विकासन्युज

नेशनल लाइफको सञ्चालकमा विनय रमण पौडेल र सरस्वती अधिकारी नियुक्त

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा विनय रमण पौडेल र सरस्वती अधिकारी नियुक्त भएका छन् । कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिएको जानकारीअनुसार राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पौडेललाई नेशनल लाइफको सञ्चालकमा नियुक्त गरिएको हो । राष्ट्रिय वाणिज्य बैंकको भदौ २९ गतेको पत्रअनुसार पौडेल सञ्चालक नियुक्त भएका हुन् । त्यस्तै, कम्पनीको सञ्चालक समितिमा रिक्त रहेको एक पदमा अधिकारीलाई नियुक्त गरिएको छ । उनको नियुक्ति आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गराउने गरी निर्णय गरिएको कम्पनीले जनाएको छ । कम्पनीले असोज २६ गते नेप्सेलाई पत्र पठाउँदै दुवै सञ्चालकको नियुक्तिबारे जानकारी गराएको हो । 

बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक नदी स्यार खोला करिडोरमा आएको बाढीका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सञ्चालन गर्न आवश्यक मर्मत तथा पुनःस्थापनाका कार्यलाई तीव्रता दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठकाअनुसार बाढीबाट क्षति पुगेको विद्युत् प्रणालीअन्तर्गत धार्चे गाउँपालिका बाहेकका सबै क्षेत्रमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा आएको छ । खोर्लाबेंसीदेखि माथि सडक पहुँच नहुँदा र विद्युत् लाइनमा पूर्ण क्षति पुगेकाले खोर्लाबेंसीसम्म जतिसक्दो छिटो विद्युत् आपूर्ति पुनः सञ्चालन गर्ने प्रयास जारी छ । आज बिहानदेखि धार्चे गाउँपालिकामा पनि पुनःस्थापनाको काम सुरु भएको नेपाल विद्युत प्राधिकरण आरूघाट वितरण केन्द्रले जनाएको छ । यसअघि आरूघाट क्षेत्रमा लाइन सुचारू भइसकेको छ । ऊर्जा मन्त्रालयका प्रवक्ता मोहन शाक्यकाअनुसार बाढीले अवरुद्ध भएलगत्तै प्राधिकरणले विद्युत सेवा सुचारु गर्न काम थालेको थियो । करिब १० घण्टामै भीमसेन थापा गाउँपालिका वडा नं. २, ३ र ४ मा विद्युत् सेवा सुचारु भएको थियो । यसैगरी आरुघाट बजारसहित आरुघाट गाउँपालिकाको डाँडागाउँ ब्रान्च र आरुपोखरी ब्रान्चमा विद्युत् सेवा पुनः सञ्चालनमा आइसकेको छ ।  मन्त्रालयले बाढी प्रभावित सबै ठाउँमा यसै हप्ताभित्र विद्युत् सेवा सुचारु गर्नेगरी काम भइरहेको जनाएको छ । ऊर्जा मन्त्रालयकाअनुसार बाढीले गोरखा र धादिङ जिल्लाका विभिन्न स्थानमा विद्युत् वितरण प्रणाली तथा जलविद्युत् आयोजनाहरूमा क्षति पुगेको छ। बाढीबाट बुढीगण्डकी, टाइम्स इनर्जी प्रालि (३४१ मेवा), दोभान खोला (२४.५ मेवा), यारु खोला (३०.५९ मेवा), माछा खोला (१६ मेवा) लगायतका जलविद्युत् आयोजनाका क्याम्प क्षेत्र, निर्माण उपकरण तथा सामग्री, बेलिब्रिज, पहुँच सडक र आयोजना स्थलसम्म पुग्ने पुलमा क्षति पुगेको छ । त्यसैगरी, गोरखाको धार्चे गाउँपालिकाका विभिन्न स्थानमा ७० भन्दा बढी उच्च भोल्टेज पोलसहित सोती, आर्खेत तथा आरुघाट बजार क्षेत्रमा वितरण लाइनका पोलहरूमा क्षति पुगेको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२, स्याउली बजार क्षेत्रमा समेत न्यून भोल्टेजका ६ वटा पोलमा क्षति पुगेको छ । 

