राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले शुक्रबार २८ दिनका लागि ३० अर्ब रुपैयाँको एकमहिने निक्षेप संकलन उपकरणको बोलकबोल गर्न लागेको हो । बोलकबोल असोज २ गते दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत हुने राष्ट्र बैंकले जनाएको छ ।

यस उपकरणको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । साँवा तथा ब्याज भुक्तानी असोज ३० गते गरिनेछ । बोल गर्न सकिने न्यूनतम रकम १० करोड रुपैयाँ तोकिएको छ भने त्यसपछि १० करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिनेछ ।

निक्षेप संकलनको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागी हुन पाउनेछन् । सहभागी संस्थाले आफूले जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नुपर्नेछ ।

राष्ट्र बैंकले निक्षेप संकलनका लागि प्राप्त बोलमध्ये सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता दिँदै आह्वान गरिएको रकमसम्म क्रमशः बाँडफाँट गर्नेछ । समान ब्याजदरमा परेको बोल रकम आह्वान गरिएको रकमभन्दा बढी भएमा समानुपातिक आधारमा बाँडफाँट गरिनेछ ।

स्वीकृत बोलपत्रबापतको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको राष्ट्र बैंकमा रहेको खाताबाट कट्टा गरी छुट्टै खातामा जम्मा गरिनेछ । भुक्तानीको दिन साँवा र निर्धारित ब्याजसहित रकम सम्बन्धित बैंकको राष्ट्र बैंकस्थित खातामा जम्मा गरिनेछ ।

राष्ट्र बैंकका अनुसार यस्तो निक्षेप रकम अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, राष्ट्र बैंकको निर्देशनअनुसार कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपातमा भने गणना गर्न पाइनेछ ।

निक्षेप संकलन गरिएको रकम भुक्तानी मितिभन्दा अगाडि फिर्ता वा समयअगावै भुक्तानी गर्न सकिने छैन । राष्ट्र बैंकले बोलकबोलको सम्पूर्ण वा आंशिक रकम स्वीकार वा अस्वीकार गर्ने अधिकार मौद्रिक व्यवस्थापन विभाग तथा खुला बजार कारोबार सञ्चालन समितिलाई रहने जनाएको छ ।

Share News