धान उत्पादन बढाउँदै खाद्यान्नमा आत्मनिर्भर बन्नुपर्छ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । सभापति थापाले धान उत्पादन वृद्धि, कृषि आधुनिकीकरण र जलवायुमैत्री प्रविधिको विस्तारमार्फत देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् । सोमबार शुभकामना सन्देश जारी गर्दै थापाले नेपाल कृषि प्रधान देश भएकोले कृषि नै सभ्यता, संस्कृति र अर्थतन्त्रको प्रमुख आधार रहेको उल्लेख गरेका छन् । खेतमा पसिना बगाएर राष्ट्रको खाद्य सुरक्षा सुनिश्चित गर्ने किसानप्रति सम्मान व्यक्त गर्दै उनले किसानको श्रम र योगदानलाई राज्यले उच्च प्राथमिकता दिनुपर्ने बताएका छन् । उनले असार १५ केवल धान रोपाइँको दिन मात्र नभई नेपाली किसानको श्रम, सङ्घर्ष, आशा र आत्मनिर्भरताको उत्सव भएको उल्लेख गरेका छन् । खेतमा रोपिने प्रत्येक धानको बिरुवासँग किसानका सपना, परिवारको भविष्य र राष्ट्रको समृद्धि जोडिएको उनको भनाइ छ । थापाले नेपालको संविधानले खाद्यसम्बन्धी हकलाई मौलिक अधिकारका रूपमा प्रत्याभूत गरेको स्मरण गराउँदै धानको उत्पादकत्व वृद्धि गर्नु कृषि क्षेत्रको मात्र नभई नागरिकको खाद्य अधिकार सुनिश्चित गर्ने दायित्व पनि भएको बताएका छन् । यद्यपि हरेक वर्ष किसानले बीउ, मल, सिँचाइ सुविधा र उत्पादनको उचित मूल्य नपाउने समस्याबाट गुज्रिनुपरेको उल्लेख गर्दै उनले नेपालको धान खेती अझै पनि वर्षा र आकाशे पानीमा अत्यधिक निर्भर रहेको यथार्थ औँल्याएका छन् । समयमै वर्षा नहुँदा उत्पादन घट्ने र अत्यधिक वर्षाले पनि किसानले ठूलो क्षति व्यहोर्नुपरेको भन्दै जलवायु परिवर्तनले कृषि क्षेत्रमा थप चुनौती सिर्जना गरेको उनको भनाइ छ । यस वर्षको राष्ट्रिय धान दिवसको नारा जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धिलाई स्मरण गर्दै थापाले परम्परागत र जोखिमयुक्त खेती प्रणालीबाट माथि उठेर मौसमअनुकूल तथा वातावरणमैत्री कृषि प्रविधिको विस्तार गर्नु अहिलेको आवश्यकता भएको बताएका छन् । जलवायुमैत्री प्रविधिको प्रयोगले प्रतिकूल मौसमका बीच पनि धान उत्पादन बढाउन सहयोग पुग्ने, बढ्दो चामल आयात घटाउने तथा खाद्य सम्प्रभुता र राष्ट्रिय स्वाधीनता सुदृढ बनाउन योगदान पुग्ने उनको विश्वास छ ।
सडक र पुल बनेपछि डोल्पाबाट एकै दिनमा काठमाडौं
काठमाडौं । डोल्पामा निर्माणाधीन २३०.३५ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत् परियोजनाले विद्युत् उत्पादन मात्रै होइन, कर्णाली प्रदेशको आर्थिक, सामाजिक र पूर्वाधार विकासमा नयाँ अध्याय सुरु गरेको छ । परियोजनाले सडक, पुल, पर्यटन र स्थानीय रोजगारीमा उल्लेखनीय परिवर्तन ल्याएको दाबी गरिएको छ । जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाका अनुसार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत निर्माण भइरहेको यो आयोजना सरकारी स्वामित्व, स्थानीय सहभागिता र स्वदेशी वित्तीय स्रोतको संयोजनमा अघि बढिरहेको मुलुककै नमूना परियोजना हो । कम्पनीले डोल्पाको जगदुल्ला र मुड्केचुला गाउँपालिकामा १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजना र १२४.३५ मेगावाटको जगदुल्ला-ए आयोजना निर्माण गरिरहेको छ । दुवैबाट कुल २३०.