विकासन्युज

दक्षिण कोरियाले हर्मुजमा सेना तैनाथ नगर्ने

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति ली जे-म्योङले शुक्रबार आफ्नो देशले हर्मुज जलडमरूमध्यमा सेना तैनाथ नगर्ने बताएका छन् । दक्षिण कोरियाले होर्मुज जलडमरूमध्यमा सैन्य बल तैनाथ गर्न सक्ने सम्भावनालाई लिएर पछिल्ला केही सातादेखि देशभर विरोध प्रदर्शन भइरहेका छन् । बीबीसीको फारसी सेवाका अनुसार राष्ट्रपति लीले भने, ‘म यो कुरा स्पष्ट पार्न चाहन्छु कि हामी कुनै पनि प्रकारको सैन्य तैनाथी गर्ने छैनौं । हामी कुनै पनि युद्धमा भाग लिने छैनौं र त्यसमा संलग्न पनि हुने छैनौं ।’ राष्ट्रपति लीले दक्षिण कोरियाले आफ्ना व्यावसायिक पानीजहाज र तेल ढुवानी मार्गको सुरक्षाका लागि आवश्यक कदम चाल्ने बताए । दुई साताअघि इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले दक्षिण कोरियालाई चेतावनी दिँदै भनेका थिए, ‘फारसको खाडी र होर्मुज जलडमरूमध्यमा अन्य पक्षको कुनै पनि परिचालन सहभागिता वा सैन्य उपस्थिति आक्रमणकारीलाई प्रत्यक्ष समर्थन गर्नुबराबर हुनेछ र त्यसको परिणाम भोग्नुपर्नेछ ।’

सीजी ब्रुअरीको नयाँ बियर ‘ठमेल’ बजारमा, मूल्य २३० रुपैयाँ

काठमाडौं । सीजी ब्रुअरीले नयाँ प्रिमियम बियर ‘ठमेल’ नेपाली बजारमा ल्याएको छ । कम्पनीका अनुसार ‘ठमेल’ ड्राइ हपिङ प्रविधिबाट तयार गरिएको बियर हो । यस प्रक्रियामा फर्मेन्टेसनपछि हप्स थपिन्छ । यसबाट बियरमा फूल तथा सिट्रसको सुगन्ध आउने र तीतोपन कम रहने कम्पनीको दाबी छ । कम्पनीले ‘ठमेल’लाई क्रिस्पी स्वाद र क्लिन फिनिस भएको लागरका रूपमा बजारमा ल्याएको जनाएको छ । बियरको नाम र प्याकेजिङ काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेलबाट प्रेरित रहेको कम्पनीले जनाएको छ । ठमेल बियरका प्रमुख कार्यकारी अधिकृत वैभव शर्माले ठमेलको वातावरण, ऊर्जा र अनुभवलाई बियरमार्फत प्रस्तुत गर्ने उद्देश्यले नयाँ उत्पादन बजारमा ल्याइएको बताए । ‘ठमेल’ ६५० मिलिलिटर र ३३० मिलिलिटरका बोतलमा उपलब्ध छ । कम्पनीका अनुसार ६५० मिलिलिटरको मूल्य ४५० रुपैयाँ र ३३० मिलिलिटरको मूल्य २३० रुपैयाँ तोकिएको छ । हाल यो बियर काठमाडौंसहित पोखरा, बुटवल, भैरहवा र धरानका चयनित बिक्री केन्द्रमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । आगामी दिनमा देशभर बजार विस्तार गर्ने योजना कम्पनीको छ ।

