काठमाडौं । सिप्रदी यात्रीले नेपालमै इन्जिनियरिङ तथा उत्पादन गरिएको नयाँ विद्युतीय स्कुटर यात्री पी२ को मूल्य सार्वजनिक गरेको छ । कम्पनीका अनुसार पी२ को सुरुवाती मूल्य ३ लाख २९ हजार ९ सय रुपैयाँ तोकिएको छ । ग्राहकले आफ्नो आवश्यकता र रुचिअनुसार ब्याट्री क्षमता, रङ, आराम तथा कनेक्टिभिटीका विभिन्न विकल्प छनोट गर्न सक्नेछन् ।
नेपालका विभिन्न भौगोलिक अवस्था र सडकलाई ध्यानमा राखेर विकास गरिएको पी२ शहरी यात्राका साथै उकालो, घुम्ती सडक, दैनिक ट्राफिक र लामो दूरीको यात्राका लागि समेत डिजाइन गरिएको कम्पनीले जनाएको छ । स्कुटरमा मिड–ड्राइभ मोटर प्रयोग गरिएको छ, जसले पांग्रामा ३१५ एनएम टर्क उत्पादन गर्ने कम्पनीको दाबी छ । यसमा एक्टिभली कुल्ड हाई–पावर कन्ट्रोलर, उच्च मजबुतीको स्टिल च्यासिस, लामो ट्राभल सस्पेन्सन र १४ इन्चका पांग्रा प्रयोग गरिएको छ । सुरक्षाका लागि डुअल डिस्क ब्रेक र कम्बाइन्ड ब्रेकिङ सिस्टम दिइएको छ ।
पी२ मा ग्राहकले आफ्नो आवश्यकता अनुसार तीनवटा ब्याट्री विकल्पमध्ये छनोट गर्न सक्नेछन् । ३.० किलोवाट घण्टाको ब्याट्रीले वास्तविक शहरी अवस्थामा ९० किलोमिटरसम्म, ३.७ किलोवाट घण्टाको ब्याट्रीले ११२ किलोमिटरसम्म र ५.२ किलोवाट घण्टाको ब्याट्रीले १५७ किलोमिटरसम्म रेन्ज दिने कम्पनीले जनाएको छ । थप रेन्ज आवश्यक पर्ने ग्राहकका लागि एक्स्टेन्डर प्याकमार्फत थप ५० किलोमिटरसम्म रेन्ज लिन सकिनेछ । ब्याट्रीमा ८ वर्ष वा ८० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराइएको छ ।
स्कुटरमा अनबोर्ड चार्जर जडान गरिएको छ। ब्याट्रीको क्षमताअनुसार घरमै २.५ घण्टाभन्दा कम समयमा चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । पी२ ले फास्ट चार्जिङसमेत समर्थन गर्ने र उपयुक्त चार्जिङ अवस्थामा करिब ४१ मिनेटमा चार्ज गर्न सकिने कम्पनीको दाबी छ । शहरबाहिर यात्रा गर्ने ग्राहकलाई सहज बनाउन कम्पनीले देशभर आफ्नो चार्जिङ नेटवर्क विस्तार गरिरहेको जनाएको छ ।
पी२ मा ७ इन्चको टचस्क्रिन डिस्प्ले राखिएको छ । यसमा वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटोको सुविधा रहेको कम्पनीले जनाएको छ । डिस्प्लेमार्फत नेभिगेसन तथा आवश्यक राइडिङसम्बन्धी जानकारी हेर्न सकिनेछ । मोबाइल एपमार्फत लाइभ स्कुटर ट्र्याकिङ, वास्तविक समयको चार्जिङ अवस्था, रुट योजना तथा सर्भिस बुकिङ गर्न सकिनेछ । प्रोक्सिमिटी डिटेक्सन प्रविधिका कारण चाबीबिना स्कुटर सञ्चालन गर्न सकिने सुविधा पनि दिइएको छ ।
पी२ एद्दमा विभिन्न राइडिङ मोड, स्मार्ट चार्जिङ मोड, बहुस्तरीय रिजेनेरेटिभ ब्रेकिङ, हिल होल्ड र क्रुज कन्ट्रोलजस्ता सुविधा पनि छन् । सुरक्षाका लागि एलईडी हेडलाम्प, रिजेनेरेटिभ ब्रेकिङसँगै सक्रिय हुने टेललाइट, एन्टी–थेफ्ट सूचना र मोटर लकजस्ता सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
ग्राहकले अनलाइन कन्फिगुरेटरमार्फत स्कुटरको रङ, ब्याट्री क्षमता, आराम तथा कनेक्टिभिटीका विभिन्न विकल्प छनोट गरी आफूअनुकूलको स्कुटर तयार गर्न सक्नेछन् । काठमाडौंको टेकुमा रहेको सिप्रदी यात्रीको नयाँ एक्सपेरियन्स सेन्टर अक्टोबर २०२६ को पहिलो सातादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । त्यहाँ ग्राहकले स्कुटर प्रत्यक्ष हेर्न, परीक्षण गर्न तथा बुकिङ गर्न सक्नेछन् ।
कम्पनीका अनुसार ३.७ र ५.२ किलोवाट घण्टा ब्याट्री भएका भेरियन्टको डेलिभरी अक्टोबरको मध्यदेखि नोभेम्बरसम्म सुरु हुनेछ भने अन्य भेरियन्टको डेलिभरी डिसेम्बर २०२६ देखि सुरु गर्ने तयारी छ ।
पी२ सिप्रदी यात्रीको दुई वर्षभन्दा लामो विकास यात्राको परिणाम भएको कम्पनीले जनाएको छ । यसमा सवारी इन्जिनियरिङ, ब्याट्री प्रविधि, इलेक्ट्रोनिक्स, सफ्टवेयर र कनेक्टेड मोबिलिटीलाई एउटै प्लेटफर्ममा समेटिएको कम्पनीको भनाइ छ ।