बडादशैंअघि नतिजा निकाल्ने चटारोमा कांग्रेस, आज २५ टोलीबाट मतगणना

काठमाडौं । बडादशैंलाई ध्यानमा राख्दै नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणनालाई तीव्र बनाएको छ। बाँकी मतगणना छिटो सकाएर बुधबारसम्म सबै पदको अन्तिम नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित निर्वाचन समितिले आज औसतमा २५ वटा टोली परिचालन गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनालाई थप व्यवस्थित र तीव्र बनाउन विभिन्न पद तथा समूहको मत एकैपटक गणना भइरहेको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए। उनका अनुसार दुई क्लस्टरको मतगणना बिहानै सकिएको छ भने चार क्लस्टरको गणना जारी छ। थप छ क्लस्टरको मतगणना सुरु गर्ने तयारी भइरहेको छ। निर्वाचन समितिका अनुसार जनसम्पर्क समितितर्फ दुई महिला र पाँच खुला गरी सात जना केन्द्रीय सदस्यको मतगणना सम्पन्न भएको छ। त्यस्तै, पिछडिएको क्षेत्रतर्फ सहमहामन्त्री र केन्द्रीय सदस्य पदको मतगणना पनि सकिएको छ। अहिले खुला सहमहामन्त्री, महिला सहमहामन्त्री तथा महिला केन्द्रीय सदस्य पदको मतगणना भइरहेको छ। आदिवासी जनजातितर्फ सहमहामन्त्री र केन्द्रीय सदस्य, सुदूरपश्चिम प्रदेशबाट भूगोलतर्फका खुला, महिला तथा ३५ वर्षमुनिका केन्द्रीय सदस्य र खुलातर्फ ३५ वर्षमुनिका केन्द्रीय सदस्य पदको मत पनि गणना भइरहेको छ। मतगणनालाई थप गति दिन बाँकी क्लस्टरको गणना पनि क्रमशः सुरु गर्ने तयारी गरिएको निर्वाचन समितिले जनाएको छ। धेरैको चासो रहेको खुलातर्फका ४५ केन्द्रीय सदस्यको मतगणना पनि सुरु गर्ने तयारी छ। त्यसैगरी, दलिततर्फ सहमहामन्त्री तथा खुला, महिला र मधेसी दलित केन्द्रीय सदस्य; अल्पसंख्यक तथा अपाङ्गता भएका व्यक्तितर्फ सहमहामन्त्री र केन्द्रीय सदस्य; मधेसीतर्फ सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्य; खस–आर्यतर्फ सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्य र पेसागततर्फ खुला तथा महिला केन्द्रीय सदस्य पदको मतगणना गर्न बाँकी छ। यी पदको गणनाका लागि आवश्यक तयारी भइरहेको कांग्रेसको मिडिया सेन्टरले जनाएको छ। एकैपटक धेरै टोली परिचालन गरिएकाले मतगणनाले गति लिएको निर्वाचन समितिको भनाइ छ। बडादशैंअघि निर्वाचन प्रक्रिया टुंग्याउने दबाबका बीच सबै पदको मतगणना निर्धारित समयमै सम्पन्न गर्ने प्रयास भइरहेको छ। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको परिणामलाई नेता, कार्यकर्ता र शुभेच्छुकले चासोका साथ हेरिरहेका छन्। निर्वाचन समितिले बुधबारसम्म सबै पदको अन्तिम नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेको छ। 

माउण्टेन इनर्जीद्वारा २० प्रतिशत बोनस सेयर प्रस्ताव, कार्तिक २० मा एजीएम

काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज २६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा यति नै लाभांश वितरण गरेको थियो । कम्पनीले लगातार दोस्रो वर्ष २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले ७९ करोड ७० लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २९.०८ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०८२/८३ मा कम्पनीको प्रति शेयर आम्दानी २५.५२ रुपैयाँ कायम भएको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट २० प्रतिशत बोनस दिएर पुँजी थप गर्दा पनि कम्पनीले २५ रुपैयाँभन्दा माथिको प्रति शेयर आम्दानी कायम गर्न सफल भएको छ । कम्पनीले साधारणसभा पनि आह्वान गरेको छ । कम्पनीले कार्तिक २० गते शुक्रबार भाटभटेनी स्थित आम्रपाली ब्यान्क्वेटमा साधारणसभा गर्ने भएको हो । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ। साधारणसभामा  वार्षिक प्रतिवेदन पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदनसहित अन्य वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष २०८३/८४ को लागि लेखापरीक्षक नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पनि प्रस्तुत हुनेछन् । साधारणसभाले ५ जना संचालकको निर्वाचन पनि गर्ने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार कार्तिक ९ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन्  । यस कम्पनीले आर्थिक वर्ष २०७८/७९ देखि नियमित लाभांश वितरण गरिरहेको छ।  कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो  । त्यसपछि भने कम्पनीले बोनस सेयरमा जोड दिएको छ। कम्पनीले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा समान १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यसपछि आर्थिक वर्ष २०८१र८२ मा २० प्रतिशत बोनस शेयर र १.०५२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । पुँजी बढ्दै जाँदा पनि कम्पनीले लगातार चौथो वर्ष दोहोरो डिजिटको लाभांश वितरण गर्न सफल भएको छ ।    