ट्रम्प-नेतान्याहू सत्तामा हुन्जेल हर्मुज स्ट्रेट नखोल्ने इरानको दावी

काठमाडौं । इरानका सर्वोच्च नेता मोज्तबा खामेनेईका राजनीतिक सल्लाहकार मोहम्मद बाकिर जोल्कदरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा रहुन्जेल आफ्नो देशले हर्मुज स्ट्रेट खोल्ने कुनै सोंच नरहेको बताएका छन् । इरानी समाचार एजेन्सीहरूले बिहीबार (हिजो) प्रकाशित गरेको उनको भनाइमा जोल्कदरले भनेका छन्, ‘इरानले आक्रामक शत्रुको शक्ति तोड्ने र अहंकारी शक्तिहरूको कम्मर भाँच्ने निर्णय गरेको छ ।’ उनका अनुसार डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई सत्ताबाट नहटाइएसम्म हर्मुज स्ट्रेट खोलिने छैन । उनले यसलाई इरानको प्रतिशोधात्मक कारबाहीको पहिलो चरण भएको बताएका छन् । बीबीसी पर्सियनका अनुसार एकातिर डोनाल्ड ट्रम्प इरानसँगको युद्ध वा वार्ताबारे पटक–पटक र कहिलेकाहीँ परस्पर विरोधाभासी अभिव्यक्ति दिइरहेका छन् भने अर्कोतर्फ इरानभित्र अमेरिकासँगको सैन्य टकराव जारी राख्ने वा वार्ताको बाटो अपनाउने भन्ने विषयमा मतभेद गहिरिँदै गएको छ । इरानका केही शीर्ष राजनीतिक नेताहरूले अमेरिकासँग इस्लामाबाद सम्झौता कार्यान्वयन गर्न र त्यसलाई युद्ध अन्त्य गर्ने एउटा सर्तका रूपमा स्वीकार गर्न अपिल गरिरहेका छन् । त्यस्ता नेताहरूमा राष्ट्रपति मसुद पेजेस्कियान र संसद् अध्यक्ष मोहम्मद बाकेर गालिबाफ पनि छन् । तर, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) का सैनिक तथा कमान्डरसहितका कट्टरपन्थी समूहले भने युद्ध जारी राख्नु र हर्मुज स्ट्रेट बन्द गर्नु अमेरिका तथा इजरायलको सामना गर्ने बढी प्रभावकारी रणनीति भएको बताइरहेका छन् । यसैबीच, बढ्दो महँगी, आर्थिक प्रतिबन्ध र इरानका दक्षिणी बन्दरगाहमा जारी नौसैनिक नाकाबन्दीका कारण सर्वसाधारणको दैनिक जीवन थप कठिन बन्दै गएको छ । अन्तर्राष्ट्रिय मुद्राको तुलनामा इरानी रियालको अवमूल्यनले मानिसहरूको आर्थिक समस्या झन् बढाएको छ ।

राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले शुक्रबार २८ दिनका लागि ३० अर्ब रुपैयाँको एकमहिने निक्षेप संकलन उपकरणको बोलकबोल गर्न लागेको हो । बोलकबोल असोज २ गते दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत हुने राष्ट्र बैंकले जनाएको छ । यस उपकरणको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । साँवा तथा ब्याज भुक्तानी असोज ३० गते गरिनेछ । बोल गर्न सकिने न्यूनतम रकम १० करोड रुपैयाँ तोकिएको छ भने त्यसपछि १० करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिनेछ । निक्षेप संकलनको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागी हुन पाउनेछन् । सहभागी संस्थाले आफूले जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नुपर्नेछ । राष्ट्र बैंकले निक्षेप संकलनका लागि प्राप्त बोलमध्ये सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता दिँदै आह्वान गरिएको रकमसम्म क्रमशः बाँडफाँट गर्नेछ । समान ब्याजदरमा परेको बोल रकम आह्वान गरिएको रकमभन्दा बढी भएमा समानुपातिक आधारमा बाँडफाँट गरिनेछ । स्वीकृत बोलपत्रबापतको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको राष्ट्र बैंकमा रहेको खाताबाट कट्टा गरी छुट्टै खातामा जम्मा गरिनेछ । भुक्तानीको दिन साँवा र निर्धारित ब्याजसहित रकम सम्बन्धित बैंकको राष्ट्र बैंकस्थित खातामा जम्मा गरिनेछ । राष्ट्र बैंकका अनुसार यस्तो निक्षेप रकम अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, राष्ट्र बैंकको निर्देशनअनुसार कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपातमा भने गणना गर्न पाइनेछ । निक्षेप संकलन गरिएको रकम भुक्तानी मितिभन्दा अगाडि फिर्ता वा समयअगावै भुक्तानी गर्न सकिने छैन । राष्ट्र बैंकले बोलकबोलको सम्पूर्ण वा आंशिक रकम स्वीकार वा अस्वीकार गर्ने अधिकार मौद्रिक व्यवस्थापन विभाग तथा खुला बजार कारोबार सञ्चालन समितिलाई रहने जनाएको छ ।