३५ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । परियोजनाले आफ्नै लगानीमा भेरी नदीमाथि १०० मिटर लामो पक्की पुल निर्माण गरेको छ भने त्रिवेणी–मुड्केचुला-जगदुल्ला सडकको कठिन भिरमा ट्र्याक खोल्ने र पहुँच मार्गमा १० वटा बेली ब्रिज जडान गर्ने काम पनि सम्पन्न गरेको छ । यी संरचनाले आयोजना मात्रै नभई स्थानीय बासिन्दाको दैनिक जीवनलाई समेत सहज बनाएको कम्पनीको भनाइ छ । सापकोटाका अनुसार केही वर्षअघिसम्म नेपालगञ्जबाट डोल्पा पुग्न तीन दिनभन्दा बढी समय लाग्थ्यो भने वर्षायाममा यातायात लगभग ठप्प हुने अवस्था थियो । अहिले भने एकै दिनमै डोल्पा पुग्न सकिने अवस्था बनेको छ । डोल्पाको सदरमुकाम दुनैबाट काठमाडौंसम्म रात्रिबस सञ्चालन हुने वातावरणसमेत तयार भएको उनले बताए । परियोजनाबाट पर्यटन क्षेत्रले पनि दीर्घकालीन लाभ लिने अपेक्षा गरिएको छ। रारा, शे–फोक्सुण्डो, जगदुल्ला ताल, उपल्लो डोल्पा, जुम्ला र मुगुसम्म पुग्ने वैकल्पिक तथा छोटो मार्ग विस्तारसँगै कर्णालीको पर्यटन सम्भावना थप बढ्ने विश्वास गरिएको छ । आयोजना सञ्चालनमा आएपछि संघीय सरकारले वार्षिक करिब १९ करोड ५० लाख रुपैयाँ, कर्णाली प्रदेश सरकारले ९ करोड ५० लाख रुपैयाँ र स्थानीय तहहरूले पनि ९ करोड ५० लाख रुपैयाँ रोयल्टी प्राप्त गर्ने अनुमान गरिएको छ । यसले स्थानीय अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा छ । हाल १०६ मेगावाट क्षमताको मुख्य आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन, जग्गा अधिग्रहण, विद्युत् खरिद-बिक्री सम्झौता (पीपीए), वित्तीय व्यवस्थापन र आवश्यक अनुमतिपत्रको प्रक्रिया पूरा भइसकेको छ । मुख्य निर्माण कम्पनीसँग २०८२ साउन २६ गते सम्झौता भएपछि भौतिक निर्माण कार्य औपचारिक रूपमा अघि बढेको हो । १२४.३५ मेगावाटको जगदुल्ला-ए आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन सम्पन्न भइसकेको छ भने वातावरणीय अध्ययन, पीपीए, वित्तीय व्यवस्थापन र अनुमतिपत्रको प्रक्रिया अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ । यो आयोजना सरकारी निकायहरूको बहुमत स्वामित्वमा निर्माण हुने पहिलो जलविद्युत् परियोजनामध्ये एक हो । कम्पनीमा सरकारी निकाय, कर्णाली प्रदेश सरकार र स्थानीय तहको ५१ प्रतिशत तथा सर्वसाधारणको ४९ प्रतिशत शेयर स्वामित्व रहनेछ । स्थानीय बासिन्दाका लागि १० प्रतिशत शेयर छुट्याइएको छ भने प्रसारण लाइनको ’राइट अफ वे’ भित्र पर्ने जग्गाधनीलाई थप ३ प्रतिशत शेयर दिने व्यवस्था गरिएको छ । परियोजनामा करिब १६ अर्ब ६६ करोड रुपैयाँ ऋण लगानी स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट जुटाइएको छ । नबिल बैंक, कर्मचारी सञ्चय कोष, एचआईडीसीएल, लक्ष्मी सनराइज बैंक, एभरेस्ट बैंक र एनआईसी एशिया बैंकको सहभागितामा वित्तीय व्यवस्थापन गरिएको कम्पनीले जनाएको छ ।
पुँजी बजारको विकासमा इमान्दार भएर काम गर्छु : अध्यक्ष भट्ट
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष डा. गोपाल भट्टले पुँजी बजारको विकासमा इमानदारीपूर्वक काम गर्ने बताएका छन् । सोमबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेबाट नेपाल धितोपत्र बोर्डको अध्यक्षका रुपमा पद तथा गोपनीयताको शपथ लिँदै उनले सरकार र अर्थमन्त्रीको योजनाअनुसार पुँजी बजारको विकासमा इमानदारीपूर्वक काम गर्ने बताएका हुन् । आफ्नो ज्ञान, अनुभव र सीपलाई पूर्ण रूपमा बजारका लगानीकर्ताको हित र सरकारको आर्थिक वृद्धिको लक्ष्यलाई सघाउने गरी प्रयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । पुँजीबजार सुधारका लागि विभिन्न समयमा भएका अध्ययन र सिफारिसहरू कार्यान्वयन गर्दै बजारको विकासमा निरन्तर काम गर्ने उनको भनाइ छ । असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । शपथपछि अर्थमन्त्री डा.वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्न निर्देशन पनि दिएका थिए ।