ओडीआई मान्यता जोगाउने अभियानमा नेपाल, आज ओमानको चुनौती

काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने लक्ष्यसहित आईसीसी क्रिकेट विश्वकप लिग–२ मा प्रतिस्पर्धा गरिरहेको नेपालले आज घरेलु टोली ओमानको सामना गर्दै छ । क्यानडालाई पराजित गरेर अंकतालिकामा एक स्थान सुधार गरेको नेपालका लागि आजको खेल आफ्नो स्थिति थप बलियो बनाउने अवसर हो। ओमानको अल अमेरतस्थित ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ। आइतबार क्यानडाविरुद्ध प्राप्त जितले नेपाललाई अंकतालिकामा छैटौँ स्थानमा पुर्‍याएको छ। ३३ खेलबाट २६ अंक जोडेको नेपालले ३४ खेलबाट २५ अंक रहेको क्यानडालाई पछि पारेको हो। तर अंकतालिकामा एक स्थान माथि उक्लिनु मात्रै नेपालका लागि पर्याप्त छैन। प्रतियोगिताको बाँकी खेलमा अंक जोड्दै शीर्ष ६ भित्रको आफ्नो स्थान सुरक्षित गर्नु उसको मुख्य चुनौती हो। नेपालले आज सामना गर्न लागेको ओमान भने तुलनात्मक रूपमा बलियो अवस्थामा छ। २९ खेलबाट ३३ अंक जोडेको ओमान तालिकाको चौथो स्थानमा छ। घरेलु मैदानमा खेल्ने अवसरसमेत पाएको ओमानविरुद्ध नेपालले जित निकाल्न ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा सुधारिएको प्रदर्शन गर्नुपर्नेछ। रोहितको शतकबाट बढेको आशा क्यानडाविरुद्धको जितमा नेपाली टोलीका कप्तान रोहित पौडेलको शतक आकर्षणको केन्द्र बनेको थियो। उनले १२५ बलमा शतक पूरा गर्ने क्रममा आठ चौका र एक छक्का प्रहार गरेका थिए। दबाबपूर्ण अवस्थामा लामो समय क्रिजमा टिकेर रन बनाउन सक्नु रोहितको इनिङ्सको महत्वपूर्ण पक्ष थियो। लिग–२ को अन्तिम चरणमा पुगेको नेपालका लागि ब्याटिङमा यस्तै धैर्य र जिम्मेवारी आवश्यक छ। नेपालको चुनौती अब व्यक्तिगत प्रदर्शनलाई टोलीको नतिजामा रूपान्तरण गर्नु हो। एक खेलमा कुनै एक ब्याटरको उत्कृष्ट प्रदर्शनले जित दिलाउन सक्छ, तर प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गर्न टोलीका अन्य ब्याटरले पनि जिम्मेवारी लिनुपर्छ। ओमानविरुद्धको खेलमा सुरुवाती ब्याटरले राम्रो आधार बनाउने र मध्यक्रमले त्यसलाई ठूलो योगफलमा बदल्ने जिम्मेवारी हुनेछ। बलिङतर्फ पनि नेपालले ओमानका ब्याटरलाई सहज रन बनाउन दिनु हुँदैन। सुरुवाती ओभरमै विकेट लिन सके घरेलु टोलीमाथि दबाब सिर्जना गर्न सकिन्छ। त्यसका लागि नेपाली बलरले लाइन र लेन्थमा निरन्तरता कायम राख्नु आवश्यक छ। अंकको गणितले बढाएको दबाब लिग–२ मा नेपालका लागि अब प्रत्येक खेलको महत्व बढेको छ। क्यानडालाई पछि पारेर छैटौँ स्थानमा पुगेको नेपालले आफ्नो अग्रता कायम राख्न बाँकी अवसरको सदुपयोग गर्नुपर्नेछ। एकदिवसीय विश्वकप छनोटको बाटो र ओडीआई मान्यताको निरन्तरतासँग जोडिएको यो प्रतिस्पर्धामा अंक गुमाउनु नेपालका लागि महँगो पर्न सक्छ। नेपालले ओमानविरुद्ध आज खेलेपछि अक्टोबर १७ मा क्यानडा र अक्टोबर १९ मा पुनः ओमानसँग प्रतिस्पर्धा गर्नेछ। त्यसैले आजको नतिजाले अंकतालिकामा नेपालको अवस्थासँगै बाँकी खेलमा टोलीको मनोबललाई समेत प्रभावित पार्नेछ। नेपालको लक्ष्य अब क्यानडालाई उछिनेर छैटौँ स्थानमा पुग्नुमा सीमित छैन; त्यहाँ टिकिरहनु पनि उत्तिकै महत्वपूर्ण छ। क्यानडाविरुद्धको जितले सम्भावनाको ढोका खुला राखेको छ। तर त्यसलाई उपलब्धिमा बदल्न नेपालले ओमानविरुद्ध पनि नतिजा निकाल्नुपर्नेछ। रोहितको शतकबाट प्राप्त आत्मविश्वासलाई सामूहिक प्रदर्शनमा बदल्न सके नेपालले ओमानलाई चुनौती दिन सक्छ। अन्यथा, अंकतालिकामा पाएको पछिल्लो सुधारलाई कायम राख्नसमेत नेपाललाई कठिन हुन सक्छ। आजको खेलले नेपालले लिग–२ को निर्णायक चरणमा कति बलियो पुनरागमन गर्न सक्छ भन्ने संकेत दिनेछ। 