१५ वर्षदेखि रुग्ण कमला पुल, अब दुई महिनाभित्र सञ्चालनमा ल्याइने

काठमाडौं । १५ वर्षदेखि रुग्ण आयोजनाका रूपमा रहेको कमला नदीको पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । मधेशको मेरुदण्डका रूपमा रहेको हुलाकी राजमार्गअन्तर्गत निर्माणाधीन कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।  पूर्वाधार विकास मन्त्रालयले रुग्ण आयोजनाको मुख्य समस्या पहिचान गरी निर्माण कम्पनीलाई आवश्यक सहजीकरण गरेपछि पुल निर्माणको बाँकी कामले गति लिएको हो । ठेकेदार कम्पनी र बीमा कम्पनीबीचको कानुनी विवादका कारण आयोजना लामो समयदेखि रुग्ण अवस्थामा थियो ।  नदीमा भाँचिएको दशौँ नम्बरको पिलर उठाउने काम सम्पन्न भएको छ भने सब स्ट्रक्चरको ढलान कार्यसमेत सकिएको छ । पुलको फाउन्डेसनसहित तीनवटा पिलरको सबलीकरणको काम सम्पन्न भइसकेको छ । अब सुपर स्ट्रक्चरको स्ल्याबमाथि ढलान गर्ने काम मात्र बाँकी छ । आगामी हप्ता नदीमा पानीको सतह घटेपछि सो कामसमेत सम्पन्न हुनेछ । धनुषातर्फ पुलसम्मको पहुँच सडकका लागि माटो भरिए पनि वर्षाको पानीले बगाएर क्षति पुगेको छ । नदीमा पानीको सतह घटेपछि पुन माटो भर्ने काम सम्पन्न गरिनेछ । सिराहातर्फ पुलको पहुँच सडकमा माटो भर्ने काम भने सम्पन्न भइसकेको छ। यसैगरी, पुलको लोड परीक्षणसमेत सम्पन्न भईसकेको छ ।  अबको दुई महिनाभित्र पुललाई औपचारिक रूपमा सञ्चालनमा ल्याउने गरी निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । २०६८ सालमा पप्पु लुम्बिनी जेभीले पुल निर्माणको ठेक्का लिएको थियो । २०७८ साल असारमा पुल उद्घाटनको तयारी भइरहेका बेला पिलर भाँचिएपछि आयोजना रुग्ण अवस्थामा पुगेको थियो । सरकारले आयोजनामा भइरहेको ढिलाइको मुख्य समस्या पहिचान गरी आवश्यक सहजीकरण गरेपछि पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हो । मन्त्रालयले पुल निर्माणसँगै कमला नदी नियन्त्रणको कामसमेत अघि बढाएको छ । नदी नियन्त्रणका लागि सरकारले २५ करोड रुपैयाँ बजेट सुनिश्चित गरिसकेको छ । डिजाइन स्वीकृत गरी आह्वान गरिएको टेन्डरमा जेभीसहित १९ वटा कम्पनीले सहभागिता जनाएका छन् । आगामी हप्ता प्राविधिक मूल्याङ्कन सम्पन्न गरी आर्थिक प्रस्ताव खोल्ने सूचना जारी गर्ने मन्त्रालयको तयारी छ ।