'हस्तक्षेप हुँदैन, लगानीकर्ताको सुरक्षा गर्नू'
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । बोर्डका नवनियुक्त अध्यक्ष डा.गोपालप्रसाद भट्टलाई सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा उनले पद तथा गोपनीयताको शपथ गराएका हुन् । असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । शपथपछि अर्थमन्त्री डा.वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्न निर्देशन पनि दिए । कुनै पनि प्रकारका लोभ र प्रलोभनबाट टाढा रहेर काम गर्न पनि उहाँले अध्यक्ष भट्टलाई निर्देशन दिए । लगानीकर्ताको लगानीको सुरक्षा र बजारमा पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको लय समाउन नवनियुक्त अध्यक्षले विशेष ध्यान दिनुपर्ने पनि उनको भनाइ छ । ‘कुनै पनि लोभ र प्रभावमा नपरी पुँजीबजारका लगानीकर्ताको लगानीको सुरक्षा गर्नुहोस्,’ अर्थमन्त्री डा.वाग्लेले भने ‘म साथमा छु । सरकारले सबैखाले सहयोग गर्छ । पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको बाटो समात्ने वातावरण बनाउनुहोस् ।’ अर्थमन्त्री डा. वाग्लेले पुँजी बजार सुधारका कामहरू गर्न हरेक दिन, हप्ता, महिना, ६ महिना र एक वर्षका योजना के हुन्, त्यो पेस गर्न पनि नवनियुक्त अध्यक्ष भट्टलाई निर्देशन दिए । बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामाथि त्रास सिर्जना गरिएको भन्दै अर्थमन्त्री वाग्लेले त्यसलाई चिर्न पनि अध्यक्ष भट्टलाई निर्देशन दिए । उनले बोर्ड अध्यक्ष भट्टलाई धेरै बोलेर नभई कामले प्रमाणित गर्न पनि आग्रह गरे । ‘पुँजी बजार सुधारका योजनाहरू समयसीमा बनाएर कार्यान्वयन गर्नुहोस् । बजारमा कन्फिडेन्स बढाउँदै लगेर नियमनको भूमिका कुशलतापूर्वक निभाउनुहोस्,’ अर्थमन्त्रीले भने, ‘मन्त्रालयबाट कुनै प्रकारको हस्तक्षेप हुँदैन । धेरै बोलेर होइन, नतिजामा काम गर्नुहोस् । मलाई हरेक हप्ता बजारको ब्रिफिङ चाहिन्छ ।’ कार्यक्रममा बोल्दै नवनियुक्त बोर्ड अध्यक्ष भट्टले सरकार र अर्थमन्त्रीज्यूको योजनाअनुसार पुँजी बजारको विकासमा इमानदारीपूर्वक काम गर्ने बताए । आफ्नो ज्ञान, अनुभव र सिपलाई पूर्ण रूपमा बजारका लगानीकर्ताको हित र सरकारको आर्थिक वृद्धिको लक्ष्यलाई सघाउने गरी प्रयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । पुँजीबजार सुधारका लागि विभिन्न समयमा भएका अध्ययन र सिफारिसहरू कार्यान्वयन गर्दै बजारको विकासमा निरन्तर काम गर्ने उनको भनाइ छ ।
१४ सय रुपैयाँले घट्यो सुन, चाँदी पनि सस्तियो
काठमाडौं । नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्य घटेको छ । आइतबार एकैदिन प्रतितोला ५ हजार ७ सय रुपैयाँले उकालो लागेको सुन सोमबार भने प्रतितोला एक हजार ४ सय रुपैयाँले घट्दै दुई लाख ८२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला दुई लाख ८३ हजार आठ सय रुपैयाँ पुगेको छापावाल सुनको मूल्य सोमबार केही घटेर दुई लाख ८२ हजार चार सय रुपैयाँ कायम भएको हो । चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ । आइतबार प्रतितोला चार हजार तीन सय २५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १५ रुपैयाँले घटेर चार हजार तीन सय १० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