सात प्रदेशका मुख्यमन्त्री विराटनगरमा, संघीयता र साझा विकासको एजेन्डामा छलफल हुने

विराटनगर । संघीयताको कार्यान्वयनलाई प्रभावकारी बनाउने, प्रदेशहरूबीचको समन्वय सुदृढ गर्ने र साझा विकासका योजना अघि बढाउने उद्देश्यसहित विराटनगरमा आजदेखि दुईदिने ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन २०८३’ सुरु हुँदैछ। कोशी प्रदेश सरकारको आयोजनामा हुन लागेको सम्मेलनमा ६ प्रदेशका मुख्यमन्त्री सहभागी हुन विराटनगर पुगेका छन्। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट भने सहभागी नहुने भएका छन्। सातै प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्षहरू पनि सम्मेलनमा उपस्थित भएका छन्। प्रदेश सरकारहरूबीच अनुभव आदानप्रदान गर्ने, विकासका सम्भावित साझा क्षेत्र पहिचान गर्ने र संघीय शासन प्रणालीलाई थप संस्थागत बनाउने सम्मेलनको मुख्य उद्देश्य छ। दुई दिनसम्म चल्ने छलफलबाट प्रदेशहरूबीच आर्थिक साझेदारी, अन्तरप्रदेशीय सम्पर्क सञ्जाल, प्राकृतिक स्रोतको उपयोग तथा विपद् व्यवस्थापनमा सहकार्यको साझा खाका तयार गर्ने अपेक्षा गरिएको छ। सम्मेलनको पहिलो दिन उद्घाटनपछि सातै प्रदेशका प्रमुख उपलब्धि, नवीन अभ्यास र सिकाइबारे प्रस्तुतीकरण हुनेछ। छवटा प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्षहरूले आआफ्ना प्रदेशका अनुभव प्रस्तुत गर्नेछन् भने कोशी प्रदेशका तर्फबाट मुख्यमन्त्रीका आर्थिक सल्लाहकारले प्रस्तुतीकरण गर्ने कार्यक्रम छ। पहिलो दिनको मुख्य कार्यसूचीमा संघीयताको संस्थागत विकास र अन्तरप्रदेशीय विकास साझेदारीसम्बन्धी दुई विषयगत सत्र छन्। संघीयता र संस्थागत विकास, अन्तरप्रदेशीय समन्वय तथा सहकार्य, अन्तर्राष्ट्रिय अभ्यास र नेपालको संघीयताको भावी मार्गचित्रबारे संघीयताविद् डा. खिमीलाल देवकोटाले कार्यपत्र प्रस्तुत गर्नेछन्। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष विपिनराज निरौलाको अध्यक्षतामा हुने सत्रमा संवैधानिक कानुनविद् डा. विपिन अधिकारीले टिप्पणी गर्नेछन्। त्यस्तै, आर्थिक एकीकरण, कनेक्टिभिटी, प्राकृतिक स्रोतको उपयोग, विपद् व्यवस्थापन र नवप्रवर्तनमार्फत साझा समृद्धि हासिल गर्ने विषयमा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. दिपेश कुमार घिमिरेले दोस्रो कार्यपत्र प्रस्तुत गर्नेछन्। मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा. सुवास श्री पोखरेलको अध्यक्षतामा हुने सत्रमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पूर्वअध्यक्ष बालानन्द पौडेलले टिप्पणी गर्ने कार्यक्रम छ। विषयगत छलफलसँगै सम्मेलनमा घोषणापत्रको मस्यौदा तयार पार्ने र निजी क्षेत्रसँग विकास तथा व्यापार विस्तारका सम्भावनाबारे संवाद गर्ने कार्यक्रम पनि राखिएको छ। यसका लागि समानान्तर दुई सत्र सञ्चालन हुनेछन्। पहिलो सत्रमा सम्मेलनको घोषणापत्रमा समेट्नुपर्ने विषय पहिचान गरिनेछ भने दोस्रो सत्रमा मुख्यमन्त्रीहरूले स्थानीय उद्योगी तथा व्यवसायीसँग उत्पादन र निर्यात प्रवर्द्धनबारे छलफल गर्नेछन्। पहिलो दिनको औपचारिक कार्यक्रमपछि इटहरीस्थित सोल्टी वेस्टइण्डमा सांस्कृतिक कार्यक्रम र रात्रिभोज आयोजना हुनेछ। सम्मेलनको दोस्रो