एक सातापछि गोकर्णेश्वरमा शव व्यवस्थापन सुरु

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा राखिएको शव एक सातापछि प्रहरीले पुनः शव व्यवस्थापन गर्न थालेको छ । शिक्षण अस्पतालको शव गृहमा राखिएको ५५ वटा शव गोकर्णेश्वरमा शव व्यवस्थापन गर्न थालिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता दानबहादुर थापाले जानकारी दिए । ' शव व्यवस्थापन गर्ने ठाउँको खोजी भइरहेको छ। शव व्यवस्थापनका लागि नयाँ ठाउँ नभेटिएपछि पुनः गोकर्णेश्वरमा लगेर व्यवस्थापन गर्न थालिएको हो,' उनले भने । अस्पतालको शव गृहमा अहिले थप शव आएका छैनन् । शव गृहमा राखिएका पुरानै शवलाई व्यवस्थापन गर्न लागिएको अस्पतालको शव गृह परिसरमा रहेका एसपी प्रदीप सिंहले जानकारी दिए । एक साताअघि रसुवाको भोंटेकोशी बाढीमा परेर ज्यान गुमाएकाहरूको शव जंगलमा राख्ने ठाउँ अभाव भएको थियो । गोकर्णेश्वरको जंगलमा राख्दै आएका शवहरू ठाउँ अभाव हुँदा व्यवस्थापन गर्न नसकिएकाले अस्पतालमा राख्नु परिरहेको नेपाल प्रहरीले जनाएको थियो । अस्पतालमा राखिएको शवबाट दुर्गन्ध फैलिइरहेको छ । शव व्यवस्थापनका लागि ठाउँको खोजी भइरहेको थियो । ठाउँ नभेटिएपछि पुनः गोकर्णेश्वरमा लगेर राखिएको हो । त्रिवि शिक्षण अस्पतालमा राखिएको २ सय ३१ वटा शव व्यवस्थापन भइसकेको एसपी सिंहले जानकारी दिए । अस्पतालमा रसुवा, नुवाकोट र धादिङबाट २ सय ९८ वटा शव आएको छ । अस्पतालमा हाल ५५ वटा शव रहेको उनले बताए । उनका अनुसार मृतकका आफन्तले २५ वटा शव पहिचान गरेर लगिसकेका छन् ।  अस्पतालमा पछिल्लो केही दिनयता शव आउन छाडेको उनले जानकारी दिए । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण शुक्रबार ११  बजे सम्म १ हजार ४ सय १० जनाको शव फेला परेको छ । रसुवामा १ सय ९९ जना, नुवाकोटमा २ सय ३ जना, धादिङमा ७२ जना, चितवनमा ३ सय ६४ जना, गोरखामा ७८ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्‍चिममा २ सय २२ जना गरी १ हजार ४ सय ८ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।  फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार २ सय ४६ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ९ सय ९१ गरी कुल ३ हजार २ सय ७७ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ३ सय ६२ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।  बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ ।  हालसम्म बेपत्ता भएका ४ हजार ९० जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार ८ सय ६ जना व्यक्तिहरूलाई राखिएको छ । 

अधिवेशन प्रक्रिया अघि नबढाएको भन्दै कांग्रेसका चार जिल्ला सभापतिको जिम्मेवारी खोसियो