हरेक हप्ता बजारको ब्रिफिङ दिन सेबोन अध्यक्षलाई अर्थमन्त्रीको निर्देशन
काठमाडाै । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष गोपालप्रसाद भट्टलाई हरेक हप्ता बजारको बिफिङ मागेका छन् । सोमबार भट्टलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएपछि अर्थमन्त्री डा वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई बजारको ब्रिफिङ मागेका हुन् । ‘पुँजीबजार सुधारका योजनाहरू समयसीमा बनाएर कार्यान्वयन गर्नुहोस् । बजारमा आत्मविश्वास बढाउँदै लगेर नियमनको भूमिका कुशलतापूर्वक निभाउनुहोस्, अर्थभन्त्रीले भने, ‘मन्त्रालयबाट कुनै प्रकारको हस्तक्षेप हुँदैन । धेरै बोलेर होइन, नतिजामा काम गर्नुहोस् । मलाई हरेक हप्ता बजारको ब्रिफिङ चाहिन्छ ।’ शपथपछि अर्थमन्त्री डा वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्न निर्देशन पनि दिए । लगानीकर्ताको लगानीको सुरक्षा र बजारमा पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको लय समाउन नवनियुक्त अध्यक्षले विशेष ध्यान दिनुपर्ने पनि मन्त्री डा वाग्लेको भनाइ छ । ‘कुनै पनि लोभ र प्रभावमा नपरी पुँजीबजारका लगानीकर्ताको लगानीको सुरक्षा गर्नुहोस्, अर्थमन्त्री डा वाग्लेले भने, ‘म साथमा छु । सरकारले सबैखाले सहयोग गर्छ । पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको बाटो समात्ने वातावरण बनाउनुहोस् ।’ अर्थमन्त्री डा वाग्लेले पुँजीबजार सुधारका कामहरू गर्न हरेक दिन, हप्ता, महिना, छ महिना र एक वर्षका योजना के हुन्, त्यो पेस गर्न पनि नवनियुक्त अध्यक्ष भट्टलाई निर्देशन दिए । बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामाथि त्रास सिर्जना गरिएको भन्दै अर्थमन्त्री वाग्लेले त्यसलाई चिर्न पनि अध्यक्ष भट्टलाई निर्देशन दिए । नवनियुक्त बोर्ड अध्यक्ष भट्टले सरकार र अर्थमन्त्रीज्यूको योजनाअनुसार पुँजीबजारको विकासमा इमानदारीपूर्वक काम गर्ने बताए । आफ्नो ज्ञान, अनुभव र सीपलाई पूर्ण रूपमा बजारका लगानीकर्ताको हित र सरकारको आर्थिक वृद्धिको लक्ष्यलाई सघाउने गरी प्रयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । पुँजीबजार सुधारका लागि विभिन्न समयमा भएका अध्ययन र सिफारिसहरू कार्यान्वयन गर्दै बजारको विकासमा निरन्तर काम गर्ने उनको भनाई छ । यही असार ५ गतेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।
८१०० एमएएच ब्याट्री भएको भिभो वाई५०० नेपाली बजारमा
काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले नेपाली बजारमा नयाँ भिभो वाई५०० सार्वजनिक गरेको छ । कम्पनीका अनुसार स्मार्टफोनमा ८१०० एमएएच क्षमताको ब्लुभोल्ट ब्याट्री, १.५के एमोलेड डिस्प्ले र ५० मेगापिक्सेलको मुख्य क्यामेरा जस्ता विशेषता समावेश गरिएका छन् । भिभो वाई५०० पर्ल ह्वाइट र मिडनाइट ब्लु गरी दुई रंगमा उपलब्ध छ । स्लिम र एर्गोनोमिक डिजाइनमा तयार गरिएको यो स्मार्टफोनले प्रयोगकर्तालाई सहज ग्रिप र प्रिमियम अनुभव दिने कम्पनीको दाबी छ । कम्पनीका अनुसार भिभो वाई५०० मा रहेको ८१०० एमएएच ब्लुभोल्ट ब्याट्री अहिलेसम्मकै भिभोको सबैभन्दा ठूलो ब्याट्री क्षमता हो। यसमा ६ वर्षसम्मको ब्याट्री हेल्थ ग्यारेन्टी र ५० महिनासम्मको स्मुथ एक्सपेरियन्स सर्टिफिकेसन उपलब्ध गराइएको छ। एकपटक चार्ज गरेपछि लगातार १० घण्टासम्म गेम खेल्न सकिने कम्पनीले जनाएको छ। स्मार्टफोनमा १.