काठमाडौं । विराट एक्स्पो २०२६ को मुख्य प्रायोजकका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहने भएको छ ।
मुख्य प्रायोजनसम्बन्धी सम्झौतामा एक्स्ट्रिम इनर्जी ड्रिंक्स र उद्योग संगठन मोरङबीच विराटनगरमा हस्ताक्षर भएको छ ।
सम्झौताअनुसार म्याक्स टाइगर इनर्जी ड्रिंक ‘इनर्जी पार्टनर’ र वामवाम हाइड्रेसन ड्रिंक ‘हाइड्रेसन पार्टनर’ का रूपमा पनि एक्स्पोसँग जोडिएका छन् ।
उद्योग संगठन मोरङका अनुसार विराट एक्स्पोको नवौँ संस्करण आगामी पुस २ देखि ११ गतेसम्म विराटनगरमा आयोजना हुनेछ । करिब तीन दशकदेखि आयोजना हुँदै आएको एक्स्पोलाई पूर्वी नेपालको महत्वपूर्ण औद्योगिक तथा व्यापारिक प्रदर्शनीका रूपमा लिइँदै आएको छ ।
यस वर्षको एक्स्पोलाई उद्योग, व्यापार, प्रविधि, लगानी, उद्यमशीलता र रोजगारीका अवसरसँग जोड्ने तयारी गरिएको आयोजकले जनाएको छ । एक्स्पोमा उद्योगी, व्यवसायी, उद्यमी, लगानीकर्ता, विद्यार्थी, युवा तथा नीति निर्माताको सहभागिता रहनेछ ।
आयोजकले एक्स्पोमा २ लाख ५० हजारभन्दा बढी आगन्तुक सहभागी हुने अपेक्षा गरेको छ ।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले मुख्य प्रायोजकसँगको सहकार्यले एक्स्पोको पहुँच विस्तार गर्न सहयोग पुग्ने बताए । एक्स्पो उत्पादन तथा सेवाको प्रदर्शनसँगै उद्योग, व्यापार, उद्यमशीलता, लगानी र रोजगारीका अवसर जोड्ने मञ्चका रूपमा विकास गर्न खोजिएको उनको भनाइ छ ।
एक्स्पोका संयोजक विपिन काबराले मुख्य प्रायोजकको सहभागिताले एक्स्पोका गतिविधिलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताए ।
एक्स्ट्रिम इनर्जी ड्रिंककी व्यापार प्रमुख सोनिया राणाले एक्स्पोमा मुख्य प्रायोजकका रूपमा सहकार्य गर्न पाउनु महत्वपूर्ण अवसर भएको बताउँदै एक्स्पोका विभिन्न गतिविधिमा प्रभावकारी सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरिन् ।