसाइड–डाउन) सस्पेन्सन र ५ इन्चको टीएफटी डिस्प्ले क्लस्टरसहितको पहिलो मोटरसाइकल भएको दाबी गरेको छ । काठमाडौंको सतुंगलमा आयोजित कार्यक्रममा मोटरसाइकल सार्वजनिक गरिएको हो । कार्यक्रममा सञ्चारकर्मी, अटोमोबाइल समीक्षक, सामाजिक सञ्जालका कन्टेन्ट क्रिएटर तथा बाइक पारखीहरूको सहभागिता रहेको थियो । सहभागीहरूका लागि विशेष राइडिङ सेसन र ट्र्याक राइडको समेत व्यवस्था गरिएको थियो । नयाँ अपाचे आरटीआर १६० फोरभीमा १५९.७ सीसी इन्जिन जडान गरिएको छ । स्पोर्ट मोडमा यसले १७.५५ पीएस शक्ति उत्पादन गर्ने कम्पनीले जनाएको छ भने अर्बन र रेन मोडमा १५.६४ पीएस शक्ति उपलब्ध हुन्छ । मोटरसाइकलमा पाँच–स्पिड गियरबक्स, डुअल च्यानल एबीएस, १२ लिटर क्षमताको इन्धन ट्याङ्की तथा स्पोर्ट, अर्बन र रेन गरी तीनवटा राइडिङ मोड रहेका छन् । कार्यक्रममा टीभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यवसाय प्रमुख पेम्यान कारगरले नेपाल कम्पनीका लागि महत्वपूर्ण बजार रहेको उल्लेख गर्दै नयाँ मोडलले राइडरलाई अझ सुरक्षित, सहज र उत्कृष्ट राइडिङ अनुभव दिने बताए । नेपालका आधिकारिक वितरक जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले नयाँ अपाचे आरटीआर १६० फोरभीमा समावेश गरिएका प्रोजेक्टर हेडल्याम्प, युएसडी सस्पेन्सन र टीएफटी डिस्प्लेले राइडिङ अनुभवलाई नयाँ स्तरमा पुर्‍याउने विश्वास व्यक्त गरे । कम्पनीका अनुसार मोटरसाइकल हाल नेपालका छनोट गरिएका डिलरशिपमा उपलब्ध छ भने आगामी जुलाईभित्र देशभर बिक्रीका लागि उपलब्ध गराइनेछ । म्याट ब्ल्याक, रेसिङ रेड र मरीन ब्लु गरी तीन रंगमा उपलब्ध मोटरसाइकलको एक्स–शोरुम मूल्य ४ लाख २९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ ।

मृत्युदण्डको सजाय पाएकी बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाले गरिन् स्वदेश फर्किने घोषणा

काठमाडौं । विद्यार्थी नेतृत्वको विद्रोहपछि भारतमा निर्वासनमा रहेकी बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसीनाले यो वर्ष आफ्नो देश फर्किने प्रतिबद्धता जनाएकी छन् । उनले आइतबार प्रकाशित एक अन्तर्वार्तामा आफू यसै बर्ष स्वदेश फर्किने उल्लेख गरेकी छन् ।  उनीविरुद्ध गत महिनाहरूमा मानवता विरुद्धको अपराधमा अनुपस्थितिमै मृत्युदण्डको फैसला सुनाइएको थियो । सन् २०२४ को अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहले ७८ वर्षीया आवामी लिगकी नेतृसमेत रहेकी पूर्वप्रधानमन्त्री हसीनाको १५ वर्ष लामो कठोर शासन अन्त्य गरेपछि सुरक्षाका लागि केही निकट आफन्तसहित उनी छिमेकी भारततर्फ भागेकी थिइन् ।  त्यसपछि नयाँ दिल्लीको एउटा पत्रकार सम्मेलनमा जनवरीमा प्रसारित सम्बोधनमा बाहेक उनी सार्वजनिक रूपमा देखिएकी छैनन् ।  भारतीय ब्रोडकास्टर एनडिटिभीसँगको अन्तर्वार्तामा हसीनाले आफू मृत्युसँग नडराउने बताएकी छन् । उनले  आफूलगायतका आफ्ना सहयोगीविरुद्धको फैसलालाई ‘अवैध, असंवैधानिक र राजनीतिक रूपमा प्रेरित’ प्रक्रियाको एक भाग भनेकी छन् ।  हसीनाले भनेकी छन्, ‘मेरो विरुद्ध धेरै षड्यन्त्र रचिएका छन् । तर, हरेक षड्यन्त्रको जाल तोड्दै मलाई जनताको मतबाट पाँच पटक प्रधानमन्त्री चुनिएको छ र मैले लामो समय देशको अभूतपूर्व विकासमा काम गरेको छु ।’ पूर्व प्रधानमन्त्री हसीनाले भनिन्, ‘म स्पष्ट रूपमा भन्न चाहन्छु, हरेक बाधा र हरेक षड्यन्त्रलाई पार गर्दै यो वर्ष म आफ्नो देश फर्किनेछु ।’ गत नोभेम्बरमा ढाका अदालतले हसीनालाई उत्तेजना फैलाउने, हत्या आदेश दिने र अत्याचार रोक्न नसकेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो । एक समय देशको सबैभन्दा लोकप्रिय दल उनको पूर्व सत्तारूढ दल अवामी लिगलाई कुनै गतिविधि गर्न अहिले प्रतिबन्धित गरिएको छ । हसीनाको भारत पलायनपछि बनेको अन्तरिम सरकारका समय नेतृ हसीनालाई सुपुर्दगी गर्न तत्कालिन सरकारले भारतमाथि दवाव दिएपछि बिग्रिएको भारत र बङ्गलादेशबीचको सम्बन्ध अहिले निर्वाचित सरकार आएसँगै सुधारिएको छ ।  फेब्रुअरीमा प्रधानमन्त्री तारिक रहमानले १७ करोड जनसङ्ख्या भएको बङ्गलादेशको प्रधानमन्त्री बन्न भारी मतले चुनाव जितेपछि यो सुधार भएको हो । यद्यपि, तनाव अझै कायम छ । बङ्गलादेशले बारम्बार हसीनाको सुपुर्दगीको माग गरिरहेको छ । एजेन्सीको सहयोगमा   

प्रतिकिलो १ हजार रुपैयाँ पुग्यो सिताके च्याउ र सुकेको माछाको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु २०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४०, आलु रातो (गोलो) प्रतिकिलो रु ३५, आलु रातो (मुढे) प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, सेतो आलु प्रतिकेजी ३०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १००, बन्दा (लोकल) प्रतिकिलो रु ६०, काउली स्थानीय प्रतिकिलो रु ९०, रातो मूला प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु २० र भन्टा डल्लो प्रतिकिलो रु ३० कायम भएको छ । समितिका अनुसार बोडी (तने) प्रतिकिलो रु ३५, मकै बोडी प्रतिकिलो रु ५०, मटरकोसा प्रतिकिलो रु १३०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ६०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ५०, भटमास कोसा प्रतिकिलो रु १००, तीते करेला प्रतिकिलो रु ३०, लौका प्रतिकिलो रु ४०, परवर (लोकल) प्रतिकिलो रु ४०, परवर (तराई) प्रतिकिलो रु ४०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ४०, झिगुनी प्रतिकिलो रु ५०, फर्सी पाकेको प्रतिकिलो रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, भिन्डी प्रतिकिलो रु ३०, सखरखण्ड प्रतिकिलो रु १२० र पिँडालु प्रतिकिलो रु १००, इस्कुस प्रतिकिलो रु ६० कायम भएको छ । रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो प्रतिकिलो रु ६०, चमसुरको साग प्रतिकिलो रु ६०, तोरीको साग प्रतिकिलो रु ५०, हरियो प्याज प्रतिकिलो रु १५०, च्याउ (कन्य) प्रतिकिलो रु ३००, च्याउ (डल्ले) प्रतिकिलो रु ५००, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ । कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु ७०, चुकन्दर प्रतिकेजी रु ९०, सजीवन प्रतिकेजी रु २५०, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु ९०, सेलरी प्रतिकिलो रु १६०, पार्सले प्रतिकिलो रु ३५०, सौफको साग प्रतिकिलो रु ६०, पुदिना प्रतिकिलो रु २००, गान्टेमूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ । स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन २५०, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु २००, अनार प्रतिकिलो रु ४५०, आँप (मालदह) प्रतिकिलो रु ९०, आँप (दशहरी) प्रतिकिलो रु १००, तरबुजा (हरियो) प्रतिकिलो रु ६०, जुनार प्रतिकिलो रु २३०, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ६०, रूखकटहर प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, लिची (लोकल) रु २००, लिची (भारतीय) रु ३०० र नरिवल (काँचो) प्रतिकिलो रु ८० नरिवल (हरियो) प्रतिकिलो रु १७०, अदुवा प्रतिकिलो रु १५०, सुकेको खुर्सानी प्रतिकिलो रु ५००, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ३०, माछे खुर्सानी प्रतिकिलो रु ५०, अकबरे प्रतिकिलो रु ३००, भेडेखुर्सानी प्रतिकिलो रु १००, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु १२०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १८०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण भएको छ । 

सांस्कृतिक पर्व असार १५ : धान दिवससहित दही चिउरा खाएर मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभ काममा निस्कनुअघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ । पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रुप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ । धान दिवस  विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नैपर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ । यस वर्ष असार मध्यसम्म पनि देशका सबै भागमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति रोपाइँ हुनसकेको छैन । कति ठाउँमा रासायनिक मलको पनि अभाव भएको गुनासो किसानले गर्ने गरेका छन् । कृषि, वन तथा पर्यावरण मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको जनाएको छ । रासस

८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट

चितवन । भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (एमएसएस)मा उत्कृष्ट भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा मूल्याङ्कनमा भरतपुर अस्पताल देशकै सङ्घीय अस्पतालमध्ये ८९ अङ्कसहित उत्कृष्ट बनेको हो । अस्पतालले ८९ अङ्क प्राप्त गर्दै उत्कृष्ट बन्न सफल भएको हो । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ७७ अङ्कसहित दोस्रो, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ७१ अङ्कसहित तेस्रो भएका छन् भने पाटन अस्पतालको मापन भइरहेको जनाइएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका तर्फबाट संयोजक डा. श्रीराम तिवारीले भरतपुर अस्पताल देशभरका १४ वटा सङ्घीय अस्पतालमा सेवा प्रवाहमा राम्रो रहेको बताउनुभयो । मन्त्रालयले अस्पतालको सेवा गुणस्तर मापनका लागि एक हजार ४ सय ९७ विभिन्न सूचकहरु बनाएर परीक्षण गरेको हो । गत वर्ष अस्पतालले ८८ अङ्कसहित उत्कृष्ट बनेको थियो । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेले अघिल्लो आर्थिक वर्षभन्दा चालु आवमा अस्पतालले अझै राम्रो गरेको बताए । बिरामीले पाउने सेवा सुविधा, अस्पतालमा उपलब्ध उपकरण, कामको तालिका, सरसफाइ, औषधि, जनशक्तिको अवस्था सबै कुरालाई अस्पतालले अद्यावधिक गरेको उनको भनाइ छ । कूल ६ सय शैयाको भरतपुर अस्पतालमा दैनिक दुई हजार ५ सय देखि तीन हजारसम्म बहिरङ्ग सेवामा बिरामी आउने गर्दछन् । अस्पतालले १४ वटा अतिविशिष्ट सेवा सञ्चालन गर्दै आएको छ । जिल्लाका निजी अस्पतालमा स्वास्थ्य बिमा बन्द भएपछि बिमाका बिरामीको चाप यहाँ बढेको छ । सूचक राम्रो देखिए पनि बिरामीको उच्च चाप र न्यूनतम स्रोतसाधनमा काम गर्नुपर्दा चाहेर पनि बिरामीको अपेक्षाअनुसार अझै सेवा दिन नसकिएको बगालेले बताए ।

यी हुन् विश्वकप जित्ने प्रमुख दाबेदार टोली [अप्टा विश्लेषण]

काठमाडौं । जारी विश्वकपमा अब ३२ टोली मात्र बाँकी छन् । समूह चरणका ७२ खेल सम्पन्न भएसँगै नकआउट चरणको समीकरण तय भएको छ ।  १६ टोली प्रतियोगिताबाट बाहिरिएका छन् भने बाँकी ३२ टोली फुटबलको सबैभन्दा ठूलो उपाधिको होडमा छन् । गएरातिबाटै नकआउट चरण सुरु भएको छ । पहिलो नकआउट चरणको खेलमा आयोजक क्यानडाले दक्षिण अफ्रिकालाई १-० ले पराजित गरेको छ ।  अप्टा सुपरकम्प्युटरले प्रतियोगिताको बाँकी यात्राबारे नयाँ भविष्यवाणी सार्वजनिक गरेको छ ।  ३२ टोलीको चरणदेखि फाइनलसम्मको सम्भावित नतिजा अनुमान गर्न सुपरकम्प्युटरले प्रतियोगितालाई २५ हजार पटक सिमुलेसन गरेको हो । यसका आधारमा प्रत्येक टोलीले हरेक चरण पार गर्ने तथा अन्ततः विश्वकप जित्ने सम्भावना निर्धारण गरिएको छ । यसपटकको विस्तारित ढाँचाअनुसार आठ उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीले पनि नकआउट चरणमा स्थान बनाए । यसले समूह चरणको प्रतिस्पर्धात्मक दबाब केही घटाएको देखिएको छ । समूह चरणबाट बाहिरिने ठूला टोलीमध्ये उरुग्वे मात्र प्रमुख नाम रह्यो । प्रतियोगिता सुरु हुनुअघि उपाधिका दाबेदार मानिएका अधिकांश टोली नकआउट चरणमा पुगेका छन् । यद्यपि उनीहरूको आगामी यात्रा निकै फरक बनेको छ । ३२ टोलीको चरणका खेलहरू निश्चित भइसकेपछि अब अप्टा सुपरकम्प्युटरले जुलाई १९ मा उपाधि जित्ने सबैभन्दा बलिया दाबेदार को हुन् भन्ने प्रक्षेपण सार्वजनिक गरेको छ । फ्रान्स शीर्ष दाबेदार प्रतियोगिता सुरु हुनुअघि फ्रान्सलाई १३ प्रतिशत सम्भावनासहित दोस्रो दाबेदार मानिएको थियो । तर उत्कृष्ट समूह चरणपछि उसले १८.७ प्रतिशत सम्भावनासहित पहिलो स्थानमा उक्लिएको छ । फ्रान्स प्रतियोगिताको अहिलेसम्मकै सबैभन्दा प्रभावशाली टोली बनेको छ । अर्जेन्टिना र मेक्सिकोसँगै समूह चरणका तीनवटै खेल जित्ने तीन टोलीमध्ये फ्रान्स पनि एक हो । सन् १९९८ को घरेलु विश्वकपपछि पहिलोपटक फ्रान्सले कुनै ठूलो प्रतियोगिताको समूह चरणका सबै खेल जितेको हो । त्यही विश्वकपमा उसले उपाधि पनि जितेको थियो । सुपरकम्प्युटरका अनुसार फ्रान्सले ३२ टोलीको चरणमा स्विडेनलाई हराउने अपेक्षा गरिएको छ । त्यसपछि क्वार्टरफाइनलमा जर्मनीसँग भिड्ने सम्भावना बलियो देखिएको छ । त्यसपछिको यात्रा केही सहज देखिए पनि सेमिफाइनलमा स्पेनसँग भेट हुन सक्ने अनुमान गरिएको छ । अर्जेन्टिनालाई अनुकूल ड्र ड्रबाट सबैभन्दा धेरै फाइदा उठाएको टोली अर्जेन्टिना बनेको छ । लियोनेल स्कालोनीको टोली अहिले १६.