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले १५औं महाधिवेशनअन्तर्गतको अधिवेशन प्रक्रिया अघि बढाउन असहयोग गरेको भन्दै चार जिल्लाका जिल्ला सभापतिको जिम्मेवारी खोसेको छ । पार्टीले उनीहरूको स्थानमा नयाँ नेतालाई कार्यवाहक जिल्ला सभापतिको जिम्मेवारी दिएको हो । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार कञ्चनपुर, मुगु, डोटी र बागलुङका जिल्ला सभापतिको जिम्मेवारी परिवर्तन गरिएको हो । जिम्मेवारी खोसिएका चारैजना सभापति पूर्वसभापति शेरबहादुर देउवानिकट मानिन्छन् । कांग्रेसले कञ्चनपुरका सभापति पदम बोगटीको जिम्मेवारी खोसेर हरिचन्द्र रानालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ । त्यस्तै, मुगुका सभापति ऐनबहादुर शाहीको स्थानमा हरिजंग शाहीलाई जिम्मेवारी दिइएको छ । त्यसैगरी डोटीका सभापति नरेन्द्रबहादुर सिंहको जिम्मेवारी नारायणबहादुर बलायरलाई दिइएको छ भने बागलुङका सभापति जित शेरचनको स्थानमा तारानाथ पौडेललाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकिएको छ । पार्टीले १५औं महाधिवेशनअन्तर्गतका अधिवेशन प्रक्रिया अघि बढाउन सम्बन्धित जिल्ला नेतृत्वलाई निर्देशन दिँदै आएको थियो। तर तोकिएको प्रक्रियामा अघि नबढेपछि जिल्ला नेतृत्व परिवर्तन गरिएको कांग्रेसको भनाइ छ । जिम्मेवारी खोसिएका जिल्ला सभापतिहरू पूर्वसभापति देउवानिकट रहेकाले पछिल्लो निर्णयलाई कांग्रेसभित्र संस्थापन र पूर्वसंस्थापन पक्षबीचको विवादसँग जोडेर हेरिएको छ । यद्यपि, पार्टी कार्यालयले भने निर्णयको आधारका रूपमा महाधिवेशन प्रक्रिया अघि बढाउन आवश्यक सहजीकरण नभएको विषयलाई उल्लेख गरेको छ । चार जिल्लामा नयाँ कार्यवाहक सभापति तोकिएसँगै अब ती जिल्लामा रोकिएको अधिवेशन प्रक्रिया अघि बढाउने जिम्मेवारी उनीहरूलाई दिइएको छ । यस निर्णयले कांग्रेसको १५औं महाधिवेशनको तयारीसँगै पार्टीभित्रको आन्तरिक शक्ति संघर्षसमेत थप स्पष्ट रूपमा सतहमा ल्याएको छ ।