दिन पहिलो दिन भएका छलफल र प्राप्त निष्कर्षलाई एकीकृत गरी ‘कोशी घोषणा–२०८३ : सात प्रदेशबीच विकास साझेदारीको साझा प्रतिबद्धता’ लाई अन्तिम रूप दिइनेछ। बिहान १० बजे सातै प्रदेशका मुख्यमन्त्रीले घोषणापत्रमा हस्ताक्षर गरी सार्वजनिक गर्ने कार्यक्रम छ। सोही अवसरमा निजी क्षेत्रका तर्फबाट कोशीको चिनो प्रदान गरिनेछ। दिउँसो साढे १२ बजे पत्रकार सम्मेलन आयोजना गरी घोषणापत्रका प्रमुख बुँदा र भावी कार्यदिशा सार्वजनिक गरिनेछ। त्यसपछि सहभागीहरू कोशी टप्पु वन्यजन्तु आरक्षको अवलोकन भ्रमणमा जानेछन्। सम्मेलनको समापन विराटनगरमा उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आतिथ्यमा आयोजना हुने रात्रिभोजसँगै हुनेछ। 

बरुण हाइड्रोपावरको ५ प्रतिशत लाभांश, १:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको असोज २६ गते बसेको सञ्चालक समितिको बैठकले बोनस सेयर र नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  कम्पनीले हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशतका दरले ५ करोड ३३ लाख २० हजार २९० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२५ प्रतिशतका दरले २८ लाख ६ हजार ३३१ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरिएको छ ।  लाभांश प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक २० गते बिहान साढे ९ बजे काठमाडौंस्थित स्मार्ट दरबार, शंखपार्कमा २३औँ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको साधारणसभामा बोनस सेयर वितरणसँगै हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पेस गरिनेछ । सञ्चालक समितिले बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको १:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । अर्थात्, एक कित्ता सेयर हुने सेयरधनीले थप एक कित्ता हकप्रद सेयर खरिद गर्न पाउने गरी प्रस्ताव गरिएको हो ।  यसका लागि कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्तावसमेत साधारणसभामा पेस हुनेछ । प्रस्तावित बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी करिब १ अर्ब १७ करोड ५८ लाख ५२ हजार ७१५ रुपैयाँ पुग्ने विवरणमा उल्लेख छ । साधारणसभामा चार जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि छ । तीमध्ये संस्थापक सेयरधनीबाट तीन जना र सर्वसाधारण सेयरधनीबाट एक जना सञ्चालक निर्वाचित गरिनेछ । त्यस्तै, आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण प्रतिवेदन, र चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने विषय पनि सभाको कार्यसूचीमा समावेश  छ। सञ्चालक समितिबाट भएका निर्णय तथा कामकारबाही अनुमोदन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनसम्बन्धी प्रस्ताव पारित गर्ने विषयसमेत साधारणसभामा पेस गरिनेछ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक ११ गते सेयर दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ । त्यसअनुसार उक्त मितिभन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेन्जमा भएको कारोबारबाट कायम सेयरधनीले साधारणसभामा सहभागी हुन, सञ्चालक निर्वाचनमा मतदान गर्न तथा बोनस सेयर प्राप्त गर्न सक्नेछन् ।