५के इन्फिनिटी एमोलेड डिस्प्ले, १२० हर्ज रिफ्रेस रेट र ५ हजार निट्ससम्मको पिक ब्राइटनेस दिइएको छ। साथै, डुअल स्टेरियो स्पिकरले भिडियो हेर्दा र गेम खेल्दा उत्कृष्ट अडियो–भिजुअल अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ। भिभो वाई५०० मा ६ न्यानोमिटर प्रोसेसर जडान गरिएको छ, जसले दैनिक प्रयोग, मल्टिटास्किङ र गेमिङलाई सहज बनाउने कम्पनीले जनाएको छ। फोनमा आईपी६८ र आईपी६९ स्तरको धुलो तथा पानी प्रतिरोधी सुविधा रहेको छ। साथै, अन्डरवाटर फोटोग्राफी मोड, ५० मेगापिक्सेलको मुख्य क्यामेरा र ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा समावेश गरिएको छ। भिभोले ८ जीबी र्याम र १२८ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य ५४ हजार ९९९ रुपैयाँ तथा ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य ६१ हजार ९९९ रुपैयाँ तोकेको छ। स्मार्टफोन देशभरका आधिकारिक रिटेल स्टोर तथा दराजमार्फत खरिद गर्न सकिने कम्पनीले जनाएको छ।
बिनास्वीकृति गाडीमा कालो सिसा राखे १५ हजारसम्म जरिवाना
काठमाडौं । काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारीसाधनमा जडान गरिएको कालो सिसा (टिन्ट ग्लास) विरुद्ध ट्राफिक प्रहरीले विशेष अभियान सुरु गरेको छ । सुरक्षा जोखिम बढाएको भन्दै ट्राफिक प्रहरीले कालो सिसा प्रयोग गर्ने सवारीलाई रोक्दै हटाउन लगाउने र कानुनी कारबाही गर्ने अभियान तीव्र पारेको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार पछिल्लो समय निजी गाडी, माइक्रोबस र ट्याक्सीमा समेत कालो सिसाको प्रयोग बढेपछि निगरानी कडा पारिएको हो । अभियानअन्तर्गत हालसम्म ३७ वटा सवारीसाधनका धनीलाई कालो सिसा हटाउन लगाइएको छ भने उनीहरूमाथि आवश्यक कारबाहीसमेत गरिएको उनले बताए। ट्राफिक प्रहरीका अनुसार कालो सिसाले सवारीभित्रको गतिविधि बाहिरबाट देख्न कठिन हुने भएकाले यसलाई अपराधका लागि दुरुपयोग गर्ने जोखिम बढेको छ । यस्तो सिसाको प्रयोगबाट लागुऔषध, अवैध हतियार, सुन तथा अवैध मुद्रा ओसारपसार गर्न, फरार अभियुक्त लुकिछिपी हिँड्न तथा हिंसा र दुव्र्यवहारका घटना गराउन सहज हुने प्रहरीको भनाइ छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ अनुसार सम्बन्धित निकायको स्वीकृतिबिना सवारीको रंग, स्वरूप, सिट संख्या, इन्जिन वा चेसिसमा परिवर्तन गर्न पाइँदैन । यस्तो परिवर्तन गरेको पाइएमा सवारीलाई यातायात व्यवस्था विभागमा पठाइने र विभागले १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्था रहेको छ । यद्यपि, टिन्ट ग्लास जडान गरिएका सवारीका हकमा ट्राफिक प्रहरीले तत्काल कालो सिसा हटाउन लगाउने र आवश्यकतानुसार थप कारबाही गर्ने गरेको जनाएको छ । ट्राफिक प्रहरीले सवारीधनीलाई कानुनविपरीत कालो सिसा प्रयोग नगर्न आग्रह गर्दै अभियान आगामी दिनमा अझ प्रभावकारी बनाइने जनाएको छ । प्रहरीले यस्तो अभियानले सडक सुरक्षा, अपराध नियन्त्रण र कानुन कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।