काठमाडौं । कुकुरलाई पुलबाट नदीमा फाल्ने एक जना महिला पक्राउ परेकी छन्।
बिहीबार कुकुरलाई धकेलेर सेती नदीमा फाल्ने बझाङ जयपृथ्वी नगरपालिका- ३ पडेषकी ४२ वर्षीया बिमला देवी रोकाया पक्राउ परेकी हुन् ।
जयपृथ्वी नगरपालिका- १० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको थियो।
उनले पुलको पश्चिम किनाराको रेलिङ पाइपमुनिबाट कुकुरलाई धकेलेर नदीमा फालेकी थिइन् । उनीमाथि पशुपन्छीप्रति निर्दयी व्यवहार गरेको घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङ्ले जनाएको छ।