खगेन्द्र सुनारमाथि रास्वपाको छानबिन, औपचारिक कार्यक्रममा सहभागी हुन रोक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि सार्वजनिक भएका आरोपबारे पार्टीले आन्तरिक छानबिन अघि बढाएको छ । सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री र उनीमाथि उठेका गम्भीर प्रश्नलाई ध्यानमा राख्दै केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिइएको महामन्त्री विपिन आचार्यले जानकारी दिए । महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनजस्ता विषय आरोपका रूपमा सार्वजनिक भएपछि पार्टीले आफ्नो धारणा सार्वजनिक गरेको हो । रास्वपाले यस्ता आरोपलाई सामान्य रूपमा लिन नसकिने स्पष्ट पार्दै महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन र फौजदारी कसुरका विषयमा शून्य सहनशीलताको नीति रहेको जनाएको छ । पार्टीका अनुसार छानबिन निष्कर्षमा नपुग्दासम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको छ । अनुसन्धान प्रक्रिया प्रभावित हुन नदिन र पदीय नैतिकता कायम राख्न यस्तो कदम चालिएको महामन्त्री आचार्यले बताए । रास्वपाले सार्वजनिक भएका विषयको सत्यतथ्य पत्ता लगाउन पार्टीको आन्तरिक छानबिनसँगै राज्यका सम्बन्धित निकायबाट पनि स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुनुपर्नेमा जोड दिएको छ । सरकारी निकायबाट अविलम्ब अनुसन्धान हुने विश्वास व्यक्त गर्दै पार्टीले त्यस प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । सुनारमाथि सार्वजनिक भएका आरोपको सत्यता, घटनासँग सम्बन्धित तथ्य र जिम्मेवारीबारे निष्कर्ष निकाल्न अब आन्तरिक अनुशासन प्रक्रिया र राज्यको अनुसन्धान महत्त्वपूर्ण हुनेछन् । यद्यपि, सार्वजनिक भएका आरोपलाई नै कसुर प्रमाणित भएको निष्कर्षका रूपमा लिन मिल्दैन। आरोपको पुष्टि वा खण्डन अनुसन्धानबाट प्राप्त तथ्य र प्रमाणका आधारमा हुनुपर्नेछ । रास्वपाले ‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने लोकतान्त्रिक मान्यतामा आफू दृढ रहेको जनाएको छ । राज्यको अनुसन्धान र पार्टीको आन्तरिक छानबिनबाट प्राप्त निष्कर्षका आधारमा कानुन तथा पार्टी विधानबमोजिम थप कदम चालिने उसको भनाइ छ । कानुन उल्लङ्घन वा पदीय आचरण विपरीत कार्य गर्ने जोकोहीलाई राजनीतिक संरक्षण नदिने प्रतिबद्धता पनि पार्टीले व्यक्त गरेको छ । आफ्ना जनप्रतिनिधिमाथि उठेका गम्भीर प्रश्नमा निष्पक्ष छानबिन र जवाफदेहिता सुनिश्चित गर्नु पार्टीका लागि महत्त्वपूर्ण हुनेछ । अब छानबिनको निष्पक्षता, राज्यका सम्बन्धित निकायबाट हुने अनुसन्धान र त्यसबाट प्राप्त निष्कर्षका आधारमा चालिने कदमले यो प्रकरणको आगामी दिशा तय गर्नेछ ।