यात्री पी२ को मूल्य सार्वजनिक, ३ लाख २९ हजार ९ सयबाट सुरु

काठमाडौं । सिप्रदी यात्रीले नेपालमै इन्जिनियरिङ तथा उत्पादन गरिएको नयाँ विद्युतीय स्कुटर यात्री पी२ को मूल्य सार्वजनिक गरेको छ । कम्पनीका अनुसार पी२ को सुरुवाती मूल्य ३ लाख २९ हजार ९ सय रुपैयाँ तोकिएको छ । ग्राहकले आफ्नो आवश्यकता र रुचिअनुसार ब्याट्री क्षमता, रङ, आराम तथा कनेक्टिभिटीका विभिन्न विकल्प छनोट गर्न सक्नेछन् । नेपालका विभिन्न भौगोलिक अवस्था र सडकलाई ध्यानमा राखेर विकास गरिएको पी२ शहरी यात्राका साथै उकालो, घुम्ती सडक, दैनिक ट्राफिक र लामो दूरीको यात्राका लागि समेत डिजाइन गरिएको कम्पनीले जनाएको छ । स्कुटरमा मिड–ड्राइभ मोटर प्रयोग गरिएको छ, जसले पांग्रामा ३१५ एनएम टर्क उत्पादन गर्ने कम्पनीको दाबी छ । यसमा एक्टिभली कुल्ड हाई–पावर कन्ट्रोलर, उच्च मजबुतीको स्टिल च्यासिस, लामो ट्राभल सस्पेन्सन र १४ इन्चका पांग्रा प्रयोग गरिएको छ । सुरक्षाका लागि डुअल डिस्क ब्रेक र कम्बाइन्ड ब्रेकिङ सिस्टम दिइएको छ । पी२ मा ग्राहकले आफ्नो आवश्यकता अनुसार तीनवटा ब्याट्री विकल्पमध्ये छनोट गर्न सक्नेछन् । ३.० किलोवाट घण्टाको ब्याट्रीले वास्तविक शहरी अवस्थामा ९० किलोमिटरसम्म, ३.७ किलोवाट घण्टाको ब्याट्रीले ११२ किलोमिटरसम्म र ५.२ किलोवाट घण्टाको ब्याट्रीले १५७ किलोमिटरसम्म रेन्ज दिने कम्पनीले जनाएको छ । थप रेन्ज आवश्यक पर्ने ग्राहकका लागि एक्स्टेन्डर प्याकमार्फत थप ५० किलोमिटरसम्म रेन्ज लिन सकिनेछ । ब्याट्रीमा ८ वर्ष वा ८० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराइएको छ । स्कुटरमा अनबोर्ड चार्जर जडान गरिएको छ। ब्याट्रीको क्षमताअनुसार घरमै २.५ घण्टाभन्दा कम समयमा चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । पी२ ले फास्ट चार्जिङसमेत समर्थन गर्ने र उपयुक्त चार्जिङ अवस्थामा करिब ४१ मिनेटमा चार्ज गर्न सकिने कम्पनीको दाबी छ । शहरबाहिर यात्रा गर्ने ग्राहकलाई सहज बनाउन कम्पनीले देशभर आफ्नो चार्जिङ नेटवर्क विस्तार गरिरहेको जनाएको छ । पी२ मा ७ इन्चको टचस्क्रिन डिस्प्ले राखिएको छ । यसमा वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटोको सुविधा रहेको कम्पनीले जनाएको छ । डिस्प्लेमार्फत नेभिगेसन तथा आवश्यक राइडिङसम्बन्धी जानकारी हेर्न सकिनेछ । मोबाइल एपमार्फत लाइभ स्कुटर ट्र्याकिङ, वास्तविक समयको चार्जिङ अवस्था, रुट योजना तथा सर्भिस बुकिङ गर्न सकिनेछ । प्रोक्सिमिटी डिटेक्सन प्रविधिका कारण चाबीबिना स्कुटर सञ्चालन गर्न सकिने सुविधा पनि दिइएको छ । पी२ एद्दमा विभिन्न राइडिङ मोड, स्मार्ट चार्जिङ मोड, बहुस्तरीय रिजेनेरेटिभ ब्रेकिङ, हिल होल्ड र क्रुज कन्ट्रोलजस्ता सुविधा पनि छन् । सुरक्षाका लागि एलईडी हेडलाम्प, रिजेनेरेटिभ ब्रेकिङसँगै सक्रिय हुने टेललाइट, एन्टी–थेफ्ट सूचना र मोटर लकजस्ता सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ । ग्राहकले अनलाइन कन्फिगुरेटरमार्फत स्कुटरको रङ, ब्याट्री क्षमता, आराम तथा कनेक्टिभिटीका विभिन्न विकल्प छनोट गरी आफूअनुकूलको स्कुटर तयार गर्न सक्नेछन् । काठमाडौंको टेकुमा रहेको सिप्रदी यात्रीको नयाँ एक्सपेरियन्स सेन्टर अक्टोबर २०२६ को पहिलो सातादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । त्यहाँ ग्राहकले स्कुटर प्रत्यक्ष हेर्न, परीक्षण गर्न तथा बुकिङ गर्न सक्नेछन् । कम्पनीका अनुसार ३.७ र ५.२ किलोवाट घण्टा ब्याट्री भएका भेरियन्टको डेलिभरी अक्टोबरको मध्यदेखि नोभेम्बरसम्म सुरु हुनेछ भने अन्य भेरियन्टको डेलिभरी डिसेम्बर २०२६ देखि सुरु गर्ने तयारी छ । पी२ सिप्रदी यात्रीको दुई वर्षभन्दा लामो विकास यात्राको परिणाम भएको कम्पनीले जनाएको छ । यसमा सवारी इन्जिनियरिङ, ब्याट्री प्रविधि, इलेक्ट्रोनिक्स, सफ्टवेयर र कनेक्टेड मोबिलिटीलाई एउटै प्लेटफर्ममा समेटिएको कम्पनीको भनाइ छ ।