३ प्रतिशत सम्भावनासहित दोस्रो ठूलो दाबेदार बनेको छ । केप भर्डेको ऐतिहासिक यात्रा प्रतियोगिताकै आकर्षक कथामध्ये एक बने पनि अर्जेन्टिनाको दृष्टिकोणबाट हेर्दा ३२ टोलीको चरणको प्रतिस्पर्धा निकै सहज देखिएको छ । अर्जेन्टिनाले यो चरण पार गरेमा अन्तिम १६ मा अस्ट्रेलिया वा इजिप्टमध्ये एकसँग खेल्ने सम्भावना छ । त्यसपछि क्वार्टरफाइनलमा स्विट्जरल्यान्ड, अल्जेरिया, कोलम्बिया वा घानामध्ये कुनै एक टोलीसँग भेट हुन सक्छ । सुपरकम्प्युटरका अनुसार अर्जेन्टिनाले वास्तविक बलियो प्रतिद्वन्द्वीको सामना सम्भवतः सेमिफाइनलमा मात्र गर्नेछ, जहाँ ब्राजिल वा इङ्ग्ल्यान्ड प्रतिद्वन्द्वी बन्न सक्छन् । स्पेन अझै उपाधिको बलियो प्रतिस्पर्धी प्रतियोगिता सुरु हुनुअघि स्पेनलाई सबैभन्दा ठूलो दाबेदार मानिएको थियो । अहिले उसको सम्भावना घटेर १३.५ प्रतिशतमा झरे पनि उपाधिका प्रमुख दाबेदारमध्ये एकको रूपमा कायम छ । अन्तिम १६ मा पोर्चुगलसँग सम्भावित भेट निकै कठिन हुने अपेक्षा गरिएको छ । यद्यपि त्यस खेलमा पनि स्पेनलाई नै अग्रता दिइएको छ । यदि स्पेन अघि बढेमा क्वार्टरफाइनलमा अमेरिका, बोस्निया–हर्जेगोभिना, बेल्जियम वा सेनेगलमध्ये एक टोलीसँग खेल्नुपर्नेछ । इङ्ग्ल्यान्डको कठिन यात्रा नयाँ प्रक्षेपणअनुसार इङ्ग्ल्यान्डको विश्वकप जित्ने सम्भावना ९.७ प्रतिशत रहेको छ । ३२ टोलीको चरणमा उसले डीआर कङ्गोलाई हराउने प्रबल सम्भावना देखाइएको छ । तर त्यसपछि इङ्ग्ल्यान्डको यात्रा निकै कठिन हुने अनुमान गरिएको छ । अन्तिम १६ मा मेक्सिकोसँग एज्टेका रंगशालामा सम्भावित भेट र त्यसपछि क्वार्टरफाइनलमा ब्राजिलसँग खेल्ने सम्भावना रहेको छ । प्रशिक्षक थोमस टुचेलको नेतृत्वमा इङ्ग्ल्यान्डले ११ प्रतिस्पर्धात्मक खेलमा हार बेहोरेको छैन (१० जित र १ बराबरी) । तर समूह चरणमा देखिएको अस्थिर प्रदर्शनमा सुधार आवश्यक रहेको सुपरकम्प्युटरको विश्लेषण छ। ब्राजिल स्थिर, नेदरल्यान्ड्सको सम्भावना बढ्यो ब्राजिलको सम्भावनामा खासै परिवर्तन आएको छैन । प्रतियोगिता सुरु हुँदा उसलाई ६.६ प्रतिशत सम्भावना दिइएको थियो भने अहिले ६.५ प्रतिशत रहेको छ । यता नेदरल्यान्ड्सले भने उत्कृष्ट समूह चरणपछि आफ्नो सम्भावना बढाएको छ। प्रतियोगिता सुरु हुनुअघि ३.६ प्रतिशत रहेको सम्भावना अहिले ५.१ प्रतिशत पुगेको छ । समूह चरणमा नेदरल्यान्ड्सले १० गोल गरेको थियो, जुन विश्वकपको समूह चरणमा उसको अहिलेसम्मकै सर्वाधिक गोल संख्या (सन् २०१४ बराबरी) हो । यसले प्रतियोगितामा सबैभन्दा आकर्षक आक्रमणात्मक खेल प्रस्तुत गर्ने टोलीमध्ये आफूलाई स्थापित गरेको छ । आयोजक तीनै टोली अझै प्रतिस्पर्धामा सुपरकम्प्युटरको प्रक्षेपणअनुसार तीनै सह–आयोजक राष्ट्र अझै प्रतियोगितामा टिक्ने सम्भावना राख्छन् । उनीहरू सबै ३२ टोलीको चरण पार गर्ने अपेक्षा गरिएको भए पनि त्यसपछिको यात्रा भने सहज देखिएको छैन । तीन आयोजकमध्ये अमेरिकालाई क्वार्टरफाइनल पुग्ने सबैभन्दा धेरै ४२.५ प्रतिशत सम्भावना दिइएको छ । मेक्सिकोको सम्भावना २८.३ प्रतिशत रहेको छ भने क्यानडालाई अन्तिम आठमा पुग्ने सम्भावना २५.२ प्रतिशत रहेको अनुमान गरिएको छ ।